Sunday, 8 December 2013

मोडर्न मुना मदन

मुना र मदन सानै देखि एकै कक्षामा पढ्दै हुर्किए । संगै स्कुल जान्थे । संगै खेल्थे । संगै पढ्थे । नौ कक्षामा टेकेलगतै मुना र मदनमा जवानीका परिवर्तन देखा पर्न थाले । मदन भित्र भित्रै मुनालाई मन पराउन थाल्यो । स्कुल जाने क्रममा एकदिन प्रेम प्रस्ताव पनि राख्यो तर मुनाले साथी बाहेक अरु सोच्न नसक्ने भन्दै अस्विकार गरिन । 

त्यसपछी मदन मुनाको साथ पाउन तड्पिन थाल्यो । मुना भने मदनबाट टाढा भाग्न थालिन । दुबै एसएलसी सके । मदन अझै मुनालाई बिर्सिन सकेँन । प्लस टु समेत मुना पढ्ने कलेजमा भर्ना गर्‍यो तर मुनाले बाल दिईनन । प्लस टु समेत मुनाको पछि लागेर सक्यो मदनले । अन्तमा हार खायो र मुनाबाट टाढा जाने निर्णय गर्‍यो । बाँकी अध्ययन पूरा गर्न अमेरिका जान कस्सियो ।  

तीन पटक लगातार असफल भएपछि बल्ल अमेरिका जाने भिसा पायो । मदनले अमेरिका जाने भिसा पाएको कुरा साथिहरू मार्फत मुनाको कानमा पर्‍यो । उनको मनमा प्रेमको अँकुरण भयो । कता कता मदनलाई भित्रै देखि माया गर्न थालेको भान भयो । तर मदन अमेरिका जादै थियो । उनलाई आफ्नो प्रिय ब्यक्ति सदाको लागि टाढा जान लागेको महसुस भयो । उनमा छट्पटी बढ्दै गयो । सपनामा समेत मदन प्लेन चढेको देख्न थालिन । अमेरिकाको चिल्लो सडकमा गाडी कुदाउदै गरेको देख्न थालिन ।  

त्यसपछी उनले आफूलाई सम्हाल्न सकिनन र मदनलाई भेट्न गइन । गह भरी आसुँ लिएर मदनको हात समात्दै प्रेमको भिख मागिन । आफू पनि बच्चै देखि मदनलाई मन पराएको तर भन्न नसकेको भनेर सम्झाउन खोजिन तर मदन मानेन । मुनाको हात आफ्नो हातबाट हटाउदै भन्यो " तिमी नेपालमा हुने छौ, म अमेरिकामा । यस्तो अवस्थामा प्रेम रहन सक्दैन । तिमी आफ्नो जीवनसाथी यहि कतै खोज " यदि भन्दै मदन हिड्यो । मुना रोइरहिन । टाढा सम्म मदन हिडिरहेको हेरेर आसु झारिरहिन । 
   
अमेरिका पुगेपछि मदनको नयाँ दिनहरू सुरु भयो । बिहान उठेदेखी कामको खोजीमा पेट्रोल पम्प र स्टोरहरू धाउन थाल्यो । दुई महिनाको अबिरल खोजपछि भारतिय मुलको महिलाको पेट्रोल पम्पमा काम पायो । केही समय काम र पढाईलाई सँग संगै लग्यो तर कलेज फी तिर्ने बेला काम गरेर कमाएको सबै पैसा बुझाउदा मन कुटुक्क काटियो । त्यसपछी उसले पढाई छोडेर काम मात्र गर्न थाल्यो । बल्ल भने राम्रो पैसा जोगाउन थाल्यो । 

उता नेपालमा मुना मदनको प्रेममा छट्पट्टिएर बेहाल भएकी थिईन । त्यहि भएर उनले पनि अमेरिका गरेर मदनलाई भेट्ने मनमनै अठोट गरिन र डिभी भरिन । सच्चा मनले चाहेको कुरा भगवानले समेत जुराउछन । उनलाई डिभी पर्‍यो खुशिको सिमाना रहेन । डिभी परेको यति खुशि भईन की मदनलाई भुल्न पुगिन । यसै अमेरिका जाने उसै अमेरिका जाने भनेर मदनलाई खबर गर्नु आवश्यक ठानिनन । दोस्रो पत्र आए लगतै उनी अमेरिका उडिन । 

सुरुका दिनमा धेरै गाह्रो भयो अमेरिकामा । काम पाइएन । बल्ल बल्ल पाएको काम पनि तीन घण्टा गाडी चलाएर जानुपर्ने ठाउँमा । जसो तसो गरि मदन बसेकै राज्यमा एउटा पसलमा सामान मिलाउने काम पाईन । यो कुरा मदनले साथी मार्फत थाहा पायो । त्यसपछी मदनमा आफ्नो प्रेम फर्किएको अनुभव भयो । भित्रै देखि फेरि मुनालाई चाहन थाल्यो । एकदिन बल्ल बल्ल ठेगाना पत्ता लगाएर मुना भएको स्थानमा पुग्यो ।
  
 मुनालाई देख्नासाथ न्यानो अँगालो मार्यो र भन्यो " मुना म तिमीलाई अझै सम्म बिर्सिन सकेको छैन । आइ स्टिल लभ यू " मुनाले अँगालोबाट फुत्किदै भनिन " तर बागमतीमा पानी धेरै बगिसक्यो । अब म तिमिलाई माया गर्न सक्दिन । तिमी आफ्नै खालको जीवन साथि खोज " मदन छाङाबाट खसे जस्तै भयो । आज भोलि गर्दै बिस्तारै उसको अमेरिकाको भिसा सकिने मिती नजिकिदै थियो । त्यसपछी उसलाई नेपाल फर्किनुपर्छ भन्ने डरले पोलिरहेको थियो । त्यसकारण मदन झन् झन् मुनालाई माया गर्न थाल्यो ।  
 
उनलाई पाउन अमेरिकामा पनि तड्पिन थाल्यो । बिस्तारै भिसा सकिने मिती नजिक आयो । मदनसँग दुई वटा बिकल्प रह्यो की शरणार्थी बनेर बस्ने की अमेरिकी नागरिकता भएको युवती सँग बिहे गरेर बस्ने । धेरै दिन सम्म बिहे गर्न मिल्ने युवती खोज्दै बाटोमा हिंड्न थाल्यो तर फेला पार्न सकेन । एकदिन काम गर्दै गर्दा आफ्नो पसलको साहुनी देख्छ । पूर्वपती सँग पारपाचुके गरेर आफ्नै पेट्रोल पम्प चलाएकी, आफू भन्दा दोब्बर उमेरको भए पनि अनुहारमा चमक हराएको थिएन । मदन मन मनै साहुनीसँग बिहे गर्ने सपना देख्छ । कहीले गिफ्ट किनिदिने त कहीले घुमाउन लग्ने गर्न थाल्छ । एकदिन साहुनीलाई आफ्नो चोखो मनको प्रस्ताव राख्छ । साहुनी पनि एक्लो जीवनबाट मुक्त हुन प्रस्ताव स्विकार्छिन । हेर्दा हेर्दै मदनको भिसाको समस्या मात्र होईन रोजी रोटी समस्या समेत समाधान हुन्छ । साहुनीको नाममा भएको दुई वटा पम्पको मालिक बनेर इज्जतसाथ जिन्दगी बिताउन थाल्छ ।  

तर उता मुनाको हालत खराब हुन्छ । अर्थतन्त्र धराशायी भएको भन्दै कामबाट निकालिन्छिन । भिसा छ तर काम छैन् भनेर उनको मन धेरै रुन्छ । चारैतर्फ काम खोज्न भौतारिन्छिन । एकदिन काम खोज्ने क्रममा एउटा पेट्रोल पम्प पुग्छिन । त्यहाको काम गर्नेले साहु बस्ने स्थान देखाइदिन्छन । जब त्यहा पुग्छिन मुना फेरि छाङ्गाबाट खसे जस्तै हुन्छिन । साहु त मदन हुन्छ । त्यत्रो ठुलो पेट्रोल पम्पको साहु मदनलाई देख्दा मुनाको मनमा फेरि पुरानो प्रेम सल्बलाउन थाल्छ । अन्तर्वार्ता दिन गएकी मुना प्रेमबार्ता गर्न चाहन्थिन तर मदनले बिष्णुमतीमा धेरै पानी बगिसकेको भनेर उनको प्रेम प्रस्ताव फेरि ठुक्राउछ । र आफ्नो जीवनमा कहिले फर्केर नआउन चेतावनी दिन्छ । त्यसपछी मुना मदनलाई सम्झेर रुदै रुदै आफ्नो बाटो लाग्छिन ।

