Friday 24 July 2009

ऊ त्यस्तै छ । उसलाई आधुनिक कपडाको ज्ञान नभएको भने होइन तर पनि ऊ प्राय साधारण कपडामा हुन्छ । बोल्दा हरेको कुराको मजाक उडाउनु, तर्क गर्दा मुटु भित्र सियो छिराए झै गरी रोप्नु र बिपक्षीलाई टिक्न नदिनु उसको बिशेषता मान्नुपर्छ ।
उसको तर्कमा त्यो जादु हुन्छ । तर्कका प्रत्येक् शब्द शब्द सिधै मुटु भित्र छिर्छ तर मुटुको अर्को पट्टीबाट तत्काल निस्किदैन, सियोको मोटो भाग मुटु मै अड्काइराख्छ । त्यो सियोलाई मुक्त गराउन अर्को पटक भेट्नुपर्ने हुन्छ । फेरी अर्को पटकको भेटमा अर्को सियो छिराएर पठाउछ । यसरी नै ऊसँग भेट्ने क्रम चलिरहन्छ ।

ऊ कस्तो छ चिन्नु अघी कुरै कुरामा मार्क्सबादको बिषय निस्कियो । म मार्क्सबादी विद्वान नभए पनि बुझे सम्मको समाज बिकास चरण सुनाए तर ऊ म माथि तर्क लिएर खनियो । उसका तर्क आँफैमा तर्क नभए पनि उसको प्रस्तुती बेजोड थियो । रोनाल्ड रेगनले यसो भने, चाल्स डार्बिनको भनाइ यो छ । उसका तर्कमा आफु बाहेक अरुलाई पनि साक्षी बनाए, म एक्लै थिए ।

त्यसपछी मैले उसलाई चिनेको भान हुन थाल्यो र बिबाद गर्दा सके सम्म कमजोर बिषयमा हात हाल्न छाडे । एक दिन फेरी उसँग भेट भयो । उसलाई रुघा खोकी लागेको रहेछ । तर पनि उसले रुघा खोकीबाट बच्ने उपायहरु प्रशस्त सिकायो त्यो दिन । र निधानका उपायहरु पनि बतायो ।

कुरा गर्दा गर्दै प्रसँग निस्कियो स्वतन्त्रता सम्बन्धी । स्वतन्त्रता एउटा बलियो बिषय हो भनेर म आँफैलाई सरक्क त्यस तर्फ ढल्काए तर उसको बाणी पनि कमजोर थिएन । ऊ भन्दै थियो " संसारमा स्वतन्त्र भन्ने शब्द नै छैन । अङ्रेजी शब्द इन्डिपेन्डेण्ट पनि डिपेन्डेण्टमा इन लागेर बनेको हो । जाबो एउटा शब्द आँफैमा स्वतन्त्र छैन भने अर्थ कसरी स्वतन्त्र हुन्छ ? बिउको स्वतन्त्रता माटोमा भरपर्छ उब्जाउने कि नउब्जाउने भनेर । सुर्य पनि स्वतन्त्र छैन मिल्की वे ग्यालेक्सीको भरमा अढिएको छ । तिमीले के चिज स्वतन्त्र देख्छौ ?"

म स्तब्ध भए । ऊसँग बिबाद गर्ने बिषय र शक्ति ममा रहेन । अनी फेरी मैले बुझे ऊ सहि अथवा गलत दुबै बिषयमा राम्रो बिबाद गर्न सक्दो रहेछ । अब ऊसँग सके सम्म बिबादमा नफसेकै जाती हुन्छ ।

मोबाइलमा कम ब्यालेन्स भएको बेला एक दिन मैले कुनै आवश्यक काम परेर उसैलाई फोन गरे । कुरा कै सन्दर्भमा मैले उसैको कुनै तर्कलाई समर्थन गर्न " अ म्यान क्यान बि डेस्त्रोएड बट क्यान नट बि डिफिटेड " भने । सोचेको थिए यो एक त उसैको कुराको समर्थनमा गरेको हुँ दुई यही वाक्यको कारण अर्नेष्ट हेमिङ्वेले नोबेल पाएका थिए । उनले यसको बिरोध गर्दैनन भन्ने सोचेको थिए तर अफसोच उनले ठोकी हाले " यदी तिमीले कुनै गल्ती बोल्यौ अनी १०० जना मान्छेले उभियाएर स्पष्टिकरण लिए भने तिमी गल्ती स्विकार्छौ कि स्विकार्दैनौ ?" वास्तवमा मैले त्यो वाक्य " मानिसको सोचाइको बारेमा " भनेको थिए, तर उसले गलत बुझ्यो अथवा बुझ्न चाहेन । म चुप लाग्नु पर्‍यो किन भने मेरो मोबाईलमा पैसा थिएन, सके सम्मा बिबाद टुङ्याउनु थियो । अनी मैले अर्नेष्ट हेमिङ्वेलाई गल्ती बनाए, सारा संसारलाई गल्ती बनाए तर उसलाई सहि बनाएर कुरा टुङ्याए ।

