Thursday, 17 November 2011

स्टकम्यान

भन्न त फिनल्याण्डमा ठुलो बर्ग बिभाजन छैन भनिन्छ तर स्टकम्यान डिपार्ट्मेन्टल स्टोरलाई देखेपछी 'गफै त हो नी सोल्टी' भन्ने थेगो पनि मनमा आइहाल्छ । कुरो नचपाइकन भन्दा स्टकम्यान घरमा पैसा टन्न स्टक भएकाहरुले सामान किन्ने ठाउँ हो । जुन ठाउँ प्रेमिका अथवा श्रीमतीलाई सके सम्म देखाउनै हुन्न । कथमकदाचित देखिहालेछन भने 'लोट्टो परेपछी है बुढी' भन्नु सिवाय अन्य बिकल्प हुन्न तपाई हामी जस्ताको । एक महिना भयो, त्यहि स्टकम्यानमा इन्टर्न्शिप गर्न थालेको । सुरुमा त धेरै खुशी लागेको थियो त्यो महँगो र स्ट्याण्डर्ड डेपर्ट्मेन्टल स्टोरमा यो सस्तो हातले पसिना बगाउने भयो भनेर । स्टकम्यानको सानो झिल्को मात्र मेरो तलबमा परे पनि बाटामा भेतेजतिको गाला चड्काउदै हिड्ने आँट आउथ्यो । तर खुशी धेरै बेर टिकेन जब उताबाट ईमेलको जवाफ आयो "तँ स्टक्म्यानमा पढ्न जादैछस । पैसो कौडी पाउँदैनस ।" लौ भैगो भनेर कलेजमा ईमेल पठाए साँढे दुई महिने इन्टेर्न्शिपको पैसा कसले ब्यहोर्छ ? भनेर । कलेजबाट नी जवाफ आयो " दुर्भाग्यबश यो बर्षदेखि मन्त्रालयले फिनल्याण्ड मै गर्ने इन्टेर्शिपको पैसा रोक्का गरेको छ ।" लौ शितल भो जिन्दगी । 'बिदेशीलाई देखेकी लात हान्ने' चुनावी नारा बोकेको पार्टीको त्यत्रो ठुलो मत आएको देख्दा देख्दै पनि कलेजबाट पैसाको आशा गर्ने मुर्ख म की टिमो सोइनी ?

लौ त भनेर काम छोडियो र थालियो इन्टेर्न्शिप । पहिलो दिन त अलमल्लमा बित्यो भन्दा नी हुन्छ । नेपाली केटाहरुको अगाडी पाक्क पुक्क फिन्निश बोलेर 'लाटो गाउँको गाँडो तन्नेरी' भै खाको थिए । जब ब्यावसायिक रुपमै फिन्निश बोल्नु पर्ने स्थिति आयो त्यो बेला मैले सोचे " बरु चाइनिज भाषा सजिलो हुन्थ्यो होला ? हावासुरमा 'छ्यन्ङ छुङ्ग छ्या छुम' गर्‍यो भने कम्तीमा दुई वटा शब्द त मिल्थ्यो गाँठे । "

मेरो सुपर भाइजर, परिचय नदिउ, आकार भने पुग्छ । उनको अनुहार र जिउडाल हेर्ना साथ तपाईलाई नी लाग्न सक्छ " यिनी चै मिठो मसिनो नभनी खान्छिन है खान्छिन " । सियोले छ्यास्स छोयोकी ड्याममै पड्केला जस्तो जिउ, दुई चुल्ठा बाटेकी, झ्वाट्ट हेर्दा फिनल्याण्डको ब्रम्हाले भाप्पुको दिन सिर्जना गरे जस्तै थिईन । तर जे होस् उनी बोल्दाखेरी हास्थिन । हाँसेको देख्दा फिन्निश होईन की जस्तो लागेको थियो तर नेम प्लेटमा थरको अन्तिम् दुई शब्द 'नेन' देखेपछी फिन्निश नै हुन भन्ने विश्वाश भयो ।

