Monday 24 January 2011

'बाटो मुनिको फूल' माथिको गुनासो

आउट डेटेड हिन्दी फिल्महरुमा दुई वटा खानदान हुन्छन् । जो बीच पुरानो दुश्मनी हुन्छ । दुई खानदानका नायक र नायिका आपसमा प्रेम गर्छन् । परिवारले छुटाउन खोज्छन । दुई चार वटा गीत बज्छ, दुई चार वटा रोमन्टिक सिन आउछ र अन्तमा सबै जना एक ठाउँमा भेला भएर ठुलो द्वन्द हुन्छ । एउटालाई हानेको गोली अथवा तरवार बन्चरो नायिकालाई लाग्छ । नायिका मर्छिन । चलचित्र सकिन्छ । बाटो मुनीको फूल पनि यही ढर्आको छ । फरक भन्नु यति मात्र हो यसमा खान्दान बीच दुश्मनी होईन जातिय बिभाजन हुन्छ । बाँकी सबै उही हुन ।

म नेपाली फिल्म हेर्दिन भनेर स्वघोषित आधुनिकताको पछ्यौरा ओढ्ने ब्यक्ति होईन । 'नयाँ धारमा बनेको छ रे' भनेर मार्केटिङ गरिएका धेरै नेपाली फिल्म हरु हेर्ने गरेको छु । त्यहि लिस्टमा पर्न गयो नयाँ नेपाली सिनेमा ' बाटो मुनीको फूल ' । छुवाछुतलाई प्रेम प्रसंङमा जोडेर निर्मित यस सिनेमासँग मेरा धेरै गुनासाहरु छन् तर ती गुनासा म बाहुन भएको हैसितमा उब्जिएको नभै एउटा सच्चा नेपाली सिनेमाको दर्शकको प्रतिक्रियाको रुपमा आएका हुन ।

बाटो मुनीको फूलको समग्र कथा बस्तु पुरानै ढर्आको छ । छुवाछुत जस्तो सामाजिक समस्यालाई मुख्य बिषय बस्तु बनाएर निर्माण गरिएको हौवा फुके पनि चलचित्र ' नयाँ बोत्तलमा पुरानो रक्सी' बाहेक अरु केही नयाँपन छैन । कथा सुरुहुन्छ एउटा जुलुसबाट । ' हत्यारालाई फाँसी दे ' भन्दै दुई दर्जन मानिसहरु प्ले कार्ड बोकेर प्रहरी चौकीमा जान्छन जहाँ नायक सुरेश (एस कुमार)लाई हत्याको अभियोगमा थुन्न ल्याइएको छ । नेपाली राजनीतिलाई ब्यङ्य गरिएको हो की के हो ? एक सर्वसाधारणबाट गरिएको ब्यक्तिहत्याको बिरुद्ध जुलुश उठेर फाँसीको माग गरेको द्रिश्य देखाएर निर्देशकले के सन्देश दिन खोजेका हुन । त्यो चै बुझ्न सकिन ।

कथा अघि बढ्छ एक जना सुकिलो मुकिलो गाइनेले इन्स्पेक्टर राजेश हमाललाई सुरेशको बारेमा सुनाउन थालेपछी । बाल्यकाल देखी नै साथि रही आएका रेखा थापा (गुराँस)र सुरेश बीचको प्रम सम्बन्धले कथा अघि बढाउछ । सुरेश र गुराँस एक अर्का बिना बाँच्नै नसक्ने झै देखाउन चलचित्रमा कुनै सहयोगी द्रिश्य नदेखाइएकोले चलचित्रमा बाल कलाकारको अनावश्यक घुसपैठ भए झै लाग्छ । एस कुमारको अनुहार सुरुदेखि अन्तसम्म पिसाब च्यापेको मान्छे झै देखिन्छ । न उसमा लभ पर्दाको उमंग छ, न बिछोडको बेदना न झगडा पर्दाको रिस । निर्देशकले बोल भनेको कुरा हरु फटाफट बोल्ने काम गरेका छन् । चलचित्र ग्रामीण परिवेशलाई केन्द्रित गरेर देखाइएको छ तर त्यो गाउँका मानिसहरुको रहन सहन देख्दा युरोपको कुनै कन्ट्री साइड झै भान हुन्छ । मुख्य कलाकारहरु सबै जसो पजेरो अथवा महँगो देखिने मोटरसाइकल चिल्लो कालो सडकमा कुदाइरहेको भेटिन्छन ।