 मदन र भारतिय महिलाको पेट्रोल पम्प विश्वब्यापी आर्थिक संकट आएपछि टाट पल्टिन्छ । दुबै  जना ऋणमा चुर्लुममा डुब्छन । ऋण तिर्न नसकेर भारतिय महिलाले आत्महत्या गर्छिन । पत्नी बियोग, ऋणको समस्या र मुनाको सम्झनाले गर्दा मदनको मानसिक सन्तुलन हराउने स्थितिमा हुन्छ । फलस्वरुप मदन दिन दिनै रक्सी पिउन थाल्छ । उता मुनालाई एक डलरमा किनेको लोट्टोमा अचानक १०० मिलियन डलर पर्छ । यो खबर पाए लगतै हतारिएर बुझ्न पसल तीर गाडी चलाएर जान्छिन । आफ्नो जिन्दगीको सबै दु:खका दिन जाने भएर भनेर अत्ती खुशि भएर दुई हात छोडेर गाडी चलाउदै गर्दा मदन रक्सीले फिट्टान भएर सडकको बीच आइपुग्छ । मदनलाई बचाउन खोज्दा मुनाको गाडी भित्तामा ठोक्किन्छ । मदन हत्तपत्त मुनाको गाडी भित्र हेर्छ । रगताम्मे मुना अन्तिम श्वास फेर्दै हुन्छिन । मदनले मुनाको आँखामा हेर्छ र हात समातेर संगै स्कुल गएको दिन सम्झिन्छ । पाखुरा हेर्छ संगै छोइडुम खेलेको सम्झिन्छ । कम्मरमा हेर्छ संगै इन्टुमिन्टु खेलेको सम्झिन्छ । र हातमा हेर्छ लोट्टो देख्छ । र सोच्छ पक्कै पनि यो पल्टको १०० मिलियनवाला लोट्टो हुनुपर्छ भन्दै खोसेर लिन्छ । लोट्टो खोसिएपछी मुनाको प्राण फ्यास्स जान्छ । कसैले देख्ला भनेर लोट्टोको कागज लिएर डौडिन्छ । लोट्टो पाएपछी हाई वे हो भन्ने पनि बिर्सिन्छ । पछाडीबाट एउटा गाडीले बजाइदिन्छ । उसको पनि तत्काल मृत्‍यु हुन्छ ।        

Wednesday, 6 February 2013

बेलायती प्रधानमन्त्रीलाई खुल्लापत्र

नमस्कार डेभिड क्यामेरुन ज्यु,

तपाईंले बुझ्ने तपाई कै भाषा भन्दा, मैले बुझ्ने मेरै भाषामा खुल्ला पत्र लेख्दै छु। आवश्यक देखिएको खण्डमा यही पत्रलाई अङ्ग्रेजी भाषामा उल्था गरेर तपाईको टेबलमा पुग्ला भन्ने आशा लिएको छु। क्यामेरुन ज्यु, खै पत्रमा के के मात्र लेखौँ झैँ भएको छ। नेपाल-अङ्ग्रेज युद्धमा भएको अङ्ग्रेजी अमानवीय कार्यबाट सुरु गरौँ कि टायर फोर भिसा काण्डले ठगिएका नेपालीको आत्माहत्या र रोदनको बारेमा लेखौ ? कर्णेल कुमार लामालाई यातना दिएको आरोप गिरफ्तार गरेर नेपालको सार्वभौमतामाथि गरेको नांगो हस्तक्षेपको बारेमा लेखौँ कि अफगानिस्तान र इराकको नरसंहारको बारेमा लेखौँ ?


चार कक्षामा नेपाली पाठ्यपुस्तकमा बढाइचढाइ पो लेखेको हो कि भनेर एक पटक गुगल गरेर हेरे, नालापनी युद्धको बारेमा। तर अहिले फेला परेका तथ्यहरूले पनि यही भन्दोरहेछ तपाईका पुस्ताहरूले नालापानीको किल्लामा अमानवीय तवरले नेपाली सेनालाई मार्नु भएको रहेछ। तीन हजारको संख्यामा आएका तपाईको पुस्ताले ६ सय नेपालीलाई जित्न नसकेर किल्लाभित्र जाने पानी बन्द गरेका रहेछ्न्। तीन दिनको ब्याकुल प्यासले नेपाली किल्ला बाहिर निस्किँदा जम्मा ७० जना बाँकी रहे। बाँकीको मृत्युको जिम्मा तपाईहरूको पुस्ताको अमानवीय कर्तुत हो कि होइन हजुर ? अरुको देशको स्रोत र साधनमाथि आँखा गाड्ने, आक्रमण गर्ने, भाषा, धर्म, संस्कृति सखाप पार्ने इत्यादि कर्तुत नै तपाईहरूको इतिहास हो कि होइन ? पानीको मुहान बन्द गरेर प्यासले तड्पाइ तड्पाइ मान्छे मार्ने देशले मानव अधिकारको वकालत गर्न सुहाउँछ ?

लु भैगो। इतिहासको गल्तिलाई अहिले किन कोट्याएको होला भनेर चित्त दुखाउनुहोला तर के गर्नु तपाईंहरुको कर्तुत अहिले पनि जस्ताको तस्तै छ। फरक यति हो पहिले नालापानीमा पानीको मुहान बन्द गर्नुहुन्थ्यो अचेल नाकाबन्दीको नाममा जनजीवन ठप्प पार्नुहुन्छ र त्यो देशको जनता तड्पाइ तड्पाइ मार्नुहुन्छ। हो कि होइन ? सद्दाम हुसेनले आम विनाशकारी जैविक हतियार राखेका छन् भनेर तपाईहरू प्रमुख मित्र अमेरिकाले भनेको आधारमा ‘हो मा हो’ मिलाउँदै आक्रमण गर्नुभएको थियो। त्यसैको निहुँमा सद्दाम हुसेनलाई झुण्ड्याएर मार्नुभयो। मुसलमान धर्म मै आधारित भएर विकसित भैसकेको एउटा समाज यसरी ध्वस्त पार्नु भयो कि अहिलेसम्म डेढ लाख इराकी जनता मरिसके। अझै मर्ने क्रम जारी छ। जैविक हतियार फेला पार्नु भयो त ? जेको कारण आक्रमण गरेर त्यत्रो बिघ्न मानिस मारिए त्यो नै फेला नपरेपछि आफ्नो आक्रमण तर्कसंगत थियो भनेर कसरी प्रमाणित गर्नुहुन्छ ? इराकमा रगतको खोला बगाउने तपाईंहरूलाई अमानवीय भन्न मिल्ने कि नमिल्ने हजुर ?

तपाईंहरूको रक्तपिपासु कदमको अर्को किस्सा बाँकी नै छ। तपाईंहरूको राजकुमार ह्यारी भर्खरै अफगानिस्तानबाट ‘ मैले तालेबानलाई गोली ठोकेँ ‘ भन्दै बेलायत फर्केका रहेछन्। एउटा कुरा के हजुर – अफगानिस्तानमा अल-कायदा नामको आतंकबादी सन्जालका सदस्यले २००१ मा बिश्व ब्यापार केन्द्रको दुई वटा भवनमा आक्रमण गरेको कारण देखाएर अफगानिस्तानमा आक्रमण गरिएको थियो। चार वटा नागरिक बिमान अपहरण गरेर ठोक्काएर आक्रमण गरिएको भनिएको थियो। तर हजुर अहिले बुझ्दै जाँदा ती सबै योजनाबद्ध रुपमा अमेरिका आफैले गरेको तथ्य पाइएको छ। अमेरिका मै खुलेको संस्था ‘ आर्किटेक्ट एण्ड एन्जिनियर्स फोर ९/११ ट्रुथ ‘ का संस्थापक रिचार्ड गेज लगायत १५०० जना इन्जिनियर्सले घटनाको फेरि अनुसन्धान हुनुपर्ने माग गरेका छन्। सोही आक्रमणमा खुल्न नसकेका तथ्य यति धेरै छन् कि यो पत्रमा अट्दैनन्। भन्नुको अर्थ के निस्कियो भने सो आक्रमणमा अमेरिका आफै संलग्न छ, त्यसमा या तपाईहरू पङ्गु बन्नु भयो या तपाईहरूको रक्तपिपासु हात मान्छे मार्न चिलाएर सहभागी हुनुभयो। अहिलेसम्म करिब १७ हजार अफ्गानी सर्वसाधारणको ज्यान गइसक्यो भने तत्कालीन सैनिकको त हिसाबै छैन। सन्तुष्ट हुनुहुन्छ मज्जाले मान्छे मार्न पाएकोमा ?

