Tuesday 31 March 2009

जन्मदिन

म आज २२ औँ बसन्तमा प्रबेश गर्दै छु । मेरो जन्म महिना चैत्रमा भएको हुँदा मलाई कोही चैते बाँदर त कोही चकचके हुन्छ भन्थे । जसले जे भने पनि मेरो जन्म महिनामा प्रकृतिमा हरियाली छाएको थियो । चरा चुरुङी मिठामिठा भाका हालेर गीत गाउदै थिए । मेरो स्वागत गर्न पो हो कि ?

मेरो जन्म पाटन अस्पतालमा भएको थियो । परिवारको सबभन्दा कान्छो भएको हुँदा सबैबाट माया धेरै पाएको थिए तर १ बर्षको भएपछी म आँफैले आमाको दुध खान छोडे रे । र बिस्तारै आमाको काखबाट पर पर सर्दै खेल्न तिर बढी ध्यान दिन्थे रे । ३ त्यही बर्षको हुँदा बानेश्वरबाट हराएर म गौशाला पुलिस थानामा गएर पुलिससँग मासको दाल र भात खाएर आएको थिए । पछी आमा र दिदी लिन आएपछी अर्को पटक आउँदा मासु पकाएर राख्नु भन्दै फर्किएको थिए रे, मलाई अली अली याद छ ।

म बच्चै देखी चकचके र जिज्ञाशु स्वभावको थिए र अझै पनि छु । सानै देखी चित्रकला,साहित्य,बिज्ञान र अध्ययनमा निकै रुची जागेको थियो । यि बिधाहरु थुप्रै पुरस्कारहरु पाइसकेको छु । ति मध्य हाजिर जवाफ प्रतियोगितामा मकवानपुर जिल्ला प्रथम, र काठमाडौं जिल्लामा द्वितिय भएको सबभन्दा महत्वपूर्ण छन ।

अहिले जवान भएको छु । जन्मिएको ठाउँभन्दा 'सात समुन्द्र' पार फिन्ल्यान्डमा अध्ययन गर्दै छु । कुनै दिन आमाले अलिकती पिरो हाल्नु हुँदा भात नखाने छोरो आज त्यही पिरो मसलादार तरकरी खान नपाएर तड्पिदै छ । हिजो बाबाको खल्तीबाट ५ रुपैया चोरेर गुच्चा किन्ने छोरो आज त्यही खल्तीमा लाखौं फिर्ता गर्दै छ । दिदीले ओढ्नेले मुख छोपेर भुत बनी तर्साउदा रुने भाई आज अध्यारो कोठामा एक्लै बसेर काम गर्दै छ । जन्म दिन आउँदा १ महिना अघी देखी औंला गन्ने सुशिल आज एक दिन अघी मा सुचना दिन वाध्य छ ।

समय कती बलबान रहेछ । कहाँ थिए म, अहिले कहाँ छु र भोली कहाँ हुनेछु ? समयको बेगसंगै ममा धेरै परिवर्तन आएका छन । अझै पनि यो बेगसँग पौडिन सिकेको छु जस्तो मलाई लागेको छैन । हेर्दै जाउ, समयले अझ के के गर्न सिकाउछ ।

आजको मिती सम्म मलाई हेरचाह गर्ने आमा शान्ती देवी गौतम र बाबा शिवप्रसाद गौतम र परिवार, साथ दिने साथी, माया गर्ने आफन्त, प्रेम गर्ने पूर्व प्रेमिका, शिक्षा दिने गुरुहरु र अन्तमा मेरो मार्गदर्शक गुरु निर्मलमणी अधिकारीलाई हृदय देखी नै सम्झिन चाहन्छु । धन्यवाद ।

Sunday 29 March 2009

नयाँ नेपाल

नयाँ नेपाल बनाउन हरेक तह र तप्कामा बहस भईरहेको अवस्थामा म पनि एउटा जिम्मेवार नागरिक भएको हैसितले नयाँ नेपालको संबिधानमा किटाण गर्नुपर्ने कुराहरुको खाका तयार गरेको छु जुन यस प्रकार छ ।

प्रदेशको बिभाजन:
केन्द्रिय,संघिय र स्थानिय गरी तीन तहको राज्य ब्यवस्था हुनेछ । प्रदेशको बिभाजन सर्वप्रथम धोती, टोपी र बक्खु लगाउनेको आधारमा हुनेछ । पुन बाहुन, क्षेत्री, सुद्र र बैष्य गरी ४ भाग अनी त्यस अन्तर्गत खस कुरा, मैथिली, भोजपुरि, नेवारी, तमाङ, कुसुन्दा सबै भाषाको आधार ९३ भाग लगाइन्छ । फेरी पनि हिन्दू, बौद्ध, ईस्लाम, इसाई आदीको आधारमा मुलुकको ४ धुजा पारीनेछ । यसरी मुलुकको अप्रेसन गरेर बिकासको निम्ती सम्बन्धित ब्यक्तीहरुलाई दिईनेछ । प्रहरी र सेनाको ब्यवस्था खारेज गरिनेछ । भए भरको दलहरुले युथ फोर्स र सेनाको निर्माण गरी रहेको बेला नाथे ब्यारेकमा थन्काउन र टुडिखेलमा तोप पड्काउन सेना किन राख्नु पर्‍यो ? अधिकार बिहिन प्रहरी राखेर कोस्लाई तर्साउन राख्नु पर्‍यो ? त्यसैले मुलुकलाई आर्थिक भारबाट जोगाउन सेना र प्रहरीको ब्यवस्था खारेज गरिनेछ ।


