Sunday 8 June 2008

युरोपको एक्लो

हिजो बाँसको फिरफिरे लौरीमा उनेर
कन्ला उकाली ओराली दौडिंदा,दौडेर लड्दा,फेरी उठ्दा अनि ठोक्किदा
कति रोमन्चित हुन्थ्यो मेरो मन
आज युरोपको एक्लो ब्यस्तपनामा
प्ले स्टेशन र निटेन्डोको बटन जती दबाए पनि निरास छ मेरो मन

डढेको कालो बाक्लो कोदोको रोटीमा
तप तप घ्यु दलेर आमले मलाई कम र भाईलाई बढी दिंदा
कति डडिन्थ्यो मेरो मन रोटी नसकिन्जेल चपाउँदा
यता पाउरोटी को बाक्लो चाङमा
चिज,बटर,सस र मासुका सपेटा तल्ला तल्ला मा राख्दा पनि
मुखमा पानी आउन छोड्यो साथमा खाने कोही नहुंदा

पुस माघ को चिसो सिरेटोले
च्यातिएको भोटोबाट सोझै ढाड सुम्सुम्याउँदा
कति याद आउथ्यो त्यो मकल अनि अगेंना
अहिले सुकिलो सुट पाइन्ट माथि बाक्लो ज्याकेट भिर्दा पनि
मन मेरो चिसै छ, न ताप्ने मकल न अगेना

जेठ महिनाको गोधुली साँझमा
आँगनमा बसी मकै छोडाउँदा
मकै राख्ने बहानामा कहिले झुक्किएर त कहिले जानेर
उनको स्तनमा स्पर्श गर्दा
आधा घण्टा सम्म मकैमा ध्यान जान्न्थ्यो
खै किन जिउ तातो भइरहन्थ्यो
अहिले वरीपरी सबै नाङ्गो तन नाङ्गो,मन नाङ्गो,बचन नाङ्गो
तै पनि मेरो मन चिसो छ
छि:चरित्र कति उदाङ्गो

टुकिको धमिलो प्रकाशसँगै ढाड बिजाउने खाटमा
हजुर आमाको परी को कथा गुन्जिन्थ्यो
परी आउँछिन,माया लाउँछिन, साथ दिन्छिन
परीको कल्पनामा आँखा झिमिक्क भएको पत्तो हुन्थेन
अहिले चखिलो बत्तिको बीचमा
जब नरम डस्नामा पल्टिन्छु
कोठा भरी फैलिन्छ नितान्त एक्लोपना र सुन्यता
खै परी कहिले आइनन,माया कहिले लाइनन