Friday 27 June 2008

बरु नर्कै ठीक

एक दिन प्रेमालापको क्रममा मेरी प्रेमिकाले आफ्नो कोमल हत्केला मेरो छातीमा राख्दै भनिन ''म तिमीलाई स्वर्ग मा गए पनि छोड्दिन त्यती माया गर्छु ।'' मैले तत्कालै प्रतिबाद गर्दै भने ''तर प्रिय म त शायद स्वर्ग जान्न होला कसरी भेट्छौ ?'' उनको कोमल हत्केला दह्रो मुठी पर्दै सोधिन - किन ? मैले स्वाभाबिक मुद्रा सबिस्तार गरें - हेर प्रिय संसारका बहुसङ्ख्यक मानिस नर्कमा जानेछन। नेता, कलाकार, पत्रकार, सेना ,प्रहरी, विद्यार्थी, ब्यापारी, सबै नर्कमै जानेछन । ब्यापार गर्दा तराजु सिधा नपारी बेच्ने ब्यापारी कति छन ? पाँच रुपैयाँको माललाई पन्ध्र रुपैयाँमा भनेर धरोधर्म होल्सेल रेट भनेर बेच्ने ब्यापारी नर्कमा जानेछन । १ लिटर पेट्रोलमा डेढ लिटर मट्टितेल मिसाएर बेच्ने कति छन । खसिको भनेर बाख्राको मासु बेच्ने , तोरिको भनेर झाँस्को तेल बेच्ने, रक्सिमा मिनरल वाटर मिसाउने अनि त्यही मिनरल वाटरमा फेरी धाराको फोहर पानी मिसाउने सबै ब्यापारी नर्कै जानेछन ।

तल्लो जातलाई छुनु हुँदैन भनेर अमानविय ब्यवहार गर्ने उपल्लो जातका कति मानिस नर्क जानेछन । जातकै कारण दुई प्रेमी प्रेमिकाको अमर प्रेमलाई क्षण भरमै भस्म खरानी बनाउने बाबु आमा उतैको टिकट काट्नेछन । पशु हत्या गरेर अकुत सम्पत्ति कमाउने, पशु बली चढाएर धर्म गर्न खोज्ने , प्रेमिकालाई गर्भवती बनाएर बिजोक गरेर छोड्ने प्रेमी होस् या पैसाको लालचमा एउटालाई चटक्क बिर्सेंर अर्को सँग लाग्ने प्रेमिका होस् या बैश को आवेग लाई रोक्न नसकेर जन्मेको शिशुलाई खोलाको किनारमा फाल्ने युवा युवती पनि नर्कैमा जानेछन । सम्पतिको चरम अन्धपनाले गरीबलाई मान्छे नगन्ने, सम्पत्ति हुनेसँग गोरु बेचेको नातोमा पनि तेह्र दिने झैं गर्ने अनि सम्पति नहुने साख्यै सालालाई पनि श्रीमतीको काकाको आफ्नै भातिजो भन्ने जस्ता नर्कैमा जानेछन । तर त्यस्ताको थिचोमिचोलाई भाग्य ठानेर सहने हुतीहारा तथा अन्याय उत्प्रेरकहरु पनि नर्कैमा जानेछन । किन अन्याय सहेको त ? अन्याय सहनु पनि ठुलो पाप हो ।

पत्रकारको ठुलो समुह नर्कैमा हुनेछन । श्रिषा कार्कीलाई आत्महत्या गर्न वाध्य पार्ने पत्रकार , खाली सरकार बनाउन र गिराउन पत्रकारीता गर्ने पत्रकार पनि उतै हुनेछन । चुनाव अघी चर्को भाषण गरेर सोझा जनतालाई अश्वासन दिने अनि चुनाव जितेपछी चटक्क बिर्सेंर खल्ती भर्न तिर लाग्ने नेता पनि उतै हुनेछन । फेरी त्यही नेतालाई बारम्बार चुनावमा जिताउने पट मुर्ख जनता पनि नर्कैमा जानेछन् । कुरै नबुझी अरूको लह् लहिमा दिन दिनै टायर् बाल्ने, चक्का जाम गर्ने, आन्दोलन र हड्ताल गरेर जनजिबन आक्रान्त पार्ने कार्यकर्ता पनि नर्कैमा जानेछन । धार्मिक र जातिय सहिष्णुता बिथोलेर अराजकता फैलाउने तथाकथित धार्मिक र जातिय संघ संगठनका संचालक तथा सदस्य नर्कै मा जानेछन ।