राष्ट्रिय एकताका प्रतिक:
स-साना राज्यको एकिकरण गरेर बिशाल नेपाल निर्माण गर्न सफल श्री ५ पृथ्बी नारायण शाह त अब राष्ट्रिय एकताका प्रतिक रहेनन । ठाउँ ठाउँ मै शालिक फोर्ने काम भईसकेको छ । त्यसकारण नेपालको भबिष्यमा ठुलो टाउको दु:खाइको बिषय बन्ने मधेस क्षेत्रका सबभन्दा प्रिय ब्यक्ती उपेन्द्र यादव नै राष्ट्रिय एकताको प्रतिकको रुपमा राख्नुपर्छ किनभने भबिष्यमा नेपालले आफ्नो अर्थ, राजनीति, कुटनिती र समाजिक निर्णयहरु गर्दा उनको सल्लाह बिना गरेमा सिधै नेपाल टुक्राउने धम्की दिने छन । उनको धम्कीमा होमा हो मिलाउने मधेसका च्याउ सरी उम्रेका अजिङर, कोब्रा, टाइगर, मुसा, भ्यागुता सबै हतियार धारी समुह देखा पर्नेछन । साथै अन्तत नेपाल बिभाजित हुनेछ । यसर्थ उपेन्द्र यादव नेपालको एकताको प्रतिकको रुपमा राख्नु उचित हुन्छ । नत्र खैरत छैन ।

राष्ट्रिय भाषा:
राष्ट्रिय भाषा हिन्दी हुनुपर्नेछ । भलै अत्यन्त न्युन सन्ख्याले यस भाषालाई मातृभाषा माने पनि उपराष्ट्रपती जस्तो देशको गरिमामय पदमा बस्ने ब्यक्तीलाई यो भाषा मनपर्छ । यही भाषामा बनेको चलचित्र र सिरियल नहेरी गृहणीलाई निन्द्रा लाग्दैनन । हाम्रा सबै जस्तो नेताहरु दिल्ली गएर यही भाषा बोल्छन । नेपालमा ग्राहक भारतीय आए नि हिन्दी बोल्नु पर्छ, पसले भारतीय भएनी हिन्दी नै बोल्नु पर्छ । आफ्नो भाषालाई कसले मन पराउछ र ? बोर्डिङमा पढ्ने विद्यार्थीले नेपाली राम्रोसँग बुझ्दिन भनेर गर्व गर्छ । गाउमा युवा छैनन, शहरमा नेपाली प्रष्ट बोले पाखे वा नेता वा साहित्यकारको सज्ञा दिईन्छ । अनी यस्तो भाषालाई किन राष्ट्रिय भाषा भन्नु पर्‍यो ?

राष्ट्रिय झन्डा:
पुरानो राष्ट्रिय झन्डाको सान्दर्भिकता के छ र ? अब नेपालको राष्ट्रिय झन्डा दुई त्रिकोण हुनेछ,माथिल्लो त्रिकोणमा इटा र तल्लो त्रिकोणमा टायर हुनेछ जसमा निलो घेराको अर्थ निलो आकाश, रातो रङको अर्थ रक्तपात । जसको सान्केतिक अर्थ हुनेछ - हरेक दिन नेपालमा निलो आकाश मुनी घटीमा दुई वटा कोण सभा हुनेछ । कोण सभामा बालिने टायर र हानिने इटाले नेपालीको दिनचर्याको प्रतिनिधित्व गर्नेछ । आखिर देशको प्रतिनिधि चिन्ह पो हुनुपर्छ त राष्ट्रिय झन्डामा ।



