Saturday 21 March 2009

मानिस

मानिस एउटा जटिल बिषय हो । मानिस कै बिषयमा ठुला ठुला ब्यक्तीहरुले बोलेका वाक्य संसारका ठुला ठुला दर्शन र धारणा बन्ने गरेको छ । अल्बर्ट आईन्स्टाइनले भनेका थिए 'ब्रह्माण्डको फैलावट र मानिसको अहमताको सिमाना हुँदैन' । यस वाक्यको आशय हरेक मानिस आफ्नै बाद ,दर्शन र शास्त्र हुन्छ । उसले त्यो दर्शन र सिद्दान्त लिएर यस्तो जटिल धारणाको निर्माण गरेको हुन्छ कि आफु बिपरित सोच्नेलाई मुर्ख देख्छ । उसले आफ्नो सोचको आधारमा विश्वको व्याख्या गर्छ । तर उसको व्याख्यामा सबै अटाउन त सक्दैनन । त्यसपछी उसको दिमागमा द्वन्द सिर्जना हुन्छ ऊ सोच्न थाल्छ 'संसार कती मुर्ख छ किन यो कुरा बुझ्दैन ?' फलत ऊ दुखी हुन पुग्छ ।

अर्को उद्दरण छ ' द ओल्ड म्यान एण्ड द सि ' बाट उध्रित, ' मानिस क्षत बिक्षत हुन सक्ला तर हार स्वीकार्दैन ' । अर्नेष्ट हेमिङ्वेले यही उद्दरणको सहायताले नोबेल पुरस्कार पाए साहित्य तर्फ । यही भनाइले पनि मानिस भित्रको जटिलता उजागर गर्छ । कुनै पनि घटना तथा बिषय प्रती मानिसले एउटा धारणा बनाउछ । र त्यो धारणालाई उसले धारणाको रुपमा नभै सत्यताको रुपमा लिन्छ । उसको सोच नै सही हो भन्ने लागेपछी यदी त्यसको बिरुद्धमा कोही जान्छ भने या त उसको भौतिक अस्तित्व समाप्त गर्ने प्रयास गर्छ नत्र मौखिक तर्क दिएर आफ्नो धारणाको बचाउ गर्छ । यदी मौखिक तर्कले पनि काम चलेन भने मन मनै भन्छ ' यती कुरा बुझ्दैन, यस्ता सँग के बोल्नु ? जस्तै एस् एल सि मा कसले बढी अंक ल्याउने भनेर प्रतिस्पर्धा गर्ने दुई विद्यार्थी मध्य हार्नेले कहिले 'हो रहेछ । मैले तिमी भन्दा राम्रो पढ्न नसक्ने रहेछु भनेको सुनिन्छ ?' ऊु सधैं भन्ने छ ' घरमा समस्या परेर राम्रोसँग तयारी गर्न सकिन कि परिक्षाको बेला सन्चो भएको थिएन कि परिक्षा दिदा वरिपरिको हल्लाले गर्दा राम्रोसँग ध्यान दिन सकिन' ऊ सधैं सोच्ने गर्छ कि म हारेको पटक्कै हैन । किन भने हार्नुलाई उसले आफ्नो अस्तित्व मेटिएको ठान्छ । अनी आफ्नो अस्तित्व कसरी मेटिन देओस त ?

त्यस्तै अर्को भनाइ छ ओशोको ' मानिस मुर्ख छ, के भनियो त्यसको मत्लब हुँदैन । कसले भन्यो त्यसको चासो गर्छ । 'अर्थात सबैले चिनेको राजेश हमालले कपाल पाल्नु फेसन हो तर गल्लीको मोटे धिमालले कपाल पाल्नु फेसन हैन कपाल काट्ने पैसा नहुनु हो । अझ भनौ, एउटा सानो कुरा पनि नेपालीले नै भनेको भन्दा टाइसुट लगाएर आएको पश्चिमीले भन्यो भने बढी विश्वासिलो मानिन्छ । आखिर सत्य त सत्य नै हो नि जसले भने पनि । तर मानिसले बुझ्दैन । कसले भन्यो त्यसको आधारमा बुज्छ त्यो सहि हो अथवा होइन भनेर । गौतम बुद्ध नेपालमा जन्मिएका हुन भनेर फ्रान्सेलीले नभनेर कुनै नेपालीले नै भनेको भए शायद त्यसको विश्वाश नै गरिदैन थियो होला । यस्तै छ मानिस । अफ्रिकाका कती पय देशमा अङ्रेजीमा लेखिएको बाइबलको बढी विश्वाश गरिन्छ, स्थानिय भाषामा भन्दा । किन भने अङ्रेजी त्यहाको स्थानिय भाषा भन्दा बढी बिकासित भाषा हो । अङ्रेजी बोल्ने देशको बिकासले आकाश छोएको छ । अनी कसरी त्यसमा विश्वाश नगरुन त ?

