Sunday, 8 December 2013

मोडर्न मुना मदन

मुना र मदन सानै देखि एकै कक्षामा पढ्दै हुर्किए । संगै स्कुल जान्थे । संगै खेल्थे । संगै पढ्थे । नौ कक्षामा टेकेलगतै मुना र मदनमा जवानीका परिवर्तन देखा पर्न थाले । मदन भित्र भित्रै मुनालाई मन पराउन थाल्यो । स्कुल जाने क्रममा एकदिन प्रेम प्रस्ताव पनि राख्यो तर मुनाले साथी बाहेक अरु सोच्न नसक्ने भन्दै अस्विकार गरिन । 

त्यसपछी मदन मुनाको साथ पाउन तड्पिन थाल्यो । मुना भने मदनबाट टाढा भाग्न थालिन । दुबै एसएलसी सके । मदन अझै मुनालाई बिर्सिन सकेँन । प्लस टु समेत मुना पढ्ने कलेजमा भर्ना गर्‍यो तर मुनाले बाल दिईनन । प्लस टु समेत मुनाको पछि लागेर सक्यो मदनले । अन्तमा हार खायो र मुनाबाट टाढा जाने निर्णय गर्‍यो । बाँकी अध्ययन पूरा गर्न अमेरिका जान कस्सियो ।  

तीन पटक लगातार असफल भएपछि बल्ल अमेरिका जाने भिसा पायो । मदनले अमेरिका जाने भिसा पाएको कुरा साथिहरू मार्फत मुनाको कानमा पर्‍यो । उनको मनमा प्रेमको अँकुरण भयो । कता कता मदनलाई भित्रै देखि माया गर्न थालेको भान भयो । तर मदन अमेरिका जादै थियो । उनलाई आफ्नो प्रिय ब्यक्ति सदाको लागि टाढा जान लागेको महसुस भयो । उनमा छट्पटी बढ्दै गयो । सपनामा समेत मदन प्लेन चढेको देख्न थालिन । अमेरिकाको चिल्लो सडकमा गाडी कुदाउदै गरेको देख्न थालिन ।  

त्यसपछी उनले आफूलाई सम्हाल्न सकिनन र मदनलाई भेट्न गइन । गह भरी आसुँ लिएर मदनको हात समात्दै प्रेमको भिख मागिन । आफू पनि बच्चै देखि मदनलाई मन पराएको तर भन्न नसकेको भनेर सम्झाउन खोजिन तर मदन मानेन । मुनाको हात आफ्नो हातबाट हटाउदै भन्यो " तिमी नेपालमा हुने छौ, म अमेरिकामा । यस्तो अवस्थामा प्रेम रहन सक्दैन । तिमी आफ्नो जीवनसाथी यहि कतै खोज " यदि भन्दै मदन हिड्यो । मुना रोइरहिन । टाढा सम्म मदन हिडिरहेको हेरेर आसु झारिरहिन । 
   
अमेरिका पुगेपछि मदनको नयाँ दिनहरू सुरु भयो । बिहान उठेदेखी कामको खोजीमा पेट्रोल पम्प र स्टोरहरू धाउन थाल्यो । दुई महिनाको अबिरल खोजपछि भारतिय मुलको महिलाको पेट्रोल पम्पमा काम पायो । केही समय काम र पढाईलाई सँग संगै लग्यो तर कलेज फी तिर्ने बेला काम गरेर कमाएको सबै पैसा बुझाउदा मन कुटुक्क काटियो । त्यसपछी उसले पढाई छोडेर काम मात्र गर्न थाल्यो । बल्ल भने राम्रो पैसा जोगाउन थाल्यो । 