अफ्गानिस्तानबाट रसियालाई हटाउन १९८० दशकमा तपाईहरूले नै सर्वसाधारणलाई हतियार वितरण गर्नुभयो। त्यस मध्ये केहीलाई मिलाएर आफैले अल-कायदा नामको सन्जाल बनाउनुभयो। त्यस सन्जालको नेता बिन लादेन तोक्नुभयो। आफैले विश्व ब्यापार केन्द्रमा थर्माइट बम्ब जडान गर्नुभयो। आफैले षड्यन्त्रको जालो बुनेर प्लेन ठोक्काउनु भयो। दोष बिन लादेनलाई लगाएर अफगानिस्तानमा आक्रमण गर्नुभयो। पाकिस्तानमा बिन लादेनलाई मारिएको र उनको शव समुद्रमा फ्याकेको जानकारी गराउनुभयो। यो त बिस्तारै अनपढले पनि बुझ्दैछन तर तपाईको राजकुमारले नबुझेर तालेबानलाई गोली ठोक्न गएको ? कम्तिमा आफ्नो राजकुमारलाई भ्रममा नराख्नुस, असल शिक्षा दिने गर्नुहोस्।

तपाईहरु कै कारण ‘मानवअधिकार र प्रजातन्त्र’ शब्द कस्तो डरलाग्दो सुनिन थालेको छ। कुनै देशमा मानवअधिकार र प्रजातन्त्र छैन भन्नुभयो कि या त तपाईहरू कुनै पनि बेला आक्रमण गर्न सक्नुहुन्छ नत्र कम्तीमा नाकाबन्दीको तयारीमा हुनुहुन्छ भनेर बुझे हुन्छ। जुन देशको राज्य सत्ता संसारमा सबभन्दा बढी मानव संहारको जिम्मेदार छ उसैले मानव अधिकारको वकालत गर्दै हिंडेको सुहाउँदैन के क्यामेरुन ज्यु। यही बेला हाम्रो कर्णेल कुमार लामालाई थुनेर राख्नुभएको छ। तपाईहरूको तथाकथित यातनाविरुद्धको बिश्वब्यापी कानुन अन्तर्गत। तपाईले नबुझ्नु भएको हो कि मानवअधिकारको पक्षधर भएको ढोङ देखाउन हो उहाँलाई थुन्नुभएको ? कर्णेल लामा बहालवाला अधिकारी हुन्। उनले अनुसन्धानको क्रममा दुई जनालाई पक्राउ गर्न लगाए। पक्कै पनि सैनिक अनुसन्धान टेबल टेनिस खेल्दै गरिँदैन। दुई चार थप्पड लगाउनु स्वभाविक हो। विद्रोही पक्ष पनि नेपाली हुन् र सरकार पक्ष पनि नेपाली। यसमा तपाईलाई टाउको दुखाउनु आवश्यक थिएन। हजारौ मानव संहार गरेको रक्तरन्जित हातले नेपाली-नेपाली बीचको विवादलाई चलाउनु कतिको जायज छ, ऐना हेरेर आफैलाई सोध्नु होला।

पोप जोन पल दोस्रो त चिन्नु भएकै होला। आफूलाई गोली हान्नेलाई माफी दिएको आधारमा खुब प्रशंसा गर्ने तपाईहरू नै हो – हामी नेपाली पनि आपसी बिबाद आफै सुल्झाएर माफी दिनसक्छौ र दिन चाहन्छौ। यो याद राख्नुहोला।

तैपनि कुमार लामाले न तपाईहरूले जस्तो इराकको अबु घरेब बन्दी गृहमा जस्तो कैदीलाई नाङ्गै राखेर तड्पाउने, कुकुर लगाउने, चिसो सिमेण्टमा रातभरी नाङ्गै लडाएर राख्ने गरेका थिए न अपाचे हेलिकप्टरबाट साना केटाकेटी र पत्रकार माथि गोली ठोकेका थिए। तैपनि दादागिरी देखाउन कारवाहीको ढोङ रच्नुभयो। तपाईहरूलाई आफ्नो देशको कानुनको पालना गर्न त्यस्तो मन छ भने अरु देशको कानुनको पालनामा पनि भांजो हाल्ने काम गर्न भएन। भर्खरै इण्डोनेसियामा तपाईका नागरिक लिन्डसे स्याण्डिफोर्डले लागुपदार्थ वसारपसार गर्दा पक्राउ परेपछि त्यहाँको अदालत मृत्युदण्डको फैसला सुनाएको छ। तर अचम्मको कुरा आफ्नो देशको कानुन पालना गर्न कुनै कसर नछोड्ने भन्नेले इण्डोनेसियाको अदालतको फैसलाको भर्त्सना पो गर्नुभएछ। ए राता मकै, लाज लाग्दैन तपाईहरूलाई ? तपाईका नागरिकले अपराध गरे इज्जत साथ छोडिदिनु पर्ने अरु देशका कर्मचारीले आफ्नो काम गरे पनि कारवाहीमा पर्नुपर्ने कस्तो चलन आएको बा।
क्यामेरुन ज्यु, इतिहासदेखि नै तपाईहरू नाफा कमाउन मान्छे मार्ने र उपनिवेश बनाउने काम गर्दै अरुको सार्वभौमिकतामाथि गिद्दे दृष्टि राख्नुहुन्थ्यो। हाल आएर मानव अधिकार र प्रजातन्त्रको नाममा गर्दै हुनुहुन्छ। मानव अधिकार र प्रजातन्त्र निर्यात गर्ने सस्तो होलसेल कारोबार बन्द गर्नुहोला। ग्राहकहरू सचेत हुँदैछन्।

थप जानकारीको लागि तल लिंक दिएको छु, अन्य कुनै देशमा आक्रमण गर्ने तयारीको ब्यस्तता छैन भने अवश्य अध्ययन गर्नुहोला।
तपाईको शुभचिन्तक
साक्षात सुशील
स्रोतहरू
http://www.iraqbodycount.org/analysis/numbers/2011/
http://www.bbc.co.uk/news/uk-21119727
https://www.youtube.com/watch?v=1l-8PFk8j5I
http://www.wtc7.net/articles/kimball/thirdskyscraper.html
http://www.bbc.co.uk/news/uk-21149631
http://www.antiwar.com/news/?articleid=2444
http://www.bbc.co.uk/news/uk-21149631


Thursday, 17 November 2011

स्टकम्यान

भन्न त फिनल्याण्डमा ठुलो बर्ग बिभाजन छैन भनिन्छ तर स्टकम्यान डिपार्ट्मेन्टल स्टोरलाई देखेपछी 'गफै त हो नी सोल्टी' भन्ने थेगो पनि मनमा आइहाल्छ । कुरो नचपाइकन भन्दा स्टकम्यान घरमा पैसा टन्न स्टक भएकाहरुले सामान किन्ने ठाउँ हो । जुन ठाउँ प्रेमिका अथवा श्रीमतीलाई सके सम्म देखाउनै हुन्न । कथमकदाचित देखिहालेछन भने 'लोट्टो परेपछी है बुढी' भन्नु सिवाय अन्य बिकल्प हुन्न तपाई हामी जस्ताको । एक महिना भयो, त्यहि स्टकम्यानमा इन्टर्न्शिप गर्न थालेको । सुरुमा त धेरै खुशी लागेको थियो त्यो महँगो र स्ट्याण्डर्ड डेपर्ट्मेन्टल स्टोरमा यो सस्तो हातले पसिना बगाउने भयो भनेर । स्टकम्यानको सानो झिल्को मात्र मेरो तलबमा परे पनि बाटामा भेतेजतिको गाला चड्काउदै हिड्ने आँट आउथ्यो । तर खुशी धेरै बेर टिकेन जब उताबाट ईमेलको जवाफ आयो "तँ स्टक्म्यानमा पढ्न जादैछस । पैसो कौडी पाउँदैनस ।" लौ भैगो भनेर कलेजमा ईमेल पठाए साँढे दुई महिने इन्टेर्न्शिपको पैसा कसले ब्यहोर्छ ? भनेर । कलेजबाट नी जवाफ आयो " दुर्भाग्यबश यो बर्षदेखि मन्त्रालयले फिनल्याण्ड मै गर्ने इन्टेर्शिपको पैसा रोक्का गरेको छ ।" लौ शितल भो जिन्दगी । 'बिदेशीलाई देखेकी लात हान्ने' चुनावी नारा बोकेको पार्टीको त्यत्रो ठुलो मत आएको देख्दा देख्दै पनि कलेजबाट पैसाको आशा गर्ने मुर्ख म की टिमो सोइनी ?

