Sunday 28 December 2008

वाध्य महिला

कक्षा ११ को एउटा अङ्रेजी किताबमा एक बिदेशी लेखकले कर्णाली भेगको यात्राको क्रममा देखेका द्दृश्यहरुको बर्णन गरेका थिए । जस मध्ये मलाई सबै भन्दा हृदय छुने एउटा अर्धबैसे आईमाईको कथा छ । एउटी सुन्दर जिउडाल भएकी महिलाको श्रीमान कामको सिलसिलामा मुग्लान पसेको १० बर्ष बितेको हुन्छ, तैपनी उनी पर्खि रहेकी हुन्छिन । र उनी बिदेशी पर्यटकलाई " मेरो बुढोलाई भेट्नु भयो भने चाडै घर जानु भन्नु " भनेर आग्रह गर्छिन । यो घटना सहि हो वा काल्पनिक या लेखक जानुन या भगवान । तर अहिलेको नेपालको परिस्थिती नियाल्दा यो घटना सहि झै लाग्छ ।

नेपाली समाजमा विवाहको कस्तो महत्व छ । उमेर पुग्यो अब विवाह गर्ने । छोरो बिग्रिने भयो , अब विवाह गरिदिने । छोरी ठुलि भई , अब विवाह गरिदिने । आमा एक्लै हुनु भयो अब विवाह गर्ने । घरमा काम गर्ने कोही भएन अब विवाह गर्ने । इत्यादी प्रसँगहरु समय र ब्यक्तीको आधारमा प्रशस्त सुन्न पाईन्छ । विवाह एक सामाजिक बन्धनका अलावा दुई हृदय बीचको भावनात्मक मिलन , दुई बिपरित लिङ्गी बीचको स्वतन्त्र यौन बन्धन पनि हो । यौन प्रति उदार सोच नराख्ने नेपाल जस्तो हिन्दू दर्शन समाजमा विवाहको महत्व झनै उच्च छ । प्राय हरेक युवा युवतीले विवाह पश्चातको यौन सुखको कल्पना अवश्य गरेका हुन्छन । हुन पनि मानिसको आधारभुत आवश्यकता गास, बास र कपास पछी यौन नै लिइन्छ । यो प्राकृतिक सुख हो , जसको बितरण बिल गेट्स पनि उतिनै हुन्छ र घरबार बिहिनमा पनि उतिनै हुन्छ ।

समाजले विवाह अगाडि यौनलाई बर्जित गरेको छ । कथमा कदाचित यौन सम्बन्ध भए पनि त्यसले चरित्र मै दाग लगाउने सम्भावना । बल्ल बल्ल विवाह गरेर आफ्नो यौन कुण्ठा फुकाउन नपाउदै फेरी कस्नु पर्ने बाध्यता - हो म कुरा गरिरहेको छु त्यही महान नेपाली चेलीहरु जसले आफ्नो श्रीमान घर फर्किने बाटो हेरिरहेका छन । नेपालको आर्थिक अवस्था अत्यन्त नाजुक छ । बाबु आमाको करले अथवा आफ्नै रहरले विवाह गरिन्छ । आफ्नो जिउ पल्न नसक्ने डामाडोल आर्थिक मन्दीमा श्रीमतीको बोझ थपिन्छ । पहिलो महिना नयाँ दुलहीसँग सम्बन्ध अगाडि बढाउदै बित्छ । दोश्रो महिना श्रीमती परिवारमा रतिदै ठीक्क हुन्छ । तेस्रो महिना देखी चुलोमा आगो बल्न छोड्छ । स्वदेशमा काम पाउने आशा कमै गर्न सकिन्छ । अन्तत श्रीमान बिदेशिनु पर्छ ।

अब कल्पना गरौ एकदम भोकाएको मानिसलाई अलिकती खिर चखाएर छोडियो भने के हुन्छ ?एक अङ्गालो श्रीमती छोड्नुको पिडा पुरुषलाई मात्र हुँदैन , बल्ल निस्फिक्री भएर फुक्न लागेको यौन कुन्ठा पुन: कसेर बाँधिदा महिला कती पीडित हुन्छिन शायद महिलालाई नै थाहा होला । उनको श्रीमानसँग बिताएका पलको केवल याद बाँकी रहन्छ दुई बर्षको लागि । श्रीमानले बोकेको पोको पोन्तेरोमा श्रीमतीको प्रेम र बासना गएको हुन्छ । त्यसपछीको श्रीमतीको जिबन कती कष्ट कर हुन्छ होला हामी सहजै अनुमान लगाउन सक्छौ । उनलाई जिस्काउने मान्छे रहदैन । उनको सुन्दरताको लक्ष्य रहदैन । उनको दिनको साथी र रातको सिरानी हराउछ । उनको हरेक रात चिसै बित्छ । आज होइन , भोली हैन । दुई बर्ष (प्राय करार अवधी २ बर्षको हुन्छ ) सम्म कसरी पिडा भोगेर बस्नु ? तर अफसोच उनी गर्न पनि के नै सक्छिन र ? उनी बिवाहित हुन । अन्य पुरुषबाट यौन सन्तुष्टीको कल्पना पनि गर्नु महाकलंक हुन जान्छ । उनको चरित्रमा दाग लाग्न सक्छ । यदी यौन आवेगलाई रोक्न नसकेर त्यस्तो कुनै सम्बन्ध बनेर त्यसको पर्दा फास भएमा सम्बन्ध बिच्छेद हुन पुग्छ । साथै जिबन भर चरित्रहिन आईमाईको सज्ञा पाईन्छ । दिन रातको पिडा खप्नु बाहेक उनीसँग कुनै उपाय नै छैन । समय बित्दै जान्छ , पहिलो सन्तान हुन्छ । सन्तानले बाबुको मुख हेर्न पाउदैन । पहिलो सन्तान पछी उनमा यौन चाहना तिब्र बढेर आउंछ तर त्यो चाहना दबाउनु बाहेक उनमा कुनै उपाय नै हुँदैन ।

उनी पर्खिन्छिन दुई बर्ष , श्रीमान दुई बर्ष पछी दुई महिनाको लागि छुट्टी लिएर आउछन । बर्ष भरी दबाएर राखेको यौन चाहना दुई महिना मै पुर गरीसक्नु पर्ने हुन्छ किन भने दुई महिना पछी श्रीमान पुन फर्किने गरी आएका हुन्छन । उनीसँग फेरी दुई बर्षको लागि पर्खनु बाहेक कुनै उपाय छैन । कस्तो बिडम्बना, नगरौ त शरीरिक आवश्यकता गरौ त सामाजिक बाध्यता । यौन कुन्ठा दबाएर बरु मानसिक रोग स्वीकार्न वाध्य छन त्यस्ता महिलाहरु ।

दुई बर्ष पछी आउने श्रीमानको प्रतिक्षा गर्दा गर्दै जवानी बितेको पत्तो हुँदैन ।

Monday 3 November 2008

के नेपाल सानो छैन ?

तिमी गलत रहेछौ लक्ष्मीप्रसाद देवकोटा ।

तिमीले लेखेको "के नेपाल सानो छ ?" निबन्ध आज नितान्त गलत लाग्न थालेको छ । तिमीले त्यो निबन्ध लेखेर ममा खोक्रो आडम्बरी भरिदिएका थियौ । तिम्रो निबन्ध जब म दोहोर्याइ दोहोर्याइ पढ्थे तब लाग्थ्यो नेपाली जस्तो सर्बोत्तम मानव उपाधी अरु कुनै छैन । ममा गर्व भरिएको थियो ,जब त्यो हरफ आउथ्यो "हिरा सानै हुन्छ ,मोती सानै हुन्छ आँखा भित्रको नानी सानै हुन्छ । " म आनन्दपुरको सैरमा निस्कन्थे । मलाई लाग्थ्यो आखिर नेपाल भौगोलिक रुपमा पो सानो छ ,बिशेषताले त पछी परेको छैन नि । आज त्यो गर्व समय अगावै तुहिएको छ । नेपालको बचेँ खुचेको भु-भाग भारतमा गभिदै छ । दिन प्रतिदिन साघुरिदै छ तिम्रो नजरको नेपाल । आफ्नो पुर्खाले सिर्जित मुलुक अब टुक्रा टुक्रा पारेर भाग बण्डा गरिदै छ । अब भन लक्ष्मीप्रसाद के नेपाल ठुलो छ ?

तिमीले नेपाली वीरताको बारेमा खुब फलाकेका थियौ । भन्थ्यौ एक ताका सुर्य अस्त नहुने शक्तीलाई पराजित गरेका थियौ भनेर । म कती पटक पाखुर मुसर्थे, जब त्यो हरफ आउथ्यो । मेरो जिउ फुङ्ग फुलेर आनयासै शक्ती सन्चयको अनुभव हुन्थ्यो तर आज त्यो शक्तीमा तुषरोपात भएको छ । आज नेपाली दुई छाक जुटाउने क्रममा ढाडमा गोली थापेर ईराकको कुनै अनकण्टार ठाउँमा लडिरहेका छन । छैन तिनमा कुनै वीरता , छ त केवल बाध्यता र तिरस्कार । जाबो दुई छाकको लागि ढाडमा गोली थाप्नु पर्ने यो वीरता हो कि लाक्षीपन ? केही अर्थ राख्यो तिम्रो वीरताको बयानले ? तिमीले दिएको बहादुरीको उपमा अब भारतको कुनै सेठको द्वारपालको पर्यायवाची भएको छ । भारतीय र अङ्रेजको भाडाको सिपाइ बनिएको छ । हामी थोरै भाडा पाउन अरुको मुलुकको लागि गोली हान्दै छौ तर आफ्नो मुलुकमा दिन प्रतिदिन बिदेशीको दाईं हुँदा पनि बेखबर छौ । अब भन लक्ष्मीप्रसाद के नेपालीले वीरताको गर्व गर्नु मुनासिव हुन्छ ?