मेरो काम स्टक्म्यानको खानेकुरा किन्ने ठाउँमा भएकोले त्यहा काम गर्ने सबैसँग परिचय गराउदै हिडिन । सुरुमा भेटियो-मार्को । हजार हात्तीको बल भएको महाभारतको भिम हेरे हेर्न नपर्ने । नामै मार्को , मारिहाल्छ की जस्तो । हात मिलाउदै भन्यो 'मोरो, मार्को' । हुन त फिनल्याण्डको अभिवादन हो 'मोरो' तर मलाई चै राजेश हमालको शैलीमा " मार्को हुँ , तँ आजै मरिस' भने झै लाग्यो । मुख हेर्दा पनि ' लिफ्टमा एक्लै भेटौन, तँलाई दुई मिलेट कुट्छु ' भन्ने जस्तो थियो । मार्को बियर डिपार्ट्मेन्टमा काम गर्दो रहेछ । सँयोग हो की स्टक्म्यानको रणनिती हो बुझ्न सकिएन, मान्छे अनुसारको डिपार्ट्मेन्ट रहेछ ।

परिचयको क्रम बढ्दै गयो तर कोहि हाँस्दैनन बा । हामी त नयाँ मान्छे भेट्दा कम्तिमा मुस्कुराउछौ नी । यी त सिधै जुध्न लाग्या जस्तो गर्छन् । खानेकुरा किन्ने ठाउँको क्यासियरहरु सबै साँडे जस्ता युवतीहरु थिए । उनीहरुको जिउडालले नै 'सक्दो खाउँ, ड्याम्म ज्यान बनाउन' भन्ने सन्देश दिने खालका । कस्मेटिक्स डिपार्ट्मेन्टका युवतीहरु सबै परी परी जस्ता थिए । सलक्क पारेको जिउ, गोरा गोरा, मेक अप गरेर चिटिक्क परेका । मेक अपको सामान किन्न आउँदा केटीहरु 'आज मेक अप घँस्छु, अनी यै क्यासियर जस्तो बन्छु' भनेर डढिदा हुन । बच्चाको खेलौना र कपडा डिपार्ट्मेन्टका क्यासियरहरु बुढी बुढी आइमाईहरु थिए । शायद कैयौ बच्चा पाएको अनुभवको प्रभाव ग्राहकमा परोस भनेर होला । सबै कुरा नियाल्दै र परिचय गर्दै गए । सबै डिपार्ट्मेन्टको बिशेषता अनुसारका कामदार थिए । तर दुधको डिपार्ट्मेन्टमा काम गर्ने युवतीको बिषय अलि फरक लाग्यो । कालो ज्याकेट र कालो पाइन्ट लगाएकी । दुधको डिपार्ट्मेन्टमा काम गरेपछी उनमा नी यसो हुनु नी । टाढाबाट हेर्दा लागोस न ' यिनी डुध कै डिपार्ट्मेन्ट की हुन भनेर ।' छैन । अह पटक्क छैन । पुरै एअरपोर्ट बनाइएको छ । बिचरी त्यहि भएर सधैं उदास उदास देखिन्थिन ।

त्यसो त फिनल्याण्ड महिलाले चलाएको देश भन्छन् । जहाँ पनि महिला छ्याप छ्याप्ती । एउती युवती यता र उता कुदिरहेकी हुन्थिन । उनी कुन डिपार्ट्मेन्टको हो पत्तो पाउन सकेको थिईन । उनको नितम्ब उल्लेखनिय थियो ।

त्यहि दिन देखि मेरो काम सुरु भयो । मान्छेहरु यता र उता कुदेको देखिन्थे तर के गरिरहेका छन् मलाई अत्तोपत्तो थिएन । मलाई सुपरभाइजरले एउटा बाक्सै बाक्साले भरिएको प्यालेट देखाएर फिन्निशमा भटट भनिन ' यहाँबाट बिस्कुट र चक्लेटको बाक्सा निकालेर छुट्टाछुट्टै ट्रलीमा हाल्नु ।' हे नारायण । फिन्निश त जसो तसो बुझे तर त्यो बाक्सामा बिस्कुट छ की चकलेट मैले कसरी बुझौ ? त्यो सोधौ भने, फिन्निशमा सोध्न नआउने । लौ ठिकै छ भन्दै बाक्सामा पढ्दै पढ्दै मिलाईयो । त्यो सकिना साथै फेरि आएर भनिन ' केराको डेलिभरी आएको छ । त्यहाँबाट झिकेर ट्रलीमा हाल ' मैले सोचे केराको काँगियो कत्रो न होला र ? जब देखे , मेरो सत्तो गयो । एउटा बाक्सामा बिस वटा काँगियो । त्यसलाई बोकेर ट्रलीमा हाल्नु पर्ने । एउटा बोक्ना साथ तारा झलमल देखिसकेको थिए । त्यहाँ ३९ वटा अझै मलाई हेर्दै थिए । स्पेनबाट आएको रहेछ केरा - चिकिता बनाना । चिकिता बनानाले एक्छिन त फनन घुमायो ।

