Wednesday 6 May 2009

केक चोर र बाँदर

एकादेशमा दुई जना चोर रहेछन । तिनिहरुले केक चोरेर ल्याएछन । केक बराबर भाग लगाउन उनिहरु एउटा बाँदरकोमा गएछन । बाँदरले केक जोखेर भाग लगाइदिने भनेर तराजुमा राखेछ । तराजुको जुन भागमा केक बढी हुन्छ त्यसबाट झिकेर अलिकती क्वाप्प पार्दो रहेछ । फेरी अर्को भागबाट बढी भयो भन्दै क्वाप्प पार्दो रहेछ । यसरी क्वाप्प पार्दा पार्दा अन्त्यमा केक सकिएछ । चोरहरु हेरेको हेरै भएछन । अब कुरा गरौ प्रचन्डको 'ओस्कार मनोनित' भिडियो बारे ।

करीब डेढ बर्ष अगाडि कार्यकर्ता प्रशिक्षण कार्यक्रममा गरिएको भाषणले एक पटक फेरी राजनीतिमा तरङ ल्याइदियो । यसले प्रचन्डले लुकाएका केही तथ्य त बाहिर आए नै साथ साथै नेपालको कर्तब्य च्युत पत्रकारिता,स्वघोषित बुद्धीजिबीको कमजोरी र बिपक्ष राजनीतिक दलको षड्यन्त्र पनि पर्दा फास भएको छ ।

कटुवालले गल्ती गरेका थिए कि थिएनन ? उनी एउटा सरकारी कर्मचारी हुन । सरकारले दिएको आदेश मान्ने कि स्वबिबेक प्रयोग गरेर निर्णय गर्ने ? सैनिक भर्ना, आठ जर्नेलको पदावधी र राष्ट्रिय खेलमा जनसेनाको सहभागीतामा उनले गल्ती अवश्य गरेका थिए । भलै खेलको बिषय र अन्तरराष्ट्रिय नियम उल्लंघन गरेर सरकारले पनि गल्ती गरेको थियो तर सेनाको काम सहि - गलत जाचेर बस्ने कि सरकारको आदेश मान्ने ?

कटुवाललाई कारवाही आवश्यक थियो । आज कटुवालले खेलको कुरामा अटेर गर्ला । भोली अर्कोले 'कर्णालीमा बाटो खन्न जा' भन्दा 'जादिन' भन्ला । पर्सी अर्कोले 'सिमा सुरक्षा गर्ना जा' भन्दा 'तै जा भनिदेला' । अनी परेन फसाद । त्यही भएर समय मै छोरी पिटेर बुहारी तर्साउनु आवश्यक थियो ।

तर कारवाहीमा सबै डराउनुको कारण माओवादी सरकारमा हुनु र उसको दिर्घकालिन योजना सत्ता कब्जा गर्नु हो । यदी सरकारमा एमाले अथवा काङ्रेस भएको भए कारवाहीमा कुनै आपत्ति हुन्नथ्यो । न त भारतीय राजदुतको गाडीको प्रेट्रोल नै सकिन्थ्यो । तर माओवादी त चाहन्छ कि सेनालाई आफ्नो पकडमा राख्ने र जनबादी ब्यवस्था ल्याउने । यो त उसको दर्शन नै हो । जे गरेपनी माओवादी भनेको जनबादी नै हुन । भने बिपरित बिचार राख्ने पार्टीले अहिले आएर राष्ट्रपतीलाई असैबैधानिक र सेनालाई भारतको ईशारामा चल्ने बनाएर राष्ट्रलाई दिर्घकालिन लाती हनेको होइन ?

भिडियो सार्वजनिक गर्नुपर्ने उपयुक्त समय थियो ? सेना एकातिर रिसले चुर भएको अर्को तिर जनसेना हाम्रा अध्यक्षलाई पदमा रहन दिएनन भनेर झन रिसाएका बेला । शान्ती प्रकृयाको यस्तो जटिल मोडमा आएर डेढ बर्ष अगाडिको भिडियोले माहोल झनै बिगार्न सक्थ्यो । यही निहु बनाएर सेना र जनसेना आपसमा गोली हानाहान गरेको भए त्यसको जिम्मेवारी इमेज च्यान्नलले लिन्थ्यो ? हिंसालाई प्रेरित गर्ने समाचार सम्प्रेषण गर्नु हुन्न भन्ने सामाजिक उत्तरदायित्वको सिद्धान्त कहाँ गयो ?

भिडियो कसले सार्वजनिक गर्‍यो ? जनताको सुचनाको हकको निम्ती मात्र सार्वजनिक गरिएको हो कि राजनीतिक प्रतिशोधबाट प्रेरित भएर गरिएको हो त्यो त प्रष्ट छ । यो भिडियो सार्वजनिक गर्नुमा भारत लगायत सेना र अन्य बिपक्षी दल को हात छ कि छैन ? इमेज च्यान्नल एक्लैले सुचनाको हकको निम्ती गरेको त पक्कै होइन किन भने हिजो भर्खर भारतको चर्को बिरोध हुँदा हुँदै सरकारले कटुवाललाई बर्खास्त गरेको थियो । त्यही माथि राष्ट्रपतीले असंबैधानिक कदल चालेर सरकारको आदेश उल्टाए । त्यसअघी अझ सेनाले ' सफ्ट कु ' गर्ने वा ' राष्ट्रपती शासन ' लगाउने सम्मको योजना बनेको थियो । यि सबै घटनामा काङ्रेस त सहभागी छ नै साथै सेना र मुख्य खेलाडी भारत नै हो । भारतिय राजदुतले ' सेनापतीलाई हटाए दुई हप्ता भित्र सरकार अस्थिर गरिदिने चेतावनी दिएको थियो । ' लगतै कटुवाल बर्खास्तगी र प्रचन्डको राजिनामाले उनी बिदेशी प्रभु सामु झुक्दिन भनेर देखाइ सकेका थिए । यसले उनको राजनीतिक उचाइ झन बढेको थियो । एका एक यसरी हाई लाईट भएपछी उनको लोकप्रियता गिराउन यो भारत, काङ्रेस र सेनाका केही ब्यक्तीको षड्यन्त्र होइन र ?

सुरुमा एमाले र फोरमले कटुवाल कारवाहीलाई समर्थन दिएका थिएनन र ? अझ झलनाथ खनाल त हरियो झन्डा देखाएर चीन गएका थिए । जब भारतले दबाब दिन थाल्यो दुबै दल पछी हटे । बाँकी रह्यो त माओबादी । हिजो विश्वाबिद्यालय प्रकरण, एकिक्रित सेवा केन्द्र र पशुपती पूजारी काण्डमा पछी हटेको माओवादी यदी सेनापती प्रकरणमा पनि हात झिक्ने हो भने जनताले प्रचन्ड त कमल थापा भन्दा लाक्षी रहेछ भन्ने थिए । एका तिर आफ्नो दिर्घकालीन जनबादी योजना भताभुङ हुने अर्को तिर जनताको नजरमा तल खस्ने भएकोले माओवादी एक्लैले कार्वाही गर्नु परेको हो ।

यसमा भारतको स्वार्थ के त ? हिजो राजतन्त्र आफ्नो बसमा थिएन त्यही भएर राजतन्त्र ढाल्ने बातावरण बनाइयो । त्यही माओवादीको सैन्य बलमा टेकेर राजतन्त्र फालियो । काङ्रेस र फोरम भारतको पूजारी नै बने । एमाले त दही चिउरा बेचेर बसेको छ । माओवादी स्थापित भयो तर माओवादी भारतीय बशमा पर्ने खाल्को देखिएन । अनी त्यसलाई पनि हटाउनु भारतको चाल हो । अब यस्तै क्रम बढ्दै जाने हो भने जो जो भारतको अटेर गर्छ त्यसलाई भिडियो सार्वजनिक गरेर हुन्छ कि अडियो, १२ बुदे समाझदारी गरेर हुन्छ कि २४ बुदे । भारतले हस्तक्षेप गर्छ गर्छ । नेपालको भुमीमा अधिपत्य जमाउन खोज्छ खोज्छ ।