तिमीले लेखेका थियौ संसारमा शान्तीको पाठ पढाउने गौतम बुद्धको जन्मस्थल नेपाल भनेर । मलाई त्यही बेला लुम्बिनी जान औधी मन लागेको थियो तर अफसोच बेला बेलामा तिम्रो गौतम बुद्धलाई भारतिय नागरिकता दिलाइन्छ । कहिले त भक्कानो फुटेर रुन मन लाग्छ जब गौतम बुद्धको जन्म भारतमा भएको भन्ने पत्र पत्रीका छ्याप छ्याप्ती देख्छु । न म च्यात्न सक्छु र न चिच्याउन सक्छु । मैले चिच्याए पनि कसैले विश्वाश गर्दैनन लक्ष्मीप्रसाद किन भने संसारमा हाम्रो आवाज सुन्ने कोही छैन । अब त बानी परिसकेको छ । कसैलाई कसैलाई अचम्म पार्न भन्ने गरेको छु "गौतम बुद्ध नेपाल म जन्मिएको भनेर "। अब भन लक्ष्मीप्रसाद शान्तीको सन्देश हामीले दिएको कि संयुक्त राष्ट्र संघको अनमिनले हामीलाई दिएको ?

तिमीले मलाई खोक्रो गर्व गरायौ , नेपालको खोलानालाको नाममा । नेपालको हरियो बनको नाममा । नेपालको खानि-खजनाको नाममा । के पाए मैले त्यो खानि बाट ? त्यो पानी बाट ? तिमी गर्मीमा तराई जाउ , उर्वर जमिन चिरा परेर छीया छिया भएको हुन्छ तर हाम्रै पानीले भारतमा सोहोरी नसक्ने फसल उमार्दै हुन्छन । अनी बर्षामा तराई जाउ गरीब किसान एक काँधमा बालखा छोरी लिएर डुबेको घरबाट निस्कदै शरण खोजेको देख्नेछौ । त्यो के काम पानीको जब आवश्यकतामा पाइन्न, अरु बेला घर डुबिन्छ ? तिमी रसियावाल खुर्द लोटन नजाउ अन्यथा गरीब नेपालीको जेथा-जमिन डुबेको देख्दा मन रुने छ । म फकाउन सक्दिन । जल श्रोतबाट उज्यालो जन्मिन्छ रे अन्त । हाम्रो मुलुकमा अन्धकार निस्किन्छ । नपत्याए आउ लक्ष्मीप्रसाद हाम्रो घर ,कहिले काही बत्ती बल्छ । भन लक्ष्मी प्रसाद तिमीले प्राकृतिक श्रोतको धनी भनेको हैन , खै त धन ? हाम्रो सम्पती हामी भन्दा बिदेशीले बढी उपयोग गर्छन् । हामी त केवल पाले हौ ,प्रकृतिक श्रोतको । उपयोग कर्ता अर्कै छ ।

तिमी खुब कल्पना गर्थ्यौ - वाग्नर कोदालो खनिरहेका होलान, सेक्स्पियर हलो जोत्दै होलान भनेर । तर लक्ष्मीप्रसाद यहाँ बेदना अर्कै छ, माथलो गाउँका वाग्ले साउदीको मरुभुमीमा कोदालो हान्दै छन । हलो जोत्दा जोत्दैको शंकरे दुई गास टार्न दुबइमा कमारो भएको छ । तिमीले भने जस्तो ट्युसियन र टर्नर भेडा चराउन कहिले आएनन बरु भएका टाठा बाठा कतारमा भेडा चराउन गएका छन । कहिले काही खबर आउछ , "तापक्रम ४० छ ,पिउने पानी पाइन्न । साहुलाई खुशी पार्न सके भने आगु दशैमा टिका थाप्न आउछु । मेरो चिन्ता नगरेस । सम्झना छ " । कस्तो बिडम्बना , प्रेमिले प्रेमिकाको माया पाउँदैन, श्रीमानले श्रीमती भन्न पाउँदैन, छोरो हुर्किन्छ बाबुको अनुहार नहेरी । के हो यस्तो लक्ष्मीप्रसाद ? तिमीले कहिले यसको कल्पना गरेका थियौ ?

तिमीले सोचे झै यहाँ सोक्रेट्स गुफामा घोत्लिदैनन, यहाँका चेलीबेटी बिदेशको बेश्यालयमा झोक्राएका हुन्छन । कहिले यसको कल्पना गरेको थियौ ? तिमीले लेखेका थियौ - महाकवि कालिदास आषाढको पन्ध्रमा रोपाइँको धारा प्रवाह गीत गाउदै हुनेछन भनेर । तिमी एक्दमै गलत रहेछौ । यहाँ कालिदास आएर कहिले आषाढको गीत गाएनन बरु यहाँ भएका रबिदास, हरिदास , गरीबदास र बिष्णुदास त्यही कालिदास कै मुलुकको गीत हरक्षण गाउछन, आषाढ पन्ध्रमा मात्र हैन । यहाँका युवाले बिर्सिसकेक छन आषाढ पन्ध्रको गीत कस्तो हुन्छ भनेर । बिहान् उठिन्छ बिदेशी गीत संगै,खाइन्छ बिदेशी गीत संगै र बेलुका सुतिन्छ त्यसै सँग । ल भन लक्ष्मीप्रसाद तिमीले भने झै कहिले आए त कालिदास झ्याउरे गीत गाउन ?

हेर लक्ष्मीप्रसाद तिमी अहिले मेरो नजरमा निकै गलत साबित भईसकेका छौ । तिमीले नेपाली भाषाको माध्यमबाट समग्र नेपालीलाई एकताको सुत्रमा बाध्ने प्रयास गरेका थियौ तर त्यो सुत्रमा नेपाल अटेन । अहिले १२- १५ जनाले बोल्ने भाषाको लागि नेपाललाई टुक्रा टुक्रा पारीदै छ । न पत्याए तराईमा हेर्न जाउ ,तर होसियार साथ । फेरी तिम्रो सालीक भनेर तिम्रो शरीर नै ढलाउन बेर छैन । तिमीले "के नेपाल सानो छ ?" जस्तो निबन्ध अलिक गलत समयमा गलत सोच राखेर गलत मान्छेलाई पढ्न दिएछौ । तिमीले त्यो निबन्ध मार्फत हामीलाई जातिय घमण्डको आरामदायी डस्नामा सुतायौ र खोक्रो आड्म्बरीको सिरकले छोपिदियौ । फलत हामी सुतिरहेका छौ मस्त सँग । संसार कहाँबाट कहाँ पुगिसक्यो, हामी भने नेपाल बन्द गरेर मस्त सुतिरहेका छौ । जाग्ने कहिले हो निस्चित छैन ।


( के नेपाल सानो छ ? निबन्ध पढेको ४ बर्षपछी लेखिएको हुँदा श्रोतसँग सम्बन्धित त्रुटी भएमा क्षमाप्रार्थी छु । साथै स्रोतको बारेमा जानकारी च्याट मार्फत उपलब्ध गराउनु भएकोमा 'महिमा आचार्य' प्रति धन्यवाद ज्ञापन गर्न चाहन्छु । )

Friday 24 October 2008

अझै अङ्रेजी

"छोटो कमर्सियल ब्रेक पछी फेरी स्वागत छ, हिट गीत लिस्ट प्रस्तुत गरिने यस प्रोग्राममा अब पालो छ गेस्ट आर्टिस्ट्को " यो दिन दिनै नेपाली संचारका साधनका प्रस्तोताबाट उच्चारण गरिने वाक्य हो । चाहे त्यो रेडियो होस् वा टेलिभिजन, कार्यक्रम प्रस्तोताले ८ शब्दको वाक्यमा ४ शब्द अङ्रेजीको घुसाउने चलन अब सामान्य लग्न थालेको छ । नेपाली भाषा र सस्कृतिको प्रचार प्रसार एवम जगेर्ना गर्नु पर्ने संचार माध्यमको गती नै नेपाललाई सास्कृतिक दास बनाउने किसिमको छ । आज हामीसँग खाँटी नेपाली शब्द बुझ्ने र बोल्नेको सङ्ख्या निकै काम भैसकेको छ । जो बोल्छन त्यसलाई पाखेको सज्ञा दिईन्छ । र जो शब्दै पिच्छे अङ्रेजी शब्द घुसाएर बोल्छ, त्यो अत्यन्त आधुनिक बन्न पुग्छ । कस्तो सस्कार सिकेछौ नि भगवान हामीले । आफ्नो भाषा बोल्दा आँफैलाई हिनताको अनुभव गर्नुपर्ने ।