त्यो बेला मैले सम्झे फाइनान्सको कक्षामा सरले भन्थे 'यो अहिले मात्र गाह्रो लागेको हो । वर्किङ लाइफमा गएपछी सजिलो हुन्छ ।' हैन रहेछ । बरुमा कक्षा मै तगडा थिए । यो केरा बोक्नु जति गाह्रो कहाँ थियो र फाइनान्सको हिसाब ।
एक छिन् बिरक्त लाग्यो । त्यत्रो इन्टरन्यासनल इन्टरन्यासनल बिजनेस , न्यासनल पनि हैन । इन्टरन्यासनल बिजनेस पढेको मान्छेको काम यहि केरा बोक्ने हो त ?

सोच्दै काम गर्दै समय बितेछ । लन्च ब्रेक भयो । लन्चको नीम्ति लाइन लाग्दा क्याफेको युवतीले मुस्काएर यस्तो ब्यवहार गरिन की लाग्छ 'आजै संगै मर्ने संगै बाँच्ने कसम खानेछिन' । तर अँह, खाना लिएर गएपछी को हो को हो । मतलब छैन । चिने नचिने झै । खाना खाँदै गर्दा एउटा केटा मलाई हेर्दै मुस्काएर म बसेको टेबलमा बस्यो । र फिन्निशमा सोध्यो ' नयाँ हो ?' त्यसलाई देखेर मेरो मनमा तीन वटा बिचार आए । या त यो समलिङी हो । या त जाँड खाएर आएको छ । या यो फिन्निश नै हैन । परिचय भयो । एस्पर रहेछ नाम । मैले सोचे जस्तो तीन वटै होईन रहेछ । छोरो क्रान्तिकारी फिन्निश रहेछ । जाँड रक्सी नखाने एक्दम कम फिन्निश मध्ये एक । फिन्निशहरु मरिहत्ते गर्ने समर कट्टेजको कट्टर बिरोधी । उ भन्थ्यो ' दिक्दार लाग्ने जंगलको बीचमा गएर फिन्निशहरु कसरी बस्न सक्छन मलाई थाहा छैन । तर मलाई समर कट्टेज मन पर्दैन ।' अरु त अरु, उ मज्जाले हाँस्थ्यो र खुलेर बोल्थ्यो । प्रेमिका पनि रहेछ । जे होस स्टक्म्यानमा संगै बसेर खाने साथी भेटियो भन्नेमा म बिश्वसत भए ।

दिनहरु बित्दै गए । म बिहान काममा जाँदा मोबाइलमा बीबीसी पढ्दै जान्थे । इराकमा जैबिक हतियार भएको निहुँमा छिरेको अमेरिकी सेना अब ईरानमा आणबिक हतियार भएको निहुँमा छिर्न खोज्दै थियो । गद्दाफी रक्ताम्मे भएर मारिएका थिए । आर्थिक संकटले ग्रीस टाट पल्टिने स्थितिमा थियो । फ्रान्सका राष्ट्रपती निकोलस साराकोजी, जर्मन चान्स्लर एन्जेला मर्केल र बेलायती प्रधानमन्त्री गोर्डन ब्राउन डुब्दै गरेका रहेका स्पेन, इटाली, पोर्चुगल र आयरल्याण्डलाई बचाउन खै के के जाति फण्ड बनाउन डौडधुपमा थिए । युरो नामको पैसा नै बेकार हुन लागेको चर्चाहरु चल्दै थिए । युरो बचाउन चीनसँग सहयोग माग्न लागेको पनि पढ्न पाइयो ।

