Sunday 28 February 2010

स्मरण रहोस् : रचनात्मक सोच, ६ बर्ष, अरबपती, मार्क जुकरबर्ग

ईन्टरनेटको संसारमा सशक्त रुपमा उदाएको एक सामाजिक सन्जाल; जसको नाम नसुन्ने कमै भेटिन्छन । त्यो हो फेसबुक । विद्यार्थी त भन्नै पर्दैन, पेसागत ब्यक्तित्व, साहित्यकार,कलाकार, पत्रकार आदि सबैको फुर्सदको साहारा बनेको छ फेसबुक । कम्प्युटर खोल्ना साथ एक पटक फेसबुक नखोली चित्तै नबुझ्नेको संख्या दिन दिनै बढ्दै छ । फेसबुक च्याट र फोटोमाथी प्रतिक्रिया दिन मात्र होईन, बौद्धिक तथा सामाजिक कार्यको नीम्ति समेत सहयोगी बनेको छ ।

एक समय हुने गर्दथ्यो जब एउटा कबिता लेखेर साप्ताहिकमा पठाएँको डेढ महिना सम्म कहिले छापिएला भनेर कुरेर बस्नुपर्थ्यो किनभने त्यो बेला पत्रपत्रिका बाहेक साहित्यको नीम्ति भर पर्दो प्रकाशनको माध्यम अरु थिएन । अब त्यो समस्या फेसबुकले हल गरिदिएको छ । जे सुकै साहित्य सिर्जना गर्नुहोस् । लेखिएको २ मिनेट भित्र अमेरिका बस्ने साथीले "लाइक" पठाउन सक्छ, प्रतिक्रिया दिनसक्छ । यदि राम्रो छ भने । कुनै रमणिय स्थलमा गरिएको भ्रमण होस् या बनभोज, फोटो खिच्दा खिच्दै मनमा कुरा खेल्छ "बत्ती नगए आजै फेसबुकमा हाल्छु" फेसबुकबाटै नेपालको झन्डा परिवर्तन गर्न पाइदैन भन्ने आवाज उठ्छ । फेसबुकबाटै ख्याती श्रेष्ठको हत्यारालाई फाँसीको माग गरिन्छ । त फेसबुकबाटै नेपाल बन्दलाई सधैंको नीम्ति बन्द गर्न आह्वान गरिन्छ । फेसबुककै प्रयोगबाट सोसिअल मेडिया मार्केटिङ भनेर सस्तोमा बिज्ञापन दिएर विश्व आर्थिक मन्दीमा परेका ब्यापारीलाई बचाउने प्रेरणा दिईन्छ ।

हावर्ड बिश्वविद्यालयका पूर्व विद्यार्थी मार्क जुकरबर्ग आफ्नो विश्वविद्यालयको सबै बिद्यार्थीको फोटो र परिचय सहितको किताब नभएको भन्दै कलेज प्रशासनलाई 'देखाउन' सन २००४ मा आफैले फेसबुक डट कम निर्माण गरे । जसको दुई हप्ता भित्र हावर्ड विश्वविद्यालयका दुई तिहाई बिद्यार्थीले आफ्नो फोटो र परिचय उपलब्ध गराए । त्यसपछी यसको क्षमता बढाए लगतै १५०,००० जनाले फोटो र परिचय राखे । त्यसपछि त के चाहियो, मार्क जुकरबर्ग पढाइ-लेखाइ गोली मारेर हिंडे फेसबुकलाई ब्यवसायिक बनाउन । क्यालिफोर्नियाबाट फेसबुकको पेटेन्ट लिएपछी यसको लोकप्रियता यसरी बढ्यो की ६ बर्षको अन्तरालमा १० करोड बढी मानिस यसका प्रयोगकर्ता बने । खेलाची गर्दा गर्दै उनी बने अरबपती ।

तिब्र गतीमा सफलता पाएको फेसबुकलाई अनेकौ आरोप मात्र लागेको छैन, कतिपय देशमा प्रतिबन्ध समेत लगाइएको छ । ईरान,सिरिया,भियतनाम र चीनमा यसलाई खोल्न प्रतिबन्ध लगाइएको छ । त्यस्तै कतिपय कार्यालयमा फेसबूकलाई खोल्न नमिल्ने बनाइएको छ । भर्खरै मात्र अमेरिकी सुरक्षा केन्द्र पेन्टागनले भर्खरै मात्र कार्यलय भित्र फेसबुक खोल्न दिने निर्णय गरेको छ । नत्र गोप्य सूचना चोरी हुने डरले यसमाथी प्रतिबन्ध लगाएको थियो ।

तपाईंहरु देख्नसक्नु हुन्छ फेसबुकमा नयाँ नयाँ साथी बनाइन्छ र सुन्नु भएको पनि होला फेसबुकबाटै भेटेर प्रेम र बिवाह सम्म अघि बढेको । तर फेसबुक सम्बन्ध बनाउने मात्र होईन बिगार्न पनि उत्तिकै प्रयोग भएको छ । पश्चिमी देशहरुमा फेसबुकबाटै पार्पाचुके हुने क्रम पनि ह्वात्त बढेको छ । बेलायती पत्रीका टेलिग्राफले जनाए अनुसार दर्ता भएका प्रत्येक ५ पारपाचुके मध्ये १ को कारण फेसबुक हुने गरेको छ । बिहान म्यारिड रहेको फेसबुक स्ट्याट साझ डाइभोर्स्ड बन्न थालेको छ । यसरी पारपाचुके हुने जोडीहरु आफ्ना श्रीमान / श्रीमती तेस्रो ब्यक्तिसँग अश्लिल च्याट गर्ने र वालमा अनावश्यक कुरा लेखेको कारण पारपाचुके गरेको बताउछन ।

फेसबुकलाई लाग्ने गरेको अर्को आरोप हो बिद्यार्थीको पढाई सत्यानाश गर्यो । ब्यतिगत रुपमै अनुभव गरेको कुरा हो, जब कम्प्युटरबाट पढ्नुपर्ने बिषयको कक्षामा हुन्छु । झुलुक्क फेसबुक खोल्दा पुरै कक्षाका बिद्यार्थी त्यहि अनलाइन देखिन्छन । युनिभर्सिटी अफ नर्थ क्यारोलिनाको एक सर्भेक्षण अनुसार कक्षामा फेसबुक चलाउने बिद्यार्थीको पढाईको ग्रेड औषत ग्रेड भन्दा निकै कम रहेको पाइयो । तर बिरोधाभास नै मान्नुपर्छ शैक्षिक प्रतिष्ठान कै कतिपय पाठ्यक्रमको नीम्ति फेसबुकमा बिषयगत समुह बनाएर छलफल गराइन्छ ।

खैर, हरेक कुराको सकारात्मक र नकारात्मक पक्ष हुनु स्वाभाबिक हो । फेसबुककै कारण कोही ज्ञान आदान प्रदान गर्छन त कोही पढाईको ग्रेड घटाउछन । कोही प्रेमिका पाउछन त कोही श्रीमती गुमाउछन । सदुपयोग गर्न सकेको खण्डमा फेसबुकले दैनिक जीवनका बिभिन्न कार्यमा सहयोगी भूमिका खेल्न सक्छ । हामी जस्तो युवाहरुले फेसबुकको ईतिहासको बारेमा जानकार रहनुपर्छ ।
समरण रहोस - रचनात्मक सोच, खेलाची गर्दा गर्दै ,६ बर्ष, अरबपती, मार्क जुकरबर्ग ।

(स्रोत: म्याथेउ क्रिमर तथा अबे क्लासेनको केस स्टडी तथा विकिपेडिया, टाइम्स म्यागाजेन )
तस्बिर : http://chattahbox.com/images/2009/02/logo_facebook.jpg

1 comment:

मेचीनगर अनलाइन said...

शुशिल जी फेसबुकको बारेमा वास्तविक इतिहाँस खोज्दै जाँदा गुगलबाट तपाईको साईटमा प्रथमपटक प्रवेश गरे । खोजेको कुरा धेरै नै भेटेजस्तो लाग्यो । तपाईको लेखन शैली निकै राम्रो लाग्यो । Keep on writing Happy Blogging