त्यस्तै हिन्दू दर्शन अनुसार 'मानिस ज्ञानको निमित्त जिउछ '। अर्थात मानिस जन्मिदा उसको दिमाग पूर्णतया सुन्य हुन्छ । न उसलाई भबिष्यको चिन्ता हुन्छ । न बिगतको पश्चाताप । न प्रेम न बिछोड, न अध्ययन न परिक्षा । तर उसको आँखा खुले लगतै उसले बिभिन्न रङ र बस्तु देख्छ । कुनै बस्तु आकर्षक, कुनै बस्तु नरम कुनै कडा । बिस्तारै आमासँग सामिप्य बढ्छ । आमा हुँदा खुशी नहुँदा रोदनको स्थिती आउछ । राम्रो खेलौना प्राप्त गर्ने आकाङ्क्षा बढेर जान्छ । नपाएमा पिडा हुन्छ । रिस ,इर्ष्या र मोहले जन्म लिन्छ । युवा अवस्थामा मन झनै बिचलित हुन्छ । यौन नै सबभन्दा सुख प्रदायक सोच्छ तर त्यो पनि केही समय पछी कम्जोर बन्न पुग्छ । फलत यौन साथी परिवर्तन गर्छ । एक, दुई, तीन । त्यसको केही समय पछी आँफैमा यौन अक्षमता देखा पर्छ । अनी जिबन मिथ्या छ भन्ने सम्ममा पुग्छ तर यि क्रममा उसको दिमाग सुन्यबाट अत्यन्त जन्जालमा पुगेको हुन्छ । चाहेर पनि बिर्सिन सक्दैन । आखिर उसले पाएको ज्ञान मात्र हो । जिबन भर भोगेका तिता मिठा अनुभव ज्ञान भनेर दिमागमा रही रहन्छ र त्यही ज्ञानको कारण झनै दुखी हुन्छ । मानिसले भौतिक अवस्थामा चरम सुख तब प्राप्त जब ऊ आँफैले आँफैलाई बिर्सिन्छ । समयको अनुभव सुन्य हुन्छ । न बिगत न बर्तमान न भबिष्य । कुनै एउटै कुरामा लीन भएर आफ्नो अस्तित्व बिर्सिदा उसलाई अथाह आनन्द आउछ । यौन कृयाको चरम बिन्दुमा उसलाई कुनै चिजको ध्यान हुँदैन । आँफैलाई बिर्सेर अथाह सुखको चट्याङहरु बर्सिरहेको अनुभव गर्छ । यौन भन्दा अली कम, संगीत प्रेमीहरु संगीतको लयसंगै आँफैलाई बिर्सेर अथाह सुख अनुभुती गर्छन् । त्यो बेला पनि उसलाई आफ्नो अस्तित्व बोध हुँदैन । सोमरस प्रेमीहरु पिउदा पिउदै आँफैलाई बिर्सिन चाहन्छन । र त्यसैमा अथाह् सुख प्राप्त गर्छन् । तर अचम्मको कुरा आफुले आफ्नो अस्तित्व बिर्सिदा अथाह् सुख अनुभुती गर्ने मानिस अरुले आफ्नो अस्तित्व बिर्सिदिदा अत्यन्त दुखी हुन्छ । जस्तै मानिसको जिबनमा सबभन्दा पिडा र इर्ष्याको बिषय पनि अस्तित्व नै हो । अस्तित्व बोध बाल्यकाल देखी नै बिस्तारै हुन थाल्छ भने उमेर ढल्केका बुढा पाकामा अत्यन्त जटिल भएर बसेको हुन्छ । त्यसैले उमेर ढल्केका बुढा पाकालाई केही कुरा बुझाउन गाह्रो हुन्छ कारण उनीहरुमा आफ्नो अस्तित्व बोध अरुमा भन्दा बढी हुन्छ । अस्तित्वको पारीभाषा स्थान बिशेषको आधारमा जे भए पनि मानिसमा हुने त्यसको डिग्री भने समान नै हुन्छ ।

कार्ल मार्क्सले सम्पूर्ण मानिसको समान अस्तित्व देख्छन भने कन्फुसियस समाजमा सन्तुलनको निम्ती बिभिन्न स्तरको अस्तित्व देख्छन । आवरणमा समान तथा असमान अस्तित्व देखीपनी भित्री रुपमा अस्तित्व बोधको डिग्रीमा कुनै कमी हुँदैन । मानिसले गर्ने ४ किसिमको आत्महत्या मध्य इगोइस्टिक र एनोमिक आत्महत्या पनि अस्तित्व बोध कै कारण हुने गर्दछ । समाज शास्त्री इमाइल दुर्खेम भन्छन समाजको सामान्य स्तर भन्दा बढी अस्तित्व बोध हुनेले इगोस्टिक र काम अस्तित्व बोध हुनेले एनोमिक आत्मा हत्या गर्ने गर्दछन । यसरी जन्मे देखी नमरुन्जेल सम्म मानिस एउटा जटिल बिषय रहन्छ । शायद त्यही भएर होला अलेक्जेण्डर पोपले भनेका छन ' मानिसको सबभन्दा राम्रो अधययनको बिषय मानिस नै हो ।'

1 comment:

Rupak said...

VERY touchy article..i must say...sushil le bhujauna khojeko kura ..nepal ka bhatmara neta le bhuje desh kasto hunthyo hola???