लौ त भनेर काम छोडियो र थालियो इन्टेर्न्शिप । पहिलो दिन त अलमल्लमा बित्यो भन्दा नी हुन्छ । नेपाली केटाहरुको अगाडी पाक्क पुक्क फिन्निश बोलेर 'लाटो गाउँको गाँडो तन्नेरी' भै खाको थिए । जब ब्यावसायिक रुपमै फिन्निश बोल्नु पर्ने स्थिति आयो त्यो बेला मैले सोचे " बरु चाइनिज भाषा सजिलो हुन्थ्यो होला ? हावासुरमा 'छ्यन्ङ छुङ्ग छ्या छुम' गर्‍यो भने कम्तीमा दुई वटा शब्द त मिल्थ्यो गाँठे । "

मेरो सुपर भाइजर, परिचय नदिउ, आकार भने पुग्छ । उनको अनुहार र जिउडाल हेर्ना साथ तपाईलाई नी लाग्न सक्छ " यिनी चै मिठो मसिनो नभनी खान्छिन है खान्छिन " । सियोले छ्यास्स छोयोकी ड्याममै पड्केला जस्तो जिउ, दुई चुल्ठा बाटेकी, झ्वाट्ट हेर्दा फिनल्याण्डको ब्रम्हाले भाप्पुको दिन सिर्जना गरे जस्तै थिईन । तर जे होस् उनी बोल्दाखेरी हास्थिन । हाँसेको देख्दा फिन्निश होईन की जस्तो लागेको थियो तर नेम प्लेटमा थरको अन्तिम् दुई शब्द 'नेन' देखेपछी फिन्निश नै हुन भन्ने विश्वाश भयो ।

मेरो काम स्टक्म्यानको खानेकुरा किन्ने ठाउँमा भएकोले त्यहा काम गर्ने सबैसँग परिचय गराउदै हिडिन । सुरुमा भेटियो-मार्को । हजार हात्तीको बल भएको महाभारतको भिम हेरे हेर्न नपर्ने । नामै मार्को , मारिहाल्छ की जस्तो । हात मिलाउदै भन्यो 'मोरो, मार्को' । हुन त फिनल्याण्डको अभिवादन हो 'मोरो' तर मलाई चै राजेश हमालको शैलीमा " मार्को हुँ , तँ आजै मरिस' भने झै लाग्यो । मुख हेर्दा पनि ' लिफ्टमा एक्लै भेटौन, तँलाई दुई मिलेट कुट्छु ' भन्ने जस्तो थियो । मार्को बियर डिपार्ट्मेन्टमा काम गर्दो रहेछ । सँयोग हो की स्टक्म्यानको रणनिती हो बुझ्न सकिएन, मान्छे अनुसारको डिपार्ट्मेन्ट रहेछ ।

परिचयको क्रम बढ्दै गयो तर कोहि हाँस्दैनन बा । हामी त नयाँ मान्छे भेट्दा कम्तिमा मुस्कुराउछौ नी । यी त सिधै जुध्न लाग्या जस्तो गर्छन् । खानेकुरा किन्ने ठाउँको क्यासियरहरु सबै साँडे जस्ता युवतीहरु थिए । उनीहरुको जिउडालले नै 'सक्दो खाउँ, ड्याम्म ज्यान बनाउन' भन्ने सन्देश दिने खालका । कस्मेटिक्स डिपार्ट्मेन्टका युवतीहरु सबै परी परी जस्ता थिए । सलक्क पारेको जिउ, गोरा गोरा, मेक अप गरेर चिटिक्क परेका । मेक अपको सामान किन्न आउँदा केटीहरु 'आज मेक अप घँस्छु, अनी यै क्यासियर जस्तो बन्छु' भनेर डढिदा हुन । बच्चाको खेलौना र कपडा डिपार्ट्मेन्टका क्यासियरहरु बुढी बुढी आइमाईहरु थिए । शायद कैयौ बच्चा पाएको अनुभवको प्रभाव ग्राहकमा परोस भनेर होला । सबै कुरा नियाल्दै र परिचय गर्दै गए । सबै डिपार्ट्मेन्टको बिशेषता अनुसारका कामदार थिए । तर दुधको डिपार्ट्मेन्टमा काम गर्ने युवतीको बिषय अलि फरक लाग्यो । कालो ज्याकेट र कालो पाइन्ट लगाएकी । दुधको डिपार्ट्मेन्टमा काम गरेपछी उनमा नी यसो हुनु नी । टाढाबाट हेर्दा लागोस न ' यिनी डुध कै डिपार्ट्मेन्ट की हुन भनेर ।' छैन । अह पटक्क छैन । पुरै एअरपोर्ट बनाइएको छ । बिचरी त्यहि भएर सधैं उदास उदास देखिन्थिन ।

त्यसो त फिनल्याण्ड महिलाले चलाएको देश भन्छन् । जहाँ पनि महिला छ्याप छ्याप्ती । एउती युवती यता र उता कुदिरहेकी हुन्थिन । उनी कुन डिपार्ट्मेन्टको हो पत्तो पाउन सकेको थिईन । उनको नितम्ब उल्लेखनिय थियो ।

त्यहि दिन देखि मेरो काम सुरु भयो । मान्छेहरु यता र उता कुदेको देखिन्थे तर के गरिरहेका छन् मलाई अत्तोपत्तो थिएन । मलाई सुपरभाइजरले एउटा बाक्सै बाक्साले भरिएको प्यालेट देखाएर फिन्निशमा भटट भनिन ' यहाँबाट बिस्कुट र चक्लेटको बाक्सा निकालेर छुट्टाछुट्टै ट्रलीमा हाल्नु ।' हे नारायण । फिन्निश त जसो तसो बुझे तर त्यो बाक्सामा बिस्कुट छ की चकलेट मैले कसरी बुझौ ? त्यो सोधौ भने, फिन्निशमा सोध्न नआउने । लौ ठिकै छ भन्दै बाक्सामा पढ्दै पढ्दै मिलाईयो । त्यो सकिना साथै फेरि आएर भनिन ' केराको डेलिभरी आएको छ । त्यहाँबाट झिकेर ट्रलीमा हाल ' मैले सोचे केराको काँगियो कत्रो न होला र ? जब देखे , मेरो सत्तो गयो । एउटा बाक्सामा बिस वटा काँगियो । त्यसलाई बोकेर ट्रलीमा हाल्नु पर्ने । एउटा बोक्ना साथ तारा झलमल देखिसकेको थिए । त्यहाँ ३९ वटा अझै मलाई हेर्दै थिए । स्पेनबाट आएको रहेछ केरा - चिकिता बनाना । चिकिता बनानाले एक्छिन त फनन घुमायो ।

त्यो बेला मैले सम्झे फाइनान्सको कक्षामा सरले भन्थे 'यो अहिले मात्र गाह्रो लागेको हो । वर्किङ लाइफमा गएपछी सजिलो हुन्छ ।' हैन रहेछ । बरुमा कक्षा मै तगडा थिए । यो केरा बोक्नु जति गाह्रो कहाँ थियो र फाइनान्सको हिसाब ।
एक छिन् बिरक्त लाग्यो । त्यत्रो इन्टरन्यासनल इन्टरन्यासनल बिजनेस , न्यासनल पनि हैन । इन्टरन्यासनल बिजनेस पढेको मान्छेको काम यहि केरा बोक्ने हो त ?

सोच्दै काम गर्दै समय बितेछ । लन्च ब्रेक भयो । लन्चको नीम्ति लाइन लाग्दा क्याफेको युवतीले मुस्काएर यस्तो ब्यवहार गरिन की लाग्छ 'आजै संगै मर्ने संगै बाँच्ने कसम खानेछिन' । तर अँह, खाना लिएर गएपछी को हो को हो । मतलब छैन । चिने नचिने झै । खाना खाँदै गर्दा एउटा केटा मलाई हेर्दै मुस्काएर म बसेको टेबलमा बस्यो । र फिन्निशमा सोध्यो ' नयाँ हो ?' त्यसलाई देखेर मेरो मनमा तीन वटा बिचार आए । या त यो समलिङी हो । या त जाँड खाएर आएको छ । या यो फिन्निश नै हैन । परिचय भयो । एस्पर रहेछ नाम । मैले सोचे जस्तो तीन वटै होईन रहेछ । छोरो क्रान्तिकारी फिन्निश रहेछ । जाँड रक्सी नखाने एक्दम कम फिन्निश मध्ये एक । फिन्निशहरु मरिहत्ते गर्ने समर कट्टेजको कट्टर बिरोधी । उ भन्थ्यो ' दिक्दार लाग्ने जंगलको बीचमा गएर फिन्निशहरु कसरी बस्न सक्छन मलाई थाहा छैन । तर मलाई समर कट्टेज मन पर्दैन ।' अरु त अरु, उ मज्जाले हाँस्थ्यो र खुलेर बोल्थ्यो । प्रेमिका पनि रहेछ । जे होस स्टक्म्यानमा संगै बसेर खाने साथी भेटियो भन्नेमा म बिश्वसत भए ।

दिनहरु बित्दै गए । म बिहान काममा जाँदा मोबाइलमा बीबीसी पढ्दै जान्थे । इराकमा जैबिक हतियार भएको निहुँमा छिरेको अमेरिकी सेना अब ईरानमा आणबिक हतियार भएको निहुँमा छिर्न खोज्दै थियो । गद्दाफी रक्ताम्मे भएर मारिएका थिए । आर्थिक संकटले ग्रीस टाट पल्टिने स्थितिमा थियो । फ्रान्सका राष्ट्रपती निकोलस साराकोजी, जर्मन चान्स्लर एन्जेला मर्केल र बेलायती प्रधानमन्त्री गोर्डन ब्राउन डुब्दै गरेका रहेका स्पेन, इटाली, पोर्चुगल र आयरल्याण्डलाई बचाउन खै के के जाति फण्ड बनाउन डौडधुपमा थिए । युरो नामको पैसा नै बेकार हुन लागेको चर्चाहरु चल्दै थिए । युरो बचाउन चीनसँग सहयोग माग्न लागेको पनि पढ्न पाइयो ।