च्याउ सरी खुलेका बोर्डिङ स्कुलका बोर्डको छेउमा गर्वका साथ लेखिएको हुन्छ "अङ्रेजी माध्यमबाट पढाई हुने " जसको पहिलो उद्देश्य हुन्छ विद्यार्थी तथा अभिभावकलाई आकर्षित गर्ने । शिक्षामा ब्यापारिकरणको सस्तो उदाहरण काठमाडौंको गल्ली गल्लीमा मात्र हैन आजकाल गाउँमा पनि यस्तै लहर चलेको छ । छोरा छोरीले 'ईंग्लिश फररर ' बोल्छन रे भनेर सकी नसकी बोर्डिङ स्कुल राख्ने अभिभावकको सङ्ख्या प्रशस्त भेटिन्छ । बाबु आमा पनि छोरा छोरीले 'ईंग्लिश फरर ' बोलेको देखेर मन्त्र मुग्ध हुन्छन । अझ छोराले भन्नु पर्छ "ड्याडी आइ वान्ट टु बि डाक्टर " भनेर बाबुको भुइमा खुट्टा हुँदैन । मैले यो भन्नु को तात्पर्य डाक्टर बन्नु हुन्न भनेको पनि हैन र अङ्रेजी बोल्नु हुन्न भन्ने पनि हैन तर त्यो अङ्रेजी नै पढ्नु र बोल्नु मात्र ज्ञान वा शिक्षा भने हैन । तर त्यही बिधार्थी लाई दुई एकान दुई भन्न आउँदैन । त्यो कस्तो पढाई हो जसले आफ्नै भाषा बिर्साइदिन्छ ? अभिभावक सन्तानले 'ईंग्लिश फरर' बोल्छन भन्ने लोभले ऋण गरेर पढाउन तयार छन । तर किन सोच्दैनन अङ्रेजी एउटा भाषा मात्र हो, मान्छेमा हुने शिप,कला र प्रतिभा अर्कै हुन्छ । त्यसको बिकास र बिस्तारले मान्छे अघी बढ्छ । छोरा छोरी के सिक्छन भनेर ध्यान दिनु पर्छ, कुन भाषामा सिक्छ हैन ।

प्रबेशिका परिक्षाको नेपाली बिषयको परिक्षा दिदा बोर्डिङका विद्यार्थीको सातो जादो रहेछ । अझ लामो प्रश्नको उत्तर त विद्यार्थीलाई घोकाएर तयार पारीदो रहेछ । कथमकदाचित प्रश्नमा अलिकती परिवर्तन भए विद्यार्थीहरु जन्डिस रोगी झै देखिन्छन । हैन आफ्नै देशको राष्ट्र भाषा नबुज्ने कस्तो पढाई पढ्दै छौ हामी ? केही समय अगाडि म जर्मनी भ्रमणमा गएको थिए । संचार ,बिज्ञान,अर्थतन्त्र र अस्त्रमा सम्पन्न जर्मनहरुमा हाम्रो जस्तो अङ्रेजी आसक्ती कहिले देखिन । उनिहरु सकेसम्म जर्मन नै बोल्छन । कुनै सहयोग पश्चात 'थ्यांक यू' भन्नु भन्दा 'डान्के' भन्दा अनुहारको रुप रङ नै फेर्ने गरेको मैले पाए तर हाम्रो देशमा 'धन्यवाद' शब्द लोप नै हुन लागि सक्यो । जर्मनी मात्र हैन युरोपको हरेक देशको प्रगतीबाट को अनभिज्ञ छ र ? तर खै युरोपको बेलायतमा अङ्रेजी बोलिन्छ तर नजिकैको फ्रान्समा अङ्रेजी बोल्दा नाक खुम्चाएर हेर्छन । स्केन्दिनेभियन देशहरुमा अझ अङ्रेजी बोल्ने कता कती सुनिन्छ । एक पटक कलेजमा एक जना स्पेनिश बिद्यार्थीले 'मल्टिकल्चरल' लाई 'मुल्तिकुल्तुरल' भनेर भाषण ठोकेका थिए तर त्यहा कसैले चुईक्क आवाज पनि निकालेनन र पछी कुरा पनि भएन तर यही घटना नेपालको कुनै ठाउँमा भएको भए या त हासो र उपहासको फोहोर छुट्थ्यो या कुरा काट्ने गतिलो बहान बन्थ्यो । कारण स्पष्ट छ । हामी अग्रेजी बोल्नु नै सर्वे सर्वा ठान्छौ ।

फिन्ल्यान्डमा अध्ययन गर्न थाले पछी मलाई लाग्यो हामी नेपाली निकै पिछडिएका छौ । फिन्ल्यान्डका बिद्यालयहरुमा अङ्रेजिको एउटा बिषयको पढाई हुन्छ । न यहाँ 'अङ्रेजी माध्यममा पढाई हुने 'भनेर बिज्ञापन गरिन्छ न बाबु आमा छोरा छोरीलाई अङ्रेजी पढाउन मरिहत्ते गर्छन् । तर पनि के मा कमी छन र ? सत प्रतिशत साक्षर छन,बिकासले आकाश छोएको छ , संसारकै धनी देश मध्ये गनिन्छन । आखिर हो रैछ त अङ्रेजी नै सबथोक ???

लेख्दा मन खिन्न हुन्छ तर वास्तविकता यही हो हामी नेपाली लाई कुनै बिदेशिले सम्मान पूर्वर्क हेर्दैन । सम्मान गरुन पनि कसरी जो आँफै बाट अपमानित छ त्यसलाई सम्मान कसले गर्छ ? आफ्नो भाषा सस्कार र परम्परा को भनेको ब्यक्तिको परिचय हो । हामी अङ्रेजी सिक्ने बहानामा आफ्नो परिचय गुमाउदै छौ । जो परिचय बिहिन छ , उसको कसैले सम्मान गर्दैन ।

Thursday 9 October 2008

शुभकामना

द्वन्दबाट शान्ती तर्फ उन्मुख नेपालको पहिलो कोशेली स्वरुप आएको यस बडा दशैले समस्त नेपालीमा सुख, शान्ती र उन्नतिको बर्षा गराउनेछ । राष्ट्रिय गौरब अब सगरमाथा र गौतम बुद्ध मै सिमित नरही अब चेतनशिल, सभ्य, शन्तिप्रेमी र बिकशित नागरिकमा परिवर्तन हुनेछ । दुई छाक खान धौ धौ पर्ने निरपेक्ष गरीबिको रेखा मुनी पिल्सिएक नागरिक अब शिर पेट भरी खान पाउनेछन, कोही पढ्दा पढ्दै पागल हुने कोही पढ्न नपाएर पागल हुने स्थिती रहने छैन, शिक्षाको ज्वतीले सबैको चेतन उज्यालो पार्नेछ । नेपाल धर्तीआमा हुन । सन्तान पहाडमा होस् या तराई या हिमाल, सबैलाई बराबर माया गर्छिन । धोती र टोपीको आधारमा आमाको भागबन्डा नहोस् । दुर्गा माताले सबको रक्षा गरुन बडा दशै को शुभकामना ।

Tuesday 19 August 2008

कलियुग यात्रा

''...... बसमा भीड भएको मौका पारी सम्बेदनशिल अर्धबैसे पुरूष मेरो नजिकै आयो र नजाने झै गरी मेरो सम्बेदनशिल अंगमा स्पर्श गर्यों । म चिच्याउन चाहन्थे तर सकिन.... ''
''........माइक्रो बसमा प्रशस्त खाली सीट हुँदा हुँदै पनि मै संग टासिएर एउटा केटा बस्यो । २० मिनेटको यात्रामा त्यसले २१ पटक मेरो ' तिघ्रा' मा स्पर्श गर्यों....''

तपाईं जुनसुकै दैनिक, साप्ताहिक,पाक्षिक वा मासिक नेपाली पत्र पत्रिका पल्टाउनुस । यस्ता यस्ता करुण आवाज समेटिएका लेखले प्राथमिकताका साथ स्थान पाएका हुन्छन् । हुन पनि हो आजकाल कामकाजी महिलाको संख्या बढ्नु , यातायातका साधनको सुलभता नहुनु र अन्ध यौन पिचासले डेरा जमाएका पुरूषको संख्या पनि सोही अनुपातमा बढेकोले समस्या बढेको छ । धन्न नेपालका नारीहरु पत्र पत्रिका मै सिमित छन नत्र यौन शोषण भएकै बेला बाहिर निस्केर बस तोडफोड गरेका छैन । त्यसको लागी म प्रसंसा गर्न चाहन्छु ।

तर त्यस्ता लेखको नकरात्मक प्रभाबको बारेमा सोचिएको छ त ? केही दोषी पुरुष लक्षित त्यस्ता लेखको कारण सम्पूर्ण पुरुष नै त्यस्तै हुन भन्ने भ्रम सिर्जन हुन थालेको छ । हरेक जस्तो पत्र पत्रिकाका त्यस्ता लेखमा पुरूषहरु यस्ता हुन्छन् - पुरुषहरु त्यस्ता हुन्छन् भन्दा भन्दा अब त निर्दोष पुरूष पनि घानमा पर्नेबेला भयो । के सम्पूर्ण पुरूषहरु बसमा भीड कहिले होला र महिलालाई छुन पाउला भनेर चढेका हुन्छन् ? भूल बस हुन सक्दैन ?
काठमाडौं चल्ने नेपाल यातायातको हविगत त थाहै होला । साग लिएर यात्रा गर्दा गंतब्यमा पुग्दा सम्म गुन्द्रुक हुन्छ । त्यस्तो बसमा यात्रा गर्दा स्वास कसरी फेर्ने भनेर सोचिन्छ की कुन महिलाको शरीर कस्तो छ भनेर सोचिन्छ ?

