Monday 9 June 2008

म कहिले ठुलो मान्छे बन्न सकिन

म कहिले ठुलो मान्छे बन्न सकिन सानै हुँदा ममा 'ठुलो मान्छे' बन्ने भुत चढेको थियो । आज जिउ त ठुलो भयो, ढाड ठुलो भयो तिघ्रा ठुलो भयो तर मान्छे चैं ठुलो हुन सकिन । बाबा सधैं मलाई आमासँग होइन एक्लै सुत्न प्रेरणा दिनुहुन्थ्यो । "बाबु सानै देखि एक्लै सुत्यौ भने पछी ठुलो मान्छे बन्छौ" भनेर सम्झाउनु हुन्थ्यो । ठुलो बन्ने सुरमा म आमाको छेउ छोडेर एक्लै सुत्न थाले तर आमाको साथ छोडेपछी नजन्मिएको भाई जन्मेर कति ठुलो भयो । म चै ठुलो मान्छे भइन ।

हिजो ठेकीको दही हत्केलामा राखेर दौडिदा कति नै बाँकी रहन्थ्यो र कान्ला मुनी पुग्दा ? हेर आज त्यही हत्केलामा लिएर कुदेको दही कोश टाढाको खोलामा पुग्दा पनि जस्ताको तस्तै हुन्छ । हत्केलाको आकार कत्रो ठुलो भएछ तर मान्छे भइएन । आमाले खुवाएको तीन ले औँले दुध भात मुखमा कोख्यै कोख्यै गर्दा, कस्तरी बग्थ्यो ओंठमा नथामिएर । आज त्यही ओंठले कति ठुलो याक थाम्छ, गैंडा थाम्छ । एक मुठ्ठी बलबान चपक्क थाम्छ । ओंठको आकार चै ठुलो भएको छ, मान्छे भइएन । नङ ठुलो भयो, नङमा टाँसिएको छाला, छाला भित्रको इपिथेलिएल, मांसपेशी, रक्तनली, बोसो, आन्द्रा, भुंडी, जलद्वार, मलद्वार सबै ठुलो भयो मान्छे ठुलो भइएन । ठुलो मान्छे हुँन प्रयास नगरेको पनि हैन ।

स्कुल जाँदा सरले राम्रो सँग पढ ठुलो मान्छे बन्छस भन्थे । घर आएर कति राम्रोसँग पढें तर अपसोच कहिले पनि जाँचमा आउने प्रश्न र मेरो उत्तरको चाजोँपाँजो नै मिलेन । बिज्ञानमा प्रश्न आउँथ्यो- सियो पानीमा डुब्छ तर जहाज उत्रिन्छ, किन ? म लेख्थे- बाबा जहाज बनाएको नै पानी माथि उतार्न हो त अनि किन डुबोस । अङ्रेजिमा सधैं बिबाद To टु हुने, do डु हुने, अनि Go चै किन गु नहुने । यस्ता नाथे कुरा बाट माथि हटेर मैले कति किताब पढें । मोटो किताब पढेँ, छोटो किताब पढेँ । कलर पढेँ, ब्लाक एन्ड व्हाइट पढेँ । स्लील पढेँ, अस्लील पढेँ। इतिहांस पढेँ, भविस्यबाणी पढेँ। किताबका आकार ठुला हुँदै गए, तर म कहिले ठुलो भइन ।


कहिले काहीं मन्दिर जाँदा आमाले भन्थिन 'कान्छा देउती मातासँग ठुलो मान्छे बनाइदिनुस् भनेर माग ल' मलाई अचम्म लाग्थ्यो र सोच्थें - 'रातो दिन मन्दिर मै बस्ने पूजारी त त्यस्तो झुत्रे छ, दिन दिनै माग्नेको त त्यस्तो गती छ । हामी कहिले काहीं आएर माग्दैमा ठुलो मान्छे बनाइदिन के हामी देउती माताको माइती पट्टिको हो र ?'