राष्ट्रिय खेल:
क्रिकेटलाई राष्ट्रिय खेल बनाउनुपर्छ । आन्दोलन नेपालको प्रमुख बिशेषता भएको हुँदा क्रिकेट खेलले आन्दोलनसँग सम्बन्ध राख्छ । प्रहरीले ब्याटिङ गरे जस्तै लौरोले आन्दोलनकारीको ढाड फुस्काउछन भने आन्दोलनकारीले बलिङ गरे जसरी ढुङ्गा मुढा बर्साउछन । अनी बिचमा चेपिएकाहरु फिल्डर जसरी ढुङ्गा हेर्दै दौडिन्छन । क्रिकेट खेललाई नेपाली राष्ट्रिय खेल बनाएपछी आन्दोलनकारी, प्रहरी र जनतालाई सजिलो हुने हुँदा यस खेललाई राष्ट्रिय खेल बनाउनु पर्छ ।
राष्ट्रिय जनावर:
राष्ट्रिय जनावर बनमान्छे हुनु पर्नेछ । गाई राख्न अब नेपाल हिन्दू राष्ट्र नै रहेन । हुन त गाईलाई मिल्दो जुल्दो अवस्था नेपालमा छैन पनि । बरु बन मान्छे उपयुक्त हुनेछ । नेपालमा कती खेर बत्ती जान्छ होइन, आउछ भनेर हेर्नु पर्ने अवस्था छ । यो अवस्था अब ५ बर्ष सम्म निरन्तर रहनेछ । बिजुली बिना संचार साधन र कल कारखाना ठप्प हुँदै छन । जती खेर नि हुने हड्ताल र बन्दले पेट्रोल, डिजेल र खाद्य संकटले मानिस घरमा पकाउन नसकेर बनमा कन्दमुल खोज्दै खानुपर्ने स्थिती चाडै आउँदै छ । तसर्थ फोकटको गाईलाई राष्ट्रिय जनावर बनाउनु भन्दा राष्ट्रिय पहिचन द्योतक बनमान्छेलाई बनाउनु पर्छ ।
राष्ट्रिय पोशाक:
राष्ट्रिय पोशाकको ब्यवस्था खारेज हुनेछ । मुलुकमा ४३ प्रतिशत गरीब जनता एक सरो राम्रो लगाउन नसक्ने छन । तिनीहरुलाई राष्ट्रिय पोशाक लगाउनु पर्ने भार किन दिनु ? राष्ट्रिय पोशाकले के को प्रतिनिधित्व गर्छ र राख्न लाई ? अनी बाँकी धनी भनौदा युवतीहरु सके सम्म नाङ्गै हिंड्न चाहन्छन । अब बाँकी पुरुषको लागि मात्र राष्ट्रिय पोशाकको ब्यवस्था गरेर नारी पुरुष बिच बिभेद गर्नु हुन्न ? नारी पुरुष समान बनाउन भए पनि राष्ट्रिय पोशाकको ब्यवस्था खारेज गरिनेछ ।
यसका साथै प्रेष स्वतन्त्रताको ग्यारेण्टी हुनेछ तर पत्रकारको जिउको ग्यारेन्टी भन्न सकिन्न । 'आफ्नो गाउ आँफै बनाऔ , आँफै पकाउ आँफै खाऔ र आफ्नो जिउ आँफै जोगाऔ' नामको बिकासमुलक कार्यक्रम ल्याइनेछ । साउदी कतार र दुबईमा भेडा चराउन जाने नेपालीको लागि भेडा आयोग । अमेरिका र युरोपमा भाडा माझ्न जानेको लागि भाडा-बर्तन आयोगको ब्यवस्था संबिधानमा गरिनेछ । सडक दुर्घटनामा मर्ने, आन्दोलनमा मर्ने, लडेर मर्ने सबैलाई शहिद घोषणा गर्न शहीद आयोग पनि निर्माण गरिनेछ ।

Saturday 21 March 2009

मानिस

मानिस एउटा जटिल बिषय हो । मानिस कै बिषयमा ठुला ठुला ब्यक्तीहरुले बोलेका वाक्य संसारका ठुला ठुला दर्शन र धारणा बन्ने गरेको छ । अल्बर्ट आईन्स्टाइनले भनेका थिए 'ब्रह्माण्डको फैलावट र मानिसको अहमताको सिमाना हुँदैन' । यस वाक्यको आशय हरेक मानिस आफ्नै बाद ,दर्शन र शास्त्र हुन्छ । उसले त्यो दर्शन र सिद्दान्त लिएर यस्तो जटिल धारणाको निर्माण गरेको हुन्छ कि आफु बिपरित सोच्नेलाई मुर्ख देख्छ । उसले आफ्नो सोचको आधारमा विश्वको व्याख्या गर्छ । तर उसको व्याख्यामा सबै अटाउन त सक्दैनन । त्यसपछी उसको दिमागमा द्वन्द सिर्जना हुन्छ ऊ सोच्न थाल्छ 'संसार कती मुर्ख छ किन यो कुरा बुझ्दैन ?' फलत ऊ दुखी हुन पुग्छ ।

अर्को उद्दरण छ ' द ओल्ड म्यान एण्ड द सि ' बाट उध्रित, ' मानिस क्षत बिक्षत हुन सक्ला तर हार स्वीकार्दैन ' । अर्नेष्ट हेमिङ्वेले यही उद्दरणको सहायताले नोबेल पुरस्कार पाए साहित्य तर्फ । यही भनाइले पनि मानिस भित्रको जटिलता उजागर गर्छ । कुनै पनि घटना तथा बिषय प्रती मानिसले एउटा धारणा बनाउछ । र त्यो धारणालाई उसले धारणाको रुपमा नभै सत्यताको रुपमा लिन्छ । उसको सोच नै सही हो भन्ने लागेपछी यदी त्यसको बिरुद्धमा कोही जान्छ भने या त उसको भौतिक अस्तित्व समाप्त गर्ने प्रयास गर्छ नत्र मौखिक तर्क दिएर आफ्नो धारणाको बचाउ गर्छ । यदी मौखिक तर्कले पनि काम चलेन भने मन मनै भन्छ ' यती कुरा बुझ्दैन, यस्ता सँग के बोल्नु ? जस्तै एस् एल सि मा कसले बढी अंक ल्याउने भनेर प्रतिस्पर्धा गर्ने दुई विद्यार्थी मध्य हार्नेले कहिले 'हो रहेछ । मैले तिमी भन्दा राम्रो पढ्न नसक्ने रहेछु भनेको सुनिन्छ ?' ऊु सधैं भन्ने छ ' घरमा समस्या परेर राम्रोसँग तयारी गर्न सकिन कि परिक्षाको बेला सन्चो भएको थिएन कि परिक्षा दिदा वरिपरिको हल्लाले गर्दा राम्रोसँग ध्यान दिन सकिन' ऊ सधैं सोच्ने गर्छ कि म हारेको पटक्कै हैन । किन भने हार्नुलाई उसले आफ्नो अस्तित्व मेटिएको ठान्छ । अनी आफ्नो अस्तित्व कसरी मेटिन देओस त ?