मैले सोचेको जस्तो केरा बोक्ने काम हैन रहेछ । हरेक हप्ता नयाँ नयाँ काम सिक्न थाले । कुनै दिन क्यासिएर बनेर पैसा कटाउथे । कुनै दिन आएका समानको तथ्याङ्क संकलन गर्थे । कुनै दिन सामानको मुल्य सुची बनाउने र हेरफेर गर्थे । बिस्तारै काम सजिलो लाग्न थाल्यो । प्याकिङ मेसिन, डेलिभरी मेसिन, र कम्प्युटरका बिभिन्न प्रोग्रामहरु सिक्दै गए । जतिखेर नी रिसालु देखिने कामदारहरु आफूलाई मद्घत गर्न आइज भनेर बोलाउन थाले । टुटेफुटे फिन्निश भाषा बोलेरै पनि ग्राहकसँग डिल गर्न थाले । भलै मेरो फिन्निशमा ब्याकरणिय त्रुटी होला तर मन्द मुस्काउन र चनाखोपन त बिशेषता कै रुपमा थियो । कामदारहरुसँग कुरा गर्दै जाँदा उनीहरु मैले अङ्रेजी राम्रो सँग बोल्छु फिन्निशमा कमजोर छु भन्दा दंग पर्थे । अझ विश्वबिद्यालयमा इन्टरन्यासनल बिजनेस पढ्दै छु भन्दा झन अचम्ममा पर्थे । बिचराहरु अधिकांस भोकेसनल कलेज अथवा स्कुल सकेर काम गर्न थालेका हुँदा रहेछन् । मेरो स्तर उनीहरु भन्दा माथि नै थियो । तैपनि के गर्नु फिन्निश बोल्न नआएपछी काम पाइदैन , पैसा पाइदैन ।

लजिस्टिक्सको काम गर्दा कहिले काही कपडा पसलमा कपडा लगाएर सजाएर राखिने पुतला पुतली ओसार पसार गर्नुपर्थ्यो । ती पुतला पुतलीहरु पसलमा हुँदा मात्र कपडा लगाएका हुन्छन् । भण्डारमा हुँदा त बिना बस्त्र अस्त ब्यस्त बनाएर राखिएका हुन्छन् । कोहि एउटा माथी अर्को लडिरहेका हुन्थे । कुनैको हातै हुदैन । कुनैको खुट्टै हुदैन । एक पटक त्यहि भण्डारको युवतीलाई पुतला पुतली सार्न सहयोग गर्दै थिए । आफू फेरि धेरै सोच्ने मान्छे । जब पुतला सारिन्थ्यो खासै मतलब हुदैन थियो तर जब पुतली सार्ने बेला आउथ्यो कता कता अप्ठ्यारो लाग्थ्यो । दुरुस्तै, राम्री युवती देखिने नग्न पुतलीलाई कहाँ समातेर उचालौ ? फेरि पुतलीको अर्को पट्टी वास्तबिक युवतीले समातेकी छिन् । हात जस्तो कमजोर ठाउँमा समातौ, भाँचिएला भन्ने डर । तल पैतला अथवा पिडुँलामा समातौ , आफू हिंड्न नमिल्ने । बाँकी रहेको भागमा समातौ , खै आफू नेपाली भएर हो की के हो ? कस्तो कस्तो लाग्ने । ती युवतीले के सोच्लिन 'कस्तो बोका रहेछ । पुतली समेत नछोड्ने' भन्ने हुन की ? मनमा अनेक कुरा खेलाउदै बल्ल बल्ल त्यो काम सकियो ।


एकदिन मेरो काम पर्‍यो मिती सकिएका सामानहरुको तथ्याङ्क सङ्कलन गर्ने र सामानलाई बिसर्जन गर्ने । मैले सुनेको मात्र थिए स्टकम्यानमा यस्तो हुन्छ भनेर तर आफैले गर्दा बुझे स्टकम्यान किन त्यति बिधी महँगो भनेर । इटालीमा बनेको ओलिभको तेल त्यहि महिना मिती सकिदै थियो । आकर्षक सिसीमा, स्ट्यान्डर्ड वीरको भएको । करिब ८ युरो पर्ने त्यो तेल फाल्नु पर्ने । आफू परियो अती सस्तो लिडलमा पाइने प्लस्टिकको बोत्तलको लिटरको २ युरो वाला तेल फारु गरेर चलाउने मान्छे । त्यहि महिना मिती सकिने कफी, चक्लेट, बिस्कुट, पाउडर दुध, जुस, डब्बीको माछा । सबै फाल्नुपर्ने । कस्तो चलन हो ? किलोको १४ युरो पर्ने पोर्कको मासु आज मिती सकिने भए पनि बेलुका सम्म त समय छ नी यार । किन फाल्नु ? मेरो भने लिडलको डेढ युरो पर्ने कुखुराको मासु सेतोबाट पहेलो नभए सम्म भुटी भुटी खाने दाँत अझै झरेका छैनन । ६९ सेन्ट पर्ने खैयो पाउरोटीमा परेको ढुसी खुर्केर कति खाइयो खाइयो । पकाएर राखेको तरकारीमाथी भुसुनाले कैयौ हवाई फायर गरे, खै अझै पेट बलियै छ ।

सामान फाल्दै गर्दा आमालाई सम्झिए । भ्यान्टाको तरकारी पकाएको दिन आधा भात छोड्थे । आमा भन्थिन ' बाबु अन्न खेरा फाल्नु हुन्न । अन्नले सराप्छ । ' मन मनै सोचे आमा आज मेरो काम नै यहि अन्न फाल्ने हो । बरु फालेन भने अन्न दाताले सराप्छन । फाल्ने क्रम सुरु भयो अमेरिकन ड्रेस्सरबाट । बर्गर, हट डग जस्ता खानामा हालेर खाने सेतो लेदो । लामो बोत्तलमा भरिएको ड्रेसर खोल्दै थिए; त्यहि आकर्षक नितम्ब भएकी युवती भित्र छिरिन । त्यो युवती कुन डिपर्ट्मेन्टमा काम गर्छे अझै निश्चित थिईन । उनी मेरो अगाडीको टेबलमा घोप्टो परेर खै के गर्न थालिन । आफ्नो कपडाको जतन गरेर लाउनुपर्छ भनेर थाहा नभएको हो की जानी जानी देखाएको हो मैले बुझ्न सकिन । नितम्ब म तिर ठ्ड्याएर आफ्नै धुनमा थिईन । उनको नितम्ब देख्दा त ट्वाइलेट डिपार्ट्मेन्टमा काम गर्छे की जस्तो लाग्यो । 'छि: छि । के के सोच्छु म पनि ।' आफ्नो मनलाई सम्झाउदै अमेरिकन ड्रेस्सर फाल्नमा ध्यान दिए । ड्रेस्सरको बोत्तल खोल्न गाह्रो हुदो रहेछ । तर खोलिसकेपछी तल्लो भागमा थिचेर घोप्ट्याए पछि बिस्तारै आफै लततत बाहिर निस्कियो । र अन्तिममा बोत्तल भित्र टाँसिएका ड्रेस्सर निकाल्न झट्कार्नुपर्ने । उनी नितम्ब ठ्ड्याइरहेकी थिईन । दोश्रो बोत्तल पनि त्यस्तै भयो । सुरुमा बिर्को खोल्न गाह्रो । खोलिसकेपछी सजिलै निस्किने । र अन्तिममा बोत्तल भित्र टाँसिएका ड्रेस्सर निकाल्न झट्कार्नुपर्ने । चार वटा बोत्तल रित्तिसकेका थिए । एक किसिमले वाक्क लागिसकेको थियो । खोल, निचार, झट्कार अनी झार । चौथो बोत्तल सकिपछी बल्ल उनले आफ्नो नितम्ब सोझो पारिन र बाहिर निस्किन ।

दिनमा सैयौ युरोको सामान फालिदो रहेछ । त्यत्रो महँगो सामान बेकारमा फाल्नु परे पनि स्टकम्यान नाफा मै चलिरहेको छ । सम्भवत: धेरै सामान खेर जानेछन भनेर त्यसको खर्च उठाउन अन्य सामानमा चर्को मुल्य राखिएको हुदो रहेछ । त्यो दिनको काम सकेर बसमा घर फर्किदै थिए । तापक्रम शुन्यबाट तल झरिसकेको थियो । साँझको चार बजे नै अन्धकार भैसकेको थियो । मोबाइलमा फेसबुक खोले । एउटा नेपालका मित्रले खान नपाएर कर्णाली भेगकी एउटी महिलाले आफ्ना दुई बच्चाहरुको हत्या गरेर आत्महत्या गरेको समाचार सेयर गरेको रहेछ । सोच्दै कहाली लाग्दो घटना पनि हुँदो रहेछ हाम्रो देशमा । म आज दिनभरी त्यहि खानेकुरा फाल्ने काम गरेको थिएँ । मैले फालेको त्यत्रो खानेकुरा मध्येको सानो अंश मात्र उनको मुखमा परेको भए शायद उनका बच्चालाई मार्नु पर्दैन थियो होला । आफू आत्महत्या गर्नु पर्दैन थियो होला । यस्तै कुरा सोच्दै सोच्दै बीबीसी खोले । ग्रीस डुब्ने खतरा तत्काललाई कम भएछ । तर विश्व अर्थतन्त्रमा नराम्रो संकट आउने खतरा रहेछ । बस गुडिरह्यो, म सोचिरहे- एकातिर भोकमारी लागिरहेको छ । अर्को तिर सैयौ युरोको सामान खेर गैइरहेको छ । यस्तै सैयौ युरोको समान फाल्ने देशको अर्थतन्त्र जोगाउन फेरि त्यहि भोकमारी भएको देशमा आक्रमण गरिन्छ र स्रोत साधन लुटिन्छ । खै कतिन्जेल चल्छ र यसरी ? विश्वमा नमिठो आर्थिक संकट पर्‍यो भने यो स्टक्म्यान चलिरहला त?