उता नेपालमा मुना मदनको प्रेममा छट्पट्टिएर बेहाल भएकी थिईन । त्यहि भएर उनले पनि अमेरिका गरेर मदनलाई भेट्ने मनमनै अठोट गरिन र डिभी भरिन । सच्चा मनले चाहेको कुरा भगवानले समेत जुराउछन । उनलाई डिभी पर्‍यो खुशिको सिमाना रहेन । डिभी परेको यति खुशि भईन की मदनलाई भुल्न पुगिन । यसै अमेरिका जाने उसै अमेरिका जाने भनेर मदनलाई खबर गर्नु आवश्यक ठानिनन । दोस्रो पत्र आए लगतै उनी अमेरिका उडिन । 

सुरुका दिनमा धेरै गाह्रो भयो अमेरिकामा । काम पाइएन । बल्ल बल्ल पाएको काम पनि तीन घण्टा गाडी चलाएर जानुपर्ने ठाउँमा । जसो तसो गरि मदन बसेकै राज्यमा एउटा पसलमा सामान मिलाउने काम पाईन । यो कुरा मदनले साथी मार्फत थाहा पायो । त्यसपछी मदनमा आफ्नो प्रेम फर्किएको अनुभव भयो । भित्रै देखि फेरि मुनालाई चाहन थाल्यो । एकदिन बल्ल बल्ल ठेगाना पत्ता लगाएर मुना भएको स्थानमा पुग्यो ।
  
 मुनालाई देख्नासाथ न्यानो अँगालो मार्यो र भन्यो " मुना म तिमीलाई अझै सम्म बिर्सिन सकेको छैन । आइ स्टिल लभ यू " मुनाले अँगालोबाट फुत्किदै भनिन " तर बागमतीमा पानी धेरै बगिसक्यो । अब म तिमिलाई माया गर्न सक्दिन । तिमी आफ्नै खालको जीवन साथि खोज " मदन छाङाबाट खसे जस्तै भयो । आज भोलि गर्दै बिस्तारै उसको अमेरिकाको भिसा सकिने मिती नजिकिदै थियो । त्यसपछी उसलाई नेपाल फर्किनुपर्छ भन्ने डरले पोलिरहेको थियो । त्यसकारण मदन झन् झन् मुनालाई माया गर्न थाल्यो ।  
 
उनलाई पाउन अमेरिकामा पनि तड्पिन थाल्यो । बिस्तारै भिसा सकिने मिती नजिक आयो । मदनसँग दुई वटा बिकल्प रह्यो की शरणार्थी बनेर बस्ने की अमेरिकी नागरिकता भएको युवती सँग बिहे गरेर बस्ने । धेरै दिन सम्म बिहे गर्न मिल्ने युवती खोज्दै बाटोमा हिंड्न थाल्यो तर फेला पार्न सकेन । एकदिन काम गर्दै गर्दा आफ्नो पसलको साहुनी देख्छ । पूर्वपती सँग पारपाचुके गरेर आफ्नै पेट्रोल पम्प चलाएकी, आफू भन्दा दोब्बर उमेरको भए पनि अनुहारमा चमक हराएको थिएन । मदन मन मनै साहुनीसँग बिहे गर्ने सपना देख्छ । कहीले गिफ्ट किनिदिने त कहीले घुमाउन लग्ने गर्न थाल्छ । एकदिन साहुनीलाई आफ्नो चोखो मनको प्रस्ताव राख्छ । साहुनी पनि एक्लो जीवनबाट मुक्त हुन प्रस्ताव स्विकार्छिन । हेर्दा हेर्दै मदनको भिसाको समस्या मात्र होईन रोजी रोटी समस्या समेत समाधान हुन्छ । साहुनीको नाममा भएको दुई वटा पम्पको मालिक बनेर इज्जतसाथ जिन्दगी बिताउन थाल्छ ।  