त्यस्तै अर्को भनाइ छ ओशोको ' मानिस मुर्ख छ, के भनियो त्यसको मत्लब हुँदैन । कसले भन्यो त्यसको चासो गर्छ । 'अर्थात सबैले चिनेको राजेश हमालले कपाल पाल्नु फेसन हो तर गल्लीको मोटे धिमालले कपाल पाल्नु फेसन हैन कपाल काट्ने पैसा नहुनु हो । अझ भनौ, एउटा सानो कुरा पनि नेपालीले नै भनेको भन्दा टाइसुट लगाएर आएको पश्चिमीले भन्यो भने बढी विश्वासिलो मानिन्छ । आखिर सत्य त सत्य नै हो नि जसले भने पनि । तर मानिसले बुझ्दैन । कसले भन्यो त्यसको आधारमा बुज्छ त्यो सहि हो अथवा होइन भनेर । गौतम बुद्ध नेपालमा जन्मिएका हुन भनेर फ्रान्सेलीले नभनेर कुनै नेपालीले नै भनेको भए शायद त्यसको विश्वाश नै गरिदैन थियो होला । यस्तै छ मानिस । अफ्रिकाका कती पय देशमा अङ्रेजीमा लेखिएको बाइबलको बढी विश्वाश गरिन्छ, स्थानिय भाषामा भन्दा । किन भने अङ्रेजी त्यहाको स्थानिय भाषा भन्दा बढी बिकासित भाषा हो । अङ्रेजी बोल्ने देशको बिकासले आकाश छोएको छ । अनी कसरी त्यसमा विश्वाश नगरुन त ?

त्यस्तै हिन्दू दर्शन अनुसार 'मानिस ज्ञानको निमित्त जिउछ '। अर्थात मानिस जन्मिदा उसको दिमाग पूर्णतया सुन्य हुन्छ । न उसलाई भबिष्यको चिन्ता हुन्छ । न बिगतको पश्चाताप । न प्रेम न बिछोड, न अध्ययन न परिक्षा । तर उसको आँखा खुले लगतै उसले बिभिन्न रङ र बस्तु देख्छ । कुनै बस्तु आकर्षक, कुनै बस्तु नरम कुनै कडा । बिस्तारै आमासँग सामिप्य बढ्छ । आमा हुँदा खुशी नहुँदा रोदनको स्थिती आउछ । राम्रो खेलौना प्राप्त गर्ने आकाङ्क्षा बढेर जान्छ । नपाएमा पिडा हुन्छ । रिस ,इर्ष्या र मोहले जन्म लिन्छ । युवा अवस्थामा मन झनै बिचलित हुन्छ । यौन नै सबभन्दा सुख प्रदायक सोच्छ तर त्यो पनि केही समय पछी कम्जोर बन्न पुग्छ । फलत यौन साथी परिवर्तन गर्छ । एक, दुई, तीन । त्यसको केही समय पछी आँफैमा यौन अक्षमता देखा पर्छ । अनी जिबन मिथ्या छ भन्ने सम्ममा पुग्छ तर यि क्रममा उसको दिमाग सुन्यबाट अत्यन्त जन्जालमा पुगेको हुन्छ । चाहेर पनि बिर्सिन सक्दैन । आखिर उसले पाएको ज्ञान मात्र हो । जिबन भर भोगेका तिता मिठा अनुभव ज्ञान भनेर दिमागमा रही रहन्छ र त्यही ज्ञानको कारण झनै दुखी हुन्छ । मानिसले भौतिक अवस्थामा चरम सुख तब प्राप्त जब ऊ आँफैले आँफैलाई बिर्सिन्छ । समयको अनुभव सुन्य हुन्छ । न बिगत न बर्तमान न भबिष्य । कुनै एउटै कुरामा लीन भएर आफ्नो अस्तित्व बिर्सिदा उसलाई अथाह आनन्द आउछ । यौन कृयाको चरम बिन्दुमा उसलाई कुनै चिजको ध्यान हुँदैन । आँफैलाई बिर्सेर अथाह सुखको चट्याङहरु बर्सिरहेको अनुभव गर्छ । यौन भन्दा अली कम, संगीत प्रेमीहरु संगीतको लयसंगै आँफैलाई बिर्सेर अथाह सुख अनुभुती गर्छन् । त्यो बेला पनि उसलाई आफ्नो अस्तित्व बोध हुँदैन । सोमरस प्रेमीहरु पिउदा पिउदै आँफैलाई बिर्सिन चाहन्छन । र त्यसैमा अथाह् सुख प्राप्त गर्छन् । तर अचम्मको कुरा आफुले आफ्नो अस्तित्व बिर्सिदा अथाह् सुख अनुभुती गर्ने मानिस अरुले आफ्नो अस्तित्व बिर्सिदिदा अत्यन्त दुखी हुन्छ । जस्तै मानिसको जिबनमा सबभन्दा पिडा र इर्ष्याको बिषय पनि अस्तित्व नै हो । अस्तित्व बोध बाल्यकाल देखी नै बिस्तारै हुन थाल्छ भने उमेर ढल्केका बुढा पाकामा अत्यन्त जटिल भएर बसेको हुन्छ । त्यसैले उमेर ढल्केका बुढा पाकालाई केही कुरा बुझाउन गाह्रो हुन्छ कारण उनीहरुमा आफ्नो अस्तित्व बोध अरुमा भन्दा बढी हुन्छ । अस्तित्वको पारीभाषा स्थान बिशेषको आधारमा जे भए पनि मानिसमा हुने त्यसको डिग्री भने समान नै हुन्छ ।