Tuesday, 1 November 2011

एप्लिकेसन

दुई मित्रहरु एमएसएन च्याटमा
प्रल्हाद : के छ साथि अमेरिकाको हालखबर ? के पढ्दै छौ ?
कैलाश : दामी छ यार अमेरिका । एकदम बिकसित । खुब रमाइलो लागिरहेको छ । म चै अहिले नानो साइन्स पढ्दै छु ।

दुई बर्षपछी:
प्रल्हाद: ओ हो साथी कहाँ हो ? पढाइ सकिने बेला भएन ? कहिले फर्किने हो र ?
खै यार पढाइ सकिएको छैन । आउने भनेको त हो तर बल्ल बल्ल आइयो यसो केही त गर्नु पर्‍यो नी ।

चार बर्षपछी :
ओहो साथी के छ ? पढाई सकियो ? कहिले फर्किने हो ?
पढाई सकिएको छैन यार । बहुत गाह्रो छ यहाँको पढाई ।

पाँच बर्षपछि :
ओ हो साथी के छ हालखबर ? अब त फर्किने हैन ? पढाई कहाँ पुग्यो ?
खै के भनम पढाई छोडे यार । पढे कलेजलाई पैसा तिर्दै ठीक्क । घरमा पैसा पठाउन नपुग्ने, त्यहि भएर अहिले पढाईलाई रोकेको छु ।

छ बर्षपछि :
ओह ब्रो, पढाई थाल्यौ त ? नेपाल कहिले फर्किने हो ? की नफर्किने हो तिमी ?
एक पटक आउन मन थियो यार तर अहिले पढाई नभएर भिसा छैन । त्यहि भएर एउटी खैरेनीसँग पेपर म्यारिज गरेको छु । मिल्नासाथ आउछु यार , खुब मिस गरेको छु ।

सात बर्ष पछि:
सोल्टी प्रोसेस के हुँदै छ ? पैसा त खुब कमाउदै छौ की क्या हो ?
एह यार, राम्रो हुँदै छ । के पैसा कमाउनु, जति कमाए नी राक्षसनी लाई दिदै ठीक्क हुन्छ ।

आठ बर्षपछि :
हेल्लो ब्रो, अब त आउने होला नी ? की अझै मिलेको छैन ?
मिलेन यार त्यो राक्षसनीले दिन दिनै पैसा मागेर हैरान गरी त्यहि भएर प्रोसेस नै रोकियो । त्यहि भएर अहिले मैले रिफ्युजीमा हालेको छु । मिल्नासाथ आउछु यार । आइ मिस नेपाल सो मच ।

नौ बर्षपछी :
ओह सर, के छ हालखबर ? फर्किने होईन ? कुरो मिल्यो त ?
अ यार बल्ल बल्ल टेम्प्रोअरी दिएको छ । हल्का काम धाम गर्न मिल्छ तर ग्रीन कार्ड मिलेको छैन । अझै एक बर्ष लाग्छ जस्तो छ । ग्रीन कार्ड पाएसी आउछु यार ।

दश बर्षपछि:
सोल्टी ग्रीन कार्ड मिल्यो हैन ? कहिले आउछौ ? की उतै बस्ने हो ?
खै आउने त भनेको तर नेपालको स्थिति त्यहि हो । बन्द हड्ताल, माओवादी लुट्पाट । के गर्नु ?

एघार बर्षपछी:
साथी अब त वार्ता भैसक्यो । शान्ति आइसक्यो । आउने हैन ?
खै शान्ति भएर के गर्नु ? काम धाम छैन । तत्काललाई फर्किने स्थिति छैन । बरु यहाँको सिटिजेन हात पार्न पाए केही हुन्थ्यो भनेको ।

१२ बर्षपछी :
साथी संबिधान सभामा भोट हाल्न आउने हैन ? साथी मैले कहाँ भोट हाल्न मिल्नु ?
नेपालको नागरिकता त्यागिसके । यहिको सिटिजेन हुन्छु की जस्तो छ ।

पन्ध्र बर्षपछी :
ओह अमेरिकन सर के छ ? सिटिजेन पायौ हैन ? अब कहिले फर्किन्छौ की उतै मर्ने हो ?
अ पाए यार बल्ल बल्ल । अब ढुक्क भयो । फर्किने त भनेको तर आएर त्यहा के काम गर्नु र ?
तिमी के गर्छौ ?
म त बाख्रा पालन गर्छु
हो र ? हा हा । पैसा हुन्छ ?
हुन्छ यार सुरु सुरुमा गाह्रो भयो । अहिले त महिनाको ७० - ८० हजार बच्छ । आफैले त काम गरेर भ्याइन्न काम गर्ने आइमाई छन चार जना ।
अनी तिमी के गर्छौ नी ? म क्यासियर हो इन्डिएनको पसलमा ।
अनी कति हुन्छ त कमाई ? खाएर बसेर महिनाको लाख बच्छ ।
अब के सधैं त्यहि इन्डियनको पसलमा काम गर्छौ ? आफ्नो केही गर्दैनौ ?
खै आफैले केही गर्न सानो तिनो पुँजीले पुग्दैन ।
म त १० वटा जर्सी गाई हाल्ने सोच्दै छु । अचेल खुब फाईदा छ ।

त्यसको एक महिनापछि :
हेल्लो ब्रो, के गर्दै छौ ? एउटा खुशीको कुरा सुन्ने हो ? मेरो बारेमा कान्तिपुरमा छापिएको छ । जे होस पढेर केही गर्न नसकेपनी आज कान्तिपुरमा आफ्नो नाम देख्दा सफल भैछु की जस्तो लागेको छ । बाख्रा पालन गरेर लाखौं कमाई भनेर छापेको छ ।
राम्रो हो यार । बधाई छ । यस्तै गरेर नाम चलाउदै गर यार । बरु मलाई पनि यस्तै काममा लगानी गर्न मन थियो यार जहाँ दाम होस् नाम होस् । यहाँ त थोरै तिनै पुँजीले पुग्दैन । जति नै सफल भए पनि कहाँ हराइन्छ-हराइन्छ । बरु सुन न , सरकारले दोहोरो नागरिकताको ब्यवस्था गर्न लागेको छ रे हो ?

Monday, 8 August 2011

www.smnepal.com

जसले जे भनोस नेपाली चलचित्रको पनि क्रमश: बिकास भईरहेको छ । बिहान बेलुका चिया खान भेट हुने दौतरी देखि चौबिसै घन्टा गितार लिएर सडकको किनारमा भेट हुने सोल्टी र जिग्री हजुर पनि नेपाली सिनेमाको बारेमा कुरा नगरेका होइनन । अपेक्षा गरे झै नौलो धार र मौलिकता बोकेको सिनेमा नबनेर मात्र बेला बेलामा रन्को छुटेको हो ।

तर सबै जना यसरी सडक किनारमा तातिएर मात्र त भएन, केही त गर्न पर्‍यो । केही संगीतमा पोख्त हुनुपर्यो , केही निर्देशनमा, केही अभिनयमा त केही सम्पादनमा । यसरी आ आफ्नो क्षेत्रमा सक्दो योगदान गर्ने हो भने नेपाली सिनेमा क्षेत्र पनि क्रमश: नेपाली क्रिकेट र फुट्बल जस्तै अगाडि जानेछ ।

यसैक्रममा मैले पनि यू ट्युबमा भेटिएका साना नेपाली चलचित्रलाई समेटेर एउटा वेब साइटको निर्माण गरेको छु । नाम् छ www.smnepal.com । छरिएर रहेका साना नेपाली चलचित्रलाई एकत्रित गर्ने, साथै आफ्नो तर्फबाट पनि केही भिडियो निर्माण गर्ने मेरो लक्ष्य रहेको छ । धेरै गफ चुटियो नेपाली सिनेमाको कमी कमजोरी बारे , अब केही गर्दा कस्तो अनुभव हुदो रहेछ हेरौ है त ।

अनी तपाईं पनि यस्सो हेर्नुत लौ के कस्तो र'च यो वेब साइट - www.smnepal.com

Tuesday, 8 March 2011

माग्ने थरी थरीका


तपाईं हाम्रो घरमा माग्ने आउँदा एउटै डाइलग दोहोर्याउछौ " काम गरेर खान सक्दैनौ ?" तर त्यहि माग्नेको माग्ने काम पनि कति कठिन हुन्छ यो तस्बिरमा हेरेर बुझ्न सक्नुहुन्छ । नर्वे र फिनल्यान्ड जस्तो उच्च प्रतिब्यक्ती आय भएको देशमा माग्नेको हालत भने अती नै दयनिय हुन्छ । -३० डिग्री सेल्सियस सम्मको चिसोमा एक नासले हात तेर्स्याएर माग्नु सायद दिन भरी सेन्ट्रल हिडिङ सिस्टमको तातोमा बसेर काम गर्नु भन्दा ज्यादै गाह्रो हुन्छ । हामीलाई घर देखि बस सम्मको दुरी कसरी पार गरौ भन्ने लागिरहेको बेला उनीहरु घन्टौ मागेर बस्छन । बिचराहरुको कमाई पनि कति नै हुदो हो ? फिनल्यान्डमा माग्न कै नीम्ति भनेर रोमेनियाबाट माग्नेहरु आउने गर्छन । केही महिना अगाडी फिनल्यान्ड सरकार सडकमा माग्न प्रतिबन्ध लगाउने योजनामा थियो तर युरोपियन युनियनको एक घटक रोमेनियनलाई प्रतिबन्ध लगाउन सकेन । फलस्वरुप आफ्नो नागरिकलाई माग्नेलाई पैसा नदिनु मात्र भन्न सक्यो ।



दोश्रो तस्बिरमा एउटी युवती मागिरहेकी छिन । यिनी हुन सुकिलो मुकिलो माग्ने । फिनल्यान्डको राजधानीको सेन्टरमा मागिरहेकी थिईन । तपाईं सोच्दै हुनुहुन्छ होला यस्तो सुकिलो मुकिलोले किन माग्नु परेको । कुरा अर्कै छ । यिनको बिहे हुँदै रहेछ । नेपालमा जस्तो बाबु आमाले बिहे खर्च दिन्नन यहाँ । पार्टीको खर्च उठाउन लागि नाचेर माग्दै छिन् । यिनको पछाडि लेखिएको छ " सोरी पोयात म्योहास्त्यित्ते" अर्थात सरी केटाहरु तिमीहरुले ढिला गर्यौ । उनले अरु केटाहरुले पट्टाउन ढिला गरेकोले बिहे गरेर जादैछु भन्न खोजेकी हुन । यहाँको संस्क्रितीको एउटा पाटो बोल्छ यसले । अरुलाई असर नपारी तपाई जे पनि गर्न पाउनुहुन्छ । कल्पना गरौ नेपालमा सम्भाबित दुलहीले पाटी खर्च माग्न बाटोमा नाच्दै छिन । उनको बिहे होला त ?



तेस्रो तस्बिरको साथीको समस्या फेरि छुट्टै छ । यिनलाई अमेरिका पढ्न जानु छ । हाम्रो देशमा जस्तो छोरालाई अमेरिका पढ्न पठाउन बाबु आमाले जाय जेथा धितो राख्ने कष्ट गर्दैनन । फिनल्यान्ड बसिन्जेल त नि:शुल्क पढ्छन । त्यसमाथी बिद्यार्थी हो भनेर सरकारले उल्टै पैसा दिन्छ । अमेरिकामा त पढ्न पैसा लाग्छ । त्यसमाथी यात्रा खर्च त छदैछ । अनी गितार बजाएर नमागेर के गर्नु ? फिनल्यान्डमा बसिन्जेल चार बर्षको ब्याचेलर लेभल पास गर्न दश बर्ष लगाउने बानीले वाक्क भएर सरकारले झन्डै पढ्न पैसा लाग्ने ब्यवस्था ल्याएको थियो । पैसा तिर्नुपर्ने डरले चाँडो पढ्छन भन्ने सरकारी धारणा बिद्यार्थीको आन्दोलनले तुहाइदियो ।



चौथो तस्बिर त कहाँ देखे देखे जस्तो लाग्यो होला । यो काठमाडौंको जमलको आकाशे पुल हो । यिनी भुइमा बसेर मादल ठोकेर माग्ने खालको माग्ने थिए । मैले देख्दा भुइमा मादल थियो तर उठेर मोबाइलमा कुरा गर्दै थिए । (उठेकोको चै शायद टावर नटिपेर होला) त्यो मोबाइल आफ्नै हो की माग्नेले पनि मागेको त्यो चै पत्ता लगाउन सकिन । हेर्दा हेर्दै नगरपालिकाको प्रहरीले हकार्दै तल झार्यो । तर जे होस तीन बर्ष भित्र प्रत्येक नेपालीको हातमा मोबाइल हुने घोषणा त दुरसंचार प्राधिकरणले गरिसकेको छ । अबको तीन बर्षमा यस्तो द्रिश्य छ्यास छ्यासती देख्न पाईन्छ । माग्ने पनि के कम ?

Thursday, 10 February 2011

कोन्तुला की काम्पीमा ?

केशराशी झरना झै
शिर देखि पाउ सर्लक्क
मुस्कान मिठो देख्दा तिम्रो
बेहोश भएँ पर्लक्क
उज्याला तिम्रो मुहार लाग्छ
पुर्णिमाको चन्द्रमा
कहाँ भेट्छौ कान्छी तिमी
कोन्तुला की काम्प्पीमा ?

सुन्तला झै ओठ माझ
दन्तलहर टल्केको
फिनल्याण्डको चिसोमा पनि
जिउमा आगो सल्केको
एकै नजरमा मन बस्यो
चुमौ की तिम्रो निधारमा
कहाँ भेट्छौ कान्छी तिमी
कोन्तुला की काम्पीमा ?

बारुली झै कम्मर तिम्रो
झन्डै झन्डै छिनेको
मेट्रोको भिडमा पनि
एकै नजरमा चिनेको
सिटमा बसे चिसो हुन्छ
आउ बस काखैमा
कहाँ भेट्छौ कान्छी तिमी
कोन्तुला की काम्पीमा ?

आकर्षण किन हुन्छ ?

प्रेम । यो शब्द प्रेमपिण्ड रिलिज भएपछी सुरु भएको होईन । मानव सभ्यता सँगसंगै यसको पनि ईतिहास छ । प्रेमका नाममा कैयौ कथा, कबिता, सिनेमा, कला देखि हत्या र हिंसा समेत भएका छन । धेरैले परिभाषा दिने प्रयास गरेका छन प्रेमको तर सबैलाई चित्त बुझ्दो कुनै पनि छैन । धेरै फिल्ममा जोड्दार डाइलग मारिन्छ ' प्रेममा धनी गरीब, जात भात केही हुन्न ।' भनेर । खैर प्रेममा जातभात, धनी गरीब,र उमेरको महत्व हुन्न भने पनि प्रेमको पुर्व अवस्था अथवा आकर्षणको अवधीमा भने यी सबै कुराको निकै महत्व हुन्छ । बयस्क अवस्थामा महिला र पुरुष एक अर्कातिर आकर्षित हुनु स्वाभाबिक र प्राक्रितिक हो । किन हुन्छ त आकर्षण ?

मानव सभ्यताको सुरुवात ढुङे युगदेखि प्रारम्भ भएको भनेर थुप्रै लेखहरुमा पढ्न सकिन्छ । ढुङ्गे युगमा मानिस जनावरको शिकार गरेर आफ्नो जिबिकोपार्जन गर्दथे । समान बातावरण र अवस्थामा पनि पुरुषहरु महिला भन्दा बलियो, अग्लो, बढी कपाल उम्रने र यौन सम्बन्धको निमित्त चाँडो तयार हुनुमा उनीहरुमा अवस्थित बिभिन्न हर्मोनले ठुलो भूमिका खेलेको हुन्छ । यसलाई प्रकृति प्रदत्त क्षमता भन्न सकिन्छ त्यस्तै महिलाहरुमा हुने प्रजनन क्षमताले आजसम्म संसार चलिरहेको छ । संसारको निमित्त महिलाको प्रजनन क्षमता बरदान भएपनि महिला कै नीम्ति भने अहिले सम्म पनि कमजोरीको कारण बनेको छ । महिलाले सन्तान जन्माउनको निमित्त आफु निस्क्रिय बनेर बस्नुपर्ने हुन्छ । यो अवधी नौ महिनाको हुन्छ भने बच्चाको स्याहार सुसार नीम्ति अर्को पाँच बर्ष कुर्नुपर्ने हुन्छ । जुन अवस्थामा उनी शिकार गर्न र आफ्नो र बच्चाको नीम्ति आहारा जुटाउन असर्मथ हुन्छिन । त्यसकारण उनले कुनै एक बलशाली पुरुषको सहारा लिनुपर्ने हुन्थ्यो ताकी उसले शिकार गरेर उनको र बच्चाको पालनपोषण गरोस । यही क्रम ढुङ्गे युग भरी चलिरह्यो । तत्कालिन अवस्थामा शारिरिक क्षमता नै जीवनयपनको श्रोत भएको हुँदा त्यसबेला देखि नै महिलाहरु त्यस किसिमको पुरुषप्रति आकर्षित हुन्थे । फलस्वरुप: आधुनिक युगमा आइपुग्दा समेत महिलाहरु अग्लो, बलिष्ठ शरीर, चौडा छाती भएको पुरुष मन पराउछन किन भने उनीहरुको अवचेतन मनमा ढुङ्गे युगदेखीको प्रभाव परेको छ । टेस्टोस्टेरोन हर्मोनको मात्रा पुरुष भन्दा कम भएको कारण महिलाहरु पुरुष जति यौन कृयामा संलग्न हुदैनथे । बर्षमा एक पटक मात्र सन्तान जनाउन सक्ने क्षमताको कारण एक भन्दा बढी पुरुषसँग यौन सम्बन्ध राख्नुको आवश्यक्ता पनि परेन ।

पुरुष पनि महिलाबाट सन्तान जन्माउने अपेक्षा राखेर सम्बन्ध बनाउथ्यो । सन्तान जन्माउनैका निमित्त उसले महिलाको छनोट गरेको हुन्थ्यो । जति जनासँग यौन सम्बन्ध राख्यो उतिनै सन्तान जन्मिने भएकोले एक भन्दा बढी सँग यौन सम्बन्ध राख्नु पुरुषको नीम्ति स्वाभाबिक हुनपुग्यो । पुरुषको रोजाइ आधुनिक युगमा समेत सन्तान जन्माउनको निमित्त उपयुक्त शरीर भएकी महिला पर्छ । एक अध्ययन अनुसार, कम्मर-नितम्बको अनुपात ०.६७ देखि ०.८ सम्म भएको महिलालाई सबै भन्दा बढी पुरुषले मन पराएको पाइयो । सो अनुपातको शरीर हुने महिला बच्चा जन्माउनको निमित्त अती उपयुक्त हुन्छिन । आधुनिक युगमा समेत पुरुष, महिलाको शरीरमा बढी ध्यान दिने गर्छ ।

मानव सभ्यताको सुरुवात देखि नै महिला पुरुषको बलिष्ठता तिर आकर्षित हुन्थिन भने पुरुष महिलाको प्रजनन क्षमता तिर । यी दुबै आकर्षण सन्तान जन्माउनको निमित्त हो । तर आजको आधुनिक युगमा महिला र पुरुष एक अर्काप्रती आकर्षित गराउने तत्व परिवर्तन भएको देखिन्छ तर आधारभुत कुरा भने समान नै छन् । आजको युगमा महिला सलमान खानको जस्तो सुगठित शरीर, समाजमा राम्रो स्ट्याटस भएको, शिक्षित, र धनी पुरुष तिर आकर्षित हुन्छिन । पुरुषमा उल्लेखित सबै गुणहरु उनको र सन्तानको नीम्ति 'क्षमता र सम्भावना' हुन । आफ्नो र आफ्नो सन्तानको सुखको नीम्ति उनको रोजाइमा परिवर्तन भएको हो । आजको युगमा जङलमा बँदेल मात्र मार्ने सक्ने पुरुषले उनको सन्तान हुर्काउन नसक्ने भएकोले समय सापेक्ष चाहनामा परिवर्तन आएको हो । त्यस्तै पुरुष पनि महिलाको शरीरप्रती नै आकर्षित हुन्छन । यसको बुझाईमा आफ्नो जिउलाई कर्भी बनाउने, थ्रेडिङ, मेक अप, इत्यादीमा महिलाहरु ध्यान दिन्छन । समयको माग अनुसार सुन्दरतामा परिवर्तन आएको कारण पुरुषको सोचाइमा पनि परिवर्तन आएको हो । तर पुरुषको आधारभुत चहाना भने सन्तान
उत्पादन गर्न सक्ने महिला नै पर्छ । सो कुरा माथि उल्लिखित अध्ययनले देखाउछ ।

समलिङी बाहेक, महिलाको सुन्दरतामा पुरुष मात्र होईन महिला पनि आकर्षित हुन्छन् । ८-१२ हप्ता र ६-८ महिनाको उमेर समुहका बच्चाहरुलाई सुन्दर युवतीको फोटो देखाउदा धेरै बेर हेरेको पाइयो भने नराम्रो अनुहारको फोटोमा हेरिएन । त्यस्तै सुन्दर अनुहार र शरीर बनाएको खेलौनामा सोही उमेर समुहका बच्चाहरु धेरै बेर खेलिएको पाइयो । यसबाट के प्रमाणित हुन्छ भने महिलाको सुन्दरतामा बयस्क पुरुष- महिला मात्र होईन बच्चाहरु समेत आकर्षित हुन्छन् ।

महिला र पुरुषले एक अर्कालाई लगाउने आरोपहरु यी हुन :
"सबै केटाहरु एकै हुन, खाली केटीको जिउसँग खेल्न खोज्छन ।"
"पैसा भए केटीहरुलाई केही चाहिदैन, त्यति कै आइपुग्छन ।"

यी दुबै आरोप सहि पनि हुन र गलत पनि । 'आकर्षण 'को अवस्थामा पुरुष महिलाको शरीरसँग आकर्षित हुन्छ भने महिला पुरुषको क्षमतासँग । संसारमा कमै त्यस्ता पुरुष होलान् जसले धनी तर साँढेको जत्रो जिउ भएको केटी तिर आकर्षित होस । त्यस्ता युवती बिरलै होलान जसले आफ्नो कुम सम्म आइपुग्ने, सुकेनास र सडकमा बस्ने पुरुषलाई मन पराउन । पुरुष र महिलाको अवचेतन मनमा अवस्थित चाहना र समय सापेक्ष माग अनुसार एक अर्कातिर आकर्षित हुन्छन् । यस हिसाबमा माथिका आरोप हरु सहि हुन तर ती आरोपको लागु जीवनभर एकनास रुपमा लाग्दैनन । जस्तै कुनै पुरुषले आफ्नी श्रीमती र सन्तानको भबिष्य दाउमा राखेर यौन सम्बन्ध बनाउन खोज्दैन । पुरुषलाई आकर्षित गराउन जेसिका अल्बा अथवा बिपासा बसु जस्तो शरीर भए पुग्छ तर जीवन बिताउने सवालमा पुरुष सेक्सी देखिने महिलातिर नभै घर चलाउने क्षमता भएको महिलातिर आकर्षित हुन्छ । सरल रुपमा घरजम गर्न सुन्दर देखिने, सरल स्वभाव र हसिली युवती पुरुषको रोजाइ हुन्छ ।

भलै महिलाहरु बलिष्ठ शरीर, चौडा छाती, अग्लो, धनी र शिक्षित पुरुषतिर आकर्षित हुन्छन तर त्यस्ता पुरुषतिर प्रेम सम्बन्ध भने राखिहाल्दैनन । प्रेम सम्बन्ध बनाउनको निमित्त महिलाको चाहना जटिल हुनेगर्छ । महिलाले प्रेमीको रुपमा रोज्न उसमा उल्लेखित गुणका अलावा -
प्रेम (महिलाको भाषामा गिफ्ट किनिदिने, हालखबर सोध्ने, हेरचाह गर्ने, सुरक्षा दिने)
बिस्वासिलो (अन्त आँखा नडुलाउने)
दयालु (उसको क्षमता माथि महिलाको पहुँच हुने)
संकल्प (पुरुषको तर्फबाट आफ्नो ‘क्षमता’ महिलालाई प्रदान गर्ने ग्यारेन्टी )
शिक्षित र चेतनशिल ( पुरुष ‘क्षमता’को समय सापेक्ष माग)
उपरोक्त गुण सम्पन्न पुरुषलाई एउटी महिलाले आफ्नो रोजाइमा राखेकी हुन्छिन ।

तसर्थ, ढुङ्गे युग देखि पुरुष र महिला एक अर्कातिर आकर्षित हुनुमा कारण फरक भए पनि उद्देश्य भने सन्तान उत्पादन, पालन र पोषण नै हो । उनीहरुको अवचेतन मनमा लुप्त चाहना र समय सापेक्ष मागको जटिलताको कारण एक अर्कालाई बुझ्न कठिन हुन्छ ।

यो लेख Allan & Barbara Pease द्वारा लिखित Why men want sex and women need love पुस्तकमा आधारित हो ।
फोटो : www.toonpool.com