तर उता मुनाको हालत खराब हुन्छ । अर्थतन्त्र धराशायी भएको भन्दै कामबाट निकालिन्छिन । भिसा छ तर काम छैन् भनेर उनको मन धेरै रुन्छ । चारैतर्फ काम खोज्न भौतारिन्छिन । एकदिन काम खोज्ने क्रममा एउटा पेट्रोल पम्प पुग्छिन । त्यहाको काम गर्नेले साहु बस्ने स्थान देखाइदिन्छन । जब त्यहा पुग्छिन मुना फेरि छाङ्गाबाट खसे जस्तै हुन्छिन । साहु त मदन हुन्छ । त्यत्रो ठुलो पेट्रोल पम्पको साहु मदनलाई देख्दा मुनाको मनमा फेरि पुरानो प्रेम सल्बलाउन थाल्छ । अन्तर्वार्ता दिन गएकी मुना प्रेमबार्ता गर्न चाहन्थिन तर मदनले बिष्णुमतीमा धेरै पानी बगिसकेको भनेर उनको प्रेम प्रस्ताव फेरि ठुक्राउछ । र आफ्नो जीवनमा कहिले फर्केर नआउन चेतावनी दिन्छ । त्यसपछी मुना मदनलाई सम्झेर रुदै रुदै आफ्नो बाटो लाग्छिन ।

 मदन र भारतिय महिलाको पेट्रोल पम्प विश्वब्यापी आर्थिक संकट आएपछि टाट पल्टिन्छ । दुबै  जना ऋणमा चुर्लुममा डुब्छन । ऋण तिर्न नसकेर भारतिय महिलाले आत्महत्या गर्छिन । पत्नी बियोग, ऋणको समस्या र मुनाको सम्झनाले गर्दा मदनको मानसिक सन्तुलन हराउने स्थितिमा हुन्छ । फलस्वरुप मदन दिन दिनै रक्सी पिउन थाल्छ । उता मुनालाई एक डलरमा किनेको लोट्टोमा अचानक १०० मिलियन डलर पर्छ । यो खबर पाए लगतै हतारिएर बुझ्न पसल तीर गाडी चलाएर जान्छिन । आफ्नो जिन्दगीको सबै दु:खका दिन जाने भएर भनेर अत्ती खुशि भएर दुई हात छोडेर गाडी चलाउदै गर्दा मदन रक्सीले फिट्टान भएर सडकको बीच आइपुग्छ । मदनलाई बचाउन खोज्दा मुनाको गाडी भित्तामा ठोक्किन्छ । मदन हत्तपत्त मुनाको गाडी भित्र हेर्छ । रगताम्मे मुना अन्तिम श्वास फेर्दै हुन्छिन । मदनले मुनाको आँखामा हेर्छ र हात समातेर संगै स्कुल गएको दिन सम्झिन्छ । पाखुरा हेर्छ संगै छोइडुम खेलेको सम्झिन्छ । कम्मरमा हेर्छ संगै इन्टुमिन्टु खेलेको सम्झिन्छ । र हातमा हेर्छ लोट्टो देख्छ । र सोच्छ पक्कै पनि यो पल्टको १०० मिलियनवाला लोट्टो हुनुपर्छ भन्दै खोसेर लिन्छ । लोट्टो खोसिएपछी मुनाको प्राण फ्यास्स जान्छ । कसैले देख्ला भनेर लोट्टोको कागज लिएर डौडिन्छ । लोट्टो पाएपछी हाई वे हो भन्ने पनि बिर्सिन्छ । पछाडीबाट एउटा गाडीले बजाइदिन्छ । उसको पनि तत्काल मृत्‍यु हुन्छ ।        

Wednesday, 6 February 2013

बेलायती प्रधानमन्त्रीलाई खुल्लापत्र

नमस्कार डेभिड क्यामेरुन ज्यु,

तपाईंले बुझ्ने तपाई कै भाषा भन्दा, मैले बुझ्ने मेरै भाषामा खुल्ला पत्र लेख्दै छु। आवश्यक देखिएको खण्डमा यही पत्रलाई अङ्ग्रेजी भाषामा उल्था गरेर तपाईको टेबलमा पुग्ला भन्ने आशा लिएको छु। क्यामेरुन ज्यु, खै पत्रमा के के मात्र लेखौँ झैँ भएको छ। नेपाल-अङ्ग्रेज युद्धमा भएको अङ्ग्रेजी अमानवीय कार्यबाट सुरु गरौँ कि टायर फोर भिसा काण्डले ठगिएका नेपालीको आत्माहत्या र रोदनको बारेमा लेखौ ? कर्णेल कुमार लामालाई यातना दिएको आरोप गिरफ्तार गरेर नेपालको सार्वभौमतामाथि गरेको नांगो हस्तक्षेपको बारेमा लेखौँ कि अफगानिस्तान र इराकको नरसंहारको बारेमा लेखौँ ?


