Sunday 28 December 2008

वाध्य महिला

कक्षा ११ को एउटा अङ्रेजी किताबमा एक बिदेशी लेखकले कर्णाली भेगको यात्राको क्रममा देखेका द्दृश्यहरुको बर्णन गरेका थिए । जस मध्ये मलाई सबै भन्दा हृदय छुने एउटा अर्धबैसे आईमाईको कथा छ । एउटी सुन्दर जिउडाल भएकी महिलाको श्रीमान कामको सिलसिलामा मुग्लान पसेको १० बर्ष बितेको हुन्छ, तैपनी उनी पर्खि रहेकी हुन्छिन । र उनी बिदेशी पर्यटकलाई " मेरो बुढोलाई भेट्नु भयो भने चाडै घर जानु भन्नु " भनेर आग्रह गर्छिन । यो घटना सहि हो वा काल्पनिक या लेखक जानुन या भगवान । तर अहिलेको नेपालको परिस्थिती नियाल्दा यो घटना सहि झै लाग्छ ।

नेपाली समाजमा विवाहको कस्तो महत्व छ । उमेर पुग्यो अब विवाह गर्ने । छोरो बिग्रिने भयो , अब विवाह गरिदिने । छोरी ठुलि भई , अब विवाह गरिदिने । आमा एक्लै हुनु भयो अब विवाह गर्ने । घरमा काम गर्ने कोही भएन अब विवाह गर्ने । इत्यादी प्रसँगहरु समय र ब्यक्तीको आधारमा प्रशस्त सुन्न पाईन्छ । विवाह एक सामाजिक बन्धनका अलावा दुई हृदय बीचको भावनात्मक मिलन , दुई बिपरित लिङ्गी बीचको स्वतन्त्र यौन बन्धन पनि हो । यौन प्रति उदार सोच नराख्ने नेपाल जस्तो हिन्दू दर्शन समाजमा विवाहको महत्व झनै उच्च छ । प्राय हरेक युवा युवतीले विवाह पश्चातको यौन सुखको कल्पना अवश्य गरेका हुन्छन । हुन पनि मानिसको आधारभुत आवश्यकता गास, बास र कपास पछी यौन नै लिइन्छ । यो प्राकृतिक सुख हो , जसको बितरण बिल गेट्स पनि उतिनै हुन्छ र घरबार बिहिनमा पनि उतिनै हुन्छ ।

समाजले विवाह अगाडि यौनलाई बर्जित गरेको छ । कथमा कदाचित यौन सम्बन्ध भए पनि त्यसले चरित्र मै दाग लगाउने सम्भावना । बल्ल बल्ल विवाह गरेर आफ्नो यौन कुण्ठा फुकाउन नपाउदै फेरी कस्नु पर्ने बाध्यता - हो म कुरा गरिरहेको छु त्यही महान नेपाली चेलीहरु जसले आफ्नो श्रीमान घर फर्किने बाटो हेरिरहेका छन । नेपालको आर्थिक अवस्था अत्यन्त नाजुक छ । बाबु आमाको करले अथवा आफ्नै रहरले विवाह गरिन्छ । आफ्नो जिउ पल्न नसक्ने डामाडोल आर्थिक मन्दीमा श्रीमतीको बोझ थपिन्छ । पहिलो महिना नयाँ दुलहीसँग सम्बन्ध अगाडि बढाउदै बित्छ । दोश्रो महिना श्रीमती परिवारमा रतिदै ठीक्क हुन्छ । तेस्रो महिना देखी चुलोमा आगो बल्न छोड्छ । स्वदेशमा काम पाउने आशा कमै गर्न सकिन्छ । अन्तत श्रीमान बिदेशिनु पर्छ ।

अब कल्पना गरौ एकदम भोकाएको मानिसलाई अलिकती खिर चखाएर छोडियो भने के हुन्छ ?एक अङ्गालो श्रीमती छोड्नुको पिडा पुरुषलाई मात्र हुँदैन , बल्ल निस्फिक्री भएर फुक्न लागेको यौन कुन्ठा पुन: कसेर बाँधिदा महिला कती पीडित हुन्छिन शायद महिलालाई नै थाहा होला । उनको श्रीमानसँग बिताएका पलको केवल याद बाँकी रहन्छ दुई बर्षको लागि । श्रीमानले बोकेको पोको पोन्तेरोमा श्रीमतीको प्रेम र बासना गएको हुन्छ । त्यसपछीको श्रीमतीको जिबन कती कष्ट कर हुन्छ होला हामी सहजै अनुमान लगाउन सक्छौ । उनलाई जिस्काउने मान्छे रहदैन । उनको सुन्दरताको लक्ष्य रहदैन । उनको दिनको साथी र रातको सिरानी हराउछ । उनको हरेक रात चिसै बित्छ । आज होइन , भोली हैन । दुई बर्ष (प्राय करार अवधी २ बर्षको हुन्छ ) सम्म कसरी पिडा भोगेर बस्नु ? तर अफसोच उनी गर्न पनि के नै सक्छिन र ? उनी बिवाहित हुन । अन्य पुरुषबाट यौन सन्तुष्टीको कल्पना पनि गर्नु महाकलंक हुन जान्छ । उनको चरित्रमा दाग लाग्न सक्छ । यदी यौन आवेगलाई रोक्न नसकेर त्यस्तो कुनै सम्बन्ध बनेर त्यसको पर्दा फास भएमा सम्बन्ध बिच्छेद हुन पुग्छ । साथै जिबन भर चरित्रहिन आईमाईको सज्ञा पाईन्छ । दिन रातको पिडा खप्नु बाहेक उनीसँग कुनै उपाय नै छैन । समय बित्दै जान्छ , पहिलो सन्तान हुन्छ । सन्तानले बाबुको मुख हेर्न पाउदैन । पहिलो सन्तान पछी उनमा यौन चाहना तिब्र बढेर आउंछ तर त्यो चाहना दबाउनु बाहेक उनमा कुनै उपाय नै हुँदैन ।

उनी पर्खिन्छिन दुई बर्ष , श्रीमान दुई बर्ष पछी दुई महिनाको लागि छुट्टी लिएर आउछन । बर्ष भरी दबाएर राखेको यौन चाहना दुई महिना मै पुर गरीसक्नु पर्ने हुन्छ किन भने दुई महिना पछी श्रीमान पुन फर्किने गरी आएका हुन्छन । उनीसँग फेरी दुई बर्षको लागि पर्खनु बाहेक कुनै उपाय छैन । कस्तो बिडम्बना, नगरौ त शरीरिक आवश्यकता गरौ त सामाजिक बाध्यता । यौन कुन्ठा दबाएर बरु मानसिक रोग स्वीकार्न वाध्य छन त्यस्ता महिलाहरु ।

दुई बर्ष पछी आउने श्रीमानको प्रतिक्षा गर्दा गर्दै जवानी बितेको पत्तो हुँदैन ।