एकपटक मलाई त्यस्तै घटना घटकों छ । पुतली सडकबाट अनामनगर मामा घर जाने क्रममा नेपाल यातायातको शरण परेको थिएँ । गन्तब्य नजिक भएकोले म खलासी सँगै ढोकामा बस्ने चाहना हुँदा हुदै पनि धकेलेर भित्र पुर्याइदियो । बसमा उभिदा ह्यान्डिलमा नसमाते पनि हुने थियो । शरीर तीन तिरबाट च्यापिएर मलाई सीधा अढिन मदत गरी रहेका थिए । स्वास फेर्न गाह्रो भएकोले म बसको ढोकाबाट आएको हावालाई प्राणबायु मानेर जेन तेन् चलाउदै थिएं । अचानक मेरो दाहिने कुममा सानो बिस्फोटको आवाज आयो । फर्केर हेरेको त एउटी सम्भाब्य ३२ बर्षे छिप छिपाउदी युवतीले प्रहार गरेकी रहेछिंन । जङिदै भनिन किन - किन टासिन आ'को , अली पर जानू । मेरो आमा बस प्याक छ । बसको छतमा जान दिदैन । टायरमा बस्न मिल्दैन । भित्र खाली छैन , म कहाँ जाऊं ? भन्ने मन थियो तर चुप बसें । किन भने मलाई थाहा थियो उनले त्यहाँ जे भने नि हुन्थ्यो । अहिले छापिने यस्ता यस्ता लेखको बिग बिगीले पुरूष निर्दोष हुन्छ भन्ने कल्पना पनि हुन छाडेको छ ।

म सम्बेदनशील मान्छे हूँ । सानो सानो कुराले पनि मेरो मस्तिष्कमा धेरै समय खेलिरहन्छ । न मैले तिनलाई पहिला देखेको थिएं की जानी जानी उनको शरीर स्पर्श गर्न । मलाई थाहा पनि थिएन कि मेरो पछाडि महिला छिन् भनेर । मामा घर नपुगिन्जेल उनको मनोबैज्ञानिक बिस्लेषण गर्ने प्रयास गरीरहे । उनी नजानिदो किसिमले आफ्नो रूपको प्रसंसा गर्दै थीइन ।

त्यस्ता अर्को घटना ब्रिटिश काउन्सिल जांदा माइक्रो बसमा भयो । फिन्ल्यान्डको लागी फर्म बुझाउने अन्तिम मिति भएकोले म माइक्रोमा हतार हतार ब्रिटिश काउन्सिल जादै थिएं । ड्राइभरसंगको सिटमा बसें । छेउमा एउटा सिट खाली थियो । पछाडी एउटा खाली थियो । जमलमा माइक्रो रोक्ने बितिक्कई २ ओटी कलेजका युवती आए । तिनको पहिरन देख्दा विद्यार्थी कम र र्याम्पमा हिडिरहेकी फेसन प्रदर्शक बढी थीइन । स्कर्टले घुंडासंग नाता टोडेको थियो । स्तनले स्वाभाबिक आकर्षण पाएको थियो ।
खलासी सिट खोज्न पछाडि अनावश्यक गलफती गर्न थाल्यो । म सकभर माइक्रो चाडो अघी बढोस् भन्ने चाहन्थे । त्यसैले आफ्नो सिट छोडेर पछाडिको खालीमा जान थाले ता कि २ जना युवती अगाडि बसुन । तर अफ्सोच आफ्नो सिट छोडेर अर्को सिटमा नपुग्दै पछाडिको सिटमा अर्की मनुवाले डेरा जमाइ सकेको रहेछ । फेरी अगाडीको सिटमा फर्केर बसे जहा २ जन युवती बसिसकेका रहेछन । बाबा मेरो त बिचल्ली भयो । तै पनि म अगाडि कै सिट केही नबोली घुसृएँ । तर जसलाई मद्दत गरेको उसीको कर्कस स्वर बज्रियो- पछाडी जानू न ,के घुसृना आको ।

लौ मरे म त । भर्खरै मैले दिएको सिटमा मलाई नै प्रबेश निषेध । यो कुन काइदा हो । तीन वटा नाना पाटेकर जवाफ मुख भरी जम्मा भए पनि मैले केही । चाहुँ त म माइक्रो रोकेर आफ्नो गुमेको सिट फिर्ता लिन सक्थे तर म अनावश्यक झमेलामा फस्नु भन्दा चाँडो गन्तब्यमा पुग्न चाहन्थे । लुरुक्क परेर पछाडी कै सिटमा गएँ जहा सिट त खाली थिएन तर खलासीको छेउमा निहुरिएर बसें । माइक्रो गूड्न थालेको केही समय पछी सानो स्वरमा बोलेको सुने - त्यों केटा त कस्तो बाई , टासिन पो आउँदो रहेछ ।
थुईक्क्क। कलियुग घोर कलियुग । भलाई गर्ने जमाना नै रहेन । मैले गरेको उपकारको बदला तिनले तिनको नाङ्गो जिउको सस्तो प्रसंशा निम्ती प्रयोग गरिन । यहाँ पनि स्पष्ट छ । बिद्यार्थीको रूपमा हिडिरहेका बस्त्र हीन युवतीसँग बाध्यताबस टासिएर यात्रा गर्नु मेरो सफल भबिष्य निर्माणको चरण कि तिनको नाङ्गो जिउको घर्षण् ? ल ठीक छ मैले गरेको उपकार त तिनले बुझिनन तर कम्तिमा गलत पनि त नसोचेको भए हुन्थ्यो नि । किन सिधै आफ्नो नाङ्गो रूपसंग सम्बन्ध राखेर मलाई हेरिन ? उत्तर त्यही लेखहरुमा छ जून हरेक पत्र पत्रिकामा आउने गर्छ। त्यस्ता लेखहरुले पुरूष भीड़ भाड भएको गाडीमा चढेर टासिनु भनेकै आफ्नो यौन तृष्णा मेटाउन हो भन्ने बनाएको छ । महिला दिदी बहिनिहरुले बुज्नु पर्ने कुरा के हो भने संसारमा यौन पिचासले जरो गाडेको पुरूष मात्र हैन परिस्थितिको परिबंधमा परेका पनि धेरै हुन्छन् । जो बाध्यता बस टासिएर यात्रा गरिरहेका छन । नारी पुरूष बराबर हुन भनेर चर्को नारा लगाउने तर ब्यवहारमा चै किन यस्तो नि ? नेपाल यातायातमा यात्रा गर्दा तीन तीर काँधले धकेलिरहेका थिए । तर त्यही महिला मात्र किन बोलिन ? पुरूष किन चुप ? के पुरूषलाई धकेलिदा मज्जा आउछ ? नारीको सोच मै छ कि पुरुषले महिलालाई मात्र यौन तृप्‍ति को साधनको रुपमा हेर्छ भनेर ।
कलेज पढ्दा मेरो एक मित्रले एउटी सहपाठि युवतीलाई प्रेम प्रस्ताव पत्र मार्फत राखेको थियो । प्रस्ताव ठुक्र्याउदै उनले भनेछिन - तिमी केटाहरु किन लव गर्छौ हामीलाई थाहा छैन र ?बाबा के हो यस्तो ? नारीहरुको पुरुषलाई हेर्ने दृष्‍टिकोण कती खराब रहेछ । यही सोचको कारण गाडीमा अलिकती छोइए पनि यौन प्यास मेटाउनै हो भन्ने गरिन्छ । अब यात्रा गर्दा ध्यान दिने कि ?

Friday 8 August 2008

देशभक्ति दिबस

दक्षिण तर्फी फोरमभक्ति उपराष्ट्रपती चरेशानान्द उर्फ परमानन्द झाले हिन्दी भाषामा पद तथा गोपनियताको सपथ कपाकप खाए । मैथिलि मातृ भाषी परमानन्द झालाई हिन्दीमा सपथ खाँदा यती आनन्द आयो की भोली पल्टै मुलुक भर पुतला दहन हुँदा पनि थोप्पो छित्तो दुखानुभुती भएन । म पनि राष्ट्रघाती उप राष्ट्रपतीको पुतल दहन गरेर थकित मुद्रामा घर आएँ । बम्बे डाइङको तन्ना ओछ्याएको खाट्मा पल्टियर बजाज कम्पनीको टि भि खोलेँ । कान्तिपुर समाचारमा झा फेरी हिन्दी मै सपथ खांदै थिए । त्यों बेला मेरी श्रीमतीले चाउ चाउ बनाउदै थिइन । म्यागी चाउ चाउ । साथमा चिया । ब्रुक बन्ड चियापति हालेको । अब दूध एभ्रिडे पाउडर दूध खान्छौँ । अहिले बजारमा भारतीय चीनी आएको रहेछ, अलीकती महँगो छ तर राम्रो दाना छ। परिकार पाक्दै थियो नेपाल ग्यासमा । ग्यासको खबटो मात्र नेपाल हो गुदी सबै भारतको । बूढी ले खाजा ल्याइन डेलुक्सको बटुकोमा । म चाउ चाउको स्वादसंगै टी भिको रिमोट दबाएँ । स्टार प्लसमा कहिले नसकिने सीरियल आएको रहेछ मेरी बूढी जहिले त्यही हेरेर रुन्छे । रुदै गरोस । फेरी दबाएँ । जी सिनेमामा अन्धोले पनि बैंक लुटने फिलिम आएको रहेछ । मलाई पत्यार लागेन । फेरी दबाएँ । आस्था च्यन्नलमा रामदेवले भुंडी घटाउन सिकाउँदै रहेछन । कती नै नेपाली को भुंडी घटाउनु पर्ने छ र ? ४० % त निरपेक्ष गरीब छन । फेरी दबाएँ । आफ्नै प्यारो देशको च्यान्नल त आयो तर त्यसमा पनि अफसोच पारी कै फिलिम आएको रहेछ । फिलिम एकदम राम्रो रहेछ, हेर्दा हेर्दै भुसुक्क ।

म नालापानी मा हिंड्दै रहेछु । अचानक मैले एक खुकुरी र ढाल् धारी , बलिश्ठ छाती भएको पुरूषलाई हिडिरहेको देखेँ । उनको दाहिने हातको कान्छी औंलाबाट रगत बगिरहेको पनि देखे । उनी बीर बलभद्र कुंवर रहेछन । ममा हर्ष अचम्मको कुनै सिमा रहेन ।

उत्सुकता पूर्वक सोधें - तपाई ,,,,तपाई बलभद्र कुंवर हैन ? अग्रेजसंग लड़ने । नाइस टू मीट यू । मैले तपाईको बारेमा पढेको थिएँ चार कक्षा मा।

उनले निरास मुद्रामा भने -तिमीहरुले हाम्रो देशभक्ति र बलिदान मात्र किताबको पान्नामा सिमित गरेका छौ हैन ? ब्यवहारमा त बिदेशी बिलासिताका दास भएका छौ ।

मैले तत्कालै उत्तर दिएँ - लौ गरेका छौ नि । हामी हाम्रो राष्ट्र र भाषाको बिरुद्धमा जानेको बिरोध गर्छों । मैले भर्खरै पुतला जलाएर आएको । हेर्नुस हात कालै छ । टायर बालेको ।

ब्यङ्यात्मक पारामा सोधे - अनि देखाउनु भयो त आफ्नो देश भक्ति टायर बालेर ?