चार कक्षामा नेपाली पाठ्यपुस्तकमा बढाइचढाइ पो लेखेको हो कि भनेर एक पटक गुगल गरेर हेरे, नालापनी युद्धको बारेमा। तर अहिले फेला परेका तथ्यहरूले पनि यही भन्दोरहेछ तपाईका पुस्ताहरूले नालापानीको किल्लामा अमानवीय तवरले नेपाली सेनालाई मार्नु भएको रहेछ। तीन हजारको संख्यामा आएका तपाईको पुस्ताले ६ सय नेपालीलाई जित्न नसकेर किल्लाभित्र जाने पानी बन्द गरेका रहेछ्न्। तीन दिनको ब्याकुल प्यासले नेपाली किल्ला बाहिर निस्किँदा जम्मा ७० जना बाँकी रहे। बाँकीको मृत्युको जिम्मा तपाईहरूको पुस्ताको अमानवीय कर्तुत हो कि होइन हजुर ? अरुको देशको स्रोत र साधनमाथि आँखा गाड्ने, आक्रमण गर्ने, भाषा, धर्म, संस्कृति सखाप पार्ने इत्यादि कर्तुत नै तपाईहरूको इतिहास हो कि होइन ? पानीको मुहान बन्द गरेर प्यासले तड्पाइ तड्पाइ मान्छे मार्ने देशले मानव अधिकारको वकालत गर्न सुहाउँछ ?

लु भैगो। इतिहासको गल्तिलाई अहिले किन कोट्याएको होला भनेर चित्त दुखाउनुहोला तर के गर्नु तपाईंहरुको कर्तुत अहिले पनि जस्ताको तस्तै छ। फरक यति हो पहिले नालापानीमा पानीको मुहान बन्द गर्नुहुन्थ्यो अचेल नाकाबन्दीको नाममा जनजीवन ठप्प पार्नुहुन्छ र त्यो देशको जनता तड्पाइ तड्पाइ मार्नुहुन्छ। हो कि होइन ? सद्दाम हुसेनले आम विनाशकारी जैविक हतियार राखेका छन् भनेर तपाईहरू प्रमुख मित्र अमेरिकाले भनेको आधारमा ‘हो मा हो’ मिलाउँदै आक्रमण गर्नुभएको थियो। त्यसैको निहुँमा सद्दाम हुसेनलाई झुण्ड्याएर मार्नुभयो। मुसलमान धर्म मै आधारित भएर विकसित भैसकेको एउटा समाज यसरी ध्वस्त पार्नु भयो कि अहिलेसम्म डेढ लाख इराकी जनता मरिसके। अझै मर्ने क्रम जारी छ। जैविक हतियार फेला पार्नु भयो त ? जेको कारण आक्रमण गरेर त्यत्रो बिघ्न मानिस मारिए त्यो नै फेला नपरेपछि आफ्नो आक्रमण तर्कसंगत थियो भनेर कसरी प्रमाणित गर्नुहुन्छ ? इराकमा रगतको खोला बगाउने तपाईंहरूलाई अमानवीय भन्न मिल्ने कि नमिल्ने हजुर ?

