Monday 17 August 2009

फिन्ल्यान्डमा एन आर एन चुनाव‏

तस्बिर : गौतमराज मोक्तान

सुशिल गौतम/फिन्ल्यान्ड
३२ श्रावण २०६६
" अघी लगाएको ज्याकेट भन्दा अहिले लगाएको ज्याकेट भारी भएको अनुभव भएको छ " यो वाक्य हो गैर आवासिय नेपाली संघ फिन्ल्यान्ड शाखा (एन आर एन फिन्ल्यान्ड) को नवनिर्वाचित अध्यक्ष ज्योति खरेलको । आज सम्पन्न एन आर एन फिन्ल्यान्डको पहिलो चुनावमा ज्योति खरेल प्रतिद्वन्दी लीला सिलवाललाई ८८ का बिरुद्ध २२२ मत प्राप्त गरी बिजयी भएका हुन ।
गत बर्ष गठित एन आर एन फिन्ल्यान्डको एड हक कमिटी आज निर्वाचित नयाँ कार्यसमितीको गठनसँगै बिघटन भएको छ । नयाँ गठित कार्य समितीमा अध्यक्ष ज्योति खरेल सहित अन्तराष्ट्रिय समन्वयन समिती सदस्य सुशिल ज्ञवाली (निर्बिरोध), बोर्ड सदस्यहरु रामप्रसाद अर्याल- २००, अरुण पोखरेल-१७६, प्रतिज्ञा खनाल-१८५, मोहन खनाल-२१८, टिका खरेल-१४८, सुदिप भुषण अर्याल-११४, मनोज कुमाल-१३५, दिलु सापकोटा-१२१, सुमन खड्का-१८७, सहबिर मोहम्मद-१३७, ब्योमा ताम्राकार-१९३, विश्वाश हमाल-१६०, जगनाथ काफ्ले-१२०, बिनाश तिम्सिना-१५६ ,गोपाल अर्याल-१६७, जिबन खरेल-१६७, बिजेन्द्र न्यौपाने-२२१, लक्ष्मीपती भण्डारी-१४८, देवीदत्त खरेल-१८६, कृष्ण प्रसाद भण्डारी-२३७ रहेका छन ।

कुल ३८८ मतदाता सङ्ख्या रहेको चुनावमा कार्यसमिती सदस्य पदको लागि २४ उम्मेद्बारी परेको थियो भने अध्यक्ष पदको लागि लीला सिलवाल र ज्योति खरेलको जोड्दार प्रतिस्पर्धा भएको थियो । कुल मध्ये ८५ वटा मत फिन्ल्यान्डका बिभिन्न शहरहरुबाट हुलाक मार्फत प्राप्त भएको थियो ।

नवनिर्वाचित अध्यक्ष खरेलको आगामी कार्यकालमा उनकै भाषामा नेपाली विद्यार्थीको स्थानान्तरण र रुपान्तरण गर्दै एन आर एनलाई फिन्ल्यान्डमा बसोबास गरिरहेका नेपालीको अभिभावकको रुपमा बिकास गर्ने जनाएका छन । नेपाली विद्यार्थीलाई फिन्निश भाषाको अज्ञानताको कारण उत्पन्न हुने समस्यालाई हल गर्न फिन्निश भाषाको कक्षा सन्चालन गर्न पहल गर्नेछन ।

त्यस्तै विद्यार्थीको तर्फबाट अत्याधिक मत ल्याएका उम्मेद्वार बिजेन्द्र न्यौपाने विद्यार्थीसँग सम्बन्धित मुद्दालाई एन आर एनमा छलफलमा लैजाने बताएका छन । " विद्यार्थीको ब्यवहारिक समस्या, भाषाको समस्या र रोजगारीको ब्यवस्था गर्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछु " भन्दै उनी थप्छन " तर विद्यार्थीले पनि कार्यसमितीको काम कारवाहीको निगरानी गर्नुपर्छ । "

सिलितिय सेउरा कुन्ताको हलमा भएको मतदान कार्यक्रममा सहभागीको चहल पहल देख्दा लाग्थ्यो यो नेपाल कै कुनै स्थानमा भएको कार्यक्रम हो । अधिकांस सहभागि नेपालीको एउटै आवाज सुनिन्थ्यो - आपसी मनमुटाव हटाएर नेपाली नेपाली बीच सौहार्द र भात्रित्व बिकास गर्नुपर्‍यो ।