मैले गर्वका साथ भने - त्यसले हिन्दी भाषामा सपथ खायो अनि मैले बाल्दें त्यसको पुतला

मन्द मुस्कान छोद्दै भने - हिन्दी भाषामा सपथ खान्दैमा तिम्रो के बिग्रियो त ?

नेपाली भएर नेपाली भाषा प्रयोग नगरी किन हिन्दी प्रयोग गर्यो त त्यसले ?

उनी झनै ब्यङ्य गर्दै भने- त्यसो भए आफ्नो श्रीमतिको पुतला जलाऊ । उनी रातोदिन भारतीय उत्पादन प्रयोग गरेर खाना बनाउछिन । छोराको पुतला जलाऊ उसले भारतीय मोटरसाइकल चढ्छ । छोरीको पुतला जलाऊ । उनी रातोदिन भारतीय सिनेमा हेर्छिंन, भारतीय सौन्दर्य प्रशादन प्रयोग गर्छिन । तिम्रो त झन शरीर मात्र नेपाली हो नत्र नाडिको घड़ी , शर्त पाइंट , जुत्ता सबै भारतीय हो । आफ्नो पनि पुतला जलाऊ।

मलाई हीनता बोध हुदै गयो । सानो बच्चाले बाबुसँग गुनासो गरे झैं गरी भने - अनि के गरुँ त आफ्नै आँखा अगाडी राष्ट्रघात भएको हेर्न सकीन त्यही भएर ।

उनले मेरो कांधमा हात राख्दै मसिनो स्वरमा थाले - तिमीहरु यही त गल्ती गर्छौ नि । देश भक्ति प्रदर्शन गर्ने तरीका कती सजिलो छ । बाटोमा आयो टायर बाल्यो। आन्दोलन गर्यो ।

ममा हिनता बोधको मात्रा बढ्दै गयो। सानो स्वरमा भने - अनी के गर्नु त ?

एउटा सानो बालकलाई सम्झाए झै गरी भने - हेर हाम्रो देश आर्थिक रुपमा कमजोर छ । यस्तो देशलाई अरु सम्पन्न देशले हेप्ने गर्छन । अबको संसार खुकुरीको भरमा बिजय प्राप्त गर्ने र देश भक्ति देखाउने खालको रहेन । संसारलाई जित्न अब आर्थिक तथा बौधिक बिकास गर्नुपर्छ । यो नै देश भक्ति प्रदर्शन गर्ने एक मात्र तरीका हो । तिमी घरमा भारतमा बनेको खाध्यान्न खाएर , भारतीय कपडा र जुत्ता ,लगाएर भारतमै बनेको टायर बालेर भारतीय भाषाको बिरोध गरेको भरमा कसरी नेपाली देशभक्ती प्रदर्शन हुन्छ ?

मेरो मनमा चसक्क बिज्यो । म निशब्द भएर सुनी रहेँ ।

उनले थपे - यदि तिमी साचै देशभक्त नेपाली हौ भने आजदेखि स्वदेशी उत्पादनको प्रयोगलाई पहिलो प्राथमिकता देऊ । एक जनाले मात्र स्वदेशी उत्पादन प्रयोग गर्न थाल्यौ भने दिनमा मुलुकले कर स्वरुप कती पैसा पाउँछ ? सुरुमा तिमी आफु परिवर्तन होउ । त्यसपछि परिवारलाई परिवर्तन गर । अनि समाज परिवर्तन हुनेछ । यदि हरेक नेपालीले स्वदेशी उत्पादन मात्र प्रयोग गर्न थाले भने बर्षेनी कती रकम बिदेशिनबाट जोगिन्छ ? तिमीहरु सधैं अर्कामा भर पर्ने र अर्कालाई दोष दिएर बस्छौ । आफु केही गर्दैनौ ।
म नतमस्तक भएँ र भने - म लज्जित छू आफ्नो अज्ञानता देखी । उनले एउटा हात खुकुरी अर्को हात

ढालमा राख्दै भने - हिजो हामी जीबन र मृत्युको सबालमा बिदेशीसंग झुकेनौ तर आज तिमीहरु बिलासिताको लागी दिन प्रतिदिन बिदेशीसंग झुक्दै छौ । अझै पनि समय बितेको छैन । टायर बालेर देशभक्ति देखिदैन, कम्तिमा स्वदेशी उत्पादनलाई माया गर । तिमीले दिनमा एक रुपैयाको मात्र स्वदेशी सामानलाई प्राथमिकता दिएर किन्यौ भने तिमी जस्ता सवा दुई करोड नेपालीबाट देशले कति रकम पाउछ ?

मलाई भित्रबाटै प्रेरणाको दीप प्रज्वलित भएको अनुभव भयो । रक्तनलीमा नयाँ उर्जा सहित रक्त प्रवाह हुन थाल्यो । भर्खरै खाएको चाउ चाउको डकारमा ठुस्स भारतीय गन्ध आउन थाल्यो । आफ्नो पर्सबाट ह्यान्डी प्लास्ट निकाल्दै उनको घाऊलाई लक्षित गर्दै भने - त्यों घाऊबाट रगत बगिरहेको छ । यो टेप लगाउनु । रोकिन्छ ।

उनी मन्द मुस्कान छोद्दै भने - तिमीलाई यती धेरै देश भक्तीको कुरा बुझाएँ । म कसरी बिदेशी समान प्रयोग गरुँ । बरु म आज देश भक्ति दिबस मनाउने सोचेको छु । आज कुनै पनि चिज बिदेशी प्रयोग गर्ने छैन । टेप बिदेशी रहेछ , भई हाल्यो । यो रगत एकछिनमा बग्न छाड्छ । बरु सक्छौ भने तिमी पनि देश भक्ति दिबस मनाउ । मलाई अहिले हतार छ । साथीहरुको लागी पानी लीन जानुछ, किल्ला नजिकको मुहानमा ।

यती भन्दै उनी थुनिएको मुहान तीर लागे । म उनलाई पछ्यौन चाहन्थे तर कसैले बोलाए जस्तो लाग्यो ।
मेरी श्रीमतीले उठएकी रहेछिन । म मस्त निन्द्रामा रहेछु । मेरो शरीर पसीनाले भिजेको रहेछ । टाउको दुखेरा फुट्ला जस्तो भयो । छेवैमा म्यागी चाऊ चाऊको बचेको चौटा रहेछ । अब त रिस उठ्न थाल्यो । टी भीमा अघिको फिलिम कुद्दै रहेछ । दिक्क लाग्दो । बन्द गरिदिएँ । श्रीमतीलाई टाउको दुखेको कुरा गरें । उनले देहरादून फार्मसेउटिकाल्सको पारा सिटामोल ल्याइदीन । मैले भर्खरैको बलभद्रको घाऊ र उनको देशभक्ति दिबस सम्झिएँ । मन मनै अठोट गरेँ आज देशभक्ति दिबस मनाउने । पारा सितामोल देखी पारो तात्यो, फालिदिएँ एकतिर। एकछिन पछि टाउको दुखेको बिस्तारै कम भयो।

Saturday 26 July 2008

झापालाई स्वायतता

मुलुकमा संघियता तातो बहस चलिरहेको छ । कोही भन्छन संघियता धोती र टोपी को आधारमा हुनु पर्छ । कोही भन्छन संघियता भाषाको आधारमा हुनुपर्छ त कोही भन्छन आर्थिक श्रोतको आधारमा हुनुपर्छ । भने कोही भन्छन संघियता क्षेत्रिय पृथकताको आधारमा हुनुपर्छ ।

भाषा, धर्मं, संस्कृति र जातीय संरचनाले बिबीधता युक्त नेपालमा त्यस्ता तत्वलाई आधार मानेर संघियतामा लगे पनि अपुरो रहने निश्चित छ किनभने नेपालको एउटा जिल्ला भाषा, धर्मं र भौगोलिक दृष्टिकोणले सामान भए पनि मनोबैज्ञानिक रुपमा अलग छ, त्यों हो झापा जिल्ला ।

नेपालको सुदूर पूर्वी भागमा रहेको झापा जिल्ला र त्यहाँका बासिन्दालाई सामान नेपालीको रूपमा हेर्ने नेपाली कमै होलान । पूर्वमा धुलिखेल जानुस या पश्चिममा टुँडिखेल झापाली सम्बन्धी एउटै धारणा पाउनु हुनेछ । अझ काठमांडूमा त झनै बिकराल स्थिति छ । डेरा खोज्दा भाडा अलिक बढ़ी दिन्छु भन्दा नि पाईदैन यदि झापाली हो भन्ने थाहा पाए भने । पसलबाट उधारो पाउन निकै गाह्रो हुनेछ । यदि पसले हुनुहुन्छ भने सोच्नुहोस तपाईलाई घाटा लाग्ने सम्भावना प्रबल छ ।