तपाईंहरूको रक्तपिपासु कदमको अर्को किस्सा बाँकी नै छ। तपाईंहरूको राजकुमार ह्यारी भर्खरै अफगानिस्तानबाट ‘ मैले तालेबानलाई गोली ठोकेँ ‘ भन्दै बेलायत फर्केका रहेछन्। एउटा कुरा के हजुर – अफगानिस्तानमा अल-कायदा नामको आतंकबादी सन्जालका सदस्यले २००१ मा बिश्व ब्यापार केन्द्रको दुई वटा भवनमा आक्रमण गरेको कारण देखाएर अफगानिस्तानमा आक्रमण गरिएको थियो। चार वटा नागरिक बिमान अपहरण गरेर ठोक्काएर आक्रमण गरिएको भनिएको थियो। तर हजुर अहिले बुझ्दै जाँदा ती सबै योजनाबद्ध रुपमा अमेरिका आफैले गरेको तथ्य पाइएको छ। अमेरिका मै खुलेको संस्था ‘ आर्किटेक्ट एण्ड एन्जिनियर्स फोर ९/११ ट्रुथ ‘ का संस्थापक रिचार्ड गेज लगायत १५०० जना इन्जिनियर्सले घटनाको फेरि अनुसन्धान हुनुपर्ने माग गरेका छन्। सोही आक्रमणमा खुल्न नसकेका तथ्य यति धेरै छन् कि यो पत्रमा अट्दैनन्। भन्नुको अर्थ के निस्कियो भने सो आक्रमणमा अमेरिका आफै संलग्न छ, त्यसमा या तपाईहरू पङ्गु बन्नु भयो या तपाईहरूको रक्तपिपासु हात मान्छे मार्न चिलाएर सहभागी हुनुभयो। अहिलेसम्म करिब १७ हजार अफ्गानी सर्वसाधारणको ज्यान गइसक्यो भने तत्कालीन सैनिकको त हिसाबै छैन। सन्तुष्ट हुनुहुन्छ मज्जाले मान्छे मार्न पाएकोमा ?

अफ्गानिस्तानबाट रसियालाई हटाउन १९८० दशकमा तपाईहरूले नै सर्वसाधारणलाई हतियार वितरण गर्नुभयो। त्यस मध्ये केहीलाई मिलाएर आफैले अल-कायदा नामको सन्जाल बनाउनुभयो। त्यस सन्जालको नेता बिन लादेन तोक्नुभयो। आफैले विश्व ब्यापार केन्द्रमा थर्माइट बम्ब जडान गर्नुभयो। आफैले षड्यन्त्रको जालो बुनेर प्लेन ठोक्काउनु भयो। दोष बिन लादेनलाई लगाएर अफगानिस्तानमा आक्रमण गर्नुभयो। पाकिस्तानमा बिन लादेनलाई मारिएको र उनको शव समुद्रमा फ्याकेको जानकारी गराउनुभयो। यो त बिस्तारै अनपढले पनि बुझ्दैछन तर तपाईको राजकुमारले नबुझेर तालेबानलाई गोली ठोक्न गएको ? कम्तिमा आफ्नो राजकुमारलाई भ्रममा नराख्नुस, असल शिक्षा दिने गर्नुहोस्।

तपाईहरु कै कारण ‘मानवअधिकार र प्रजातन्त्र’ शब्द कस्तो डरलाग्दो सुनिन थालेको छ। कुनै देशमा मानवअधिकार र प्रजातन्त्र छैन भन्नुभयो कि या त तपाईहरू कुनै पनि बेला आक्रमण गर्न सक्नुहुन्छ नत्र कम्तीमा नाकाबन्दीको तयारीमा हुनुहुन्छ भनेर बुझे हुन्छ। जुन देशको राज्य सत्ता संसारमा सबभन्दा बढी मानव संहारको जिम्मेदार छ उसैले मानव अधिकारको वकालत गर्दै हिंडेको सुहाउँदैन के क्यामेरुन ज्यु। यही बेला हाम्रो कर्णेल कुमार लामालाई थुनेर राख्नुभएको छ। तपाईहरूको तथाकथित यातनाविरुद्धको बिश्वब्यापी कानुन अन्तर्गत। तपाईले नबुझ्नु भएको हो कि मानवअधिकारको पक्षधर भएको ढोङ देखाउन हो उहाँलाई थुन्नुभएको ? कर्णेल लामा बहालवाला अधिकारी हुन्। उनले अनुसन्धानको क्रममा दुई जनालाई पक्राउ गर्न लगाए। पक्कै पनि सैनिक अनुसन्धान टेबल टेनिस खेल्दै गरिँदैन। दुई चार थप्पड लगाउनु स्वभाविक हो। विद्रोही पक्ष पनि नेपाली हुन् र सरकार पक्ष पनि नेपाली। यसमा तपाईलाई टाउको दुखाउनु आवश्यक थिएन। हजारौ मानव संहार गरेको रक्तरन्जित हातले नेपाली-नेपाली बीचको विवादलाई चलाउनु कतिको जायज छ, ऐना हेरेर आफैलाई सोध्नु होला।