नायक नायिका बाल्यकालमा एक अर्कासँग टाँसिएर बसेको देखाइन्छ भने युवा अवस्थामा छुट्टाछुट्टै । यहाँ सम्म की रातदिन संगै हिंडेको र फोनमा झुण्डेको देखाईसक्दा पनि ' भोली त पक्कै आइ लभ यु भन्छु' भनेर नायकलाई प्रपोज गर्ने बर्षौ कुराएको देखाइन्छ भने अर्को तिर सुरेश कै भाई कान्छा (बाबु बोगटी) एउटा बिहेमा फ्लर्ट गर्दै नाचेको केटी (तुलसी)को नीम्ति भोली पल्ट प्रपोज र पर्सी पल्ट पागल भएर गुन्डाहरुसँग जुधेको देखाइन्छ । प्रेम प्रसँगको सवालमा निर्देशक तथानाम परिभाषा दिदै कथा अघि बढाएका छन ।

कान्छाले तुलसीलाई अग्लो, हरियो डाँडाको माझ 'आइ लभ यु' भन्दा झ्याम्म गालामा थप्पड खान्छ यो देखेर चै बरु कहाँ गएर मरौ जस्तो लाग्छ । कलाकारलाई किन त्यस्तो अतिबादी देखाइएको हो बुझिसक्नु छैन । ' म तिमीलाई मन पराउछु र संगै जीवन बिताउन चाहन्छु भन्दा गाला फुट्नी गरि स्लो मोसनमा कसैले थप्पड हान्छ ? त्यस थप्पडको सपोर्टिङ डाइलग यस्तो छ ' तँ सँग न मेरो सोच मिल्छ न जात नै । म विश्वकर्म, तँ दमाइ । बिश्वकर्म र दमाइको बिहे भएको देखेको छस ? ' यो डाइलग तुल्सीले भन्दा उनलाई विश्वकर्मको अर्थ थाहा नभए झै लाग्छ । विश्वकर्म र दमाइ दुबैलाई उस्तै तल्लो जात नै मानिन्छ भने त्यत्रो फुइ लगाएर डाइलग किन खोक्नुपर्यो ? खैर यसैमा टाउको दुखाउनु पर्ने त केही थिएन तर चलचित्र हेर्दा हेर्दै अर्को द्रिश्य आयो बलात्कारको । आउट डेटेड हिन्दी फिल्ममा ' नायिकालाई बिभिन्न कुराको आश्वाशन दिएर गुण्डाले एकान्तमा लागेर बलात्कार गर्ने प्रयास गर्छ तर बीच मै हिरो आइपुग्छ र बचाउछ ।' तर यस चलचित्रमा गुन्डाले हरियो डाँडाको मनोरम द्रिश्यहरु माझ ढुङाको चेपमा लगेर कपडा बाहिरबाटै बलात्कार गर्छ । नेपाली चलचित्रमा उदेग लाग्ने बिषय यो पनि हो । जब ढुङाको सहारामा बलात्कारको द्रिश्य देखाउनु छ भने ढुङा पछाडिको भागबाट कपडा फालिएको द्रिश्य देखाएको भए न सेन्सर बोर्डले काट्थ्यो न नायिकालेपछि मुद्दा हाल्थिन ।

गुन्डाले तुलसी माथि प्रयोग गर्ने शब्दले साँच्चैका दलितलाई कस्तो असर पर्छ थाहा छैन तर मलाई चै नराम्रो लाग्यो । 'साली तँ जात की न पात की लाई कसले मोडल बनाउछ । कामी, दमाइ, सार्की सबै मेरा दुश्मन हुन । ' गुण्डाले बलात्कारको अघि प्रयोग गर्ने यो वाक्य शायद नेपालको गाउँमा कसैले भन्छन् जस्तो लाग्दैन । कुनै पनि ठुला जातका मान्छेले ठाडै तल्लो जातलाई दुश्मन ठोकुवा गरेको मैले कहि सुनेको र पढेको छैन । ब्यवहारले छुवाछुत देखाइन्छ तर कसैले यस किसिमको शब्द प्रयोग गरेको भेटेको छैन । मोडल बन्न आएकी तुलसीलाई बलात्कार अघि १०- १२ थप्पड लगाएको देखाइन्छ तर उनको ओठको तल्लो भागबाट अलिकति रगत देखाइन्छ । उनको गाला बलियो हो की मेक अप म्यानलाई अल्छी लागेको हो ?