झापाली भएकै कारण कतिपय प्रेम चिचिला नलाग्दै ओइलाएको मैले देखेको छू । यदि प्रेमी झापाको हो भने प्रेमिका दिनहुँ शंका गर्छिंन । यदि प्रेमिका झापाको हो भने त समस्या बिकराल हुन सक्छ । अब आफै बुज्नुहोस । क्याम्पसमा एक पटक भलीबल म्याच खेल्दा बिपक्षी लाई 'झापाली' भनेको भएर धन्न दोहोरो झडपको स्थिति आएन । त्यो घटना अझै ताजा छ मेरो दिमागमा । म दर्शक भए पनि ज्यान बचाउनै मुस्किल भएको थियो । वास्तवमा झापाली शब्द एउटा गाली नै भईसक्यो ।

यसरी झापाली प्रति देखिएको steriotype को बारेमा बुज्न मनोबिशलेषकसंग सम्पर्क गरेको थिए तर उहाँले यस बारेमा केही बताउन नमिल्ने जवाफ दिनु भयो करण उहँकी श्रीमती पनि झापा कै हुनुहुन्छ। । झापाली सम्बन्धी steriotype को उत्पति सम्बन्धमा अध्धयन गर्न म एक पटक झापा पुगेको थिए । गम्भीर खोज र अध्धयनको परिणाम स्वरुप प्राप्त तथ्य र प्रमाणलाई आधार मान्ने हो भने झापा जिल्लाको नाम ' झापू' अथवा ' झापड' शब्द को अपभ्रंस भएर निर्माण भएको हो । सिधै आक्रमणमा ओर्लिएको जस्तो सुनिने झापा शब्दबाट डराएर यस्तो किसिम को steriotype आएको हुन सक्ने मेरो खोज को निष्कर्ष रहेको छ । बिना सित्ति अरुलाई कुटपिट गर्न अग्रसर भएको जस्तो सुनिने स्थानबाट आएका मानिस प्रति त्यस्तो भावना उत्पति भएको हुन सक्छ।

अब नयाँ नेपाल निर्माणको यत्रो बिधि चर्चा चलिरहेका बेला यदि यो समस्यालाई समय मै सम्बोधन गरिएन भने भबिष्यमा अर्को समूहले समानाताको नाममा हतियार नउठाउला भन्न सकिन्न । जसरी धोती लगाउनेले धोती लगाउनेबाटै शासित हुन चाहन्छ, जसरी थारू भाषी थारू बाटै शासित हुन चाहन्छ त्यसै गरी एउटा झापाली भनेर उपेक्षित समूहलाई झापालीबाटै शासन गराउनु पर्छ । एउटा झापाली को पीर मार्का गैर झापालीले बुज्न सक्छ जस्तो मलाई लाग्दैन त्यसैले झापा जिल्लालाई स्वायतता दिनु पर्छ ।

Sunday 29 June 2008

Advertising project

It was my first experience of making an advertisement.I was in Group 7 in Advertising and Sales promotion subject taught by Svel Rassl in HAMK University of applied science. We had to make an advertisement campaign and out come of the campaign.We made this video as an advertisement.


http://www.youtube.com/watch?v=1wOQi47Xphk

Click this link to view this video

Division of labour in this in this Advertisement project.

Sushil gautam : Director,concept writer and actor in video

Devraj pandey: Overall manager.

Huang shen: Alumni in video

Janine klehm:Alumni in video

Anssi Makelä:Editor and business man in video

James Njunguna:Cameraman and business man in video

Njugen ke Tuong:Computer operator

Saturday 28 June 2008

माटो सुहाउँदो शिक्षा

सधैं आन्दोलन चक्का जाम हुने नेपाल जस्तो मुलुकको लागि A for apple, B for Ball जस्तो जस्तो बाह्रखरी पढाएर केही उपलब्धी हुन्छ जस्तो मलाई लाग्दैन । त्यसैले माटो सुहाउँदो शिक्षाको लागि मैले केही पाठ्यक्रम तयार पार्ने सोचेको छु । त्यसको लागि यो पहिले खुड्किलो हुनेछ ।


A for आन्दोलन

B for बन्द

C for चक्काजाम

D for दङ्गा

E for ईमर्जेन्सी

F for फाएर

G for गोलाबारी

H for हडताल

I for इटा

J for जबर्जस्ती

K for कालोमोसो

L for लाठिचार्ज

M for मुर्दाबाद

N for नेपाल बन्द

O for अपरेसन ठोक्ठाक

P for पक्राउ

Q for कुटा कुट

R for रक्तपात

S for सत्याग्रह

T for टायर

U for उथलपुथल

V for भन्डाफोर

W for वार्ता भङ्ग

X for छ्याप छ्याप्ती

Y for एक्यबद्धता

Z for जम्काभेट

शिशु तहको यो पाठ्यक्रम परीक्षणको रुपमा राखेको छु । यसले अत्याधिक सफलता पाएको खण्डमा बिस्तारै प्राथमिक र माध्यमिकको साथसाथै बिश्व बिद्यालय स्तरको बनाउने सोंच छ ।

Friday 27 June 2008

बरु नर्कै ठीक

एक दिन प्रेमालापको क्रममा मेरी प्रेमिकाले आफ्नो कोमल हत्केला मेरो छातीमा राख्दै भनिन ''म तिमीलाई स्वर्ग मा गए पनि छोड्दिन त्यती माया गर्छु ।'' मैले तत्कालै प्रतिबाद गर्दै भने ''तर प्रिय म त शायद स्वर्ग जान्न होला कसरी भेट्छौ ?'' उनको कोमल हत्केला दह्रो मुठी पर्दै सोधिन - किन ? मैले स्वाभाबिक मुद्रा सबिस्तार गरें - हेर प्रिय संसारका बहुसङ्ख्यक मानिस नर्कमा जानेछन। नेता, कलाकार, पत्रकार, सेना ,प्रहरी, विद्यार्थी, ब्यापारी, सबै नर्कमै जानेछन । ब्यापार गर्दा तराजु सिधा नपारी बेच्ने ब्यापारी कति छन ? पाँच रुपैयाँको माललाई पन्ध्र रुपैयाँमा भनेर धरोधर्म होल्सेल रेट भनेर बेच्ने ब्यापारी नर्कमा जानेछन । १ लिटर पेट्रोलमा डेढ लिटर मट्टितेल मिसाएर बेच्ने कति छन । खसिको भनेर बाख्राको मासु बेच्ने , तोरिको भनेर झाँस्को तेल बेच्ने, रक्सिमा मिनरल वाटर मिसाउने अनि त्यही मिनरल वाटरमा फेरी धाराको फोहर पानी मिसाउने सबै ब्यापारी नर्कै जानेछन ।

तल्लो जातलाई छुनु हुँदैन भनेर अमानविय ब्यवहार गर्ने उपल्लो जातका कति मानिस नर्क जानेछन । जातकै कारण दुई प्रेमी प्रेमिकाको अमर प्रेमलाई क्षण भरमै भस्म खरानी बनाउने बाबु आमा उतैको टिकट काट्नेछन । पशु हत्या गरेर अकुत सम्पत्ति कमाउने, पशु बली चढाएर धर्म गर्न खोज्ने , प्रेमिकालाई गर्भवती बनाएर बिजोक गरेर छोड्ने प्रेमी होस् या पैसाको लालचमा एउटालाई चटक्क बिर्सेंर अर्को सँग लाग्ने प्रेमिका होस् या बैश को आवेग लाई रोक्न नसकेर जन्मेको शिशुलाई खोलाको किनारमा फाल्ने युवा युवती पनि नर्कैमा जानेछन । सम्पतिको चरम अन्धपनाले गरीबलाई मान्छे नगन्ने, सम्पत्ति हुनेसँग गोरु बेचेको नातोमा पनि तेह्र दिने झैं गर्ने अनि सम्पति नहुने साख्यै सालालाई पनि श्रीमतीको काकाको आफ्नै भातिजो भन्ने जस्ता नर्कैमा जानेछन । तर त्यस्ताको थिचोमिचोलाई भाग्य ठानेर सहने हुतीहारा तथा अन्याय उत्प्रेरकहरु पनि नर्कैमा जानेछन । किन अन्याय सहेको त ? अन्याय सहनु पनि ठुलो पाप हो ।

पत्रकारको ठुलो समुह नर्कैमा हुनेछन । श्रिषा कार्कीलाई आत्महत्या गर्न वाध्य पार्ने पत्रकार , खाली सरकार बनाउन र गिराउन पत्रकारीता गर्ने पत्रकार पनि उतै हुनेछन । चुनाव अघी चर्को भाषण गरेर सोझा जनतालाई अश्वासन दिने अनि चुनाव जितेपछी चटक्क बिर्सेंर खल्ती भर्न तिर लाग्ने नेता पनि उतै हुनेछन । फेरी त्यही नेतालाई बारम्बार चुनावमा जिताउने पट मुर्ख जनता पनि नर्कैमा जानेछन् । कुरै नबुझी अरूको लह् लहिमा दिन दिनै टायर् बाल्ने, चक्का जाम गर्ने, आन्दोलन र हड्ताल गरेर जनजिबन आक्रान्त पार्ने कार्यकर्ता पनि नर्कैमा जानेछन । धार्मिक र जातिय सहिष्णुता बिथोलेर अराजकता फैलाउने तथाकथित धार्मिक र जातिय संघ संगठनका संचालक तथा सदस्य नर्कै मा जानेछन ।