नुनको होस् कि सुनको बिज्ञापन, बृत्त चित्र होस् कि चलचित्र नाङ्गिएर सर्बाङ्ग भताभुङ्गा पार्नुलाई आफ्नो कला ठान्ने अनि अरुलाई पनि नाङ्गिन प्रेरित गर्ने अनि त्यही नाङ्गो समुहकी नाइके चै पुरुषले हामीलाई यौन जन्य खेलौना बनाएका छन भनेर सार्वजनिक भाषण ठोक्दै हिंड्ने झन चाँडै नर्केबास् हुनेछन आखिर त्यो पनि पाप नै त हो नि ।

गाडीको ठक्करले सामान्य चोटपटक लागेको बालकलाई ब्याक गरेर किचेर मार्ने चालक नर्कमा जानेछन । प्रश्न पत्र देखाइ दिने प्रलोभनमा छात्रा सँग यौन सम्पर्क गर्ने शिक्षक उतै हुनेछन । घुस दिने र लिने नर्कै जानेछन । शरीर बेच्ने नगर बधु उतै हुनेछिन अनि त्यही नगर बधुको शरीर पैसाको बुंतोमा गिद्धले सिनो लुछे झैं लुछ्ने नगर बर उतै जानेछन । बैदेसिक रोजगारको प्रलोभनमा करोंडौको ठगी गरेर फरार हुने ठगहरु नर्कै जानेछन् । अनि पढि लेखी ठुलो भै देशको सेवा गर्नेछु भनेर नाक फुलाउने अनि बिदेश पढ्न गएको मौकामा बिदेशी बिहा गरेर हुन्छ कि सरणार्थी बनेर हुन्छ आफ्नो ढुकुटी भर्न तिर लगेर आफ्नो मुलुकलाई चटक्क बिर्सिने विद्यार्थी पनि नर्कै जानेछन् ।

अब भन समाजका हरेक तह र तप्काका मानिस नर्कैमा भए पछी स्वर्गमा किन जाने ? स्वर्गमा त को हुन्छ र ? दुई चार जना साधु, सन्त, महन्त जसले जतिखेर पनि आदर्शको कुरा गर्छन् । जसले परोपकार अनि अहिंसा अनि सत्कर्मको कुरा गर्छन् । त्यहि पनि स्वर्ग त्यति रमाइलो हुन्छ जस्तो मलाई लाग्दैन । महाभारतमा देखाए अनुसार स्वर्गको राजा ईन्द्रको दरबार त कति सानो छ । आकासमा रे , सानो चार कोठाको फ्लाट जस्तो । दुई चार जना दाह्रिवाला , आचार्यहरु बसेका हुन्छन । जिउमा केही लगाएका हुन्न खाली सुनको मुकुट टाउकोमा अनि जिउमा पछ्यौरा, घाँटिमा माला , काठको चप्पल् । त्यही धुँवा उडिरहने कोठामा बसेर त्यही उर्वसी र मेनकाको डान्स कति हेर्नु । छेउमा बसेर तबला र सितार बजाएको म्युजिक कति सुन्नु । बिरक्त लाग्दो । खान पाइने भनेको त्यही फलफुल, दुध र दाल्, भात, रोटी त होला नि । अनि त्यस्तोमा कति समय बस्ने ? एक पटक मरेपछि फेरी मरिदैन अनि त्यति लामो समय त्यहां के गरेर बस्नु । उराठै लाग्दो।

त्यो भन्दा नर्कमा कति रमाइलो हुनेछ । थरी थरिका मान्छे हुन्छन । अनेक थरी का ड्रेस अप गर्न पाईन्छ । कोही आधुनिकताको नाममा अर्ध नग्न भएर हिंड्ने छन् । कोही दिन रात जाँड रक्सिमा डुब्नेछन् । म: म: खाउ, सुकुटी खाउ । कहिले यता कहिले उता जाउ । कहिले काही बन्द को मज्जा कहिले काही खुल्ला को मज्जा एक पटक मरेपछी फेरी मर्ने डर भएन अनि गाँजा - भाङमा आफुलाई डुबाउ ।

त्यति भनेपछी मेरी प्रेमिकाको साह्रो हात पुन्: नरम हुँदै आयो । यो पल्ट त उनले कसिलो अङ्गालो मारिन । म निश्चिन्त थिएँ किन भने म पूर्व घनघोर पापी थिएँ भने मेरी प्रेमिका नर्कको सम्भाब्य आधुनिकता र छाडा स्वतन्त्रताको लागि झन पाप गर्न तयार छिन ।
आखिर हामी नेपाली युवा युवती न हौं । आदर्श, नैतिकता र कर्तब्य च्युत । या त अन्याय गर्ने या अन्याय सहने । हामीलाई नर्क स्वीकार्य छ ।