Sunday, 28 February 2010

स्मरण रहोस् : रचनात्मक सोच, ६ बर्ष, अरबपती, मार्क जुकरबर्ग

ईन्टरनेटको संसारमा सशक्त रुपमा उदाएको एक सामाजिक सन्जाल; जसको नाम नसुन्ने कमै भेटिन्छन । त्यो हो फेसबुक । विद्यार्थी त भन्नै पर्दैन, पेसागत ब्यक्तित्व, साहित्यकार,कलाकार, पत्रकार आदि सबैको फुर्सदको साहारा बनेको छ फेसबुक । कम्प्युटर खोल्ना साथ एक पटक फेसबुक नखोली चित्तै नबुझ्नेको संख्या दिन दिनै बढ्दै छ । फेसबुक च्याट र फोटोमाथी प्रतिक्रिया दिन मात्र होईन, बौद्धिक तथा सामाजिक कार्यको नीम्ति समेत सहयोगी बनेको छ ।

एक समय हुने गर्दथ्यो जब एउटा कबिता लेखेर साप्ताहिकमा पठाएँको डेढ महिना सम्म कहिले छापिएला भनेर कुरेर बस्नुपर्थ्यो किनभने त्यो बेला पत्रपत्रिका बाहेक साहित्यको नीम्ति भर पर्दो प्रकाशनको माध्यम अरु थिएन । अब त्यो समस्या फेसबुकले हल गरिदिएको छ । जे सुकै साहित्य सिर्जना गर्नुहोस् । लेखिएको २ मिनेट भित्र अमेरिका बस्ने साथीले "लाइक" पठाउन सक्छ, प्रतिक्रिया दिनसक्छ । यदि राम्रो छ भने । कुनै रमणिय स्थलमा गरिएको भ्रमण होस् या बनभोज, फोटो खिच्दा खिच्दै मनमा कुरा खेल्छ "बत्ती नगए आजै फेसबुकमा हाल्छु" फेसबुकबाटै नेपालको झन्डा परिवर्तन गर्न पाइदैन भन्ने आवाज उठ्छ । फेसबुकबाटै ख्याती श्रेष्ठको हत्यारालाई फाँसीको माग गरिन्छ । त फेसबुकबाटै नेपाल बन्दलाई सधैंको नीम्ति बन्द गर्न आह्वान गरिन्छ । फेसबुककै प्रयोगबाट सोसिअल मेडिया मार्केटिङ भनेर सस्तोमा बिज्ञापन दिएर विश्व आर्थिक मन्दीमा परेका ब्यापारीलाई बचाउने प्रेरणा दिईन्छ ।

हावर्ड बिश्वविद्यालयका पूर्व विद्यार्थी मार्क जुकरबर्ग आफ्नो विश्वविद्यालयको सबै बिद्यार्थीको फोटो र परिचय सहितको किताब नभएको भन्दै कलेज प्रशासनलाई 'देखाउन' सन २००४ मा आफैले फेसबुक डट कम निर्माण गरे । जसको दुई हप्ता भित्र हावर्ड विश्वविद्यालयका दुई तिहाई बिद्यार्थीले आफ्नो फोटो र परिचय उपलब्ध गराए । त्यसपछी यसको क्षमता बढाए लगतै १५०,००० जनाले फोटो र परिचय राखे । त्यसपछि त के चाहियो, मार्क जुकरबर्ग पढाइ-लेखाइ गोली मारेर हिंडे फेसबुकलाई ब्यवसायिक बनाउन । क्यालिफोर्नियाबाट फेसबुकको पेटेन्ट लिएपछी यसको लोकप्रियता यसरी बढ्यो की ६ बर्षको अन्तरालमा १० करोड बढी मानिस यसका प्रयोगकर्ता बने । खेलाची गर्दा गर्दै उनी बने अरबपती ।

तिब्र गतीमा सफलता पाएको फेसबुकलाई अनेकौ आरोप मात्र लागेको छैन, कतिपय देशमा प्रतिबन्ध समेत लगाइएको छ । ईरान,सिरिया,भियतनाम र चीनमा यसलाई खोल्न प्रतिबन्ध लगाइएको छ । त्यस्तै कतिपय कार्यालयमा फेसबूकलाई खोल्न नमिल्ने बनाइएको छ । भर्खरै मात्र अमेरिकी सुरक्षा केन्द्र पेन्टागनले भर्खरै मात्र कार्यलय भित्र फेसबुक खोल्न दिने निर्णय गरेको छ । नत्र गोप्य सूचना चोरी हुने डरले यसमाथी प्रतिबन्ध लगाएको थियो ।

तपाईंहरु देख्नसक्नु हुन्छ फेसबुकमा नयाँ नयाँ साथी बनाइन्छ र सुन्नु भएको पनि होला फेसबुकबाटै भेटेर प्रेम र बिवाह सम्म अघि बढेको । तर फेसबुक सम्बन्ध बनाउने मात्र होईन बिगार्न पनि उत्तिकै प्रयोग भएको छ । पश्चिमी देशहरुमा फेसबुकबाटै पार्पाचुके हुने क्रम पनि ह्वात्त बढेको छ । बेलायती पत्रीका टेलिग्राफले जनाए अनुसार दर्ता भएका प्रत्येक ५ पारपाचुके मध्ये १ को कारण फेसबुक हुने गरेको छ । बिहान म्यारिड रहेको फेसबुक स्ट्याट साझ डाइभोर्स्ड बन्न थालेको छ । यसरी पारपाचुके हुने जोडीहरु आफ्ना श्रीमान / श्रीमती तेस्रो ब्यक्तिसँग अश्लिल च्याट गर्ने र वालमा अनावश्यक कुरा लेखेको कारण पारपाचुके गरेको बताउछन ।

फेसबुकलाई लाग्ने गरेको अर्को आरोप हो बिद्यार्थीको पढाई सत्यानाश गर्यो । ब्यतिगत रुपमै अनुभव गरेको कुरा हो, जब कम्प्युटरबाट पढ्नुपर्ने बिषयको कक्षामा हुन्छु । झुलुक्क फेसबुक खोल्दा पुरै कक्षाका बिद्यार्थी त्यहि अनलाइन देखिन्छन । युनिभर्सिटी अफ नर्थ क्यारोलिनाको एक सर्भेक्षण अनुसार कक्षामा फेसबुक चलाउने बिद्यार्थीको पढाईको ग्रेड औषत ग्रेड भन्दा निकै कम रहेको पाइयो । तर बिरोधाभास नै मान्नुपर्छ शैक्षिक प्रतिष्ठान कै कतिपय पाठ्यक्रमको नीम्ति फेसबुकमा बिषयगत समुह बनाएर छलफल गराइन्छ ।

खैर, हरेक कुराको सकारात्मक र नकारात्मक पक्ष हुनु स्वाभाबिक हो । फेसबुककै कारण कोही ज्ञान आदान प्रदान गर्छन त कोही पढाईको ग्रेड घटाउछन । कोही प्रेमिका पाउछन त कोही श्रीमती गुमाउछन । सदुपयोग गर्न सकेको खण्डमा फेसबुकले दैनिक जीवनका बिभिन्न कार्यमा सहयोगी भूमिका खेल्न सक्छ । हामी जस्तो युवाहरुले फेसबुकको ईतिहासको बारेमा जानकार रहनुपर्छ ।
समरण रहोस - रचनात्मक सोच, खेलाची गर्दा गर्दै ,६ बर्ष, अरबपती, मार्क जुकरबर्ग ।

(स्रोत: म्याथेउ क्रिमर तथा अबे क्लासेनको केस स्टडी तथा विकिपेडिया, टाइम्स म्यागाजेन )
तस्बिर : http://chattahbox.com/images/2009/02/logo_facebook.jpg

"फेसबुक साहित्य"


डु यू ह्याभ फेसबुक प्रोफाइल ?

नो ह्वाट्स ड्याट ?



फेसबुक सम्बन्धी पहिलो वाक्य फिन्ल्याण्ड स्थित पूर्वबिश्वबिद्यालय ह्याम्कका एक मित्र युसो फिन्नेसँग भएको थियो । उनको प्रश्न लगतै मैले पनि फेसबुक प्रोफाइल बनाए, त्यहि दिन २२ मार्च २००८ । त्यसपछीका दिनहरुमा यसको प्रयोग बढ्दै गयो । धेरै अगाडी छुटेका साथीहरु भेटिए, नयाँ नयाँ साथीहरु बने । कोहीसँग फेसबुककै कारण झगडा पर्‍यो त कोहीसँग यसैको कारण निकटता बढ्दै गयो । स्वदेशी बिदेशी गरेर जम्मा ३६९ जना साथीहरु बनेछन । सामाजिक सन्जालको दुनियाँमा फेसबुक प्रभुत्व जमाइसकेको छ । नेता,जनता,पत्रकार,सेना प्रहरी,शिक्षक आदि सबै फेसबुकमार्फत एक अर्काको संपर्कमा रहने प्रब्रिती बढेको छ । कक्षामा शिक्षक फेसबुक कै समुहमा आबद्ध बन्न सिकाउछन र त्यहि मार्फत ज्ञान बाढ्न सल्लाह दिन थालेका छन् । अब त अमेरिकी सुरक्षा परिषद पेन्टागनले समेत सैनिकलाई फेसबुकको प्रयोग गर्न दिने निर्णय गरेको छ ।(बिबिसी)

