मेरो नाम सिता (नाम परिवर्तन) हो । धेरै जना भाई बहिनी; कमाउने बुवा मात्र । बुवा पनि बिरामी भएर थला परेपछि कमाउने कोहि भएन । राम्रो काम खोजेको कतै पाइएन । अनि यस्तो पेशा थालेको ।
यस्ता किसिमका परिवर्तित नाम तर समान ब्यथा बोकेका समाचार आज सम्म कैयौ पटक पढिसक्यौ । प्राय जसो सस्ता गेष्ट हाउस र लजमा प्रहरीद्वारा छापा मारेको भोलिपल्ट देखि सुरु हुन्छन् यस्ता समाचारका लर्को । प्रहरीले समात्छन, अनि पत्रिकाले आपत्तिजनक, नग्न अवस्था, देहब्यापार, बेश्याब्रिती जस्ता आकर्षक शिर्षक दिएर छाप्छन । केही समयपछी छुट्छन । समाचार सेलाउछ । फेरि अर्को गेष्ट हाउसमा छापा मारिन्छ । फेरि आपत्तिजनक, रङेहात, नग्नअवस्था, देहब्यापार, बेश्याब्रिती दोहोरिन्छन । तर ती युवतीहरू जसको घरमा एक बुजो गाँस, एकसरो कपास नभएर यो पेशामा लागेकी हुन्छिन तिनलाई पत्रिकाको अर्को प्रति आएलगतै बिर्सिन्छौ ।
बिरामी बाउ उपचार गर्न, भाई बहिनि पढाउन , ॠणले डुबेको घर उकास्न उनले आफ्नो शरीर अरुलाई सुम्पिन वाध्य भएको ब्यथा सभ्य समाजका कमै सदस्यले सुन्छन किनभने उनी तथाकथित बेश्या हुन ।
बेलाबखतमा देहब्यापारलाई निश्चित क्षेत्र छुट्याएर कानुनी मान्यता दिनुपर्छ भन्ने मलिनो आवाज सुनिन्छ तर सुनुवाई भएको छैन । नेपाल एक अत्यन्त गरिब देश हो, यो मैले भनेको हैन अधिकांस बिदेशी आयोग, नियोग, संघसङठनका तथ्यांकले भनेको । एक तिहाइ जनता निरपेक्ष गरिबीको रेखामुनी बाँच्न वाध्य छन् । बेरोजगारीको बिकराल समस्या बुझ्न दैनिक श्रम स्वीकृति लिने २ हजार युवायुवतीको लाइन हेरे पुग्छ । बिदेशी दान दक्षिणामा चलेको अब्यवहारिक शिक्षा नितीले न देश मै रोजगारप्राप्त गर्न सम्भव छ न त स्वरोजगारको नीम्ति सबैसँग यथेष्ट पुँजी छ । यस्तो हबिगतमा एक गरीब युवतीको नीम्ति दुई वटा बिकल्प हुने नै भए । या त बिदेशी दलाल साथ लागेर खाडी मुलुक पस या स्वदेश मै देह ब्यापारमा लाग ।
अशिक्षित र सीपबिहिन महिलाले खाडी मुलुकमा पाउने काम भनेकै घरेलु काम हो । स्वदेशमा देहब्यापारमा नलागी खाडी मुलुकमा घरेलु कामदारको रुपमा गएका महिलाले भोगेको यौन शोषण र हिंसाको चर्को रुप; पीडा सहदा सहदै मानसिक सन्तुलन गुमाएर फर्किएका महिलालाई हेरेर थाहा पाईन्छ । लैंगिक समानता र सशक्तीकरणका लागि राष्ट्रसंघीय निकाय युएन वुमनले गत वर्ष गरेको एक अध्ययन अनुसार, अहिले १११ नेपाली महिला कुबेत, साउदी अरब, यमन र लेबनानका कारागारमा छन्। ८२ जनाले उतै आत्महत्या गरेका छन् भने ३१ बेपत्ता छन्। उद्धार गरेर नेपाल फर्काइएका २८२० मध्ये ४१५ मानसिक सन्तुलन गुमाएका, ८६ अनिच्छित गर्भ बोकेका र ३२ बालबच्चासहित आएका छन्। यस्तो असुरक्षित अवस्था देख्दा देख्दै पनि अझै कतिपय महिलाहरू बिदेशिने क्रम रोकिएको छैन । स्वदेश मै रोजगारी मिल्दो हो त किन जान्थे पीडित हुन ?