नुनको होस् कि सुनको बिज्ञापन, बृत्त चित्र होस् कि चलचित्र नाङ्गिएर सर्बाङ्ग भताभुङ्गा पार्नुलाई आफ्नो कला ठान्ने अनि अरुलाई पनि नाङ्गिन प्रेरित गर्ने अनि त्यही नाङ्गो समुहकी नाइके चै पुरुषले हामीलाई यौन जन्य खेलौना बनाएका छन भनेर सार्वजनिक भाषण ठोक्दै हिंड्ने झन चाँडै नर्केबास् हुनेछन आखिर त्यो पनि पाप नै त हो नि ।

गाडीको ठक्करले सामान्य चोटपटक लागेको बालकलाई ब्याक गरेर किचेर मार्ने चालक नर्कमा जानेछन । प्रश्न पत्र देखाइ दिने प्रलोभनमा छात्रा सँग यौन सम्पर्क गर्ने शिक्षक उतै हुनेछन । घुस दिने र लिने नर्कै जानेछन । शरीर बेच्ने नगर बधु उतै हुनेछिन अनि त्यही नगर बधुको शरीर पैसाको बुंतोमा गिद्धले सिनो लुछे झैं लुछ्ने नगर बर उतै जानेछन । बैदेसिक रोजगारको प्रलोभनमा करोंडौको ठगी गरेर फरार हुने ठगहरु नर्कै जानेछन् । अनि पढि लेखी ठुलो भै देशको सेवा गर्नेछु भनेर नाक फुलाउने अनि बिदेश पढ्न गएको मौकामा बिदेशी बिहा गरेर हुन्छ कि सरणार्थी बनेर हुन्छ आफ्नो ढुकुटी भर्न तिर लगेर आफ्नो मुलुकलाई चटक्क बिर्सिने विद्यार्थी पनि नर्कै जानेछन् ।

अब भन समाजका हरेक तह र तप्काका मानिस नर्कैमा भए पछी स्वर्गमा किन जाने ? स्वर्गमा त को हुन्छ र ? दुई चार जना साधु, सन्त, महन्त जसले जतिखेर पनि आदर्शको कुरा गर्छन् । जसले परोपकार अनि अहिंसा अनि सत्कर्मको कुरा गर्छन् । त्यहि पनि स्वर्ग त्यति रमाइलो हुन्छ जस्तो मलाई लाग्दैन । महाभारतमा देखाए अनुसार स्वर्गको राजा ईन्द्रको दरबार त कति सानो छ । आकासमा रे , सानो चार कोठाको फ्लाट जस्तो । दुई चार जना दाह्रिवाला , आचार्यहरु बसेका हुन्छन । जिउमा केही लगाएका हुन्न खाली सुनको मुकुट टाउकोमा अनि जिउमा पछ्यौरा, घाँटिमा माला , काठको चप्पल् । त्यही धुँवा उडिरहने कोठामा बसेर त्यही उर्वसी र मेनकाको डान्स कति हेर्नु । छेउमा बसेर तबला र सितार बजाएको म्युजिक कति सुन्नु । बिरक्त लाग्दो । खान पाइने भनेको त्यही फलफुल, दुध र दाल्, भात, रोटी त होला नि । अनि त्यस्तोमा कति समय बस्ने ? एक पटक मरेपछि फेरी मरिदैन अनि त्यति लामो समय त्यहां के गरेर बस्नु । उराठै लाग्दो।

त्यो भन्दा नर्कमा कति रमाइलो हुनेछ । थरी थरिका मान्छे हुन्छन । अनेक थरी का ड्रेस अप गर्न पाईन्छ । कोही आधुनिकताको नाममा अर्ध नग्न भएर हिंड्ने छन् । कोही दिन रात जाँड रक्सिमा डुब्नेछन् । म: म: खाउ, सुकुटी खाउ । कहिले यता कहिले उता जाउ । कहिले काही बन्द को मज्जा कहिले काही खुल्ला को मज्जा एक पटक मरेपछी फेरी मर्ने डर भएन अनि गाँजा - भाङमा आफुलाई डुबाउ ।

त्यति भनेपछी मेरी प्रेमिकाको साह्रो हात पुन्: नरम हुँदै आयो । यो पल्ट त उनले कसिलो अङ्गालो मारिन । म निश्चिन्त थिएँ किन भने म पूर्व घनघोर पापी थिएँ भने मेरी प्रेमिका नर्कको सम्भाब्य आधुनिकता र छाडा स्वतन्त्रताको लागि झन पाप गर्न तयार छिन ।
आखिर हामी नेपाली युवा युवती न हौं । आदर्श, नैतिकता र कर्तब्य च्युत । या त अन्याय गर्ने या अन्याय सहने । हामीलाई नर्क स्वीकार्य छ ।

Monday 16 June 2008

Mind Technology

It was the 29th day of November 2007, I was quite nervous from the early in morning. Handful amount of spiceless pasta were moving in my stomach but in my mind rapid hurricane of thoughts were bolwing , ''what if i can't remember,they will think me i am lier,they will laugh at me.'' These sentences were killing me but still I had one inner power of hope, blasse of My Guru and love of my family. I became ready with almost empty belly, slight trembling body and Nepali national dress Daura Suruwal.
100 words were collected from all the visitors. They wrote one word in a piece of a paper and put on a box. Erika Nikander,anchor for the programme yelled '' Ladies and Gentalmen the most interested part of the International Day (programme name) is being started in a minute please take your seat in B-lobby.In this programme Sushil is going to Remember 100 english words just by hearing once'' The time came, i am called on the stage


Johanna Ylimys, one of my clssemate start to read the words from computer.It was visible in projector for the audience.She used to say 1- umbrella, 2-computer,3,4,5.....100. I had to memorize every word and number together and later had to say, when the audiences ask.I was in deep concentration.I didnt see anything just one word and one number, again one word and one number.In this way she finished 100 words. My heart beat ovbiously doubled, dried tongue and lips.

Then audience started to ask the number. What was in 47 Simon from Nigeria asked from back of the audience? I replied-Harry Tuomola(Lecture).In 19?.....Car.In 5-baby,In 2? In 99? In 25?One after another i answered.I gave all the answers except in one word ''Fur or Pur'' because i had already said that i did not understand the word. I would not answer it.
The 100 words finished.I took long breath shhhhhhh.....Every one stood up and gave a beautiful sound of hands in the succession of the programme.I was very very very happy at that moment because it was my first Mind technology programme and also Introduction programme in HAMK University of Applied sciences. The day after the programme, Valkeakoski Sanomat (Popular tobloid) in this area published my News placing in Ear Panel in the right corner.It was my first time being Published in Finnish News paper.




Monday 9 June 2008

म कहिले ठुलो मान्छे बन्न सकिन

म कहिले ठुलो मान्छे बन्न सकिन सानै हुँदा ममा 'ठुलो मान्छे' बन्ने भुत चढेको थियो । आज जिउ त ठुलो भयो, ढाड ठुलो भयो तिघ्रा ठुलो भयो तर मान्छे चैं ठुलो हुन सकिन । बाबा सधैं मलाई आमासँग होइन एक्लै सुत्न प्रेरणा दिनुहुन्थ्यो । "बाबु सानै देखि एक्लै सुत्यौ भने पछी ठुलो मान्छे बन्छौ" भनेर सम्झाउनु हुन्थ्यो । ठुलो बन्ने सुरमा म आमाको छेउ छोडेर एक्लै सुत्न थाले तर आमाको साथ छोडेपछी नजन्मिएको भाई जन्मेर कति ठुलो भयो । म चै ठुलो मान्छे भइन ।

हिजो ठेकीको दही हत्केलामा राखेर दौडिदा कति नै बाँकी रहन्थ्यो र कान्ला मुनी पुग्दा ? हेर आज त्यही हत्केलामा लिएर कुदेको दही कोश टाढाको खोलामा पुग्दा पनि जस्ताको तस्तै हुन्छ । हत्केलाको आकार कत्रो ठुलो भएछ तर मान्छे भइएन । आमाले खुवाएको तीन ले औँले दुध भात मुखमा कोख्यै कोख्यै गर्दा, कस्तरी बग्थ्यो ओंठमा नथामिएर । आज त्यही ओंठले कति ठुलो याक थाम्छ, गैंडा थाम्छ । एक मुठ्ठी बलबान चपक्क थाम्छ । ओंठको आकार चै ठुलो भएको छ, मान्छे भइएन । नङ ठुलो भयो, नङमा टाँसिएको छाला, छाला भित्रको इपिथेलिएल, मांसपेशी, रक्तनली, बोसो, आन्द्रा, भुंडी, जलद्वार, मलद्वार सबै ठुलो भयो मान्छे ठुलो भइएन । ठुलो मान्छे हुँन प्रयास नगरेको पनि हैन ।

स्कुल जाँदा सरले राम्रो सँग पढ ठुलो मान्छे बन्छस भन्थे । घर आएर कति राम्रोसँग पढें तर अपसोच कहिले पनि जाँचमा आउने प्रश्न र मेरो उत्तरको चाजोँपाँजो नै मिलेन । बिज्ञानमा प्रश्न आउँथ्यो- सियो पानीमा डुब्छ तर जहाज उत्रिन्छ, किन ? म लेख्थे- बाबा जहाज बनाएको नै पानी माथि उतार्न हो त अनि किन डुबोस । अङ्रेजिमा सधैं बिबाद To टु हुने, do डु हुने, अनि Go चै किन गु नहुने । यस्ता नाथे कुरा बाट माथि हटेर मैले कति किताब पढें । मोटो किताब पढेँ, छोटो किताब पढेँ । कलर पढेँ, ब्लाक एन्ड व्हाइट पढेँ । स्लील पढेँ, अस्लील पढेँ। इतिहांस पढेँ, भविस्यबाणी पढेँ। किताबका आकार ठुला हुँदै गए, तर म कहिले ठुलो भइन ।


कहिले काहीं मन्दिर जाँदा आमाले भन्थिन 'कान्छा देउती मातासँग ठुलो मान्छे बनाइदिनुस् भनेर माग ल' मलाई अचम्म लाग्थ्यो र सोच्थें - 'रातो दिन मन्दिर मै बस्ने पूजारी त त्यस्तो झुत्रे छ, दिन दिनै माग्नेको त त्यस्तो गती छ । हामी कहिले काहीं आएर माग्दैमा ठुलो मान्छे बनाइदिन के हामी देउती माताको माइती पट्टिको हो र ?'

संसारमा धेरै साधारण मान्छेबाट ठुलो मान्छे बनेका छन । जर्मन तानशाह हिट्लर बाल्यकालमा राम्रो चित्र बनाउथे भनेर मैले पनि त सानैदेखि ढाडे बिरालो, रातो भाले, घैटोंको चित्र कार्बनले छापेर नबनाएको कहाँ हो र ? खै त म ठुलो मान्छे बनिन । कतिपय कबि- कबियत्री सानै उमेरमा कबिता लेख्छन भनेर मैले पनि सकी नसकी कबिता लेखें -' आज हामी साना छौं भोली ठुला हुनेछौं पढि लेखी ज्ञानी भई देशको सेवा गर्नेछौं ।' तर खै को भयो ठुलो कस्को गर्नु मैले सेवा ? ब्रुस लीको बढोपन देखेर म नडाढिएको कहाँ हो र ? ब्रुस ली झैं सुरो बन्न मैले गोठालो जाँदा कति गोठालो पिटें पिटें, खै त म ठुलो मान्छे बनिन ।

धेरैले सुनाए "गौतम बुद्धले रोगी र बुढो देखेर बिरक्तिएर ध्यान गरे रे, अनि मानवबाट महामानव बने रे ।' तर म त्यो वीर अस्पताल अगाडि कति देखें रोगी, इमेरजेन्सी बिरामी, लुला लङ्गडा, मर्दा मर्दैका बुढा तर खै त, न मलाई कहिले बिरक्त लाग्यो, न कहिले ध्यान नै गर्नु पर्यो । अनि कसरी हुनु ठुलो मान्छे ? एक दिन त मलाई आफ्नो जिबन देखेरै बिरक्त लाग्यो अनि त्यही बिरक्तताको फाईदा उठाएर जबर्जस्ती ध्यान गर्न बसें उही प्रश्न लिएर कि ' मनुश्यले अन्तमा किन सिलटिमुर चपाउँछ ? ' बढो चिन्तन का साथ ध्यानमा बसें रत्नपार्क को चौतारीमा । बिस्तारै मैले मानव जिबनलाई राम्रोसँग अवलोकन गरें अनि मृत्यु को कल्पना गर्दै बढो गम्भिर मनन गर्दै आँखा चिम्लिएँ। बिस्तारै मेरो आँखा अगाडि अन्धकार छायो । म मानवबाट महामानव बन्ने संक्रमणमा थिएं । अन्धकारै अन्धकार माँझ बितेको समयको ख्यालै भएनछ । केही समय पछी आँखा खुल्यो । दिब्य ज्योति प्राप्त भएको भान हुन मात्र के लागेको थियो अचानक छाँगा बाट फुत्तै खसे जस्तो लाग्यो- छेवै मा राखेको फिट राइट कम्पनी को छालाको ४४ नम्बरको जुत्ता र भर्खरै होल्सेल बाट किनेको आधा दर्जन डल्ले साबुन बेपत्ता भएछ । ध्यान गर्ने म, मोक्ष् पाउने जुत्ता चोर । त्यस पछी बागबजारसम्म खाली खुट्टै आएँ । त्यहाबाट साथिको चप्पल मागेर घर जानु परर्यो।

सर आइज्याक न्युटनले रुखबाट स्याउ खसेको देखेर महान बैज्ञानीक बने, तर मैले पनि त बारीमा रुखबाट आँप, भोगटे, आरु, रुख, कटहर, खसेर पटक्क फुटेकै देखेको छु, खै त अहिले सम्म गुरुत्वाकषर्णको थोपो हिसाब गर्न आउँदैन । कसरी हुनु हो ठुलो मान्छे ? फेरी ममा ठुलो मान्छेमा भएका कती धेरै बिशेषता छन । आइन्स्टाइन भन्दा भुलक्क्ड छु, स्टेफिन हकिङस भन्दा रोगी छु । बब मार्ली भन्दा धेरै गाँजा खान्छु । गान्धीको भन्दा ठुलो तालु खुइलेको छ । यत्रो बिशेषता भएर पनि म किन ठुलो मान्छे हुन सकिन ।

इमानसिह चेम्जोङलाई स्कुल पढ्दा साथीहरुले जङगली भनेको इखले गर्दा अध्ययन गर्न थाले किराँतको बारेमा अनि ठुलो मान्छे भए । मलाई त झन जङगली, खाते, चोर, डाँका, गुण्डा, दुनियाँ भन्थे खै त मलाई कहिले इख जागेन, कसरी ठुलो मान्छे बन्नु?

साला उचाइँ ठुलो पार्ने क्याल्सियमा पाइने, कपाल ठुलो पार्ने श्यामपु पाइने, यौनाङ्ग ठुलो बनाउने साधन पाइने भने मान्छे ठुलो बनाउने ओखती किन नपाईने ???

Sunday 8 June 2008

युरोपको एक्लो

हिजो बाँसको फिरफिरे लौरीमा उनेर
कन्ला उकाली ओराली दौडिंदा,दौडेर लड्दा,फेरी उठ्दा अनि ठोक्किदा
कति रोमन्चित हुन्थ्यो मेरो मन
आज युरोपको एक्लो ब्यस्तपनामा
प्ले स्टेशन र निटेन्डोको बटन जती दबाए पनि निरास छ मेरो मन

डढेको कालो बाक्लो कोदोको रोटीमा
तप तप घ्यु दलेर आमले मलाई कम र भाईलाई बढी दिंदा
कति डडिन्थ्यो मेरो मन रोटी नसकिन्जेल चपाउँदा
यता पाउरोटी को बाक्लो चाङमा
चिज,बटर,सस र मासुका सपेटा तल्ला तल्ला मा राख्दा पनि
मुखमा पानी आउन छोड्यो साथमा खाने कोही नहुंदा

पुस माघ को चिसो सिरेटोले
च्यातिएको भोटोबाट सोझै ढाड सुम्सुम्याउँदा
कति याद आउथ्यो त्यो मकल अनि अगेंना
अहिले सुकिलो सुट पाइन्ट माथि बाक्लो ज्याकेट भिर्दा पनि
मन मेरो चिसै छ, न ताप्ने मकल न अगेना

जेठ महिनाको गोधुली साँझमा
आँगनमा बसी मकै छोडाउँदा
मकै राख्ने बहानामा कहिले झुक्किएर त कहिले जानेर
उनको स्तनमा स्पर्श गर्दा
आधा घण्टा सम्म मकैमा ध्यान जान्न्थ्यो
खै किन जिउ तातो भइरहन्थ्यो
अहिले वरीपरी सबै नाङ्गो तन नाङ्गो,मन नाङ्गो,बचन नाङ्गो
तै पनि मेरो मन चिसो छ
छि:चरित्र कति उदाङ्गो

टुकिको धमिलो प्रकाशसँगै ढाड बिजाउने खाटमा
हजुर आमाको परी को कथा गुन्जिन्थ्यो
परी आउँछिन,माया लाउँछिन, साथ दिन्छिन
परीको कल्पनामा आँखा झिमिक्क भएको पत्तो हुन्थेन
अहिले चखिलो बत्तिको बीचमा
जब नरम डस्नामा पल्टिन्छु
कोठा भरी फैलिन्छ नितान्त एक्लोपना र सुन्यता
खै परी कहिले आइनन,माया कहिले लाइनन

Monday 10 March 2008

तिम्रो रुप मेरो चित्र

तिम्रो सुन्दर रुप मेरो चित्र हुदो हो त
म त्यसमा थोरै थपघट गर्ने थिए
बाक्ल काला रेशमी कपालमा कलमको बेग पछ्याउदै
छिन्न लागेको कम्मरमा पुर्याउने थिए

भाग्यमानी निधारको माथितिर सिउँदोको लामो रेखा कोरेर
सौभाग्यवतिको चिनो कोर्ने थिए
क्न्चन तलाउ झै ति कोमल आँखामा
कालो कलमको डोब रगड्डै
परेली सुहाउदो गाजल बनाउने थिए

तिम्रा सुन्दर अनी ति नरम ओठमाचुच्चो कलमको घर्षण होइन
चोर औलाको स्पर्श दिने थिए
अग्ला ति कोमल बक्ष वरिपरि
ममताको मन्द मन्द छायाले पवित्रताको पर्खाल बनाउने थिए

अबिरल यात्रारत कोमल पाउको लागि
चस्स बिझाउने कान्डा मेटेर
बाटो भरी मखमली फुल बिच्छ्याउने थिए

तिम्रो सुन्दरताको निम्ती समर्पित यो कलाकारिताबाट
त्यही दिन सन्यास लिने थिए
तिम्रै सुन्दर चित्र हेरेर
सुन्दरताको परिभाषा दिने थिए

तिम्रो सुन्दर रुप मेरो चित्र हुदो हो त
म त्यसमा थोरै थपघट गर्ने थिए