मैले सोचेको जस्तो केरा बोक्ने काम हैन रहेछ । हरेक हप्ता नयाँ नयाँ काम सिक्न थाले । कुनै दिन क्यासिएर बनेर पैसा कटाउथे । कुनै दिन आएका समानको तथ्याङ्क संकलन गर्थे । कुनै दिन सामानको मुल्य सुची बनाउने र हेरफेर गर्थे । बिस्तारै काम सजिलो लाग्न थाल्यो । प्याकिङ मेसिन, डेलिभरी मेसिन, र कम्प्युटरका बिभिन्न प्रोग्रामहरु सिक्दै गए । जतिखेर नी रिसालु देखिने कामदारहरु आफूलाई मद्घत गर्न आइज भनेर बोलाउन थाले । टुटेफुटे फिन्निश भाषा बोलेरै पनि ग्राहकसँग डिल गर्न थाले । भलै मेरो फिन्निशमा ब्याकरणिय त्रुटी होला तर मन्द मुस्काउन र चनाखोपन त बिशेषता कै रुपमा थियो । कामदारहरुसँग कुरा गर्दै जाँदा उनीहरु मैले अङ्रेजी राम्रो सँग बोल्छु फिन्निशमा कमजोर छु भन्दा दंग पर्थे । अझ विश्वबिद्यालयमा इन्टरन्यासनल बिजनेस पढ्दै छु भन्दा झन अचम्ममा पर्थे । बिचराहरु अधिकांस भोकेसनल कलेज अथवा स्कुल सकेर काम गर्न थालेका हुँदा रहेछन् । मेरो स्तर उनीहरु भन्दा माथि नै थियो । तैपनि के गर्नु फिन्निश बोल्न नआएपछी काम पाइदैन , पैसा पाइदैन ।

लजिस्टिक्सको काम गर्दा कहिले काही कपडा पसलमा कपडा लगाएर सजाएर राखिने पुतला पुतली ओसार पसार गर्नुपर्थ्यो । ती पुतला पुतलीहरु पसलमा हुँदा मात्र कपडा लगाएका हुन्छन् । भण्डारमा हुँदा त बिना बस्त्र अस्त ब्यस्त बनाएर राखिएका हुन्छन् । कोहि एउटा माथी अर्को लडिरहेका हुन्थे । कुनैको हातै हुदैन । कुनैको खुट्टै हुदैन । एक पटक त्यहि भण्डारको युवतीलाई पुतला पुतली सार्न सहयोग गर्दै थिए । आफू फेरि धेरै सोच्ने मान्छे । जब पुतला सारिन्थ्यो खासै मतलब हुदैन थियो तर जब पुतली सार्ने बेला आउथ्यो कता कता अप्ठ्यारो लाग्थ्यो । दुरुस्तै, राम्री युवती देखिने नग्न पुतलीलाई कहाँ समातेर उचालौ ? फेरि पुतलीको अर्को पट्टी वास्तबिक युवतीले समातेकी छिन् । हात जस्तो कमजोर ठाउँमा समातौ, भाँचिएला भन्ने डर । तल पैतला अथवा पिडुँलामा समातौ , आफू हिंड्न नमिल्ने । बाँकी रहेको भागमा समातौ , खै आफू नेपाली भएर हो की के हो ? कस्तो कस्तो लाग्ने । ती युवतीले के सोच्लिन 'कस्तो बोका रहेछ । पुतली समेत नछोड्ने' भन्ने हुन की ? मनमा अनेक कुरा खेलाउदै बल्ल बल्ल त्यो काम सकियो ।