कार्ल मार्क्सले सम्पूर्ण मानिसको समान अस्तित्व देख्छन भने कन्फुसियस समाजमा सन्तुलनको निम्ती बिभिन्न स्तरको अस्तित्व देख्छन । आवरणमा समान तथा असमान अस्तित्व देखीपनी भित्री रुपमा अस्तित्व बोधको डिग्रीमा कुनै कमी हुँदैन । मानिसले गर्ने ४ किसिमको आत्महत्या मध्य इगोइस्टिक र एनोमिक आत्महत्या पनि अस्तित्व बोध कै कारण हुने गर्दछ । समाज शास्त्री इमाइल दुर्खेम भन्छन समाजको सामान्य स्तर भन्दा बढी अस्तित्व बोध हुनेले इगोस्टिक र काम अस्तित्व बोध हुनेले एनोमिक आत्मा हत्या गर्ने गर्दछन । यसरी जन्मे देखी नमरुन्जेल सम्म मानिस एउटा जटिल बिषय रहन्छ । शायद त्यही भएर होला अलेक्जेण्डर पोपले भनेका छन ' मानिसको सबभन्दा राम्रो अधययनको बिषय मानिस नै हो ।'

Monday 9 March 2009

बधाई छ रबिन्द्र जि

नेपाल फर्किने बेलामा
रवीन्द्र मिश्र
अन्ततः पेसागत र व्यक्तिगत दुवै रूपमा नेपाल फर्किने मेरो लामो धोको पूरा हुनलागेको छ । पाकिस्तानमा झन्डै तीन र बेलायतमा १४ वर्ष बिताएपछि म स्थायी रूपमा अर्काे महिना नेपाल फर्किंदैछु । बेलायतमा बिताएका १४ वर्ष मेरालागि जीवनको एउटा अत्यन्त सुखद, उपलब्धिपूर्ण र सन्तोषजनक समयका रूपमा सदा रहिरहनेछन् । पाकिस्तानको तीनवर्षे बसाइले मेरो शैक्षिक जीवनमा एउटा इूटा थपेको थियो र मेरो पेसागत जीवनको जग निर्माण गरेको थियो । बेलायतको बसाइले मेरो शैक्षिक जीवनमा आर्को इँटा थप्यो र मेरो पेसागत जीवनलाई एउटा रूप र परिचय दियो । ती सबैले मलाई व्यक्तिगत रूपमा सुखद अनुभूति दिने गरेका छन् । तर मैले मेरो शिक्षा र पेसाको धरातलमा उभिएर बेलायत बसाइका क्रममा देखेका र भोगेका क्षणहरूले मलाई जे सिकायो र मेरो पेसाभन्दा बाहिर मभित्र रहेको गहिरो विश्वासलाई अघि बढाउन जसरी प्रेरित गरायो, त्यो मेरालागि सबभन्दा सन्तोषको पक्ष रहेको छ । यी अनुभूतिहरूलाई दुईवटा कारणले मैले यहाँ बाँड्ने धृष्टता गरिरहेको छु ।
पहिलो कारण हो, जेले मलाई मेरो आजसम्मको यात्रामा सबभन्दा ठूलो सन्तोष प्रदान गरेको छ, त्यसका लागि म आफूलाई नभएर अनगिन्ती विदेशमा बस्ने र खासगरी बेलायतवासी नेपालीहरूलाई धन्यवाद दिन चाहन्छु । तिनको सद्भाव, विश्वास अनि नैतिक र आर्थिक सहयोग नभएको भए मैले तय गरेको त्यो सानै किन नहोस्, तर सबभन्दा बढी सन्तोषजनक पाइला चाल्न सक्ने सम्भावनै रहने थिएन । मेरो १४ वर्षे प्रवासमा नेपाल र नेपाली भनेपछि मरिमेट्ने कैयौं नेपालीहरूलाई मैले भेट्ने, उनीहरूका बारेमा सुन्ने-पढ्ने र कतिपयसूग विचार आदान-प्रदान गर्ने मौका पाएू । उनीहरूबाट मैले धेरै सिकेको छु । यो लेखमा ती सबैको नाम लिन सम्भव छैन । तर नेपाल र नेपाली समुदायलाई कुनै न कुनै रूपमा सहयोग गर्न ती सबै नेपालीहरूप्रति म पूर्ण नतमस्तक छु । ती सबै मेरो बाँकी जीवनमा प्रेरणाका स्रोत रहिरहनेछन् । तीनको नैतिक या आर्थिक सहयोग नभएको भए म र समान विचारधारका मेरा साथीहरूद्वारा स्थापित र सञ्चालित हेल्प नेपाल नेटवर्क नौ वर्षको अवधिमा नेपालका गाउँहरूमा, मूलरूपमा नेपालीहरूबाटै उठाइएको रकमबाट, कैयौं स्कुल बनाउने, स्वास्थ्यचौकी चलाउने, पुस्तकालयहरू निर्माण गर्न, कैयौं स्कुल र स्वास्थ्यचौकीहरूलाई शैक्षिक र स्वास्थ्य उपकरणहरू प्रदान गर्न र आपतकालीन राहतहरू उपलब्ध गराउने काम गर्नसक्ने थिएन । 'नेपालका लागि नेपालीले गरौं' भन्ने नाराका साथ नौ वर्षअघि सुरु गरिएको 'नेपालको लागि महिनाको एक पाउन्ड कोष' अभियान अहिले बेलायतबाहेक अरू कैयौं देशहरूमा फैलिएको छ ।