बिचरा माओवादी । हिजो दलका कुनै सदस्यलाई थाहा थिएन होला त माओवादीका वास्तविक सेना कती छ भनेर ? हिजो यिनै दलका नेताहरुले भनेको होइन र ' सेनाले एक ठाउँमा युद्ध जित्यो भने माओवादी ध्वस्त हुन्छ भनेर ' तिनीहरुलाई थाहा थियो माओवादीको सन्ख्या ७-१० हजार बिचमा छ भनेर । उनिहरुलाई राम्रो सँग थाहा थियो माओवादी खारामा आक्रमण गर्न बाराबाट आउछ, चरीकोटमा आक्रमण गर्न मुसिकोटबाट आउछन भन्ने तर किन जनतालाई स्पष्टसँग भनेन कि माओवादीसँग जम्मा सेना भनिएको भन्दा काम छ भनेर ? कारण स्पष्ट छ । उनीहरु माओवादीको बुइ चढ्नु परेको थियो । ज्ञानेन्द्रले उठिबास लगाएका थिए । काङ्रेसको शेरबहादुर शाखाले राजालाई प्रजातन्त्र भेटी चढाइ सकेको ,एमाले एन्ड दही चिउरा कम्पनी प्रतिगमन आधा सच्चियो भन्दै कम्युनिष्ट क्रान्ति गरिसकेको र गिरिजाले १२ बर्षे प्रजातान्त्रिक कालमा नाङो नाच देखाइ सकेको अवस्थामा राजा ढाल्नु त परको कुरा रत्नपार्कमा तथाकथित निर्णयक आन्दोलन हुँदा बास्नादार समौसा खान आउने आन्दोलनकारी पनि भेटिदैन थियो । त्यस्तो अवस्थामा माओवादीलाई सुरक्षित अवतरण पनि चाहिएको र दलहरु धोती न टोपी भएकोले बेला यदी माओवादीसँग जाबो सात हजार सेना छ भनेको भए सेनाले क्वाप्प खान्थ्यो । दलहरु हेरेको हेर्यै हुन्थे । माओवादी फेरी जङल कै बास । त्यही भएर माओवादीको बुइ चढ्न यो तथ्य पहिलै देखी लुकाइेको हो ।

अहिले पनि त्यो बेलाको समाचार हेर्ने हो भने ' फलानो ठाउँमा माओवादी आक्रमण । आक्रमणमा दसौ हजार छापामार संलग्न ' भनेर समाचार लेख्ने पत्रकारहरु अझ पनि जिउदै छन । दशौ हजार भनेर कसरी थाहा पाए ? किन अनुमानको भरमा समाचार लेखेर त्राशको बातावरण बनाए ? सहि सुचना दिनुपर्ने उनिहरुको कर्तब्यबाट किन च्युत भए र आज किन यही समाचारको खेदो खन्दै छन ? किन कोही बोल्दैन हिजोको समाचार बारे ?

यो भिडियो देखेर तीन छक्क पर्ने केवल जनता हुन । नेता र पत्रकारलाई माओवादीको योजना र सेनाको सन्ख्या बारे पोख्त थिए । यसले प्रचन्डको उचाइ घटायो, पत्रकार कर्तब्यबाट च्युत देखायो र एमाले र काङ्रेसलाई तत्कालको लागि बुइ चढायो । भने फाईदा कसलाई भयो त ? भारतलाई । हिजो भिडियो सार्वजनिक भएपछी सुद एनामा हेरेर भन्दा हुन ' मैले भनेको नमानेको हैन । अब देखिस । '

प्रचन्डलाई चेतना होस मुलुक रहेमा जनबाद रहन्छ । झलनाथलाई चेतना होस् राष्ट्रको अस्तित्व बिना 'जनताको बहुदलिय जनबाद' सम्भव छैन । गिरिजालाई चेतना होस् देश नबचे प्रजातान्त्रिक समाजवाद बेकार हुन्छ । कुनबादले शक्ती हत्याउने । कुन बाद्लाई पाखा लगाउने भनेर भाग बण्डा गर्न बिदेशी बोलाँउदा चोरको केक सत्यनाश भए जस्तै हाम्रो भुमी शत्यानाश हुन्छ कि हुँदैन ?

1 comment:

Anonymous said...

सही कुरा... सबभन्दा पहिले देश आउँछ र आउनु पर्छ पनि ...