एकदिन मेरो काम पर्‍यो मिती सकिएका सामानहरुको तथ्याङ्क सङ्कलन गर्ने र सामानलाई बिसर्जन गर्ने । मैले सुनेको मात्र थिए स्टकम्यानमा यस्तो हुन्छ भनेर तर आफैले गर्दा बुझे स्टकम्यान किन त्यति बिधी महँगो भनेर । इटालीमा बनेको ओलिभको तेल त्यहि महिना मिती सकिदै थियो । आकर्षक सिसीमा, स्ट्यान्डर्ड वीरको भएको । करिब ८ युरो पर्ने त्यो तेल फाल्नु पर्ने । आफू परियो अती सस्तो लिडलमा पाइने प्लस्टिकको बोत्तलको लिटरको २ युरो वाला तेल फारु गरेर चलाउने मान्छे । त्यहि महिना मिती सकिने कफी, चक्लेट, बिस्कुट, पाउडर दुध, जुस, डब्बीको माछा । सबै फाल्नुपर्ने । कस्तो चलन हो ? किलोको १४ युरो पर्ने पोर्कको मासु आज मिती सकिने भए पनि बेलुका सम्म त समय छ नी यार । किन फाल्नु ? मेरो भने लिडलको डेढ युरो पर्ने कुखुराको मासु सेतोबाट पहेलो नभए सम्म भुटी भुटी खाने दाँत अझै झरेका छैनन । ६९ सेन्ट पर्ने खैयो पाउरोटीमा परेको ढुसी खुर्केर कति खाइयो खाइयो । पकाएर राखेको तरकारीमाथी भुसुनाले कैयौ हवाई फायर गरे, खै अझै पेट बलियै छ ।

सामान फाल्दै गर्दा आमालाई सम्झिए । भ्यान्टाको तरकारी पकाएको दिन आधा भात छोड्थे । आमा भन्थिन ' बाबु अन्न खेरा फाल्नु हुन्न । अन्नले सराप्छ । ' मन मनै सोचे आमा आज मेरो काम नै यहि अन्न फाल्ने हो । बरु फालेन भने अन्न दाताले सराप्छन । फाल्ने क्रम सुरु भयो अमेरिकन ड्रेस्सरबाट । बर्गर, हट डग जस्ता खानामा हालेर खाने सेतो लेदो । लामो बोत्तलमा भरिएको ड्रेसर खोल्दै थिए; त्यहि आकर्षक नितम्ब भएकी युवती भित्र छिरिन । त्यो युवती कुन डिपर्ट्मेन्टमा काम गर्छे अझै निश्चित थिईन । उनी मेरो अगाडीको टेबलमा घोप्टो परेर खै के गर्न थालिन । आफ्नो कपडाको जतन गरेर लाउनुपर्छ भनेर थाहा नभएको हो की जानी जानी देखाएको हो मैले बुझ्न सकिन । नितम्ब म तिर ठ्ड्याएर आफ्नै धुनमा थिईन । उनको नितम्ब देख्दा त ट्वाइलेट डिपार्ट्मेन्टमा काम गर्छे की जस्तो लाग्यो । 'छि: छि । के के सोच्छु म पनि ।' आफ्नो मनलाई सम्झाउदै अमेरिकन ड्रेस्सर फाल्नमा ध्यान दिए । ड्रेस्सरको बोत्तल खोल्न गाह्रो हुदो रहेछ । तर खोलिसकेपछी तल्लो भागमा थिचेर घोप्ट्याए पछि बिस्तारै आफै लततत बाहिर निस्कियो । र अन्तिममा बोत्तल भित्र टाँसिएका ड्रेस्सर निकाल्न झट्कार्नुपर्ने । उनी नितम्ब ठ्ड्याइरहेकी थिईन । दोश्रो बोत्तल पनि त्यस्तै भयो । सुरुमा बिर्को खोल्न गाह्रो । खोलिसकेपछी सजिलै निस्किने । र अन्तिममा बोत्तल भित्र टाँसिएका ड्रेस्सर निकाल्न झट्कार्नुपर्ने । चार वटा बोत्तल रित्तिसकेका थिए । एक किसिमले वाक्क लागिसकेको थियो । खोल, निचार, झट्कार अनी झार । चौथो बोत्तल सकिपछी बल्ल उनले आफ्नो नितम्ब सोझो पारिन र बाहिर निस्किन ।