मैले फेरी बुझे ऊ आफ्नै समर्थनमा आएको कुरालाई समेत बिबाद गर्दो रहेछ भनेर । त्यसपछी म सजग भए ऊसँग बोल्न । मैले फोर्मुला नै बनाए ऊसँग के बोल्ने के नबोल्ने भनेर । एक कमजोर बिषयमा नबोल्ने, दुई बलियो नै बिषय नै भए पनि उसले के बिषयमा बोल्दै छ त्यो ध्यान दिने , तीन उसको समर्थन गर्दा पनि ध्यान दिने ।

यसरी फर्मुला बनाएपछी म बिबादमा पराजित हुनु पर्दैन भन्ने कुरामा ढुक्क थिए । अनी एक दिन बिद्यार्थी विद्यार्थी मिलेर महिनाको एक युरो राखेर एउटा कोषको निर्माण गर्ने र त्यस कोषको पैसा समाज सेवामा लगाउने भनेर केही साथीहरु बीच छलफल भयो । मैले उसलाई पनि खबर गर्नु आवश्यक ठाने र एकदिन आफ्नै प्रयासमा उसलाई भेटे । त्यो दिन म आफ्नो फोर्मुलामा आधारित भएर कुरा गर्दै थिए । त्यस माथि समाज सेवाको कुरामा पक्कै उसको मद्घत हुन्छ भन्ने आशा थियो । भेट्ना साथ आपसी गफगाफको कुरा भए ।

" आज सम्म कती केटीलाई बर्बाद गरियो त ?" उसले मलाई तल देखी माथि सम्म नियाल्दै सोध्यो ।

" छैन यार एउटै पनि " झुठो बोलेर दुई चार जना भनौ भने उसको शब्दको बाणीबाट म बच्न सक्दिन भनेर यथार्थ कुरा गरिदिए ।

" जान्नु पर्‍यो नि मित्र । मलाई हेर उह त्यो बैंकको केटीलाई एउटै मात्र शब्द बोलेको भरमा पट्याइदिए । त्यस्तो हुनुपर्छ के "
म आफ्नो बिषय तिर केन्द्रित थिए तर उसले मौकै दिएको थिएन । जिम गरेर केही दिन देखी मेरो जिउ तन्किएको थियो । छाती साबिकको भन्दा बलिष्ठ देखिन्थ्यो । उसले मेरो पाखुरा र छाती नियाल्दै भन्यो ।

" आफुलाई चाहिने जती मात्र श्वास लिउ के , फोक्सोमा असर पर्छ । " वास्तवमा यो वाक्य उसको प्रशसा रहेछ, मेरो बडीको

" हैन यस्तै हो " कुरा टुङ्याउन जवाफ दिए ।

उसको कुनै एक बिषयमा जर्ज डब्लु बुश् भन्दा बढी अंक आएको कुरा सुनायो । हुन त मेरो पनि बायोलोजीमा अल्बर्ट आइन्स्टाइन भन्दा बढी आउथ्यो तर मैले सम्भाब्य बिबादलाई मध्य नजर गरेर त्यो कुरा भनिन । अनी ऊ एकछिन चुप लागेको मौका पाउना साथ आफ्नो कुरा सुनाए ।

" हामी प्रत्येक महिना एक युरो दरले जम्मा गर्ने गरी एउटा कोष बनाउ । अनी त्यो पैसाबाट समाज सेवामा लगानी गर्न नि हुन्छ । अनी विद्यार्थीमा राष्ट्रियताको भावना पनि बिकास हुन्छ । "

मैले सोचेको भन्दा बिपरित कुरा भयो । यो कुरामा पनि ऊ म माथि खनियो ।
" स्ट्रगल फोर द एग्जिस्टेन्स भनेको थाहा छैन, कसको सेवा गर्ने ? यसरी अरुले सहयोग गरिदेला भनेर बाच्नेले के गर्न सक्छन ? त्यही भएर मलाई यो सोसिअलाइजिङ मन पर्दैन । एउटाले मद्घत गर्ला भनेर अर्को बस्ने ? सक्छ त आँफै गर, नत्र त्यस्ताको यो संसारमा कुनै काम छैन । "

म फेरी स्तब्ध भए । मेरो फर्मुलाले पनि काम गरेन । यो त राम्रै बिषय थियो, यसले उसैको मद्घत पनि गर्थ्यो तर पनि फेरी बिबाद भयो र म चुपो लागे । अनी उसको कुरा बुझेर बिदा मागे ।

मैले उसलाई बुझ्न सकिन । ऊ अझ पनि त्यस्तै छ ।

(यस लेख मानिसको जटिलता देखाउन रचिएको हो । कुनै एउटा ब्यक्ती मात्र सम्बन्धित छैन ।)

1 comment:

bismita said...

this is pretty ironic
i think u told me abt him
i assume he is an example of a tyical guy of this society
i like the way u put forward a reality in a inventory way in ur writings
gr8 job