संसारमा धेरै साधारण मान्छेबाट ठुलो मान्छे बनेका छन । जर्मन तानशाह हिट्लर बाल्यकालमा राम्रो चित्र बनाउथे भनेर मैले पनि त सानैदेखि ढाडे बिरालो, रातो भाले, घैटोंको चित्र कार्बनले छापेर नबनाएको कहाँ हो र ? खै त म ठुलो मान्छे बनिन । कतिपय कबि- कबियत्री सानै उमेरमा कबिता लेख्छन भनेर मैले पनि सकी नसकी कबिता लेखें -' आज हामी साना छौं भोली ठुला हुनेछौं पढि लेखी ज्ञानी भई देशको सेवा गर्नेछौं ।' तर खै को भयो ठुलो कस्को गर्नु मैले सेवा ? ब्रुस लीको बढोपन देखेर म नडाढिएको कहाँ हो र ? ब्रुस ली झैं सुरो बन्न मैले गोठालो जाँदा कति गोठालो पिटें पिटें, खै त म ठुलो मान्छे बनिन ।

धेरैले सुनाए "गौतम बुद्धले रोगी र बुढो देखेर बिरक्तिएर ध्यान गरे रे, अनि मानवबाट महामानव बने रे ।' तर म त्यो वीर अस्पताल अगाडि कति देखें रोगी, इमेरजेन्सी बिरामी, लुला लङ्गडा, मर्दा मर्दैका बुढा तर खै त, न मलाई कहिले बिरक्त लाग्यो, न कहिले ध्यान नै गर्नु पर्यो । अनि कसरी हुनु ठुलो मान्छे ? एक दिन त मलाई आफ्नो जिबन देखेरै बिरक्त लाग्यो अनि त्यही बिरक्तताको फाईदा उठाएर जबर्जस्ती ध्यान गर्न बसें उही प्रश्न लिएर कि ' मनुश्यले अन्तमा किन सिलटिमुर चपाउँछ ? ' बढो चिन्तन का साथ ध्यानमा बसें रत्नपार्क को चौतारीमा । बिस्तारै मैले मानव जिबनलाई राम्रोसँग अवलोकन गरें अनि मृत्यु को कल्पना गर्दै बढो गम्भिर मनन गर्दै आँखा चिम्लिएँ। बिस्तारै मेरो आँखा अगाडि अन्धकार छायो । म मानवबाट महामानव बन्ने संक्रमणमा थिएं । अन्धकारै अन्धकार माँझ बितेको समयको ख्यालै भएनछ । केही समय पछी आँखा खुल्यो । दिब्य ज्योति प्राप्त भएको भान हुन मात्र के लागेको थियो अचानक छाँगा बाट फुत्तै खसे जस्तो लाग्यो- छेवै मा राखेको फिट राइट कम्पनी को छालाको ४४ नम्बरको जुत्ता र भर्खरै होल्सेल बाट किनेको आधा दर्जन डल्ले साबुन बेपत्ता भएछ । ध्यान गर्ने म, मोक्ष् पाउने जुत्ता चोर । त्यस पछी बागबजारसम्म खाली खुट्टै आएँ । त्यहाबाट साथिको चप्पल मागेर घर जानु परर्यो।

सर आइज्याक न्युटनले रुखबाट स्याउ खसेको देखेर महान बैज्ञानीक बने, तर मैले पनि त बारीमा रुखबाट आँप, भोगटे, आरु, रुख, कटहर, खसेर पटक्क फुटेकै देखेको छु, खै त अहिले सम्म गुरुत्वाकषर्णको थोपो हिसाब गर्न आउँदैन । कसरी हुनु हो ठुलो मान्छे ? फेरी ममा ठुलो मान्छेमा भएका कती धेरै बिशेषता छन । आइन्स्टाइन भन्दा भुलक्क्ड छु, स्टेफिन हकिङस भन्दा रोगी छु । बब मार्ली भन्दा धेरै गाँजा खान्छु । गान्धीको भन्दा ठुलो तालु खुइलेको छ । यत्रो बिशेषता भएर पनि म किन ठुलो मान्छे हुन सकिन ।

इमानसिह चेम्जोङलाई स्कुल पढ्दा साथीहरुले जङगली भनेको इखले गर्दा अध्ययन गर्न थाले किराँतको बारेमा अनि ठुलो मान्छे भए । मलाई त झन जङगली, खाते, चोर, डाँका, गुण्डा, दुनियाँ भन्थे खै त मलाई कहिले इख जागेन, कसरी ठुलो मान्छे बन्नु?

साला उचाइँ ठुलो पार्ने क्याल्सियमा पाइने, कपाल ठुलो पार्ने श्यामपु पाइने, यौनाङ्ग ठुलो बनाउने साधन पाइने भने मान्छे ठुलो बनाउने ओखती किन नपाईने ???