दिनमा सैयौ युरोको सामान फालिदो रहेछ । त्यत्रो महँगो सामान बेकारमा फाल्नु परे पनि स्टकम्यान नाफा मै चलिरहेको छ । सम्भवत: धेरै सामान खेर जानेछन भनेर त्यसको खर्च उठाउन अन्य सामानमा चर्को मुल्य राखिएको हुदो रहेछ । त्यो दिनको काम सकेर बसमा घर फर्किदै थिए । तापक्रम शुन्यबाट तल झरिसकेको थियो । साँझको चार बजे नै अन्धकार भैसकेको थियो । मोबाइलमा फेसबुक खोले । एउटा नेपालका मित्रले खान नपाएर कर्णाली भेगकी एउटी महिलाले आफ्ना दुई बच्चाहरुको हत्या गरेर आत्महत्या गरेको समाचार सेयर गरेको रहेछ । सोच्दै कहाली लाग्दो घटना पनि हुँदो रहेछ हाम्रो देशमा । म आज दिनभरी त्यहि खानेकुरा फाल्ने काम गरेको थिएँ । मैले फालेको त्यत्रो खानेकुरा मध्येको सानो अंश मात्र उनको मुखमा परेको भए शायद उनका बच्चालाई मार्नु पर्दैन थियो होला । आफू आत्महत्या गर्नु पर्दैन थियो होला । यस्तै कुरा सोच्दै सोच्दै बीबीसी खोले । ग्रीस डुब्ने खतरा तत्काललाई कम भएछ । तर विश्व अर्थतन्त्रमा नराम्रो संकट आउने खतरा रहेछ । बस गुडिरह्यो, म सोचिरहे- एकातिर भोकमारी लागिरहेको छ । अर्को तिर सैयौ युरोको सामान खेर गैइरहेको छ । यस्तै सैयौ युरोको समान फाल्ने देशको अर्थतन्त्र जोगाउन फेरि त्यहि भोकमारी भएको देशमा आक्रमण गरिन्छ र स्रोत साधन लुटिन्छ । खै कतिन्जेल चल्छ र यसरी ? विश्वमा नमिठो आर्थिक संकट पर्‍यो भने यो स्टक्म्यान चलिरहला त?

Tuesday, 1 November 2011

एप्लिकेसन

दुई मित्रहरु एमएसएन च्याटमा
प्रल्हाद : के छ साथि अमेरिकाको हालखबर ? के पढ्दै छौ ?
कैलाश : दामी छ यार अमेरिका । एकदम बिकसित । खुब रमाइलो लागिरहेको छ । म चै अहिले नानो साइन्स पढ्दै छु ।

दुई बर्षपछी:
प्रल्हाद: ओ हो साथी कहाँ हो ? पढाइ सकिने बेला भएन ? कहिले फर्किने हो र ?
खै यार पढाइ सकिएको छैन । आउने भनेको त हो तर बल्ल बल्ल आइयो यसो केही त गर्नु पर्‍यो नी ।

चार बर्षपछी :
ओहो साथी के छ ? पढाई सकियो ? कहिले फर्किने हो ?
पढाई सकिएको छैन यार । बहुत गाह्रो छ यहाँको पढाई ।

पाँच बर्षपछि :
ओ हो साथी के छ हालखबर ? अब त फर्किने हैन ? पढाई कहाँ पुग्यो ?
खै के भनम पढाई छोडे यार । पढे कलेजलाई पैसा तिर्दै ठीक्क । घरमा पैसा पठाउन नपुग्ने, त्यहि भएर अहिले पढाईलाई रोकेको छु ।

छ बर्षपछि :
ओह ब्रो, पढाई थाल्यौ त ? नेपाल कहिले फर्किने हो ? की नफर्किने हो तिमी ?
एक पटक आउन मन थियो यार तर अहिले पढाई नभएर भिसा छैन । त्यहि भएर एउटी खैरेनीसँग पेपर म्यारिज गरेको छु । मिल्नासाथ आउछु यार , खुब मिस गरेको छु ।

सात बर्ष पछि:
सोल्टी प्रोसेस के हुँदै छ ? पैसा त खुब कमाउदै छौ की क्या हो ?
एह यार, राम्रो हुँदै छ । के पैसा कमाउनु, जति कमाए नी राक्षसनी लाई दिदै ठीक्क हुन्छ ।