पोप जोन पल दोस्रो त चिन्नु भएकै होला। आफूलाई गोली हान्नेलाई माफी दिएको आधारमा खुब प्रशंसा गर्ने तपाईहरू नै हो – हामी नेपाली पनि आपसी बिबाद आफै सुल्झाएर माफी दिनसक्छौ र दिन चाहन्छौ। यो याद राख्नुहोला।

तैपनि कुमार लामाले न तपाईहरूले जस्तो इराकको अबु घरेब बन्दी गृहमा जस्तो कैदीलाई नाङ्गै राखेर तड्पाउने, कुकुर लगाउने, चिसो सिमेण्टमा रातभरी नाङ्गै लडाएर राख्ने गरेका थिए न अपाचे हेलिकप्टरबाट साना केटाकेटी र पत्रकार माथि गोली ठोकेका थिए। तैपनि दादागिरी देखाउन कारवाहीको ढोङ रच्नुभयो। तपाईहरूलाई आफ्नो देशको कानुनको पालना गर्न त्यस्तो मन छ भने अरु देशको कानुनको पालनामा पनि भांजो हाल्ने काम गर्न भएन। भर्खरै इण्डोनेसियामा तपाईका नागरिक लिन्डसे स्याण्डिफोर्डले लागुपदार्थ वसारपसार गर्दा पक्राउ परेपछि त्यहाँको अदालत मृत्युदण्डको फैसला सुनाएको छ। तर अचम्मको कुरा आफ्नो देशको कानुन पालना गर्न कुनै कसर नछोड्ने भन्नेले इण्डोनेसियाको अदालतको फैसलाको भर्त्सना पो गर्नुभएछ। ए राता मकै, लाज लाग्दैन तपाईहरूलाई ? तपाईका नागरिकले अपराध गरे इज्जत साथ छोडिदिनु पर्ने अरु देशका कर्मचारीले आफ्नो काम गरे पनि कारवाहीमा पर्नुपर्ने कस्तो चलन आएको बा।
क्यामेरुन ज्यु, इतिहासदेखि नै तपाईहरू नाफा कमाउन मान्छे मार्ने र उपनिवेश बनाउने काम गर्दै अरुको सार्वभौमिकतामाथि गिद्दे दृष्टि राख्नुहुन्थ्यो। हाल आएर मानव अधिकार र प्रजातन्त्रको नाममा गर्दै हुनुहुन्छ। मानव अधिकार र प्रजातन्त्र निर्यात गर्ने सस्तो होलसेल कारोबार बन्द गर्नुहोला। ग्राहकहरू सचेत हुँदैछन्।

थप जानकारीको लागि तल लिंक दिएको छु, अन्य कुनै देशमा आक्रमण गर्ने तयारीको ब्यस्तता छैन भने अवश्य अध्ययन गर्नुहोला।
तपाईको शुभचिन्तक
साक्षात सुशील
स्रोतहरू
http://www.iraqbodycount.org/analysis/numbers/2011/
http://www.bbc.co.uk/news/uk-21119727
https://www.youtube.com/watch?v=1l-8PFk8j5I
http://www.wtc7.net/articles/kimball/thirdskyscraper.html
http://www.bbc.co.uk/news/uk-21149631
http://www.antiwar.com/news/?articleid=2444
http://www.bbc.co.uk/news/uk-21149631