Tuesday 30 June 2009

मेरो न्वारन

ठुला ठुला साहित्यकार ,लेखक र राजनीतिज्ञले आफ्नो नाम सँगै अपनाम पनि लेखेको देख्दा मलाई पनि यस्तै एउटा उपनाम झुण्ड्याउन मनलागेको थियो । तर के झुण्ड्याउने भन्ने टुङ्गोमा पुग्न सकेको थिईन । गाम्नागे, ब्याकुल माइला,अरमट्ठे साइलो,आयोदधौम्य, यस्ता यस्ता उपनाम राख्ने मान्छे देखेर सोच्थे - उपनाम राखे पछी ठुलो मान्छे भईन्छ ।

कान्तिपुर राष्ट्रिय दैनिकमा कती पटक तथाकथित लेख र प्रतिकृया पठाएको थिए । तर पटक्क नछपिएपछी मन मनै मुरिएर सोचेको थिए । अब आफ्नो अपनाम नै डा राख्छु । जब नामको अगाडि डा लेखिएको देखिन्छ तब पक्कै पनि मैले लेखेको लेखलाई बिशेष ध्यान दिएर हेर्ने छन । भलाई डा को अर्थ डाँका होस् कि डाक्टर । लेख अवश्य छापिनेछ । मैले बिद्याबारिधी गरेको छ छैन जाँच्न त कोही आउँदैन क्यारे । तर त्यो पनि कथै रह्यो । मैले त्यती बिघ्न मन पराए पनि त्यो नाम राख्न सकिन किन भने मलाई डर थियो फेरी चिकित्शक र बुद्धीजिवी बर्ग मेरो बिरुद्ध आन्दोलित होलान । टायर् बल्ला, नेपाल बन्द होला । बेकारमा मेरो उपनामको कारण देशलाई किन घाटा गराउनु, किन सर्वसाधारणलाई दु:ख दिनु भनेर त्यो पनि राख्न सकिन ।

म सानै उमेर देखी चित्र बनाउथे । मेरा चित्रहरु एकदम बिरक्त लाग्दो हुन्थे । नराम्रो भएर हो कि कुन्नी जो जो ले हेर्थे ( बुझ्नेले ) यस्तो उमेरमा यस्तो ' किन यस्तो छौ ' भन्थे । त्यो देखेर मेरो नाम 'बिरक्ते कान्छो' राखौ कि जस्तो नि लागेको थियो । तर मैले चित्र मात्र बिरक्तिदो बनाउथे । बाहिर त म एकदम फन्टुस थिए । यसरी द्वैध चरित्रलाई एउटै नामले सम्बोधन गर्दैन भनेर मैले त्यो नाम पनि त्यागे ।

बिज्ञानमा अथाहा रुची थियो । हेटौंडामा कक्षा ३ मा पढ्दा नारायण गौतम, काका हुनु हुन्थ्यो । उहाको र मेरो जोडी खुब जम्थ्यो । हामी कहिले खोलामा भ्यागुता समातेर जिउदै पतीले चिरेर शल्यकृया गर्थ्यौ । कहिले खेतको कुलो थुनेर साइकलको डाइनामोबाट बिद्युत निकालेर पुरै गाउमा बिजुल पुर्याउने योजना बनाउथ्यौ । कहिले केरा पकाउने कार्बाइटलाई बोतलमा राखेर बम बनाएर बिष्फोट गर्थ्यौ । पछी त्यही बिज्ञान सम्बन्धी आफ्नो उपनाम राखौ कि जस्तो नि लाग्थ्यो । तर काठमाडौं आएपछी बिज्ञान बाहेक अरु बिषयमा रुची बढ्दै गए । अनी बिज्ञान सम्बन्धी उपनाम सार्थक हुन सकेन ।

त्यसो त घरमा मेरा प्रशस्त उपनाम थिए । जिउ दुब्लो पातलो भएकोले मुसे,च्यासे,लुते मेरा प्रख्यात उपनाम थिए । तर जिम गरेर जिउ बनाउदै गएपछी त्यो उपनामहरु आँफै हराए ।

कक्षा १२ मा अध्ययन गर्दा मेरो साथीसँग जिस्केर फुर्ती सहित् आफ्नो नाम भन्दा मैले 'साक्षात सुशिल' सँग बोल्दाइ छस भनेको थिए । त्यसपछी मेरो मुखमा यो शब्द झुण्डियो । बल्ल मैले आफ्नो उपनाम अगाडि साक्षात राख्ने सोचे तर 'साक्षात' को शब्द प्राय जसो भगवानको अगाडि राखिन्छ । साक्षात बिष्णु , साक्षात ब्रम्हा । म त्यती ठुलो त छैन कि भगवानलाई बुझाउने शब्द राखौ । त्यही भएर मैले आफ्नै शब्द निर्माण गरे ' साक्ष्यात सुशिल' भनेर । साक्ष्यात शब्दले साक्षातलाई प्रतिस्थापना गरेको छु । यस 'साक्ष्यात' नामले ममा भएको सानो तिनो कलाकारिता, कबित्व, बिज्ञानको रुची , नेतागिरी , र आध्यात्मिकतालाई प्रतिनिधित्व गर्छ । कम्प्युटर भाषामा भन्दा 'साक्ष्यात' एउटा जिप्पड फोल्डर हो, यस भित्र अन्य फाइलहरु छन । ति फाइललाई अनजिप्पड गर्दै जिबनमा रन गर्ने काम सुशिल नामको ड्राइभरले गर्नेछ ।

के गर्नु मेरो न्वारन गर्ने बेलामा मलाई कसैले सोधेनन " बाबु तेरो नाम सुशिल राखौ भनेर " नत्र मैले नि जवाफ दिन्थे नि - सुशिल भनेको राम्रो बानी ब्यहोरा हो जुन ममा पटक्कै छैन । अब आँफै न्वारन गर्नु परेको छ ।

-साक्ष्यात सुशिल

1 comment:

CHUDAMANI said...

निक्कै राम्रो व्यंग्य लाग्यो | यथार्त जस्तो पनि | "साक्ष्यात सुशिल" ठीक लाग्यो मलाई त यो साक्षात जोडेको |