हामी सबै एकआपसमा मिलेर काम गर्न सक्छौं । कतिपय ठाउूमा त समान नाराका अन्य संस्था पनि स्थापना भएका
छन् । भविष्यमा हेल्प नेपाल नेटवर्क सञ्चालनका लागि सहयोग पुगोस् भनी स्थापना गरिएको प्रशासनिक कोषमा मात्रै विश्वको विभिन्न देशका झन्डै २५ जना नेपालीहरूले कम्तीमा अढाई लाखदेखि बढीमा पाूच लाख रुपैयाूसम्म चन्दा दिएका छन् । सो कोषलाई अझ ठूलो बनाउने प्रयास जारी छ । हेल्प नेपालमा काम गर्ने क्रममा मैले यति धेरै प्रेरणादायी नेपालीहरू भेटेको छु, जसप्रति मेरो श्रद्धा सदा अटल रहिरहनेछ । १४ वर्षको प्रवास बसाइका क्रममा वास्तविक रूपमा सँगसँगै काम गर्ने, कुराले संसार हाँक्ने, तर नेपाल र नेपालीका लागि केही पनि नगर्ने या लाज छोप्नका लागि अत्यन्त नगण्य एक-दुई काम गरेर फुर्ती लगाउने, घरको गरिबी छल्न विदेशमा दुःखजिलो गर्ने नेपालीलाई गन्दै नगन्ने, टन्न पैसा कमाएर पनि आफू पढेको गाउँको स्कुललाई जस्ताको त्यस्तै छाड्ने तर सिङ्गो देश बनाउने भाषण छाूँेर हिँड्ने, अनि नेपालमा 'हामीजस्ता सक्षमहरूको कदर नै हुँदैन' भनेर सरकारलाई गाली गर्ने, कत्ति पनि सामाजिक दायित्वबोध नभएका, स्वार्थी, ढोँगी र कपटी नेपालीहरू पनि नभेटिएका होइनन् । ती मेरो लेखाइका सधैं तारो बने । र भविष्यमा पनि बनिरहने छन् । मेरा यी अनुभूतिहरू बाँड्नुको अर्को कारण, विदेशमा बस्ने धेरै नेपालीहरूमा नेपाल फर्किने या नफर्किने भन्ने द्विविधासँग सम्बन्धित छ । मेरा दुवै छोराछोरी लन्डनमा जन्मिएका थिए । ती ११ वर्ष र ८ वर्षका हुँदा गत वर्षमै उनीहरूलाई स्थायी रूपमा नेपाल सारेँ । धेरै मित्र र आफन्तहरूको दबाबका बाबजुद हामी -मैले र मेरी श्रीमती) ले आफूहरूलाई मात्र होइन, छोराछोरीलाई पनि बि्रटिस नागरिकता लिन इन्कार गरिदिएकोमा, धेरैले हामीलाई मूर्ख सम्भिmएका
थिए । त्यतिमात्र होइन, हामी उनीहरूलाई यस्तो स्थितिमा नेपाल सारिरहेका थियौं, जतिबेला नेपालमा स्कुलहरू नियमित रूपमा चलिरहेका थिएनन्, दिनमा १२/१५ घन्टासम्म बिजुली गइरहेको थियो, काठमाडौं धूलो, धूवाँ, फोहोरमैलाले व्याप्त थियो र सुरक्षास्थिति नाजुक हुँदै गइरहेको थियो । म भने काठमाडौंमा रहेका मेरा कैयौं मित्रहरूले झैं छोराछोरीलाई १२ कक्षासम्म भारतमा पढ्न पनि नपठाउने, बेलायतमा पनि नराख्ने र आफू पनि उमेर छँदै नेपाल फर्किने पक्षमा थिएँ । काठमाडौंमा आर्थिक स्थिति पूर्ण मध्यमवर्गीय हुँदाहुँदै मेरो त्यस्तो ढिपी देखेर, मेरा नातेदारहरू भन्थे, 'कुकुरलाई घिउ नपचेको, बोकाको मुखमा कुभिन्डो नअटेको' आदि-इत्यादि । तर मलाई त्यस्ता टिप्पणीहरूले छुँदै-छुँदैन थियो । मेरा ती नातेदारहरू फोहोरमात्र हेरिरहेका थिए । म फोहोरमा कमल फुलाउन थोरै तर प्रेरणादायी ती नेपालीहरूलाई हेरिरहेको थिएँ, जसका कारण आज देशमा व्याप्त राजनीतिक दुर्गन्धीका बाबजुद