आठ बर्षपछि :
हेल्लो ब्रो, अब त आउने होला नी ? की अझै मिलेको छैन ?
मिलेन यार त्यो राक्षसनीले दिन दिनै पैसा मागेर हैरान गरी त्यहि भएर प्रोसेस नै रोकियो । त्यहि भएर अहिले मैले रिफ्युजीमा हालेको छु । मिल्नासाथ आउछु यार । आइ मिस नेपाल सो मच ।

नौ बर्षपछी :
ओह सर, के छ हालखबर ? फर्किने होईन ? कुरो मिल्यो त ?
अ यार बल्ल बल्ल टेम्प्रोअरी दिएको छ । हल्का काम धाम गर्न मिल्छ तर ग्रीन कार्ड मिलेको छैन । अझै एक बर्ष लाग्छ जस्तो छ । ग्रीन कार्ड पाएसी आउछु यार ।

दश बर्षपछि:
सोल्टी ग्रीन कार्ड मिल्यो हैन ? कहिले आउछौ ? की उतै बस्ने हो ?
खै आउने त भनेको तर नेपालको स्थिति त्यहि हो । बन्द हड्ताल, माओवादी लुट्पाट । के गर्नु ?

एघार बर्षपछी:
साथी अब त वार्ता भैसक्यो । शान्ति आइसक्यो । आउने हैन ?
खै शान्ति भएर के गर्नु ? काम धाम छैन । तत्काललाई फर्किने स्थिति छैन । बरु यहाँको सिटिजेन हात पार्न पाए केही हुन्थ्यो भनेको ।

१२ बर्षपछी :
साथी संबिधान सभामा भोट हाल्न आउने हैन ? साथी मैले कहाँ भोट हाल्न मिल्नु ?
नेपालको नागरिकता त्यागिसके । यहिको सिटिजेन हुन्छु की जस्तो छ ।

पन्ध्र बर्षपछी :
ओह अमेरिकन सर के छ ? सिटिजेन पायौ हैन ? अब कहिले फर्किन्छौ की उतै मर्ने हो ?
अ पाए यार बल्ल बल्ल । अब ढुक्क भयो । फर्किने त भनेको तर आएर त्यहा के काम गर्नु र ?
तिमी के गर्छौ ?
म त बाख्रा पालन गर्छु
हो र ? हा हा । पैसा हुन्छ ?
हुन्छ यार सुरु सुरुमा गाह्रो भयो । अहिले त महिनाको ७० - ८० हजार बच्छ । आफैले त काम गरेर भ्याइन्न काम गर्ने आइमाई छन चार जना ।
अनी तिमी के गर्छौ नी ? म क्यासियर हो इन्डिएनको पसलमा ।
अनी कति हुन्छ त कमाई ? खाएर बसेर महिनाको लाख बच्छ ।
अब के सधैं त्यहि इन्डियनको पसलमा काम गर्छौ ? आफ्नो केही गर्दैनौ ?
खै आफैले केही गर्न सानो तिनो पुँजीले पुग्दैन ।
म त १० वटा जर्सी गाई हाल्ने सोच्दै छु । अचेल खुब फाईदा छ ।

त्यसको एक महिनापछि :
हेल्लो ब्रो, के गर्दै छौ ? एउटा खुशीको कुरा सुन्ने हो ? मेरो बारेमा कान्तिपुरमा छापिएको छ । जे होस पढेर केही गर्न नसकेपनी आज कान्तिपुरमा आफ्नो नाम देख्दा सफल भैछु की जस्तो लागेको छ । बाख्रा पालन गरेर लाखौं कमाई भनेर छापेको छ ।
राम्रो हो यार । बधाई छ । यस्तै गरेर नाम चलाउदै गर यार । बरु मलाई पनि यस्तै काममा लगानी गर्न मन थियो यार जहाँ दाम होस् नाम होस् । यहाँ त थोरै तिनै पुँजीले पुग्दैन । जति नै सफल भए पनि कहाँ हराइन्छ-हराइन्छ । बरु सुन न , सरकारले दोहोरो नागरिकताको ब्यवस्था गर्न लागेको छ रे हो ?