Sunday, 20 April 2014

नारायण काका

घाम डुबिसक्यो, एक हुल ठिटीहरू बोतल ठाडो घाँटी लगाउदै हिडिरहेका छन् । कम्प्युटरको एक कुनामा टाइप गर्दै गर्दा अर्को कुनाको ई-बेमा टेलिस्कोप सम्बन्धी वेब साइट खुल्लै छ । किनौ की भनेर सोच्दै छु । 

काकालाई सम्झिन्छु । नारायण काका । मेरो बाल्य अवस्थालाई सबै भन्दा बढी प्रभाव पार्ने मान्छे । बर्खर काठमाडौंबाट बसाईसरी गएको  हेटौंडाको सुरुवाती जीवन थियो । उहाँ सात-आठमा पढ्नु हुन्थ्यो, म दुईमा । बोल्दा सानै कुरामा पनि झर्केर थर्काउने । लोटाको पानी थोरै पोखिएर काकाको खुट्टामा पर्‍यो भने जोडले गर्जिने ' लगेर मलाई राप्तीमा डुबाइदेन, आनन्दै हुन्थ्यो नी । '

काका अत्ति एक्टिभ हुनुहुन्थ्यो । एकदिन उहाँले चित्र बनाएको देखे, खासै राम्रो होईन । त्यो देखेर मैले पनि चित्र बनाउन थाले । कागजमा मात्र होईन, छिनो र हम्मर लिएर भेटिएको काठको मुडोमा मान्छेको आक्रिती खोप्थे । 

एकदिन काकाले भन्नु भयो हाम्रो देशको बिकास गर्न बिज्ञानको बिकास गर्नुपर्छ । बैज्ञानिक आविस्कार गरेर नेपाललाई बिकसित बनाउन सकिन्छ । सानो भुरो म । के बुझम ? तर दंग थिए, ' काकालाई यस्तो कुरो कहाँबाट आउछ ?' लहलहैमा लाग्थे । बाढी आएको थियो राप्तीमा । खेतको कुलोको एक भागमा प्वाल पारेर बाँसको नली घुसार्यौ । साइकलको टायरको डाइनामोमा चप्पल गोलो बनाएर काटेको चक्की जोड्यौ र सानो बत्ति जोड्यौ । बत्ति बलेन । त्यसो त माइकल फराडेले पनि कहाँ एकै पटकमा बिजुली निकालेको हो र ? चित्त बुझायौ । 

एकदिन काकाले सुटुक्कघर पछाडि बोलाएर सानो स्वरमा भन्नु भो ' एउटा कार्बाइट भन्ने चीज हुन्छ, केरा पकाउने मेटरियल । त्यसलाई प्रयोग गरेर बम बनाउनुपर्छ ।'  म तयार । काका पनि तयार तर मेटिरियल किन्ने पैसा छैन् । २५ रुपैया । त्यो बेला हातमा धेरै परे दश रुपैया, त्यो पनि दशैमा । मेरो घरको दराज लुट्ने जिम्मा मेरो, काकाको दराज लुट्ने जिम्मा काकाको । बल्ल जुट्यो २५ रुपैया । श्री रक्सिको बोतलमा थोरै पानी र कार्बाइट हालेर बिर्को टाइट गरेर भाग्यौ । ठीक टाइममा अर्को काकाको छोरो गिज्याउदै आयो । पानी हालेर बम काहीबम पड्किन्छ भन्दै नजिक गएको मात्र थियो बेजोड सँग पड्कियो । सिसाको एक टुक्रो उसको तिघ्रा छोएरै गयो । रगतको धारो बग्यो । काका र मेरो भागा भाग । घर फर्किनासाथ आमाले गालामा एक थप्पड बजाउनु भयो । मैले थप्पडको कारण सोध्नु आवश्यक ठानिन । खुरुक्क भान्सामा बसेर रुन थाले । खोलाको किनारमा हिड्दा ध्यान दिएर हिड्यो भने बहुमुल्य हिरा मोती भेट्न सकिन्छ भनेर आफ्नो गाई बस्तु धपाउदै कम्ता हिडाउनुभएन । म पनि हिरै पो भेटिन्छ की भनेर् पछि लाग्थे तर पर पर पुगेको काकाको गाई बस्तु बाहेक केही भेटे मार्दिनु । 