नेपाल, नेपाल रहेको छ । त्यो देश, जसले म र मजस्ता दसैं-लाखौं नेपालीहरूलाई नेपाली भन्दा गौरवको अनुभूति दिन्छ । त्यसैले विदेशमा बसेर नेपाल र नेपालीका लागि गर्नमात्र होइन, देशभित्रै बसेर अनेकौं रचनात्मक काम गरेर मजस्ता कैयौंलाई नेपाल फर्किन प्रेरित गर्न ती नेपालीहरूप्रति पनि म उत्तिकै आभारी छु । ती फर्किएर सारा नकारात्मकता बाबजुद खुसीसाथ अत्यन्त रचनात्मक जीवन बिताइरहेका छन् भने म र मेरो परिवारले चाहिू काठमाडौंमा बस्न नसक्ने भन्ने प्रश्नै उठ्दैन थियो ।
कुनै दुःखद घटना घट्नुछ भने त्यो भाग्यको खेल हो, जहाँ बसे पनि टारेर टर्दैन त्यो । हो, म फर्किएर कैयौं नेपालीहरूले झैं हिलोमा कमल फुलाउन नसकुूला, आकाशको तारा खसाउन नसकुूला । म त्यस्तो कुनै महान लक्ष्य लिएर फर्किन लागेको पनि होइन । धेरै मेरा दौंतरीहरूले 'खुब शान देखाएर ठूलो मान्छे हुन गएको थियो, देख्यो त भन्लान्, त्यो त महाको आडम्बर हो नि, मुखले बढो राष्ट्रवादी कुरा गर्छ, के-के व्यक्तिगत फाइदा हुने देख्यो, अनि फर्कियो' भन्लान् । भन्नेले यसै लेखलाई पनि आफ्नो ढम्फु आफैं बजाएर शान दिएको भन्लान् । भोलि मेरा छोराछोरीले 'हामीलाई लन्डनको स्वर्गबाट काठमाडौंको नर्क लेराएर जाकेको' भनेर सराप्लान् । ती सबैको सामना गर्न म तयार छु । सबभन्दा डर मलाई अरूको नभइ, मेरा छोराछोरीले भोलि सराप्लान् भन्नेमा छ । साना छँदा छोराछोरीका मार्गनिर्देशक तिनले मनपराए पनि, नपराए पनि तिनका बाबुआमा नै हुन् । आज मैले मेरो ब्रह्मले जे ठीक देखेँ, त्यो
गरेँ । भोलि उनीहरूले मैले जेलाई आदर्श देखेँ, त्यसलाई भूल सम्भिmए भने मलाई कुनै पश्चाताप हुने छैन । त्यसमा म प्रस्ट छु । मैले रोजेको बाटोबाट उनीहरू अलिकतिमात्र पनि प्रेरित भए भने म आफूलाई धन्य सम्झनेछु । भएनन् भने त्यसलाई म मेरो जीवनमा दुर्भाग्यको एउटा पाटो सम्झनेछु । मैले यी अनुभूतिहरू नेपाल फर्किन लागेर या अलिकति कल्याणको काममा संलग्न भएर के-के नै गरेँ भनी फुर्ती लगाउन पाठकहरूसमक्ष पस्किएको अवश्य होइन । तर समाज कल्याणकारी भावनाबाट निर्देशित हुने हो भने सधैं सरकारलाई गाली गरेर बस्न पर्दैन र धेरै सकारात्मक कामहरू आफैं हुनसक्छन् भनेर पुनःपुष्टि गर्नखोजेको चाहिँ अवश्य हो ।
त्यसैगरी वर्तमानको परिस्थितिमा पनि दृढ मनोबल हुने हो भने नेपाल फर्किन सकिन्छ भनेर जिकिर गर्नखोजेको पनि हो । त्यति गर्दा म घमन्डी सुनिएको छु भने म प्रबुद्ध पाठकहरूसँग क्षमायाचना गर्न चाहन्छु । अन्त्यमा, तपाईंहरू, खासगरी विदेशमा बस्ने नेपालप्रेमी नेपालीहरू, कसैलाई पनि आफूले छोडेर गएका ती गरिब गाउँहरूमा शिक्षा र स्वास्थ्य क्षेत्रमा केही गर्न इच्छा, त्यसको लागि उपयुक्त माध्यमको आवश्यकता र त्यो माध्यम हेल्प नेपाल नेटवर्क बनिदिनसक्छ भन्ने विश्वास छ भने कृपया मलाई निःसंकोच सम्पर्क गर्नुहोला । नेपाल फर्किएपछिको मेरो निजी समय सकेसम्म विदेशमा बस्ने नेपालीहरूको कल्याणकारी चाहनालाई साकार पार्न व्यतीत गर्ने मेरो मनसाय हो । कल्याणको काममा कसैका लागि पनि सहायकसिद्ध हुन पाएँ भने म आफूलाई भाग्यशाली सम्झने छु ।
(कान्तिपुर दैनिकबाट सभार गरिएको)