खैर जे भए पनि, मेरो तर्फबाट फेसबुक कै प्रयोग गरेर प्रत्येक महिना एक एक युरो सन्कलन गरेर सामाजिक सेवामा लगाउन समुहको निर्माण गरिसकेको छु । आजको मिती सम्म ४३ जना सदस्य छन् तर पैसा उठाउने कार्य सुरु भैसकेको छैन । फेसबुक चलाउन थालेदेखी मेरो पनि लेख्ने बानी बसेको छ । दुई बर्षको अन्तरालमा मैले धेरै फेसबुक स्ट्याटस लेखेछु । मैले स्ट्याटसमा हाँसो र बेदना दुबैलाई न्याय गरेको रहेछु । आज फर्केर हेर्दा ती स्ट्याटसहरु पनि एक किसिमको साहित्य कै कुनै बिधा जस्तो लागेको छ । तिनै स्ट्याटसको संकलनलाई "फेसबुक साहित्य" नाम दिएको छु ।


मेरो निर्झर शरीरका दुई आयाम; मुटुमा रित्तो शिशिर, आँखामा बर्षायाम ।

मादकता सकिएको रक्सी झै अस्तित्वबिहिन, छाँयाले समेत छोडेपछीको एक्लोपन । एकोहोरो शिशिर झै रित्तो यो जीवन, स्वेच्छाले बाँचौ त बेदनामा जलिने, मरौं त लाक्षी कहलिने ।

ॐ फेसबुकाय नम:

फेसबुक बजेट भाषण : बढ्यो - फोटो कमेन्ट, फ्रेन्ड लिस्ट, बकम्फुस्से फेसबुक स्ट्याटस, नानाथरी एप्लिकेसन, छेउ न टुप्पोको फ्यान ग्रुप, तातो न भुत्लोको सजेसन । घट्यो : आँखाको देख्ने क्षमता, कलेजको एभरेज ग्रेड, काम गर्ने घन्टा, ब्यान्कको पैसा, लेख-रचना ।

भोली देखि ५ दिन "बेलायततिर बरालिदै" .............Excited :D

आवश्यकता : खाना बनाउनमा सौखिन तर खान त्यती रुची नहुने । बिहान उठ्नासाथ कुचो लगाउने, कफी बनाउने र पुजा गर्न मन लाग्ने । जुठा भाडा देख्न मन नपराउने, माझी हाल्ने । शनिबार पुरै घर सफा गर्न भनेपछि हुरुक्क हुने । सकेसम्म प्रेमिका नभएको, भए पनि नेपाल मै छोडेर आएको । पैसा दिनलाई जागरुक हुने, फिर्ता लिन उदासिन । सकेसम्म भाडा आफ...ै तिर्ने, नत्र ७५ % योगदान गर्न मन पराउने योग्य रुम पार्ट्नरले तुरुन्त फेसबुकमा अप्लाई हान्नुहोला।

रुम पार्ट्नरले किनेको जुस सुटुक्क एक गिलास खाएर जुसको बट्टामा पानी थपिदिनुको मज्जा अर्कै हुदो रहेछ । :D

♥ Happy Valentines' day.....प्रणय दिवसको शुभकामना ♥

हाम्रो कान्छो भुरोले सबैलाई प्रणय दिवसको शुभकामना दिनु भनेको छ । बिचरा खुब आमाको न्यास्रो मानेछ । हुन पनि तीन बर्ष भएछ कान्छो एक्लै बाँच्न सिकेको ।

शिवरात्रीको शुभकामना ।

फेसबुक भबिष्यबाणी : तपाईंले लामो समय सम्म फेसबुक चलाउन पाउनुहुनेछ । यो बर्ष निकै धेरै फोटो कमेन्टहरु आउने सम्भावना छ । फेसबुकको बर्थ डे लिस्टमा ध्यान नदिएमा धनको बचत हुनेछ । स्टाटसमा प्रेमको कुरा लेख्नुभएमा मान सम्मान मिल्नसक्छ । रीलेशनशिप स्टाटस सिङल देखेर राम्री युवतीलाई जथाभाबी फोटो कमेण्ट नदिनुहोला, गोप्य रुपमा भुस...तिघ्रे प्रेमी हुनसक्छ । अन्यथा ब्यर्थ शत्रु बढ्ने र बंगारा झर्ने सम्भावना हुन्छ । बर्षको मसान्त तिर पासवर्ड ह्याक भएर अनिष्ट हुने सम्भावना छ । हरेक शनिबार बिहान ल्याप्टपमा पानी चढाउनु भएमा फेसबुकका भाइरस नाश हुनेछन ।

पहिले : हामी सबैको प्यारो 'नेपाल आमा' । अहिले : हामी सबैको प्यारो 'नेपाल मम्मी' । :D

बिरक्त लाग्दो यो जिन्दगी देखेर कहिले त सोच्छु की सब छोडछाड गरेर जङलमा गै एक्लै बसौ । फेरी सोच्छु - यस्तो जाडो छ, बरु समर लागेपछी जान्छु । :D

आज हाम्रो कान्छो भुरोले फेरी सोध्दै थियो " बा बा लोब गर्दा तिमी बिना एकपल बाँच्दिन भन्छन् अनी छुटेसी कसरी नब्बे बर्ष बाँच्छन ?"

आज आमाको याद आएको छ । जब तरकारी डढाउथे; आमा भन्थिन " यत्रो बुढो भैसक्यो अझै तरकारी पकाउने ढंग छैन । " जब केटीको कुरा गर्थे; आमा भन्थिन " यति सानो छ अहिले देखि केटीको कुरा गर्छ ।" अहिले न तरकारी डढ्छ न त केटीको कुरा गर्छु । तैपनी आमाको गन गन सुन्ने मन छ ।

बिपनामा स्वीकार या नस्वीकार सपनामा त तिमी मेरी हौ । तिमीलाई थाहै छ प्रिये आधा उमेर त निन्द्रैमा बित्छ ।

तिमीलाई देखेपछी मनमा एउटा राम्रो कबिता आयो, तिम्रो साथीलाई देखेपछी अर्को कबिता आयो । :D

Join group " One euro per month" and start saving one euro per month to donate poor people of Nepal.

फिन्ल्याण्डबासी सबै नेपालीहरुलाई आग्रह छ । मासिक एक युरो बचत गरेर आफ्नो राष्ट्र सेवामा लगाऔ । एक अर्कालाई आरोप प्रत्यारोप मात्र नगरी राष्ट्र निर्माणमा आफ्नो तर्फबाट सक्दो प्रयास गरौ । नेपालको निर्माणमा नेपाली अग्रसर बनौ ।

हिजो हाम्रो कान्छो भुरो एका बिहानै भन्दै थियो " बा बा अर्को जूनीयाँ म त केटी बन्छु है । फेसबुकाँ अर्काको गीत नै लेखी नी कत्ति कमेन्ट बाइ । झन फोटो त राख्न हुन्न , कमेन्ट त बग्रेल्ती । क्लिक गरेर नसक्दा हुन । " :D

हिजो राती कति नराम्रो सपना देखेर आधा रात मै बिउझिए । मेरो फेसबुकको पासवर्ड ह्याक भएछ, अनी कमेन्टहरु सबै डिलिट गरिदिएछ । कति भयानक सपना । राम राम राम । :D

En enää halua elää yksin.

सुन्दरता हेराइमा हुन्छ भने मिस नेपाल किन एउटी मात्र ?

एउटा लामो कालखण्ड बितेछ यी हातहरु सुन्दर कलामा समर्पित नभईकन ।

प्रसँग मैत्री एफ एमको एक कार्यक्रम फोन इन टाइमको; सन्चलिका मेरिना । उनले प्रश्न सोधिन " वर्ल्डको फास्टेस्ट एनिमल कुन हो ?" यसको एन्सर थाहा हुने कलर्सले कल गर्नुहोला । हाम्रो प्रोग्राम मोबाइल्स उजर स्टुडेन्टको लागि मात्र हो । आजभोलि मोबाइल्स धेरै युज गर्दा हाम्रो कल्चर र हाम्रो ट्रेडिसनमा नराम्रो इम्पाक्ट परेको छ । साथै स्टुडेन्टको स्ट्डीमा पनि इफेक्ट गरेको छ । मिस कल्सले पनि डिस्टर्ब्स गर्छ, गेम धेरै खेल्दा स्टडीमा क्न्सेन्ट्रेट गर्न सकिन्न । मोबाइल्स र स्टुडेन्ट लाइफ बारे कुरा गर्न कल गर्नुहोस् । अबलाई यो मिठो सङ सविन राईबाट.......... " सत्यानाश नेपाली भाषाको ।

वीक डेज दिक्क लाग्दो, वीकेण्ड वाक्क लाग्दो ।

आज हेल्सिन्की बसाइको पूरा एक बर्ष बित्दैछ । बितेको बर्षमा निम्न अनुभव भएछन - एउटा कलेज; दुइटा काम; तीन वटा कार्यक्रममा सहभागिता; सात पटक म: म: पार्टी; दर्जनौ लेख-रचना केही प्रशंसक दर्जनौ आलोचक; सयौ नयाँ नेपाली अनुहार; हजारौं युरो कमाई; लाखौ झझल्को जन्मभूमीको; करोडौ याद आमा-बाबाको; अनगिन्ती पिडा एक्लोपनको ।

मानव अधिकारबादी काका बोक्सी प्रथाको बिरोधमा खरिएर बोल्छन; आफ्नो छोरो बिरामी हुँदा एक पटक धामी अवश्य देखाउछन । सिक्षित विद्यार्थी राष्ट्रबादी नारा लगाउदै कलेजबाट निस्कन्छन; खलासीसँग ५ रुपैयाको भाडा बिबादमा २२ लाखको माइक्रो जलाउछन । शिक्षक तलब थाप्छन सरकारी बिद्यालयमा; सन्तान पढाउछन "इङ्लिश मेडियम" मा । युगल जोडी प्रेम ग...र्छन् मनकामना भाकेर, बिहे गर्छन् ३ लाखको जग्गा धितो राखेर । अनी देश बिकास भएन भनेर कसलाई दोष दिनु ?