खाडी मुलुकका डरलाग्दो वातावरण देखेर स्वदेश मै केही गरौ – काम छैन । हातमा सीप छैन । पुँजी छैन । तर पेटले धेरै दिन कुर्न सक्दैन । वाध्य भएर देहब्यापारमा लागेर बिरामी बुवा, भोका भाई बहिनीको उद्दार गर्न खोज्दा प्रहरी बीचमा आइपुग्छ । र सभ्य समाज सामु सिधै ‘बेश्या’ बाट सम्बोधित हुनपुगिन्छ ।
पेट पाल्न यो पनि नगर्ने हो भने उनीसँग के बिकल्प रह्यो ? आत्महत्या ? त्यसो त गरिबीको कारण आत्महत्या गरेका घटना पनि नभएका होइनन । एक गरीब नेपाली नागरिकलाई गरिबी कै कारण आत्महत्या गर्न वाध्य पार्नुराम्रो हो ?
विकिपेडियामा खोजी हेर्दा नेपालमा देहब्यापार कानुनी पनि हैन गैरकानुनी पनि हैन भनेर लेखेको छ । यसको अर्थ प्रहरीसँग टाकटुक कुरा मिलाउन सके कानुनी नत्र गैरकानुनी हुन्छ भन्ने खोजेको हो की ? नभए तारे होटेलहरूमा छापा मारेर आपत्तिजनक अवस्थामा पक्राउ परेको समाचार त कहिले आउदैन । महिनाको २९ दिन चुपचाप । एकदिन एकाध बाग्बजार, सुन्धारा, बालाजुका सस्ता गेष्टहाउसमा छापा मारेको सुनिन्छ । कारण के हो ? तारे होटेलमा आपत्तिजनक क्रियाकलाप हुनैसक्दैन भन्ने पूर्वअनुमान हो की सस्तालाई ठटाएर महँगो तारेबाट ‘सुरक्षा अथवा हप्ता’ को नाममा मोटो रकम असुल्न? बिचरा त्यहाँ पनि गरीबलाई नै सास्ती ।
केही इन्जिनियर, पत्रकार, वकिल, अध्यापक, बिद्यार्थी र ब्यवसायी मित्रसँग अनौपचारिक कुराकानी गरे । निश्चित क्षेत्र छुट्याएर कानुनी मान्यता दिए हुने तर नेपाली समाजले देहब्यापार पचाउन नसक्ने कुरा गरे उनीहरू । हाम्रो समाज बुझ्नै नसकिने किसिमको छ । बालिग युवायुवती भावनाको कारण, आकर्षणको कारण अथवा शारीरिक आवश्यकताको कारण बिवाह नै नगरी संगै बस्न ‘लिभ इन रिलेसनसिप’ कानुनी रुप मै पाईन्छ । यो कानुन देख्दा नेपालको सामाजिक उदारता बेलायत र फ्रान्सको हाराहारीमा देखिन्छ । अझै समलिङी विवाह अर्थात पुरुष पुरुषसँग, महिला महिलासँग बिवाह गर्न कानुनले नै मान्यता दिएपछी त नेपालको सामाजिक र कानुनी उदारता बेलायत र फ्रान्स भन्दा माथी पुगेको देखिन्छ किन भने फ्रान्समा समलिङी बिवाहको बिरोधमा डेढ लाख जनाले प्रदर्शन गरेका थिए । बेलायतमा बल्ल २०१४ को मार्च देखि यो कानुन लागु हुँदैछ, नेपालले ५ बर्ष अघि नै बनाईसक्यो त्यो पनि रत्नपार्कमा एउटा पनि टायर नबलिकन । इजिप्टमा श्रीमतीको मृत्यु भएको ६ घण्टासम्म श्रीमानले यौन सम्पर्क गर्न पाउने कानुन बन्न लागेको अनावश्यक हल्ला चलिरहदा, नेपालमा श्रीमतीको इच्छा बिना हुने यौन सम्बन्धलाई बलात्कारको दर्जा दिने कानुन बनिसकेको थियो । प्रत्यक्ष यौनसँग सरोकार राख्ने यी बिषयलाई नेपाली समाजले बिना टायर बालि पचाइरहेको छ तर एक गरीब युवतीले त्यहि यौनसँग सरोकार राखेर पेट भर्न खोज्दा समाज बाधक बनिदिन्छ । अघिसम्म सोचाइको स्तर बेलायत र फ्रान्सलाई भन्दा अघि बढेको नेपाली समाज जब देहब्यापार गरेर पेट भर्ने कुरा आउछ, अफगानिस्तान, इराक, साउदी अरबियाको हाराहारीमा पुगिदिन्छ ।