मेरो भनाइ पनि
सदैव नकारात्मक समाचार र लेखले पाना भरिने नेपाली पत्रीकामा एकदिन यस लेख पढ्न पाए । रबिन्द्र मिश्र जो बि बि सि नेपाली सेवाका पूर्व प्रमुख हुन । उनी बेलायतको बसाइबाट केही ज्ञान र अर्थ लिएर नेपाल जादै छन । उनले चाहेको भए बेलायतमा सयलको जिन्दगी बिताउन सक्थे । न बेलायतको कुनै सडकमा चक्का जाम हुन्थ्यो । न बेलायतमा 'नेपाल बन्द' नै हुन्थ्यो । धुलो र धुवाको कुरै छोडौ । धाराको मुन्टो देब्रे बटारे चिसो दाहिने बाटरे तातो पनि आउछ । बत्ती आँफैले नानीभाए सम्म झिमिक्क जादैन । बरु सुर्य उदाउन ढिला होला, मेट्रो ट्रेन र बस समय मै आईपुग्छन । छोरा छोरी सानै देखी अङ्रेजी परर बोल्थे बिट्रिस एसेन्टमा । तर उनी जादै छन ।

उनलाई चाहिएन त्यो बिदेशी भौतिक सुबिधा मात्र । आफ्नो पहिचान अर्थात आफ्नो मुलुक अन्धकारमा छ अनी अरु देशको उज्यालोमा बसेर कुन देशभक्त नेपालीको मनमा सन्तोष हुन्छ र ? जे जस्तो भए नि आफ्नो भनेको आफ्नै हो । पिछडिएको होस् , असिक्षित होस् गरीब होस् । देश त हाम्रै हो नि ।रबिन्द्र मिश्र भलै नेपाल गएर भौतिक रुपमा सुबिधा सम्पन्न जिबन नबिताए पनि मान्सिक सन्तुष्टी अवश्य मिल्नेछ । उनी जस्ता अनुभबी ब्यक्तीको खाचो छ हाम्रो देशलाई । अहिले सम्म मुख पड्काउने धेरै देखिए तर गरेर देखाउने हिम्मत उनले मात्र गरेका छन । उनले हामी जस्ता बिदेशमा बसेर अध्ययन गरी रहेका बिद्यार्थीलाई समेत प्रेरणा र बल प्रदान गरेका छन ।

वास्तवमा हामी हरेक नेपाली बिद्यार्थी बाल्यकालमा डाक्टर ईन्जिनियर पाइलट अथवा शिक्षक बनेर देशको सेवा गर्छु भनेर एक न एक पटक भनेका हुन्छन तर जसै उमेर ढल्किन्छन । कोही साउदी-दुबई हानिन्छन कोही अमेरिका-युरोप । साउदी-दुबईमा कडा कानुन र मानव अधिकार नभएको कारण ति नेपाली त फर्किन चाहन्छन तर अमेरिका -युरोप छिरेका बिद्यार्थी भने सके सम्म त्यहीको ग्रीन कार्ड अथवा पि आर लिएर बस्न अनेकौ उपाय लगाउछन । कोही भाडाको केटी बिहे गर्छन् । कोही पासपोर्ट च्यातेर शरणार्थि बन्छन त कोही श्रम स्वीकृति लिएर बस्छन । तर आफुले सिकेको ज्ञान र उपार्जन गरेको अर्थको सदुपयोग नेपालमा गएर गर्न सकिन्छ भन्ने ध्यान नै दिदैनन । हामी अमेरिका छिरेका बिद्यार्थीहरु गैर कानुनी रुपमा काम गरेर जिबिकोपार्जन गर्न वाध्य छन किन भने त्यहा बिदेशी विद्यार्थीलाई बाहिर काम गर्ने अनुमती छैन । भारतीय तथा पाकिस्तानीको पसलमा चर्को गाली सहेर हेपियर काम गर्न वाध्य छन । पेट्रोल पम्पमा काम गर्दा जिबन अर्पन गर्ने विद्यार्थीको सन्ख्या बढ्दै छ ।

युरोप छिरेका विद्यार्थीको पिडा बेग्लै छ । युरोपको सबै देशमा ईंग्लिश बोलिदैन । स्थानिय भाषाको अज्ञानताको कारण भने जस्तो काम पाइदैन । अनी भर पर्नुपर्छ कि त टोइलेट सरसफाइ , भाडा माझ्ने , घर सफा गर्ने कि पत्रीका बाढ्ने । यस भनाइको अर्थ यि कामलाई सानो भन्न खोजेको होइन काम सबै एकै हुन । सानो ठुलो हुँदैन । तर त्यही काम गर्ने विद्यार्थी पनि आफ्नो काम भन्न लजाउछन । हिनता बोध अनुभव गर्छन् । तर कतिन्जेल त ? कती त्यही भारतीयको तुच्छ बचन सहेर काम गर्ने ? कतिन्जेल 'भन्न लाज लाग्ने' काम गर्ने ? कती दिन ? के हाम्रो देशप्रती कुनै दायित्व छैन ? कती बर्ष गरीब र असिक्षित मुलुकको नागरिक भनेर चिनिने ? अब त केही गर्ने बेला आएको छ । हामी बिदेशमा पढौ राम्रोसँग । आफ्नो अर्थिक अवस्था सुधार गरौ र केही गर्न सक्ने भए पछी नेपाल फर्कौ । हाम्रो देशलाई सिक्षित युवा युवतीको खाचो छ ।

अब रबिन्द्र मिश्रको तरिकामा भन्दा, मेरो लेख पढे पछी ' खुब जान्ने भएको छ । सुरुमा आफु जावोस न । ' भन्ने छन । मेरो जवाफ तयार छ, म स्नातकोत्तर् गरेर जानेछु । कोही जिज्ञाशुले सोध्लान ' नेपाल गएर के गर्ने ? केही छैन ?' म भन्ने छु युरोप अमेरिकामा के थियो र ? हामीले नगरे के स्वर्गबाट देउता आएर नेपालको बिकास गरिदिन्छन । यो लेख पढे पछी कोहिले भन्लान ' यो पागल भएछ ' म भन्ने छु ' पागलपन त्यती सजिलै पाइदैन, दैबी शक्ती जस्तै हुन्छ यो' । तसर्थ मैले यो लेख लेख्नुको उद्देश्य म जस्तै भावना भएका विद्यार्थीको होस्टेमा हैसे मिलाउनु हो ।
बधाई छ रबिन्द्र मिश्रलाई । भलै उनका आफन्तले कुरा काट्लान, ह्यान त्यान भनेर उनको नेपाल बिकासको साधनामा अवरोध पुर्याउलान तर हामी जस्ता विद्यार्थी उनले देखाएको बाटोको अनुसरण गर्नेछौ । जय नेपाल ।