बलात्कारोप्रान्त उनका सम्भाब्य प्रेमी कान्छाले एक्लैले आठ दश जनालाई चुट्नुछन त्यो त स्वाभाबिक हो हिरोको सन्दर्भमा तर सबै गुन्डालाई चुटिसकेपछी पेप्सीको छाताको रडले मुख्य गुन्डालाई हानेर मार्न लाग्दा सुरेश आएर रोकेको देख्दा अती कार्टुन लाग्छ । त्यत्रो गुन्डालाई चुटिन्जेल कहाँ गएका थिए ? निर्देशकले नयाँपन देखाउन यसो गरेका हुन की कथाले नै मागेर हो । बुझ्न सकिन्न ।

भर्खरै नायिकाले भनेको डाइलग बलात्कारपछि फेरिन्छ । बलात्कार भैसकेकोले उनलाई अब जातको पर्वाह रहन्न, कान्छालाई स्वीकार गर्छिन । चलचित्रमा कुनै बिषयको जरो सम्म पुगेको देखाइन्न । चार जना मुख्य कलाकार, चारै जनाको आमा देखाइदैन । राधा दिदी भन्ने युवतीलाई तल्लो जातसँग बिहे गरेको कारण गाउँमा अनेक दु:ख पाएको र मद्घत लिन पुन: माइती आएको देखाइन्छ । माइतीबाट पनि धकेलिएर निस्किनु परेपछी आत्महत्या गरेको देखाइन्छ । यो द्रिश्य बास्तवमै निकै राम्रो बन्न सक्ने द्रिश्य थियो । छुवाछुतले हत्या र आत्महत्या बढाउनेछ भनी मार्मिक रुप देखाउन सकिन सम्भावना हुँदा हुँदै पनि निर्देशक हतारिएका छन् । उनलाई लभ मै लगेर थोपर्न मन लागेर द्रिश्यले आवश्यक ध्यान पाएको छैन ।

झुन्डिएको लाश हेर्न आएका मानिसहरुको द्रिश्य यसरी कैद गरिएको छ की लाग्छ त्यहा चटक भैरहेको छ । यदि सबैको अनुहारमा त्रासको भाव देखाउन सम्भव नभए अली पर पर उभिएर लाश हेरेको देखाएको भए हुने । घटनास्थल आइपुगेका प्रहरीले माथिल्लो पोस्टमा सुचना यसरी दिन्छन की लाग्छ आफ्नो प्रियसीलाई 'आइ लभ यु' भन्दै छन् । त्यस्तै सुसाइड नोट घटनास्थल मै पढेर सार्वजनिक सुनुवाई गरिन्छ । कहीले देखि यस्तो ब्यवस्था आयो प्रहरी प्रशासनमा ?

चलचित्रमा देखाई प्रहरीहरुको नम्र स्वभाव र भलादमीपन देखेर प्रहरी हुन की साधु । सोच्नु पर्ने हुन्छ । राजेश हमाल आफ्नै स्टाइलको कारण सुरुमा कडा र पछि नरम प्रहरीको रोलमा जमेका छन । नत्र अरु सबै प्रहरीहरु कति माया लाग्दा छन ।

सुरेश र उनकी हजुरआमा गुराँसको हात माग्न जाँदा देखाइने द्रिश्यले अधिकांस हिन्दी फिल्ममा आउने ट्विस्टको झझल्को दिन्छ । कुनै हिन्दी फिल्ममा खानदानको रवाफमा बेज्जत गरिन्छ । कुनैमा 'तिम्रो जति कमाई त मेरो कुकुरले बिस्कुटमा सक्काउछ भनेर बेज्जत गरिन्छ । तर यसमा चै जातको कारण बेज्जत गरिन्छ । बेज्जत गरेको द्रिश्यमा निर्देशकको अनावश्यक हस्तक्षेप देखिन्छ । हाम्रा पनि चेलिबेटी माग्न आएका छन । सम्बन्ध अस्विकार गर्नपर्ने अवस्थामा 'हाम्रो आफन्तसँग कुरा गर्नुपर्छ' भनेर टारिन्छ । तर यसमा वास्तविकता भन्दा निकै पर - जुत्ता टेबलमा राखेर सारीले पुस्नु भनेर बुढी आमालाई लगाइन्छ । अनी सुरेशले त्यहि जुत्ताले नायिकाको बाबुको गालामा हान्छ । निर्देशकले जसरी हुन्छ कथा अघि बढाएर चाडो चाडो सकौ भनेको जस्तो भान हुन्छ ।

चलचित्रको बीच तिर 'मेरी छोरी र सुरेश मिल्ने साथि मात्र हुन' भनेर गुरासको बाबुलाई नरम स्वभावको देखाइन्छ । फेरि सुरेश र हजुरआमा हात माग्न जादा 'पानी नचल्ने जातले मेरो छोरी माग्न आउने' भनेर अती खलपात्र देखाइन्छ । र अन्तमा फेरि सुरेशको खुट्टा समातेर माफि मागेको देखाइन्छ । निर्देशकले खलपात्र माथि पनि अन्याय गरेका छन । खलपात्रले बोलेको कुरा र परिवर्तित अवस्थालाई साथ दिने सपोर्टिङ द्रिश्य केही छैन । मन लाग्दी बोल्न लगाइएको छ । त्यो बेला सुरेशको डाइलग रामो छ ' यो थप्पड हजुरआमाको बेज्जत गर्नुभएको वा आफ्नो छोरी नदिएको कारण होईन, यो त ती ४८ लाख दलितको तर्फबाट जसको पछाडि यो ढोङी रुप लुकाएर राख्नुभएको छ ।' चलचित्र भरीमा मन परेको डाइलग ।