मेरो उमेर पत्रिकामा लेखिएका शब्दहरू बल्ल बल्ल बुझ्ने हुँदा देखि यो समस्या पढ्दै आएको हो । आज त्यहि पत्रिकामा लेख्ने उमेर हुँदा सम्म समस्या झनझनै बढेको छ । तारे होटेलमा बैठक गरेर महिला हकहित र सशक्तीकरणको नाममा करोडौ सकियो होला, एनजिओ, आइएनजीओले कति डलरको खोलो बगाए होलान तर उपलब्धी खै त ? सायद महिला हकहितका अभियन्ताहरू मध्येका एक समूह नै भन्दा हुन देहब्यापार नैतिक कार्य होईन भनेर । प्रचण्डका शब्दका ‘सुकिला मुकिला’ले तारे होटेलमा वाइनको चुस्की लगाउदै निर्माण गरेको नैतिकताको परिभाषा भोको पेट दिनभरी रत्नपार्कमा ग्राह्क कुर्दै उभिएकी महिलालाई लागु हुन्छ होला ? तैपनि नैतिकता के लाई भन्ने ? हजामले हातले कपाल काटेर सेवा दिन्छ । रिक्सावालाले खुट्टाले पेलेर । गायकले घाँटीको सहारामा पैसा कमाउछ । मोडलले सुन्दर शरीर देखाएर । एक बालिग र स्वतन्त्र नागरिक भएको हैसियतले भन्नुपर्दा मेरो पेट पाल्न शरीरको कुन अङ्गको प्रयोग गर्ने भनेर निर्णय गर्ने अधिकार मलाई हुनुपर्छ , सरकारलाई होईन ।
देहब्यापारको नीम्ति निश्चित क्षेत्रलाई छुट्याएर कानुनको दायरामा ल्याउने हो भने शैक्षिक, आर्थिक र सामाजिक परिवर्तनमा योगदान दिलाउन सकिन्छ । जस्तै :
- देहब्यापार संचालानको नीम्ति अनुमतिपत्र दिन मोटो रकम राजस्वको रुपमा उठाउन सकियो। जसलाई शिक्षा र सिपमुलक तालिम बितरणको नीम्ति खर्च गर्न सकिन्छ।
- छरिएर र लुकेर रहेका देहब्यापारीहरू कानुनी मान्यता पाएपछि सङठित हुनेछन । त्यसो त एड्सको प्रकोप नेपालमा पहिले जस्तो रहेन तैपनि सङठित अवस्थामा एड्स र यौनरोग सम्बन्धी रोकथाम र अनुगमन गर्न सजिलो र कम खर्चिलो हुनेछ ।
- कानुनको दायरामा आएपछि देहब्यापारमा लागेकाहरूलाई बार्षिक शरीर जाँच गराउनुपर्ने नियम राख्न सकियो जसले स्वास्थ्यचौकी लगायतमा रोजगारी सिर्जना हुनेछ, आर्थिक क्रियाकलाप बढ्नेछ ।
- स्पष्ट कानुन बनाएपछि त्यसको उल्लंघन गर्नेलाई देह ब्यापारी, संचालक, सेवाग्राहीलाई कारवाही स्वरुप जरिवानाको ब्यवस्था गर्न सकियो । जसले राजस्व बढाउन मद्दत गर्छ । अहिले त छापा नमारिएको कैयौ गेष्ट हाउस र लजले गैरकानुनी पैसा कमाइरहेका छन ।
- देहब्यापारीहरू आफैलाई थाहा की छ उनीहरू गैरकानुनी धन्दा गर्दैछन । यस्तो अवस्थामा उनीहरू माथि हुने ब्ल्याक मेलिङ, यौन शोषण र अन्य अपराधको बारेमा उजुरी गर्न सक्दैनन । किनभने कानुनको नजरमा उनीहरू पहिला दोषी हुन । पीडितको मानवअधिकारको रक्षा हुन जान्छ ।
थप छलफल पढ्न :
http://www.mysansar.com/2014/01/10213/