भर्खर् भर्खर् गोबर ग्यासको कार्यक्रम आएको थियो । काकाले ग्यालेनमा गोबर भरेर आगो बाल्ने बिचार गर्नु भयो । प्लास्टिकको ग्यालेनमा भेटेजती गोबर खोजेर भरियो र ग्यालेन टाइट गरियो । १० देखि १५ दिन भित्र ग्यास निस्किने र त्यो ग्यासमा आगो बालेर चिया सम्म पाक्ने काकाको भबिष्यबाणी थियो । धेरै दिन राखे ग्यालेन नै पड्किन सक्ने भएकोले काका सजग हुनुहुन्थ्यो ।  बल्ल बल्ल बितेको १५ दिन पछि ग्यालेनको बिर्कोमा पाइप जोड्दा ठ्वास्स गनाउनु बाहेक केही भएन, चिया पाकेन । गोबरबाटै ग्यालेन पड्किएको भए सायद माओवादी जनयुद्धमा ’गोबर बम’को रुप प्रशिद्धी पाउथ्यो होला । हाम्रो नाम आउथ्यो होला । तर भएन । 
चिकित्सा बिज्ञानमा आयाम थप्ने सुरमा काकाले धेरै भ्यागुतोको भुँडी टोपाज ब्लेडले काटेर छोड्नु भएथ्यो खोलामा । म त भ्यागुतो समात्ने जिम्मा पाएको थिए । काका भन्नुहुन्थ्यो डाक्टर बन्नु अघि सबै यसै गर्छन् । भ्यागुतो भुँडी निस्किएर हरिबिजोग गरेर उफ्रिन्थे । म त भुरो, के बुझम । डाक्टर बनिन्छ की झै लाग्थ्यो । 

काकाले मुलधार छोड्नु भयो । अब संगीत तर्फ लाग्नुपर्छ भन्न थाल्नुभयो । काठमाडौं गएर डोरेमिफामा संगीत पनि सिक्नुभयो र हेटौंडा हार्मोनियमका साथ फर्किनुभयो । मलाई गाउन लगाउनुहुन्थ्यो  म कनी कनी नारायण गोपालको यो ”मुटुलाई कसरी सम्झाई बुझाउ...” गाउथे । काका मेरो स्वरमा मन्त्रमुग्ध भएर हार्मोनियम बजाउनुहुन्थ्यो । र भन्नुहुन्थ्यो अलीकती तान्न सिक्यौ भने तिम्रो गायन क्षेत्रमा भबिष्य राम्रो छ । बडो प्रभाबित भए आफै देखि । शुक्रबार कक्षामा त्यहि गीत त्यसैगरी गाएको कसैले वास्ता गरेनन, सुनेकी सुनेनन कुन्नि । तर काका माथि बिश्वासमा कमी भएन । संगीतको बिकाससंगै ब्यवसाय स्वरुप काकाले फिल्मको सिडी भाडामा दिने पसल थाप्नुभयो । काकाको ब्यस्तताले संगत छुट्यो । केही समयपछी भेट्दा थाहा भयो मान्छेहरू सिडी लग्दा रहेछन तर फिर्ता ल्याउदा रहेनछन । बिस्तारै सिडी पसल खालि भयो ।  ब्यवसाय टाट पल्टिएछ । संगीतको माध्यमबाट देशको बिकास गर्ने योजना तुहियो । 