छाउपडी प्रथाको बिरुद्धमा केही आवाज र बहस उठिहाल्छ की भनेर फेसबुकको स्ट्याटसमा 'मासिक धर्म'सम्बन्धी लेखेको थिए । अफसोच: बहस त परको कुरा २४ घन्टा सम्म राख्दा एउटा "लाइक" आएको थियो, पछि त्यो पनि आँफैले "अनलाइक" गरिछिन । लभ र रोमान्सको अनी फिल्मको बारेमा स्ट्याटस लेख्दा हेरिनसक्नु कमेन्ट र लाइक आउथ्यो । जय होस मेरा फेसबुकका साथीहरु ।

अर्की एक आमाको मृत्यु : अछाम जिल्लाबासी झुप्रिदेबी हुड्केको मृत्यु भएको छ । महिनावारी हुँदा गोठमा बस्नुपर्ने कुप्रथा "छाउडी प्रथा" ले उनको ज्यान मात्र लिएको छैन हामी जस्तो तथाकथित एक्काइसौ शताब्दीका "आधुनिक नेपाली" को शिर झुकाएको छ । लज्जास्पद चलन "महिनावारी हुँदा गोठमा बस्नु पर्ने, अरुलाई छुन नहुने, खाना बनाउन नहुने, पुजा गर्न नहुने ।"

अन्तराष्ट्रिय स्तरको समौसा चाट खाइयो , आँफैले बनाएर । :)

संसार एउटा ठुलो पाठ्शाला हो, जीवन लामो सेमिस्टर । कठिन असाइन्मेन्ट गर्न साथ दिन्छन जसले, भनिन्छ उसैलाई लाइफ पार्ट्नर । चिन्तित नहोउ तिमी कोही अकाल मै मरेर, ऊ त गएको हो चाडै कोर्स कम्लिट गरेर । :)

...छाडेर काम सारा एक काम रोजिरहेछु;यो देशमा म एउटा मानिस खोजिरहेछु ।

के तपाईंको आफ्नो बाँदर जस्तो अनुहारलाई "ह्याड्सम , ब्युटिफुल, सेक्सी, स्मार्ट " आदि भनेर कमेन्ट गराउन चाहनुहुन्छ ? हुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् - हाम्रा पेशेवर कमेन्टरहरु तयारी अवस्थाका कमेन्ट लिएर तपाईंको सेवामा उपस्थित हुनेछन । :D

स्वास्थ्यमा क्रान्तिकारी सुधार - शुभ चिन्तकप्रती हार्दिक आभार :)

बिरामी छु :(

रेडियोले ग्लोबल वार्मिङ बढ्या छ भन्छ । आगनमा निस्की सक्नु जाडो छैन; - २२ अरे टेम्पेचर । हाम्रो कान्छो भुरो भन्छ "बा यो ग्लोबल वार्मिङ की ग्लोबल कोल्डिङ" ? खोइ कसको कुरा पत्ताम कसको नपत्ताम ।

इर्ष्याको आगोद्वारा सन्चालित साउना सहित मेरो मुटुको चारै वटा कोठा प्राइभेट अपर्ट्मेन्टको रुपमा भाडामा दिदैछु । उनैलाई...

घडीको पसल थाप्दैमा प्रशस्त समय हुदैन । मुटुरोग बिशेषज्ञ बन्दैमा मन बलियो हुदैन ।

अब त ति लिखा जुम्रासँग पनि इर्ष्या लाग्न थाल्यो; रात दिन तिम्रो केश सुमसुम्याउछन ।

यत्र नार्यश्यु पुज्यन्ते , रमन्ते तत्र देवता - शास्त्र । यत्र नार्यश्यु घुमन्ते फसन्ते तत्र देवता - बिक्की थापा । :D

" चर्पी जानुअघि र खाना खाइसकेपछी राम्रोसँग साबुन पानीले हात धोऔ " जनकल्याणको लागि स्वामी साक्ष्यात सुशिलको दिब्यबाणी । :D

नयाँ बर्षको पहिलो दिन आज यस्तरी हासियो , आशा छ 2010 भरी हासिनेछ । :D

नयाँ बर्ष २०१० ले तिमी र तिम्रो परिवारमा सुख शान्ति र भात्रित्वको बर्षा ल्याओस । शुभकामना ।

Today one Finn asked me " why Nepalese are always smiling?" I replied " because they know CCTVs are hidden everywhere."

स्तब्ध ।

महाभारत कालमा विश्वको सर्बोच्च शिखर (हालको सगरमाथा) पत्ता लागिसकेको थियो जसलाई "नौबन्धन" भनिन्थ्यो । साम्राज्यबादी जर्ज एभरेष्टको नामबाट माउन्ट एभरेष्ट भनेर चिनिनु दुर्भाग्य हो । यसलाई आफ्नै मौलिक नामले चिनाउनु पर्दछ । जस जसलाई यो कुरा मन पर्छ । आफ्नो स्टाटसमा एकदिन राख्नु होला । (गुरु निर्मलमणी अधिकारीको लेखको आधारमा)

खदिलो सत्य यही हो, जीवन खोक्रो छ । चाहना मिथ्या छ । प्राप्ती मिथ्या छ ।

ए भन मेरा भाई हो - यौलु रे..... ए राम्ररी भन - यौलु रे........ए स्वर मिलाइकन - यौलु रे .......Merry christmas to all.

प्रिये तिमीले मेरो "दिनको चैन" लुट्यौ । म तिम्रो "सुनको चेन" लुट्छु । :D

कहीले काही त एसो फिन्ल्याण्डमा पनि "नेपाल बन्द" हुनु नी । काम गर्दा गर्दा वाक्क भैसके ।

माओवादी भन्छ "नागरिक सर्बोच्चता" खोसिएको छ । माओबादी इतरका दलहरु भन्छन माओवादी "सत्ता कब्जा" गर्न खोज्दै छ । साधारण जनतालाई यी दुबै कुराको बाल छैन ।

आधुनिक बिज्ञान भन्छ- हरेक घटनाको कारण अवश्य हुन्छ । शास्त्र भन्छ- हरेक घटना आफैमा एक कारण हुन्छ । - स्वामी साक्ष्यात सुशिल :D

बल्ल बल्ल सकियो ठाँडो । अबको कार्ययोजना - 'शिरिषको फुल' फेरी पढ्ने,एउटा कथालाई अन्तिम रुप दिने, नयाँ कम्प्युटर गेम आएका छन्, खेल्ने । सुत्ने ।

उ भन्दै थियो- म तिम्रो लागि आकाशमा अर्को एउटा तारा थपिदिन सक्छु । भनिन्छ मान्छे मरेपछी आकाशमा तारा बनेर बस्छ रे । मरेपछी पनि तिम्रो जीवनमा उज्यालो ल्याउन चाहन्छु ।

सर, पुरुषार्थ चटुष्ट्यमा "सब वे" को ब्यवस्था छैन ? म त पहिलो चरण मै फेड अप भै सके ।

आज सबै चिज गर्ने मन छ, सिर्फ स्वाश फेर्न मन छैन ।

दुई वटा लामो कथा दिमागमा आएका छन् । एउटा माइन्ड नेट्वर्किङ सम्बन्धी , अर्को साइको किड्स लभर । तर लेख्ने समय छैन । दिमागमा कुरा खेलेको खेल्यै गर्छ । कोही साहित्यमा इच्छुक छन् भने सम्पर्क गरौ ।

Am i really an aesthetic guy?

It hurts deep inside but the disease is not yet identified, i found one doctor who is not yet certified. I have to wait suffering alot thats for sure, can anyone suggest me what is my cure?

Sushil is back - I left facebook and msn for 4 days just for you and your beauty.

भूमिगत !

आज फेरी बिरक्तताको आँधी बेहरी चलेको छ । यो बिरक्तता अर्नेष्ट हेमिङ्वेको "थ्री डे ब्लो" होइन । चल्छ , चलिरहन्छ ।

आफ्नो पाखण्ड र ढोङ्गीपन लुकाउन धर्मको खोल ओडाइदो रहेछ । करिमा बेगम सिडियोलाई थप्पड हान्छिन अनी भन्छिन " मुस्लिम महिलाको हात समातेकोले" अनी चौधरी साहाब बिसौ हजार पशु बली दिन्छन अनी भन्छन "गढिमाइ खुशी हुने भएकोले" । आज सम्म कुनै धर्मले भनेको छ निहत्था पशुको बेकारमा हत्या गर्न ?

Deposite your heart, i give you loan of love. Interest is one smile per day. Duration is flexible honey, take whole life to pay.♥

मुलुकको राजनितिक अवस्था के हुँदै छ यार ? खै के थाहा । ओबामाले नोबेल पाएछ नी । हो र ? को हो त्यो ? । गीता-सार थाहा छ ? छैन । तेरो फेसबुक प्रोफाइल छ ? फेसबूक भनेको संसारभरी नै चलाइने सामाजिक सन्जाल हो । यसका प्रयोग कर्ता ३०० मिलियन बढी छन् । यसको निर्माता मार्क जुकर्बर्ग हुन । हावर्ड युनिभर्सिटीमा पढ्दा पढ्दै उनले बनाएका... थिए । हाल माइक्रोसफ्ट र हङ्कङको धनाढ्य ली की साङले पनि यसमा लगानी गरेका छन् । यस्तो साइट....

अबको साहित्य यसरी अघि बढ्ला । जर्साबलाई स्वस्ति गर्न नसकेपछी केशबराजको मनमा यस्तो अनेकन शंका अपशंका चल्न थाल्यो की त्यो दिन उसलाई फेसबुक चलाउन पनि मन लागेन - सुकबिर सकमबरीको प्रेममा यसरी डुबेको थियो की उसलाई फेसबुकमा कमेन्ट हेर्ने समेत ध्यान थिएन - फेसबुकको च्याटबक्स डाउन हुँदा मदन भोटमा छटपटाउन थाल्यो, मुना गाउँमा । :D

मुटुको बाध जति नै बलियो भए पनि आँखामा बाढी आउन छाडेन ।

साथीको अगाडी एक्सोपोज्ड देखिने, अहिलेको पढाइ हेर्दा फेक देखिने फ्याकल्टी टपरको प्रमाणपत्र हटाउदै छु ।

.......पत्रको अन्तिम दुई लाइनमा लेखेको रहेछ - " तिमीसँगको बिछोडमा दिल खोलेर रुन मन थियो । तर सकिन । रोऔ त यो समाज नामर्द भन्छ । हाँसौ त प्ले ब्वाइ भन्छ । " तर पत्रका अन्य भन्दा ती दुई लाइन भिजेको जस्तो देखिन्थ्यो ।

तुम से मिल्नेको दिल कर्ता है रे बाबा । तुम से मिल्नेको दिल कर्ता है रे आमा । :( missing alot.

I will propose you in 2012 december 20. Will you eccept me?

५ महिनामा पहिलो पटक आज शनिबार कोठा मै सुतेर बिताए । भोली पनि सुतेर बिताउछु ।

सिरसिर हावाको लहरसंगै बहेका ती रेशमी कपाल, रसिलो सुन्तलाको केस्रा केस्रा सरी ओठ । बिहानीको सुर्योदयसंगै देखिने चम्किला ती हिमाल झै दन्तलहर । बाक्ला काला परेली बीचका तलाउ झै निला आँखा अनी त्यो अबोध बालकको झै निर्दोष हेराइ । तिम्रो सुन्दरता र त्यसमा लुकेको अबोधता देखेर मेरो मनमा एउटै वाक्य अनायाशै निस्किन्छ .............. जुरुक्क उठेर झ्याममा मुख पड्काउ ? :D

प्रिये तिम्रो यादमा हिजो राती भातै रुचेन, अनी रोटी बनाएर खाए । :D

ह्याण्डसमको घरमा मात्र तिम्रो बास हुने भए हे इश्वर! मलाई अझ ह्यान्ड्सम बनाइदेउ ।

जय नेपाल........आउ मेरा प्यारा प्यारा भाईबहिनीहरु फेसबुक नजिक आउ । लौ त अब हामी गरौ जथाभाबी कमेण्ट । :D

प्रो.डा साक्ष्यात सुशिल........ यो लेख्ने दिन कहिले आउने होला । :D

"Much madness is devinest sense" Thats why i love you, want to surrender myself and forget my existence......you call its madness ??? No honey, i am getting heavenly pleasure.

सुख म भित्रै रहेछ । मिथ्या बाहिरी बस्तुको सम्बन्धबाट सुखानुभुत गर्न खोजेछु ।

आज देखि 'साधारणिकरण' कथाको लेखन सुरु गर्दै छु । आशा छ जस्तो कल्पना गरेको छु त्यस्तै लेख्नेछु र त्यस्तै उत्रने छ, द्रिश्यमा पनि ।

म सुतिरहेको हुन्छु । कसैले फेसबूकमा कमेण्ट दिनासाथ एक कल फोन गरम है ।

भोली फेरी मुना चिया र सेल खानेछु । पुराना दिनहरु ताजा गर्नेछु । तर कहाँ पाइएला र त्यहि दौतरी साथमा साथ दिने । यहाँ त एक्लै हुनेछु।

Mark Zuckerberg, why the hell you made facebook ?

Advanced Marketing test tomorrow - 520 slides copied in my mind within 1 day - i always enjoy 'tickmark' test - lets see what happens tomorrow.

शुभ दिपावली २०६६ को मंगलमय शुभकामना । धनधान्य देबी लक्ष्मीको कृपाले सम्पुर्ण नेपालीमा सुख शान्ती र सम्रिद्धी छाईरहोस् ।

जब आशाका पर्खाल ढल्नेछन,जब कर्तब्य रुपी पंक्षि अनन्त आकाशमा बिलिन हुनेछ । जब तिम्रो आँखामा आफुलाई हेर्ने प्रयत्न सकिनेछ, सम्भवत त्यहि पल नै मेरो जिबन अस्तित्व सकिनेछ । यही गीतको अन्त्य भएको स्थानमा ,इश्वरको समिप,सुनसान रातमा घन्टीको एकोहोरो आवाज सुन्दै ,म अनी मेरो एक्लोपन चिर निन्द्रामा लीन हुनेछौ ।


सुजाता कोइराला उप-प्रधानमन्त्री । लज्जास्पद निर्णय । नेपाली काङ्रेस पतनको बाटोमा - एमाले सरकार ढल्ने सुरसारमा ।

हरेक बाउको एक बाउ हुन्छ जसलाई हामी हजुर बाउ भन्छौ ।

म : म पार्टी सकियो । स्वाद कस्तो थियो भोली बिहान थाहा हुन्छ ।

हाउ मेनी म:म: यु कोप्ल्याक्स टुमारो ? :D

हाडहरुको सुन्दर खम्बा मांसपिण्डको दिवार । मस्तिष्कको सुनको छाना, इन्द्रियहरुको द्वार । नसा नदीका तरह तङ्ग, मन्दिर आफु अपार । साचै नै जादु थियो लक्ष्मी प्रसाद देवकोटा हातमा ।

Test + Assignment + School + 2* Workload + Story writing - Weight = Sakshyat Sushil

धेरै भयो स्केच नगरेको । भोली फुर्सद भएमा एउटा सुन्दर अनुहारको स्केच गर्नेछु । अनी फेसबुकमा राखौला ।

सिग्मन्ड फ्रायडले मेरो सम्बन्ध बर्बाद गर्यो । अडिपस कम्प्लेक्ससँग तुलना गरेर हिजो प्रेमको व्याख्या गरेको एउटी बोल्नै छोडी । जय होस् मनोबिज्ञान ।

"उक्त अनुसन्धानबाट के पनि पत्ता लाग्यो भने महिलाहरू बढी आकषिर्त, अग्ला, ओजनदार स्वर र सुगन्धित शरीर भएको पुरुषसँग मरिहत्ते गर्छन् ।" - त्यहि भएर पो रहेछ म सधैं एक्लो ।

जिन्दगी जिएर मैले बुझेको एउटै मात्र कुरो,जिउनु बेकार छ ।

मोडर्न रामायणको प्रदर्शन आज । गोल्भेडा प्रतिकिलो S-market = 2.19, K-market = 1.89, Alepa = 1.69, Lidl = 1.89 :D

बिजय दशमी २०६६ को पावन अवसरमा सुख,शान्ती र दिर्घायुको हार्दिक मंगलमय शुभकामना -साक्ष्यात सुशिल

केटीहरु डाइलगलाई भन्दा एक्सनलाई बिश्वास गर्छन । त्यसैले नाना पाटेकर भन्दा इम्रान हास्मी लोकप्रिय छ । :D

दु:ख सत्य बुझे ....दु:ख निरोध मार्ग सत्य बुझ्न सकिन

नेपालको झन्डा परिवर्तन गर्नुपर्ने कुरा कस्तो लाग्यो ? बहस गरौ ।

दशै आयो । H&M जाउँला । कपडा हेरौला । साह्रै महङ्गो । धत्त पापी सेल लागेपछी आउँला । :D

तिम्रो अर्को छ भन्ने थाहा हुँदा हुँदै पनि म तिमीलाई किन मनपराउछु थाहा छ ? किन भने मेरो पनि अर्को छ ।

पहिले पहिले यो मनमा बिरक्त र नैराश्यताको वन डे हुन्थ्यो , अचेल सिरिज चल्दै छ । कती दिन चल्ने थाहा छैन । तर जुन टिमले जती रन हाने पनि पिटिन्छ मेरै मन । आउट हुन्छ मेरै जिबन ।

खै कुन सुख को निम्ती यती दु:ख गर्दै छु ।

हुन त म आज भित्र भित्र एकदम दुखी छु तैपनी अरुलाई हसाउन कमेडी समाचार लेख्दै छु । :(

मोडर्न रामायण तयार ! हेर्न आउने दर्शक महानुभावले सके सम्म गोल्भेडाले नहान्नु होला । हान्नै परे प्याज,काउली,आलु र बन्दाकोभी सँगै हान्नु होला । तरकारी महँगो छ नि । त्यही भएर । :D

प्रिय आज शायद तिम्रो मुहार हेर्ने अन्तिम दिन । भोली देखी तिमी आफ्नो बाटो म आफ्नो बाटो । हुन त संसार त्यती ठुलो पनि छैन कि एक पटक भेटिएको मानिस अर्को पटक नभेटिने । यो मानिसै मानिसको कोलाहल बीच कुनै न कुनै दिन कुनै अज्ञात स्थानमा फेरी हामी एक अर्कासँग ठोक्किन पनि सक्छौ । यदी कुममा ठोक्किए त ठिकै छ, कतै दुख्ने ठाउँमा ठोकियो भने कसम म हात खुट्टा भाचिदिन्छु । :D

बाबु जि ने कहा ईन्टरनेट छोड् दो । मा ने कहा फेसबुक छोड् दो । तुम्ने कहा कमेण्ट देना छोड् दो । मै एक दिन एह ल्याप्टप छोड्दुङ्गा । :D

तिमी सधैं सपनामा आउछौ भने प्रिय, म आजै देखी चिर निन्द्रामा जानेछु । आउछौ ?

बिहान छ बजे उठ, एक छिन योगा अनी काममा जाउ । दश बजे दौडी दौडी रेल चढ, रेल मै खाउ । कलेज जाउ, एल्डोनको कक्षामा झुपु झुपु । कती चिमाट्नु आँफैलाई । निन्द्रा भगाउन औषधी - पुस्टकारी र तितौरा पनि सकियो । कलेजबाट हतार हतार फेरी काम मै फर्क । अनी राती ११ बजे घर आउ । खाना पाकेको छ भने खाउ, नत्र फेरी भाडा मस्काउ । हरे शिव !

पहिले पहिले, रायोको साग भात (saatisfied), गुन्द्रुक ढिडो(New taste) , म: म: छोइला (yammiee) , पुरी तरकारी (waah) , दाल-रोटी (sometimes) , पिठो मोही(have you taste it ?) अहिले जुस कुखुरा भात (uffff) , जुस कुखुरा भात (hare shiva) .........कहिले होला नेपाल जाने ?

कोही त होला आज मेरो लागि ब्रत बस्ने ।

Tired.....Hungry.....Sad......Alone.....Voi Vittu

कतै टाढा जान मन छ । जहाँ म र मेरो एक्लोपना बाहेक कोही नहोस ।

It's too early to get U and too late to forget U.

तिम्रो नभई चिप्लेछु भने अर्को जुनी लिउँला । अर्को जुनीमा मिलेन भने वाक ओभर दिउँला ।

सुन्यतामा सुन्दरता देखिन्छ जहाँ नेपाली हेराइ हुन्छ ।

तिमी सुन्दरता कि देवी, म समर्पित अन्ध भक्त ।

क्याक्टस आदर्श हो काकाकुल मरुभुमीमा अडिग रहने । क्याक्टस बिरोधभास हो शरीर भरी काँडा लिएर सुन्दर देखिने

हाम्रो घर छेउमा कत्रो ठुलो टि.भी फालेको छ । के गरौ के गरौ भो ?

नेपाल जान लागेका मित्रहरुलाई बिशेष अनुरोध - प्लेनबाट हात अथवा टाउको बाहिर ननिकाल्नु होला ।

मलाई लागेको पछील्लो आरोप " सुशिल राम्रो नेता बन्न सक्दैन तर एउटा मन्त्रालय अवश्य पड्काउछ "

मोडर्न रामायाणको लेखन पुरा, सम्पादन जारी ।

"हिजो म:म: मा धेरै खुर्सानी परेछ, आज बिहान थाहा भयो । आथ्था । "

मानिस बाँदर कै बिकासित रुप रहेछ, आज एना सफा गरे पछी थाहा भयो । :D

मेरो जिबनबाट जाने भए जाउ तर अन्तिम पल्ट यो ठेगानामा आउ - Lintukorventie 2H 86...... :D

कोशीको बाध ठुलो छ, त्यसको कैयौ गुणा ठुलो छ हाम्रो सहनशिलताको बाध, कोशीको बाध फुटे बिहार बगाउछ । हाम्रो सहनशिलताको बाँध फुटे भारत तहस नहस बनाउछ । होशियार ।

सुन्यता नै सुन्दरता,न कुनै तुलना न हेराइको प्रभाव ।

Thursday, 11 February 2010

बिज्ञापन

ह्याम्क युनिभर्सिटीमा एड्भरटाइजिङ एन्ड सेल्स प्रमोसन बिषयको प्रयोगात्मक परिक्षाको नीम्ति तयार गरिएको यस बिज्ञापन सर्बोत्कृष्ट भएको थियो । बिज्ञापनको कथा लेखन र निर्देशन मैले गरेको थिए । तालको पानी अत्यन्त चिसो थियो । मे महिनामा शुटिङ गरिएको थियो । स्मरण रहोस्,अप्रिलसम्म ताल पुरै जमेको हुन्छ । हाम्फाल्ना साथ करेन्ट लागेको जस्तो अनुभव भएको थियो ।
सहभागी:
देवराज पान्डे
जेम्स सेह
आन्सी माकेला
जेनिन क्लेहम
तोङ
सुशिल गौतम
हुआङ सेन
शुटिङ युनिट ग्रुप सेवेनलाई धेरै धेरै धन्यवाद ।

Friday, 5 February 2010

गौतम बुद्धको नेपाली नागरिकता

भारतिय संचार माध्यमले बुद्धको जन्मथल भारत हो भनेर भ्रम फैलाउन खोजेको पाइन्छ । साथै कतिपय पुस्तकहरुमा समेत बुद्धको जन्मस्थल बारे गलत सूचना प्रकाशन भएको हुँदा त्यसको सान्केतिक बिरोध स्वरुप फोटोसपको प्रयोगगरि गौतम बुद्धको नेपाली नागरिकता बनाएको हुँ । यसलाई बिरोधको रचनात्मक शैलीको रुपमा लिनुहुन पाठकहरुमा बिनम्र अनुरोध गर्दछु । कसैको आस्थाप्रती आघात पुर्याउने मेरो मनसाय होईन । गौतम बुद्धले प्रदान गरेको ज्ञान प्राप्त गर्न सदैव तत्पर रहनेछु ।

समाधान गर्न नसकिने समस्याको चिन्ता लिनु नै बेकार छ ; जुन समस्याको समाधान हुन्छ त्यसको चिन्ता लिनुपर्ने आवश्यकतै छैन । - बौध दर्शन

Friday, 29 January 2010

मिलेर केही गर्ने की ?

साथीहरु,
धेरै समय देखि चल्दै र सुस्ताउदै आएको कुरा म फेरी एक पटक उठाउने प्रयास गर्दै छु । र यसलाई फेरी सुस्ताउन नदिन तपाईंहरुको सहयोगको आवश्यकता रहेको छ । हामी अहिले बिदेशिएका छौ । कोही पढ्न बिदेशिएका छौ त कोही काम गर्न त कोही यही जन्मिएर पनि मन नेपाली नै रहेको छ । हामी जो जहाँ जस्तो भए पनि आफ्नो मनमा मुलुक प्रतीको अगाध मायामा
कमी आएको छैन । आफ्नो देशमा सानो घटना हुँदा पनि चिन्तित तुल्याउछ हाम्रो मन । यसमा कुनै शन्का छैन ।
सबैलाई थाहा भएको कुरा हो हाम्रो देश अशिक्षित, गरीब र अबिकसित छ । मुस्किलले ५० प्रतिशत शिक्षित छन्, ३० प्रतिशत निरपेक्ष गरीब छन् भने बिकासको कुरा नगरौ युरोप भन्दा ३०० बर्ष पछाडि छौ । यी सबै कुरा कसैबाट लुकेको छैन । सबैको चाहना छ शिक्षित, सम्रिद्ध र सिर्जनशिल नेपालीको उपमा पाउने तर पनि गरीब,अशिक्षित र दरिद्रको तिखो बिशेषण सधैं लाग्ने गरेको छ । हाम्रो देश गरीब र अबिकसित हुनुमा कोही नेतालाई दोष दिन्छन, कोही कर्मचारीलाई त कोही जनतालाई । तर जसले जसलाई गाली गरे पनि खाली कुरा मात्र बढ्छ काम बढ्दैन । कसैले यो गरेन त्यो गरेन भन्नु अघि आफुले मैले के गरे भन्ने कुरा सोच्नुपर्छ । सुरुमा आफुले केही योगदान गएको पछि मात्र अरुलाई दोष लगाउनु उचित हुन्छ ।
अब कुरा सोझो गरौ - बी बी सी नेपाली सेवाका प्रमुख भएर काम गरिसकेका रबिन्द्र मिश्र आज बेलायतको सुख सयल जीवन छोडेर नेपालको गाउँ गाउँमा शिक्षाको बिकासको नीम्ति नेपाल फर्किसकेका छन् । ब्रिटिश गोर्खा बाघवीर पुन आफु पढ्न नपाए पनि अरुलाई पढ्ने अवसर दिनको लागि बेलायत छोडेर नेपाल फर्किएका छन् । अमेरिकामा कम्प्युटर नेट्वर्किङ पढेर नेपालको गाउ गाउलाई तार रहित ईन्टरनेटले जोड्ने प्रयासलाई देखेर एसियाको नोबेल मानिने म्यागासेस अवार्ड हात परेकाछन् महाबिर पुनले । यस्ता अनगिन्ती समाजसेवीहरु छन् जसले हामो देशको नीम्ति केही गरौ भनेर लागि परेका छन् । बोल्न सजिलो हुन्छ , अझ कसैको बिरोध गर्न झनै सजिलो । हामी नेपाली काम थोरै कुरा धेरै गर्छौ । दुई चार जना भेट हुनासाथ दुनियाँ राजनीतिको गफ लडाउन हामीलाई कसैले जित्दैन तर जब ठोस् काम गर्ने दिन आउछ, मान्छे बेपत्ता हुन्छन । रबिन्द्र मिश्र र महाबिर पुनको जस्तो काम त हामी तत्काल गर्न सक्दैनौ । तर बिदेशमा अध्ययनकै बेला पनि केही उपलब्धी मुलक काम गर्न सक्छौ । (हेर्नुहोस्: http://www.mysansar.com/archives/2010/01/id/8884)

जुली परियार श्रोत माइसन्सार

http://www.mysansar.com/archives/2010/01/id/8534
सानो उदाहरण जुली परियारको । आफु पढेको कलेज टप गरेपछी पनि पैसाको अभावमा पढ्न नपाएकी जुली परियारलाई म लगायत अन्य केही सहयोगीको आर्थिक सहयोग पाएकी कारण अहीले काठमाडौंमा बसेर पढ्दै छिन् । यो एउटा सानो उदाहरण हो समाज सेवाको, आफ्नो राष्ट्र सेवाको । उनी पढ्न पाउनु आफैमा ठुलो कुरा हो र यदि पढेर उनले केही राम्रो काम गरिन भने त्यो समग्र राष्ट्रको लागि हुन्छ । यस्ता साना साना कामबाट पनि आफ्नो राष्ट्र सेवा गर्न सकिन्छ । लामो समय देखि उठाउदै आएको कुरा पनि यही हो । फिन्ल्याण्डमा भएका सबै नेपालीहरु मिलेर एउटा कोषको निर्माण गर्ने, जसमा प्रत्येक नेपालीले महिनाको केवल एक युरो राख्ने हो भने नेपालमा १०० रुपैया हुन जान्छ । यदि फिन्ल्याण्डका सबै परोपकारी नेपालीले महिनाको एक युरो दिने हो भने नेपालको दुर्गम बिद्यालयमा पुस्तकालय बनाउन पुग्छ । कैयौ जुली परीयारलाई पढाउन पुग्छ । कैयौ बिद्यालयमा छाना हाल्न पुग्छ । महिनाको एक युरो काम गर्नेको लागि ठुलो रकम होईन । चुरोट पिउनेले एक बट्टा चुरोटको पैसा जोगाएर दिने हो भने कैयौ गरीब नेपालीले पढ्न पाउथे । केवल एउटा कफी, केवल एउटा कर्याला, एउटा कार्हुको पैसाले कैयौ टुहुरा नेपालीले पढ्न पाउछन भने किन सहयोग नगर्ने ?
जापानी बिद्यार्थीले खाजाको पैसा जोगाएर काभ्रे जिल्लामा बिद्यालय बनाउछन; त्यस्तै हेल्सिन्की मै पनि बोत्तल खोजेर कोष निर्माण गर्ने र डकुमेन्ट्री मार्फत सेवा गर्न खोज्ने देखिएका छन् । भने हामी सबै नेपाली मिलेर जम्मा महिनाको एक युरो देशको लागि किन नदिने ? झन फिन्ल्याण्डमा त एक क्लिक गरेको भरमा नेट ब्यान्कबाट पैसा जम्मा गर्न सकिन्छ ।
हुन त धेरैको मनमा प्रश्न उठ्छ जम्मा भएको पैसा कसैले खान्छ की अथवा त्यसमाथी पनि राजनीतिकरण हुन्छ की ? तर हामी सबै फिन्ल्याण्डका युवाहरु मिलेर राम्रोसँग सन्चालन गर्न सक्यौ भने हाम्रो एक युरोले नेपालमा तार अहित ईन्टरनेट नेट्वर्क बनाउन महाबिर पुनलाई दिनसक्छौ, हेल्प नेपाल नामक सस्थाको लागि रबिन्द्र मिश्रलाई दिनसक्छौ, केही नभए पनि आफ्नै कोष बनाएर कुनै दिन बाढी पीडित,भुकम्प पीडितलाई सहयोग गर्न सक्छौ ।
यसर्थ सम्पुर्ण साथीहरुलाई आग्रह छ राजनीति र दर्शनका फोस्रा गफ धेरै गर्यौ , अब केही काम गर्ने बेला आएको छ । अमेरिकी पूर्व राष्ट्रपती जोन एफ केनेडीले एक पटक भनेका थिए " देशले के दियो भन्ने मात्र नसोच; पहिला यो सोच तिमीले देशलाई के दिन सक्छौ " आफ्नो मुलुक छोडेर सात समुद्र पारी आउँदा पनि हामी नेपालीहरु आपस मै बिभाजित छौ । कोही गुल्मेली भनेका छन्, कोही बिद्यार्थी भनेका छ्न । एक अर्कालाई आरोप प्रत्यारोप, गुट बन्धी । यसर्थ यस्ता घटिया बिभाजन भन्दा माथि उठेर देशको लागि केही गर्नको नीम्ति एकजुट होऔ ।

Saturday, 12 December 2009

घोप्टेभिर आत्महत्या सेन्टर

मनोरन्जनात्मक समाचारको लागि निर्माण गरेको बिज्ञापन । यसमा मलाई साथ दिएकी छिन् प्रकृति अर्यालले । उनलाई एक पटक सिकाएको भरमै पुरै बिज्ञापन पढेकी थिईन । उनको स्वर पनि निकै राम्रो सुनिएको छ । तस्बिरहरु गुगलबाट खोजेर लिएको हुँ ।

मनोरन्जनात्मक समाचार

बडा दशैं २०६६ को उपलक्ष्यमा फिनल्याण्डको राजधानी हेल्सिन्कीमा आयोजित नेपाली कार्यक्रममा मैले मनोरन्जनात्मक समाचार प्रस्तुत गर्ने मौका पाएको थिए । स्कुलका दिन देखि नै बिभिन्न बिषयलाई समाचारको शैलीमा प्रस्तुत गर्ने गर्दथे । + २ मा पत्रकारिताको अध्ययनपछी त त्यहि गुण ह्वात्त बढेर आयो । मदन भन्डारी मेमोरियल कलेजको कार्यक्रमहरुमा "कमेडी न्युज" वाचन गर्ने प्राय: मै हुन्थे । बिजय कुमार पान्डे जस्तो कार्यक्रम प्रस्तोता तथा पत्रकार बन्ने ठुलै सपना पनि बुनेको थिए तर कारणबश: पत्रकारिताको अध्ययन छोडेर फिन्ल्यान्ड आउनु परेपछी त्यो सपना सपनै रह्यो । सहपाठी सुनिता पोख्रेल, सिम्रिका शर्मा तथा रुपेस श्रेष्ठ जसरी समाचार भन्न टेलिभिजनमा प्रस्तुत हुन नसके पनि युट्युब त छदै छ नी ।

भ्रमको खेती‏

मरेको भारतीयले जिउदो नेपाली ठग्छ भनेको सुनेको थिए । तर अहिले उनिहरुको ठगि वर्ल्डवाइड भए जस्तो लाग्छ । इन्क्रेडिबल इन्डिया भन्दै आफ्नो देशलाई बिश्वास नै गर्न नसक्ने भनि भ्रामक बिज्ञापन आज फिनल्याण्डको राजधानी हेलसिन्कीका गल्लि गल्लिमा कुदिरहेको छ ।
एक हप्ता अगाडी कलेजबाट फर्किदा रेलबाट गौतम बुद्धको फोटो भएको बस देखेको थिए ।

इन्क्रेडीबल इन्डिया भनेर आफ्नो देशलाई बिश्वास नै गर्न नसकिने भ्रमण गन्तब्य भनेर बिश्वास नै गर्न नसकिने बिज्ञापन दिईरहेको छ भारतले । संयुक्त राष्ट्रसंघ देखि राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रले गौतम बुद्धको जन्म स्थल नेपालको लुम्बिनी हो भनेर मान्यता दिईसकेको अवस्थामा पनि किन यी भारतीयहरु बेला बेलामा निउ खोज्छन ? गौतम बुद्धको मन्दिर भारतमा पनि होला तर उनीहरु शुद्ध मनले " बुद्धको जन्म नेपालमा भएको हो तर हाम्रो देशमा पनि उनको मन्दिर छ " भनेर पर्यटक तान्न खोजेका होइनन । "चादनी चोक टु चाइना" मा बुद्धको जन्मस्थल भारत हो भनेर प्रष्ट भनेको छ । त्यो बेला निर्देशक, बोल्ने कलाकार, सुटिङका कामदारहरु,सेन्सर बोर्डका मान्छे मध्ये कसैलाई थाहा थिएन होला त बुद्ध कहाँ जन्मिएका भनेर ? सबैलाई थाहा थियो । तैपनी हेपेर बोलेका हुन ।

फिन्ल्यान्डमा कती पय त्यस्ता मानिस पनि छ जसलाई नेपाल भन्ने देश छ भन्ने थाहा छैन ( यो हाम्रो लागि बेज्जतीको कुरा हो )जसलाई नेपाल भन्ने देश नै थाहा छैन , उसलाई बुद्धको जन्मस्थल नेपाल हो भन्ने कसरी थाहा हुन्छ ? सबै मानिसलाई गुगल खोलेर बुद्धको जन्मस्थल कहाँ पर्छ भनेर खोजिरहने समय र इच्छा त हुन्न नि । त्यो बिज्ञापन देख्ने जती मानिसले त सोच्ने नै भए कि बुद्धको जन्म स्थल भारतमा भएको भनेर । त्यस्तो महत्वपूर्ण पर्यटन स्थलको फाईदा अर्को देशले लिईरहेको ।

बसमा यस्तो बिज्ञापन देखेपछी इन्क्रेडीबल इन्डियाको आधिकारिक वेब साइटमा यो बिज्ञापनले पार्न सक्ने भ्रमको बारेमा कमेन्ट लेख्नु पर्यो भनेर के खोलेको थिए, त्यहा त झन " ओन स्पेसल रिजनको भिजिट इन्डिया - ल्याण्ड अफ लर्ड बुद्ध " लेखेको छ । करोडौ मानिसको आस्थाको प्रतिक महामानवको नाममा ठगि गर्न अलिकति लाज लाग्दैन ?
हुन त यसरी गालि त गर्न नहुने हो । फेरी " यो तिमीहरुको गौतम बुद्ध होइन, भारत कै लोकल बुद्ध हुन " भन्न बेर लगाउदैनन । त्यती बिज्ञापनको आधारमा बिरोध गरिहाल्न पनि नसकिने किन भने गौतम बुद्धको बिषय ट्रेडमार्क रजिस्टर गर्न मिल्दैन न त त्यस बिज्ञापनमा गौतम बुद्धको जन्मस्थलको बारेमा केही लेखिएको छ । एउटा तस्बिरले हजारौं शब्द बोल्छ, बोलाउन खोजिएका शब्दहरु भलै अरु नबुझ्लान तर हामी बुझ्न सक्छौ । त्यो बिज्ञापन त्यतिकै छोड्ने हो भने बुद्धको जन्म स्थल भारत नै रहेछ भन्ने भ्रम पर्न सक्ने भएकोले मैले हेल्सिन्कीको ट्याब्लोइड सपर मेट्रोकी पत्रकार हेइदी साल्मालाई यस बारेमा जानकारी दिए । उनीले पनि यस बिषयमा गम्भिरता देखाइन र भारतिय पर्यटन बोर्डका अधिकारी श्री एम आर पट्टानायकसँग अन्तर्वार्ता लिएर २१ सेप्टेबर २००९ मा मेट्रो पत्रीकामा छापिएको समाचार यस प्रकार छ ।


पत्रकार :भारत बुद्धको देश भनेर के अर्थ दिन खोजिएको हो ?
पर्यटन अधिकारी :भारतमा बौद्ध,हिन्दू ,जैन र सिख गरी चार धर्मका बिकास भएका हुन । भारत मुस्लिम र क्रिश्चियनको पनि देश हो ।
(स्मरण रहोस् हिन्दु धर्मको सर्वोच्च ग्रन्थ बेदको लेखन तनहुँको व्यास गुफामा भएको थियो । त्यो नै हिन्दू धर्मको श्रोत हो ।)

पत्रकार :नेपालीहरु भन्छन " बुद्ध नेपालको दक्षिणी भागमा जन्मिएका हुन , भारतमा होइन "
पर्यटन अधिकारी : हो बुद्धको जन्म नेपालमा भए पनि पछी भारत आए । उनको जन्म नेपाल र भारतको सिमानामा भएको हो जुन पहिला भारतको एउटा भाग थियो । (दार्जिलिङ,सिक्किम,नैनिताल,कुमाउ,गढवाल पनि पहिला नेपालको भाग थियो । अब भारतको आधा राज्य नेपालको हो भन्ने ?)

पत्रकार : जनवरीमा भारतिय कमेडी सिनेमामा बुद्ध नेपालमा जन्मेको भनेपछी त्यसको ठुलो बिरोध भएको रहेछ ।
पर्यटन अधिकारी :यो त मैले पहिलो पटक सुन्दै छु ।
(कती मुर्गा बनाउन सक्छौ है । चादनी चोक टु चाइना फिल्म नहेरेको ?)

पत्रकार :भारतले बुद्धको जन्म भुमी नेपाल नै हो भनेर खुलेर किन स्विकार्दैन ?
पर्यटन अधिकारी :म पर्यटन अधिकरी हुँ । यो पश्न राजनितिक भएकोले उत्तर दिन सक्दिन ।
(आच्छु आच्छु पारेपछी सबै त्यस्तै भन्छन ।)

यस किसिमको अमुर्त बिज्ञापनले भगवान गौतम बुद्धको जन्म स्थलको बारेमा भ्रम फैलाइरहेको हुँदा भ्रम निवारण गर्न आफ्नो आफ्नो तर्फबाट सके जती गर्नुपर्छ । यो धर्म र सम्प्रदायको बिषय होइन, राष्ट्रियता हो ।

तस्बिर : साक्ष्यात सुशिल तथा इन्क्रेडिबल इन्डियाको स्क्रीन सट )

Monday, 17 August 2009

फिन्ल्यान्डमा एन आर एन चुनाव‏

तस्बिर : गौतमराज मोक्तान

सुशिल गौतम/फिन्ल्यान्ड
३२ श्रावण २०६६
" अघी लगाएको ज्याकेट भन्दा अहिले लगाएको ज्याकेट भारी भएको अनुभव भएको छ " यो वाक्य हो गैर आवासिय नेपाली संघ फिन्ल्यान्ड शाखा (एन आर एन फिन्ल्यान्ड) को नवनिर्वाचित अध्यक्ष ज्योति खरेलको । आज सम्पन्न एन आर एन फिन्ल्यान्डको पहिलो चुनावमा ज्योति खरेल प्रतिद्वन्दी लीला सिलवाललाई ८८ का बिरुद्ध २२२ मत प्राप्त गरी बिजयी भएका हुन ।
गत बर्ष गठित एन आर एन फिन्ल्यान्डको एड हक कमिटी आज निर्वाचित नयाँ कार्यसमितीको गठनसँगै बिघटन भएको छ । नयाँ गठित कार्य समितीमा अध्यक्ष ज्योति खरेल सहित अन्तराष्ट्रिय समन्वयन समिती सदस्य सुशिल ज्ञवाली (निर्बिरोध), बोर्ड सदस्यहरु रामप्रसाद अर्याल- २००, अरुण पोखरेल-१७६, प्रतिज्ञा खनाल-१८५, मोहन खनाल-२१८, टिका खरेल-१४८, सुदिप भुषण अर्याल-११४, मनोज कुमाल-१३५, दिलु सापकोटा-१२१, सुमन खड्का-१८७, सहबिर मोहम्मद-१३७, ब्योमा ताम्राकार-१९३, विश्वाश हमाल-१६०, जगनाथ काफ्ले-१२०, बिनाश तिम्सिना-१५६ ,गोपाल अर्याल-१६७, जिबन खरेल-१६७, बिजेन्द्र न्यौपाने-२२१, लक्ष्मीपती भण्डारी-१४८, देवीदत्त खरेल-१८६, कृष्ण प्रसाद भण्डारी-२३७ रहेका छन ।

कुल ३८८ मतदाता सङ्ख्या रहेको चुनावमा कार्यसमिती सदस्य पदको लागि २४ उम्मेद्बारी परेको थियो भने अध्यक्ष पदको लागि लीला सिलवाल र ज्योति खरेलको जोड्दार प्रतिस्पर्धा भएको थियो । कुल मध्ये ८५ वटा मत फिन्ल्यान्डका बिभिन्न शहरहरुबाट हुलाक मार्फत प्राप्त भएको थियो ।

नवनिर्वाचित अध्यक्ष खरेलको आगामी कार्यकालमा उनकै भाषामा नेपाली विद्यार्थीको स्थानान्तरण र रुपान्तरण गर्दै एन आर एनलाई फिन्ल्यान्डमा बसोबास गरिरहेका नेपालीको अभिभावकको रुपमा बिकास गर्ने जनाएका छन । नेपाली विद्यार्थीलाई फिन्निश भाषाको अज्ञानताको कारण उत्पन्न हुने समस्यालाई हल गर्न फिन्निश भाषाको कक्षा सन्चालन गर्न पहल गर्नेछन ।

त्यस्तै विद्यार्थीको तर्फबाट अत्याधिक मत ल्याएका उम्मेद्वार बिजेन्द्र न्यौपाने विद्यार्थीसँग सम्बन्धित मुद्दालाई एन आर एनमा छलफलमा लैजाने बताएका छन । " विद्यार्थीको ब्यवहारिक समस्या, भाषाको समस्या र रोजगारीको ब्यवस्था गर्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछु " भन्दै उनी थप्छन " तर विद्यार्थीले पनि कार्यसमितीको काम कारवाहीको निगरानी गर्नुपर्छ । "

सिलितिय सेउरा कुन्ताको हलमा भएको मतदान कार्यक्रममा सहभागीको चहल पहल देख्दा लाग्थ्यो यो नेपाल कै कुनै स्थानमा भएको कार्यक्रम हो । अधिकांस सहभागि नेपालीको एउटै आवाज सुनिन्थ्यो - आपसी मनमुटाव हटाएर नेपाली नेपाली बीच सौहार्द र भात्रित्व बिकास गर्नुपर्‍यो ।

Friday, 24 July 2009

ऊ

ऊ त्यस्तै छ । उसलाई आधुनिक कपडाको ज्ञान नभएको भने होइन तर पनि ऊ प्राय साधारण कपडामा हुन्छ । बोल्दा हरेको कुराको मजाक उडाउनु, तर्क गर्दा मुटु भित्र सियो छिराए झै गरी रोप्नु र बिपक्षीलाई टिक्न नदिनु उसको बिशेषता मान्नुपर्छ ।
उसको तर्कमा त्यो जादु हुन्छ । तर्कका प्रत्येक् शब्द शब्द सिधै मुटु भित्र छिर्छ तर मुटुको अर्को पट्टीबाट तत्काल निस्किदैन, सियोको मोटो भाग मुटु मै अड्काइराख्छ । त्यो सियोलाई मुक्त गराउन अर्को पटक भेट्नुपर्ने हुन्छ । फेरी अर्को पटकको भेटमा अर्को सियो छिराएर पठाउछ । यसरी नै ऊसँग भेट्ने क्रम चलिरहन्छ ।

ऊ कस्तो छ चिन्नु अघी कुरै कुरामा मार्क्सबादको बिषय निस्कियो । म मार्क्सबादी विद्वान नभए पनि बुझे सम्मको समाज बिकास चरण सुनाए तर ऊ म माथि तर्क लिएर खनियो । उसका तर्क आँफैमा तर्क नभए पनि उसको प्रस्तुती बेजोड थियो । रोनाल्ड रेगनले यसो भने, चाल्स डार्बिनको भनाइ यो छ । उसका तर्कमा आफु बाहेक अरुलाई पनि साक्षी बनाए, म एक्लै थिए ।

त्यसपछी मैले उसलाई चिनेको भान हुन थाल्यो र बिबाद गर्दा सके सम्म कमजोर बिषयमा हात हाल्न छाडे । एक दिन फेरी उसँग भेट भयो । उसलाई रुघा खोकी लागेको रहेछ । तर पनि उसले रुघा खोकीबाट बच्ने उपायहरु प्रशस्त सिकायो त्यो दिन । र निधानका उपायहरु पनि बतायो ।

कुरा गर्दा गर्दै प्रसँग निस्कियो स्वतन्त्रता सम्बन्धी । स्वतन्त्रता एउटा बलियो बिषय हो भनेर म आँफैलाई सरक्क त्यस तर्फ ढल्काए तर उसको बाणी पनि कमजोर थिएन । ऊ भन्दै थियो " संसारमा स्वतन्त्र भन्ने शब्द नै छैन । अङ्रेजी शब्द इन्डिपेन्डेण्ट पनि डिपेन्डेण्टमा इन लागेर बनेको हो । जाबो एउटा शब्द आँफैमा स्वतन्त्र छैन भने अर्थ कसरी स्वतन्त्र हुन्छ ? बिउको स्वतन्त्रता माटोमा भरपर्छ उब्जाउने कि नउब्जाउने भनेर । सुर्य पनि स्वतन्त्र छैन मिल्की वे ग्यालेक्सीको भरमा अढिएको छ । तिमीले के चिज स्वतन्त्र देख्छौ ?"

म स्तब्ध भए । ऊसँग बिबाद गर्ने बिषय र शक्ति ममा रहेन । अनी फेरी मैले बुझे ऊ सहि अथवा गलत दुबै बिषयमा राम्रो बिबाद गर्न सक्दो रहेछ । अब ऊसँग सके सम्म बिबादमा नफसेकै जाती हुन्छ ।

मोबाइलमा कम ब्यालेन्स भएको बेला एक दिन मैले कुनै आवश्यक काम परेर उसैलाई फोन गरे । कुरा कै सन्दर्भमा मैले उसैको कुनै तर्कलाई समर्थन गर्न " अ म्यान क्यान बि डेस्त्रोएड बट क्यान नट बि डिफिटेड " भने । सोचेको थिए यो एक त उसैको कुराको समर्थनमा गरेको हुँ दुई यही वाक्यको कारण अर्नेष्ट हेमिङ्वेले नोबेल पाएका थिए । उनले यसको बिरोध गर्दैनन भन्ने सोचेको थिए तर अफसोच उनले ठोकी हाले " यदी तिमीले कुनै गल्ती बोल्यौ अनी १०० जना मान्छेले उभियाएर स्पष्टिकरण लिए भने तिमी गल्ती स्विकार्छौ कि स्विकार्दैनौ ?" वास्तवमा मैले त्यो वाक्य " मानिसको सोचाइको बारेमा " भनेको थिए, तर उसले गलत बुझ्यो अथवा बुझ्न चाहेन । म चुप लाग्नु पर्‍यो किन भने मेरो मोबाईलमा पैसा थिएन, सके सम्मा बिबाद टुङ्याउनु थियो । अनी मैले अर्नेष्ट हेमिङ्वेलाई गल्ती बनाए, सारा संसारलाई गल्ती बनाए तर उसलाई सहि बनाएर कुरा टुङ्याए ।

मैले फेरी बुझे ऊ आफ्नै समर्थनमा आएको कुरालाई समेत बिबाद गर्दो रहेछ भनेर । त्यसपछी म सजग भए ऊसँग बोल्न । मैले फोर्मुला नै बनाए ऊसँग के बोल्ने के नबोल्ने भनेर । एक कमजोर बिषयमा नबोल्ने, दुई बलियो नै बिषय नै भए पनि उसले के बिषयमा बोल्दै छ त्यो ध्यान दिने , तीन उसको समर्थन गर्दा पनि ध्यान दिने ।

यसरी फर्मुला बनाएपछी म बिबादमा पराजित हुनु पर्दैन भन्ने कुरामा ढुक्क थिए । अनी एक दिन बिद्यार्थी विद्यार्थी मिलेर महिनाको एक युरो राखेर एउटा कोषको निर्माण गर्ने र त्यस कोषको पैसा समाज सेवामा लगाउने भनेर केही साथीहरु बीच छलफल भयो । मैले उसलाई पनि खबर गर्नु आवश्यक ठाने र एकदिन आफ्नै प्रयासमा उसलाई भेटे । त्यो दिन म आफ्नो फोर्मुलामा आधारित भएर कुरा गर्दै थिए । त्यस माथि समाज सेवाको कुरामा पक्कै उसको मद्घत हुन्छ भन्ने आशा थियो । भेट्ना साथ आपसी गफगाफको कुरा भए ।

" आज सम्म कती केटीलाई बर्बाद गरियो त ?" उसले मलाई तल देखी माथि सम्म नियाल्दै सोध्यो ।

" छैन यार एउटै पनि " झुठो बोलेर दुई चार जना भनौ भने उसको शब्दको बाणीबाट म बच्न सक्दिन भनेर यथार्थ कुरा गरिदिए ।

" जान्नु पर्‍यो नि मित्र । मलाई हेर उह त्यो बैंकको केटीलाई एउटै मात्र शब्द बोलेको भरमा पट्याइदिए । त्यस्तो हुनुपर्छ के "
म आफ्नो बिषय तिर केन्द्रित थिए तर उसले मौकै दिएको थिएन । जिम गरेर केही दिन देखी मेरो जिउ तन्किएको थियो । छाती साबिकको भन्दा बलिष्ठ देखिन्थ्यो । उसले मेरो पाखुरा र छाती नियाल्दै भन्यो ।

" आफुलाई चाहिने जती मात्र श्वास लिउ के , फोक्सोमा असर पर्छ । " वास्तवमा यो वाक्य उसको प्रशसा रहेछ, मेरो बडीको

" हैन यस्तै हो " कुरा टुङ्याउन जवाफ दिए ।

उसको कुनै एक बिषयमा जर्ज डब्लु बुश् भन्दा बढी अंक आएको कुरा सुनायो । हुन त मेरो पनि बायोलोजीमा अल्बर्ट आइन्स्टाइन भन्दा बढी आउथ्यो तर मैले सम्भाब्य बिबादलाई मध्य नजर गरेर त्यो कुरा भनिन । अनी ऊ एकछिन चुप लागेको मौका पाउना साथ आफ्नो कुरा सुनाए ।

" हामी प्रत्येक महिना एक युरो दरले जम्मा गर्ने गरी एउटा कोष बनाउ । अनी त्यो पैसाबाट समाज सेवामा लगानी गर्न नि हुन्छ । अनी विद्यार्थीमा राष्ट्रियताको भावना पनि बिकास हुन्छ । "

मैले सोचेको भन्दा बिपरित कुरा भयो । यो कुरामा पनि ऊ म माथि खनियो ।
" स्ट्रगल फोर द एग्जिस्टेन्स भनेको थाहा छैन, कसको सेवा गर्ने ? यसरी अरुले सहयोग गरिदेला भनेर बाच्नेले के गर्न सक्छन ? त्यही भएर मलाई यो सोसिअलाइजिङ मन पर्दैन । एउटाले मद्घत गर्ला भनेर अर्को बस्ने ? सक्छ त आँफै गर, नत्र त्यस्ताको यो संसारमा कुनै काम छैन । "

म फेरी स्तब्ध भए । मेरो फर्मुलाले पनि काम गरेन । यो त राम्रै बिषय थियो, यसले उसैको मद्घत पनि गर्थ्यो तर पनि फेरी बिबाद भयो र म चुपो लागे । अनी उसको कुरा बुझेर बिदा मागे ।

मैले उसलाई बुझ्न सकिन । ऊ अझ पनि त्यस्तै छ ।

(यस लेख मानिसको जटिलता देखाउन रचिएको हो । कुनै एउटा ब्यक्ती मात्र सम्बन्धित छैन ।)