अन्य धेरै डाइलग यस्ता छन् जसमा जबर्जस्ती अङ्रेजी शब्द मिसाइएको छ । शायद आधुनिक देखाउन होला ।
अधिकांसले बोलेको कापी हेर्दै पढेको जस्तो सुनिन्छ । शब्दसँग सुहाउदो कुनै भाव नै देखाइदैन । अन्तमा नायिका गुराँस सुरेशबाट झुक्केर तरवार लागेर मर्छिन । कथा पुन: प्रहरी चौकी पुग्छ । सुरेश दुई बर्षपछि रिहा हुन्छ । चलचित्र सकिन्छ ।
चलचित्रमा कैद गरिएका द्रिश्यहरु सुन्दर छन । क्यामेरा वर्कको द्रिष्टीकोणमा भन्दा नेपाली चलचित्रमा क्रमश: सुधार आउँदै छ । तर त्यस अनुरुप संवाद, पटकथा, र अभिनयमा सुधार भएको छैन । बाबु बोगटीको रक्सीले मातेको द्रिश्य देखे भने साँच्चैको जँडियाहरुले आन्दोलन गर्न बेर छैन । बाल कलाकार त राखिएको छ तर चाँडो चाँडो काम सक्नुपरेको छ अर्थात बच्चा त हो नी जसरी बोले पनि हुन्छ भने झै गरिएको छ । गाउँको गाइनेलाई प्रचण्ड सार्वजनिक ताकाको ड्रेस जस्तै देखिने कपडा लगाइएको छ । त्यस्तो सुकिलो मुकिलो गाइने ठमेलमा समेत देखेको छैन भने गाउँमा कसरी पाउनु ?

सबै कलाकारको आस्थाको केन्द्र काठमान्डौ देखाइन्छ । यस अर्थमा त्यो कुनै बिकट गाउँ हुनुपर्ने हो तर घर भित्रको डेकोरेसन र खानपान हेर्दा युरोप कै गाउँ जस्तो लाग्छ । दलितको स्थिती सामाजिक रुपमा मात्र होईन आर्थिक रुपमा पनि अती दयनिय छ नेपालमा । तर चलचित्रमा पैसा चै टन्न भएको दलित देखाइएको छ । एउटा बिहेमा नाचगान गरेको देखाइन्छ तर त्यो बिहे कम र तीज बढी लाग्छ । रातो सारी लगाएका एक हुल आईमाई घेरिएर नायक नायिकाको नाचमा थपडी बजाउछन । दुलहा र दुलहीलाई एक कुनामा छोडेर नाचेको देखाउने त्यो द्रिश्य देखेर मलाई नै लाज लाग्यो । पार्टी देखाइसकेपछी कपडाको ब्यवस्था राम्रो गर्नु । अनुहार राम्रो देखिने पार्टी ड्रेस लगाएका युवा युवतीलाई छेउ छेउमा नाचेको देखाउनु । बुढी बुढी आईमाईलाई रातो सारी लगाएर किन उभ्याइएको हो ?

अन्तमा भन्नुपर्दा बिषयबस्तु अत्यन्त मौलिक र सामाजिक परिवेशको हुँदा हुँदै पनि ‘पारीको हावा’ धेरै ठाउँमा चलेकोले चलचित्र 'बाटो मुनीको फूल' नयाँ बोत्तलमा पुरानो रक्सी झै बनेको छ ।

फोटो : बिराटसंसार
http://biratsansar.com/wp-content/uploads/2010/11/yash-and-rekha.jpg

3 comments:

kumud said...

gautam ji ko gunaso sarai thik lagyo malai.woha le j bhannu bhayo,tyo sarai thik ho.Maile pani movie here ani testai paye.purana nepali films bhanda bhinna chaina jasto lagdai thiyo,testai nai rahecha.dherai scenes haru anawasyak ani asuhauda chan.
Thumbs up to gautam ji comment..

ROCKY LAMA said...

हो यो कुरा सहि होकी यो चलचित्र अन्य चलचित्र सँग मेल खान्छ तर कलाकारहरु कम अनुभबि भएको कारणले पनि चलचित्रमा अलि खल्लो पन आएको हो

rocky said...

हो यो कुरा सहि होकी यो चलचित्र अन्य चलचित्र सँग मेल खान्छ तर कलाकारहरु कम अनुभबि भएको कारणले पनि चलचित्रमा अलि खल्लो पन आएको हो