काका साहित्यमा लागेर केही गर्नुपर्ने बिचार राख्नु थाल्नुभयो । जीवनमा एउटा किताब लेखेर मात्र मर्नु पर्छ भन्दै नेपाली कापीको अन्तिम पन्नामा बिरक्त मानिस हिडिरहेको बिषयमा एकपाना लेखेर देखाउनुभयो । म त भुरो के बुझम ? जीवनमा एउटा किताब लेख्नै पर्ने रहेछ भनेर मैले पनि एउटा नयाँ कापीको पहिलो पन्नामा केही लेखेको थिए । शिर्षक 'रगत' थियो । चार कक्षामा पढ्दा के लेख्न सक्थे र ? स्वाभाबिक हो, अधिकांस हिन्दी फिल्मसँग मिल्दो जुल्दो थियो कथा । 
         
चार कक्षापछी काठमाडौं नै बसाई सर्यौ । काकाको संगत छुटे पनि काकाले जगाइदिनुभएको भोक साम्य भएन । ५ कक्षा देखि नै राम्रो कबिता लेख्न सक्ने बनेछु । प्रथम पुरस्कार पनि पाए । ६-७ मा पढ्दा चित्रकला प्रतियोगिताको जिल्ला स्तरिय प्रतियोगितामा प्रथम/ दितिय बनिसकेको थिए । झन बिज्ञानको भोक त कहाँ मेटिन्थ्यो र ? आफैले बारुद बनाएर तिहारमा पटका पड्काउन सक्ने भैसकेको थिए कक्षा ८-९ तिर । टेबल टेनिसको बल प्रयोग गरेर रकेट झै काम गर्ने  एउटा सानो गाडी बनाए तर मैतिदेबीमा गरिएको त्यो परिक्षण असफल भयो । गाडी थोप्पो अगाडी बढेन । कक्षामा सरले आवर्तनिय (refractive) टेलिस्कोपको बारेमा पढाउनुहुन्थ्यो,म परावर्तनिय (reflective) टेलिस्कोप आफैले बनाएर स्कुल लान्थे । त्यो टेलिस्कोप कति शक्तिशाली थियो, त्यो त थाहा भएन तर आफैले बनाएको भएर होला गर्व लाग्दो रहेछ । प्रदर्शनी मार्गबाट सिहदरबार अगाडीको होर्डिङ बोर्डमा लेखेको सबै अक्षर पढ्न सकिन्थ्यो । खालि आँखाले हेर्दा धर्को मात्र देखिन्थ्यो ।  माओवादीलाई आतंककारी घोषणागरेपछी  स्कुलको सरको निर्देशन अनुसार बिज्ञानका सबै सामान टुकुचा फ्याक्न वाध्य भए । 

काकाले भने झै खोलामा बहुमुल्य हिरा मोती त कहिले भेटिन तर खोलाले बगाएर ल्याएको हाँगाबिङा र जराहरूलाई पेन्टिङ गरेर कलात्मक बस्तु बनाउन सके । पछी त्यहि जरा कलेज पढ्दा बिद्या देबी भण्डारीलाई उपहार स्वरुप दिएँ पनि । एक ब्रिटिश शिक्षक ४२५ पाउन्ड पर्ने, खोलाले बगाएर ल्याएको जराबाट बनेको कुर्सीको फोटो हालेका छन फेसबुकमा ।  काम नलाग्ने जराबाट त्यस्तो सम्म बन्दो रहेछ । 

काकालाई नभेटेको पनि करिब ९-१० बर्ष भईसकेछ । अझै पनि सोच्दै छु ७ कक्षा पढ्दा देखि काका कसरी त्यति ट्यालेन्टेड हुनुभयो ? म त भुरो थिए लहलहैमा लाग्थे तर काकालाई धेरै कुरा थाहा रहेछ सानै देखि । मैले बनाएको टेलिस्कोप पनि हराइसक्यो । सोच्दै छु यहि ई-बे बाट एउटा टेलिस्कोप किन्नुपर्ला । आफैले बनाए जस्तो माया लाग्दो त छैन तर धेरै पावरफुल छ ।


No comments: