Friday 17 July 2009

खुशी हिजो र आज

कर्कस लाग्दो घडीको अर्लामले बिहानीको ५ बजेको संकेत गर्छ । सानो कोठाको एकाछेउमा थन्किएको खाटबाट मन नलागी नलागी उठ्छु । पर्दाले नछोपिएको झ्यालको केही भागबाट बाहिर नियाल्छु । फिन्ल्यान्डको एकल काठे कुनै स्थान, अटम्न सिजन, ओसिलो मौसम घाम देख्न नपाएको आज बाह्रौ दिन । अन्धकार बिहानीसँगै बिरक्त लाग्दो जिबनी सुरु गर्छु ।

" तपाईंको घर चै मिलेको छ, बिहान उठ्ने बितिक्कै कोठैमा घाम पुग्दो रहेछ । " एका बिहानै जेठा दाई घर मै गफ पिट्न आइपुगे । जेठा दाई , बाबाको भट्टीको बेस्ट फ्रेन्ड । आमाले चिया दिदै ब्यङ्य गर्नुभयो " घर त सुर्यको लागि मात्र होइन भट्टीको लागि पनि मिलेको छ, नजिकै छ नि " बाबा कुरा छल्न मलाई बिउझाउनु भयो । " छोरा उठ, यसो नाक कान धो । चिया खा ल उठ । " बिउझेर म बिस्तारमा थुचुक्क बसे । झ्याल बाहिरबाट सुर्यको तेज प्रकाशले आँखा खोल्न सकेको थिईन । अग्ला अग्ला दुई डाँडाको बीचबाट सुर्य निस्किदा कती मनोरम देखेको थियो ।

"नाक कान " धुन लोटामा पानी लिएर गए । सानो ऐनामा अनुहार हेर्दा कती राम्रो लाग्थ्यो आफ्नो अनुहार । हेरीरहन मन लाग्थ्यो । अनुहार हेरेरै दिनभरीको लागि उर्जा प्राप्त हुन्थ्यो । अहिले त्यही नाक-कान धुन बाथरुम जान्छु । ठुलो ऐना अगाडि जब आफ्नो अनुहार तेर्सिन्छ । सबै पाएर पनि खाली खाली भएको अनुहार देख्छु । सबै आवश्यकता पुरा भएर पनि असन्तुष्ट ति आँखाहरु, हास्न धेरै अगाडि बिर्सेंका ति ओठहरु, र भाबीले भाव बिहिन बन्न लेखेकी त्यो अभागी निधार देख्छु । अनी फेरी त्यही बाल्यकालका दिनहरु सम्झन्छु ।

" आमा मेरो आँखा राम्रो छ रे है , शोभा दिदीले भनेको " सोभा दिदी ले - तिम्रो आँखा कती राम्रो छ, मलाई देउ न भन्दा म खुशीले गद गद भएको थिए । अनायसै यस्तो खुशी लागेको थियो कि त्यो दिनको लागि अब अरु खुशी चाहिन्न । " अँ तेरो परेला बाक्लो र घुम्रिएको छ त्यही भएर भनेको " आमाको जवाफले प्रमाणित गरिदियो मेरो आँखा साचै राम्रो रहेछ । खुशीको सिमाना थिएन ।

त्यही खुशीको आशामा त्यही घुम्रिएका परेला आज फेरी नियाल्छु । तर नितान्त शुन्य र भाव बिहिन देखिन्छन ति आँखाहरु ।
भात नपाकेको दिन पूर्ण साउजीकोबाट किनेको डोनट आमाले बनाएको चियामा चोपेर खादा श्वास फेर्ने फुर्सद हुन्नथ्यो । जती खाए पनि नपुग्ने त्यो हन्तकाली पेट पुटुस्स नभरे सम्म खाइन्थ्यो । भलै पछी सम्म बासी डोनटको गन्ध आइरहोस्, मनमा भोक रहिरहन्थ्यो । त्यही भोकको प्रतिक्षा गर्दै प्लेटमा दुई वटा ब्रेड र जाम आपसमा जुधाएर राख्छु । गिलासमा चिसो दुधले "मलाई खा" भनेर हेरिरहेको हुन्छ । म भोकको प्रतिक्षा गर्दै गर्दै चपाउन थालछु, घाटीबाट छिर्दैन अनी दुधले सलक्क बगाउछु । र निस्किन्छु एक्लै युनिभर्सिटीको निम्ती ।

ट्रेनको लिकको छेउ छेउबाट स्टेसन सम्म जानुछ । लिक, जती हिंडे पनि सकिदैन । लिकमा ओछ्याएको काठ एकपछी अर्को सर्दै म तिर आउछन र जान्छन । त्यस्ता कैयौ काठ आए गए । लिकका काठै काठ पच्छ्याएर स्टेसन पुग्छु, रेल आउछ । एक हुल यात्री छिर्छन, सबैको यात्रा निश्चित होला तर मेरो आँफैलाई थाहा छैन म किन यात्रा गर्दै छु ?

सुनसान रेलको एक डिब्बाको कुनाको सिट मलाई पर्खिरहेको हुन्छ । चिसो र ओसिलो अन्धकार बिहानी छिचोल्दै, झ्याल तिर फर्किएर बस्छु । रेल हिड्छ तर कुनै आवाज छैन । शान्त छ ,सुन्य छ । झ्याल बाहिरका बस्तुहरु गतिवान रहेछन बरु, म गतिहिन । म जहाँको त्यही छु, न कुनै भावना न गुन्जन । झ्यालको सिसामा सिम सिमे पानीका छिटाहरुले रेखा बनाउदै बग्छन । ति पनि पानी कै छिटाहरु थिए जब हामी रोपाइ गर्न निस्किन्थ्यौ । रोपाहारहरु मलको भारी लिएर हिलाम्मे खेतको आली आली हिड्थे, म फुच्चे, आमाको फरियाको फेद समातेर पछी लाग्थे । रोपाइ गर्दा गर्दै दर्केको साउने पानीको थोपा कत्रो कत्रो । कती मज्जा आउथ्यो जब हिलाम्मे खेतमा पानी दर्किन्थ्यो । आज पनि त्यही पानी पर्दै छ तर किन किन भित्रैबाट वाक्क लाग्छ ।

रेल रोकिन्छ । कती खेर आइपुगे पत्तो पाउदिन । गुमेको होश सम्हाल्दै बसको प्रतिक्षामा लाग्छु । मनिसै मनिसको भिडमा म एक्लै प्रतिक्षा गर्दै हुन्छु । चिल्लो कालो सडकमा तेर्सिएको आँखा भित्र त्यही प्यारो देशमा बिताएको बाल्यकालको कच्ची सडकका मनोरम यादहरु खेल्दै हुन्छन । स्कुल जान बाटोमा हिड्डै गर्दा एक दिन ट्याक्टर बाजेको ट्याक्टर आएको थियो । १५ मिनेटको बाटो हिंड्नको गाह्रोले त्यो ट्याक्टरमा चढ्न दौडेको, बल्ल बल्ल हिड्डै गरेको ट्याक्टर चढ्दा युद्ध नै जितेको जस्तो अनुभव गरेको । र स्कुल सकिदा सम्म पनि साथीहरु माझ त्यही ट्याक्टरको गाथा सुनाएको अनी भोली पनि त्यही ट्याक्टर आउने आशा गरेको । कती रमाइला थिए ति दिनहरु । आज ठीक टाइम मै आइपुग्ने बसको पनि मलाई कुनै आशा छैन । म किन चढ्दै छु, आखिर चढे पनि नचढे पनि मृत्‍युको दिन ढिला हुने त होइन होला ?

जब टाढैबाट अर्धनग्न युवतीको लस्कार देखिन्छ , त्यो मेरो युनिभर्सिटी हो । सबै जना आफ्नै संसारमा मस्त हुन्छन । कोही हतारमा दौडिरहेका हुन्छन, कोही फुर्सदमा खाइरहेका हुन्छन । कक्षामा सवा दर्जन विद्यार्थी छुट्टा छुट्टै कुर्सीमा बसेका हुन्छन । म कुनै एक कुर्सी तानेर अलग्गै बस्छु । हातमा कलम र आँखामा प्रोजेक्टर भए पनि दिमागमा त्यही दिन हुन्छ, जुन दिन कक्षामा बेन्च नपुगेर सात जन एउटा बेन्चमा बसेका थियौ । भलै बेला बेलामा ठुस्स ठुस्स मानव बायु चल्थ्यो तर पनि समिपमा कोही छन भन्ने भान हुन्थ्यो । एक अर्कालाई तैले तैले भनेर आरोप लगाउनु र फेरी एक छिनमा नाक छोप्नुको मज्जा अर्कै आउथ्यो ।

बिरक्त लाग्दो लामो लेक्चर पछी फर्किन्छु, त्यही एक्लो उदास र चिसो कोठामा । अनी फेरी दोहोरिन्छ त्यही बिरक्त लाग्दा एकोहोरो दिनहरु ।

यो लेखको निम्ती प्रेरणा दिने शुश्री सुश्मा खरेललाई धन्यवाद ।

1 comment:

bismita said...

its amazing
really i dun have any words
u r priceless